एक पौराणिक कथा अनुसार, स्वर्गको नाटयशालामा नृत्य उत्सव भैरहेको थियो।त्यो उत्सवमा अप्सरा उर्वर्शी नर्तकी थिइन । स्वर्गका राजा इन्द्रका छोरा जयन्त र उर्वर्शीले एकआपसमा प्रेम गर्दथे ।
नृत्य भइरहेको समयमा उर्वर्शीको दृष्टि जयन्तमाथि पर्यो र नृत्य रोकियो । त्यसकारण अगस्त्य मुनिले जयन्तलाई बाँस भएर रहनु पर्ने एवम् उर्वर्शीलाई स्वर्गमा नभई पृथ्वीमा नर्तकी भइ रहनु पर्ने श्राप दिए । अचानक यसरी श्राप परेकोमा जयन्त र उर्वर्शी विक्षिप्त भए ।
र अगस्त्य मुनिसँग श्राप मुक्तिका लागि अनुनय गर्न थाले । उनीहरूको अनुनयबाट ऋषि प्रसन्न भए तर श्राप दिइसकेकोले १२ वर्षसम्म श्राप अनुरुप बाँस र नर्तकी भइ पृथ्वीमा रहनु पर्ने नै भयो । तर, बाँस र नर्तकी दुबैको मिलन भएपछि श्रापमुक्त हुने वरदान दिए ।
श्राप अनुसार उर्वर्शी नर्तकी भइ पृथ्वीमा आइन । उता जयन्त बाँस भएर पृथ्वीमा उम्रीए ।
१२ वर्ष पश्चात् एक दिन एउटा बाँसुरीवादकले बाँस काटेर बाँसुरी बनायो । बाँसुरीवादन गर्न उर्वशी नाचिरहेको उत्सवतिर गयो । उर्वर्शी नृत्य गरिरहेको उत्सवमा बाँसुरीवादकले बाँसुरी बजाए । उनीहरुको मिलन भएकोले श्राप मुक्त भए ।
कथा अनुसार स्वर्गबाट उर्वर्शी पृथ्वीमा आएपछि नै नृत्यको प्रचलन सुरु भएको हो।
(संस्कृति तथा पुरातत्त्व अनुसन्धान केन्द्रबाट)