काठमाडौं । कतार विश्वकप २०२२ सुरू हुन पाँच महिनाभन्दा कम समय बाँकी रहदा विश्वभरका फ्यान ब्यग्र प्रतिक्षा गरिरहेका छन् । कतिपय फ्यान कतारमै गएर विश्वकप हेर्ने योजना बनाइरहेका छन् ।
फिफाले अहिलेसम्म दुई चरणमा टिकट बिक्री गरिसकेको छ । जसमा १८ लाख टिकट बिक्री भएका छन् ।
अनलाइनमार्फत् टिकटका लागि अर्डर गरिएकालाई फिफाले अनियमित (र्यानडम) चयन ड्र बिक्री अवधि र पहिला अर्डर गर्नेका लागि टिकट वितरण गरेको थियो ।
दुई चरणमा यसरी टिकट बिक्री गर्दा संसारभरका फ्यानको करोडौं अर्डर आएका थिए । पहिलो दुई चरणमा सबैभन्दा धेरै टिकट खरिद गर्ने १० देशमा कतार, क्यानडा, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, भारत, साउदी अरेबिया, स्पेन, युएई र अमेरिका रहेका छन् ।
टिकट आवेदन पहिलो पटक जनवरी १९, २०२२ मा खोलिएको थियो । विशेषगरी उद्घाटन र फाइनल खेलहरूको लागि टिकटको अर्डर सर्वाधिक आएको छ ।
पहिलो दुई चरणमा टिकट खरिद नगरेका फ्यानका लागि जुलाई ५ देखि तेस्रो चरणको टिकट खुल्दैछ । जसमा पहिले अर्डर गर्नेले टिकट पाउने सम्भावना बढि हुनेछ। फिफाले नमुना छनोट लगायतका विधिबाट पनि टिकट बिक्री गर्नेछ ।
आउँदो मंगलबार दिउँसो २:४५ मा टिकट बिक्री खुला हुनेछ। टिकटका लागि १६ अगस्टसम्म अर्डर गर्न सकिनेछ ।