बिहिबार , मंग्सिर ६, २०८१

युक्रेन-रूस युद्ध नै खाद्य सङ्कटको कारण हो त ?

image

मे २०२२, दुनियाँभरिको नजर स्विजरल्याण्डको दाभोसमा केन्द्रित थियो, जहाँ वर्ल्ड इकोनोमिक फोरममा शीर्ष व्यापारी र नेताहरू भेला भएका थिए । त्यहाँ संसारअघि आइपरेको विश्वको सबैभन्दा ठुलो सङ्कटको समाधान खोज्ने कुरामा चर्चा हुनु थियो । यसको तीन महिनाअघि जब संसारभरिको खाद्य बजारले बढ्दो महँगाइको झट्का झेलिरहेको थियो, सोही समय रुसले युक्रेनमाथि हमला गरिदियो । युक्रेनबाट अन्य देशहरूमा सयौँ किलो अन्न पठाउनु थियो तर. युद्धका कारण प्रमुख बाटाहरू बन्द भए र आपूर्ति हुनसकेन ।

संयुक्त राष्ट्रको वर्ल्ड फूड प्रोग्रामका प्रमुख डेविड बीजली पनि दाभोसमा थिए । उनले चेतावनी दिए, ‘समस्याबाट छुटकारा पाउने समय छुट्दै गइरहेको छ । विश्वले ठुलो खाद्य सङ्कट झेलिरहेको छ र स्थिति अझै खराब हुनसक्छ ।’ यसपछि एउटा प्रश्न खडा भयो कि के युक्रेन-रुस युद्ध नै विश्वको खाद्य सङ्कटको कारण हो ? यसको जवाफ खोज्न बीबीसीले चार विज्ञसँग कुरा गर्‍यो ।

 युद्धको असर

संयुक्त राष्ट्र वर्ल्ड फूड प्रोग्रामका मुख्य अर्थशास्त्री आरिफ हुसैन भन्छन्, “सबैले ब्रेड खान्छन्, सबैले मकै खान्छन्, सबैलाई खाने तेलको आवश्यकता छ । युद्धका कारणले बनेको अवरोधका कारण संसारभरिका मान्छेले दैनिक आवश्यकताको सामान पाउन सकिरहेका छैनन् ।” हुसैनका अनुसार, युक्रेनको महत्व विश्वको ‘फूड बास्केट’ जत्तिकै छ, खासगरी युरोपका लागि । युक्रेनको जनसङ्ख्या करिब चार करोड छ तर, उनीहरू ४० करोड जनसङ्ख्याका लागि अन्न उब्जाउँछन् । देशको आवश्यकता पुरा भएपछिको सम्पूर्ण अन्न निर्यात गर्छन् ।

अनुमानअनुसार, युद्ध सुरु भएपछि २.५ करोड टनभन्दा धेरै अन्न ओडेसा बन्दरगाह नजिक अड्किएको छ । यदि अब जहाज हिँड्छ भने पनि त्यसले ब्ल्याक सी पार गर्नु पर्ने हुन्छ, जहाँ ‘फ्लोटिङ माइन्स’को रूपमा एउटा नयाँ खतरा अवस्थित छ । आरिफ हुसैन भन्छन्, “व्यावसायिक जहाज त्यहाँ आउने जोखिम उठाउन चाहँदैनन् । यो इलाकाबाट सामान लैजानका लागि समुद्री बाटो नै सबैभन्दा प्रभावकारी हुन्छ ।”

हुसैनका अनुसार, अन्य विकल्प सुगम छैनन् । त्यसमा लागत धेरै बढ्छ । रेल या ट्रकबाट सामान पठाउने बारे सोच्न सकिन्छ । तर कल्पना गर्नुहोस् कि यसका लागि कति इन्धनको आवश्यकता पर्छ । कति ट्रेनको आवश्यकता पर्ला, यसमा अझै धेरै खर्च हुन जान्छ । यदि उनीहरूले यस्तो गर्ने भनेर सोचे भने पनि यो असम्भव हुन्छ ।“

आरिफ हुसैन भन्छन् कि विभिन्न देशको लिकको आकार फरक छ । यस्तोमा युक्रेनको ट्रेन परिवर्तन नगरी पोल्याण्डको लिकमा दौडिन सक्दैन । उनी भन्छन् युक्रेनबाट समुद्री बाटो हुँदै धेरैमा २० प्रतिशत अनाज पठाउन सकिन्छ तर विश्वमा खाद्य सामानको बढ्दो मूल्यमा रोक लगाउन यति काफी हुँदैन । सङ्कट खाद्यको पनि हो । उनी भन्छन् “युक्रेन युद्धभन्दा अघि पनि खाद्यको दाम बढिरहेको थियो । युद्ध सुरु भएपछि मूल्य तेज गतिमा बढ्यो । यदि तपाई अघिल्लो वर्षसँग तुलना गर्नुहुन्छ भने २०० प्रतिशत बढिसकेको छ । खाद्य बनाउन तपाईँलाई ग्यास आवश्यक हुन्छ । ग्यासको मूल्यले पनि आकाश छोएको छ । यसको मतलब पर्याप्त अन्न उत्पादन हुनेछैन र त्यसपछि के हुन्छ सोच्नुहोस् ?”

युक्रेनमा अर्को खेतीको मौसम केही हप्ता टाढा छ । यसलाई राख्ने ठाउँ चाहियो । त्यहाँ भण्डारण पहिल्यै भरिएका छन् । समस्या अरू पनि छन् ।

आरिफ भन्छन् “तपाई चाहे खेती गर्दै या काट्दै हुनुहोस्, तपाईँलाई कुन कुराको आवश्यक पर्छ ? तपाईँलाई मान्छेको आवश्यक पर्छ । अहिले किसान कहाँ छन् ? किसान सैनिक बनेका छन् । मेसिनरी युद्धमा लागेका मान्छेको सहयोग गर्न तैनाथ छन् । यदि तपाईँको भाग्य राम्रो छ भने र तपाईँले आफ्नो खेतीको ध्यान राख्न सक्नुभयो भनेपनि तपाईँसँग मान्छे हुने छैनन् र यो नबिर्सिनुहोस् कि युद्धको समय खुला आकाश तल बस्नु सजिलो हुँदैन ।“

आरिफ हुसैनको सङ्गठन ‘वर्ल्ड फूड प्रोग्राम’ कठिन परिस्थितिको सामना गर्दैछ । यसको असर खाद्य सङ्कटसँग जुध्ने कोसिसमा पर्न सक्छ । धेरै देशका कुल १५ करोड मान्छेलाई खाने सामान उपलब्ध गराउनका लागि २२ अरब अमेरिकी डलरको आवश्यक पर्छ । सङ्गठनले अहिले सम्म यसको आधा पैसा मात्र जम्मा गर्न सकेको छ । उता, बन्दरगाह पुनः सुचारु गर्नका लागि रुस र युक्रेनबिचको कुराकानीमा कुनै प्रगति देखिँदैन ।

उब्जाउ जमिन

‘फुड सिस्टम फर द फ्युचर’की सीइयो अर्थरिन कजिन भन्छिन् “युक्रेन खेतीको हिसाबले मुख्य उत्पादक क्षेत्र हो । यहाँ त्यही खुबी छन् जुन अमेरिकाको पश्चिम क्षेत्र, फ्रान्स, रुस, क्यानडा र अस्ट्रेलियामा भेटिन्छ । यहाँ उच्च कालो माटो छ । जसमा पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । यसबाट किसानले राम्रो उपलब्धि पाउँछन् ।”

उनी भन्छिन् कि सरकारबाट पाइने अनुदान र ठुलो लगानीले युक्रेनमा उत्पादन बढाउन मदत गर्‍यो । युक्रेनले जुन देशलाई अनाज पठाउँछ, त्यो त्यसमै निर्भर छ । तर अर्थरिन भन्छिन्, “यो भन्नु अतिशयोक्ति हुन्छ कि सारा विश्व युक्रेनमा निर्भर छ । सत्य यो हो कि रुस र युक्रेनले कुल निर्यातको २७ प्रतिशत हिस्सा ओगटेका छन् । तर सोमालिया जस्ता केही देश शतप्रतिशत गहुँ युक्रेनबाटै मगाउँछन् । मिश्र र अफ्रीकाका केही अन्य देश ‘ग्लोबल ट्रेडिंग सिस्टम’ अन्तर्गत उनीहरूसँग सिधै कारोबारी सम्बन्ध राख्दछन् ।“

युक्रेनको सिमामा रुसले आफ्नो सैनिक तैनाथ गर्‍यो, त्यसको धेरै पहिलादेखि नै कोरोना महामारी, लकडाउन र मजदुरको कमीले निर्यातलाई प्रभावित गरेको थियो । अर्थरिन भन्छिन् कि तेलको मूल्य बढेकाले समुद्री बाटोबाट सामान पठाउन महँगो भएको छ । कोभिड-१९को कारणले उत्पादन पनि प्रभावित भयो र स्वास्थ्यसँग सम्बन्धित चुनौतीको सामना गर्नमा विकसित देशको सम्पत्ति धेरै हदसम्म खाली भयो ।

उनी भन्छिन् कि अहिले समस्याको सबैभन्दा ठुलो कारण युक्रेन नै देखिएको छ तर यो समस्या एउटै मात्र कारण होइन । युद्ध सुरु भएपछि टनौ गहुँ, मकै र सूर्यमुखीका बिज युक्रेनमा अड्किरह्यो र गरिब देशका अघि चुनौती खडा भयो ।  उनी भन्छिन् “यो उपलब्धतासँग सम्बन्धित समस्या होइन, समस्या सामानसम्म पहुँचको हो । सबै देशले वैकल्पिक व्यवस्था गर्न सकिरहेका छैनन् । मलको मूल्य निकै बढेको छ । कमी पुरा गर्नका लागि स्थानीय स्टारमा जति अनाजको आवश्यक छ, साना किसानले त्यसलाई पुरा गर्न सकिरहेका छैनन् ।“

यदि तपाई खरिद गर्ने क्षमता राख्नुहुन्छ भने आवश्यकता अनुसारको अनाज उपलब्ध छ । निर्यातमा परनिर्भरता घटाउन आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्ने व्यवस्था मिलाउनुपर्छ । युक्रेनबाट अनाज आउने बाटो बन्द छ । यस्तो अवस्थामा सबै देशले विकल्प खोज्नु जरुरी छ । तर अनाजका अन्य उत्पादक देश हजारौँ कोस टाढा छन्, यस्तोमा त्यहाँबाट सामान मगाउनु महँगो साबित हुन्छ ।

अर्थरिन यसको लागि पनि बाटो देखाउँछिन् । उनी भन्छिन् कि यातायातसँग सम्बन्धित समस्या समाधान गर्नका लागि यसमा धेरै निवेश गर्नु पर्ने हुन्छ । संसारभरिका लाखौँ साना किसानलाई पनि सहयोग गर्नुपर्ने हुन्छ । उनी भन्छिन् “हामीले यो तय गर्नु जरुरी छ कि हामीसँग एक यस्तो वैश्विक बजार होस् जहाँ कारोबार चलिरहोस् । हामी किसानको उत्पादन बढाउन र यातायात व्यवस्था दुरुस्त बनाउनका साथै भण्डार र शीत गृहमा खर्च गर्नुपर्छ । विश्वका सबै देशमा रिटेल नेटवर्क पनि सुचारु बनाउनु पर्छ ताकी स्थानीय स्तरमा खाने सामान उपस्थित रहोस् ।“

उनी चेतावनी दिन्छिन् कि यदि यसमध्ये केही गर्न छुट्यो भने फूड सिस्टमको कमी पटक-पटक उजागर भइरहन्छ र मूल्य सोही तरिकाले बढ्दै जानेछ, जस्तो अहिले हामीले देखिरहेका छौँ । दुर्भाग्यले यदि यो स्थिति बन्यो भने गरिब मान्छेका बिच भोकको समस्या अझै बढ्नेछ ।

निर्यातमा रोक

युक्रेन युद्धका कारणले निर्यातका लागि तयार खाने सामानको ठुलो खेपमा प्रतिबन्ध लाग्यो र बजारको अनिश्चितता अझै धेरै बढ्यो । यस्तोमा सरकारहरू त्रसित देखिन थालेका छन् । धेरै देशले खाने सामानको निर्यात कम गरेका छन् या पुरै प्रतिबन्ध लगाएका छन् । इंटरनेशनल फूड पोलिसी रिसर्च इंस्टीट्यूटका सिनियर रिसर्च फेलो अर्थशास्त्री डेविड लेबोर्ड भन्छन् “हालै इन्डोनेसियाले पाम ओयल निर्यातमा प्रतिबन्ध लगाएको थियो ।“

डेविड भन्छन् कि करोडौँ मान्छेका लागि पाम ओयल खाना बनाउनेसँग सम्बन्धित धेरै ठुलो उत्पादन हो । इन्डोनेसियाले अहिले पाम ओयल प्रतिबन्धमा छुट दिएको छ । तर यस्तै किसिमका प्रतिबन्ध अरू ठाउँमा पनि देखियो । हालै मध्य एसियाका देशबाट गहुँ उत्पादनको निर्यातमा प्रतिबन्ध लगाइयो । मलेसियाले सिंगापुरको चिकेनको निर्यात बन्द गर्‍यो ।

यी तमाम कदम खाद्य सुरक्षाका लागि उठाइए । यसका साथै केही सर्त पनि जोडिएका हुन्छन् । डेविड लेबोर्ड भन्छन् “ पहिलो कुरा उपलब्धता हो । के तपाईँसँग खाने-पिउने सामान छ ? मात्रा पनि महत्त्वपूर्ण छ कि तपाईँसँग कति अनाज छ । सामानसम्मको पहुँच पनि महत्त्वपूर्ण हुन्छ । के तपाईँसँग खाने सामान किन्ने पैसा छ ?”

निर्यातमा प्रतिबन्ध लगाउनाले देशमा खाने सामान उपलब्ध रहन्छ । मूल्य पनि नियन्त्रणमा रहन्छ । तर यो केवल सिद्धान्तको कुरा हो । वास्तवमा सधैँ यस्तो हुन्छ भन्ने जरुरी छैन । “
डेविड बताउँछन् कि इन्डोनेसियाले पाम ओयल निर्यातमा प्रतिबन्ध लगाएपछि धेरै कम्पनीले उत्पादन घटाए । घरेलु बजारमा सामान बेच्नुको साटो प्रतिबन्ध हट्ने पर्खाइमा बस्न थाले । हाम्रो विज्ञको सल्लाह छ कि केही ठाउँमा ‘निर्यात बन्द’ राजनीतिक सन्तुलन कायम गर्ने माध्यम हुन सक्छ ।

डेविड लेबोर्ड भन्छन् “ यस्तो यसकारण हो किनकि कुनै पनि देशले निर्यातमा रोक लगाउन सक्दैन । सरकारले लगाउँछ र सरकारको आफ्नो एजेन्डा हुन्छ । कहिले काहीँ मध्यम या निम्न आय भएका देशमा सरकारको ध्यान सहरी जनसङ्ख्यालाई राहत दिने हुन्छ । भलै यसका लागि उनीहरूले ग्रामीण जनसङ्ख्याको हितको कुर्बानी दिनुपरोस् । तपाई सहरमा खाने-पिउनेको सामानको मूल्य कम राख्न चाहनुहुन्छ । यसको कारणले चाहे तपाईँको किसानको कम कमाइ होस् र तपाईँको केन्द्रीय बैङ्कले कम विदेशी मुद्रा हासिल गरोस् ।“

विदेशी मुद्रा भण्डार कम हुनाले देशको मुद्रामा गिरावट आउँछ । अन्य देशबाट खाने-पिउने सामान आयात गर्नु अझै महँगो हुन जान्छ । निर्यातमा रोक लगाउनाले देशको छवि पनि बिग्रन सक्छ । डेविड भन्छन् कि यस्ता देशलाई अविश्वसनीय व्यापारिक साझेदार मान्न सकिन्छ र कम्पनीहरूले तपाईँको देशमा खर्च गर्न चाहँदैनन् ।
उनी भन्छन् कि इराक र अल्जिरिया जस्ता केही देशले आफ्नो सामान निर्यात गरेर पाएको रकममार्फत आयातको बिल तिर्ने गर्छन् र किसानलाई सहयोग गर्छन् । तर जुन देशसँग स्रोतसाधन छैन, तिनले यस्तो गर्न सक्दैनन् ।

डेविड लेबोर्ड भन्छन् “लेबनान र ट्यूनीशिया जस्ता देशको अर्थव्यवस्था सर्भिस सेक्टरमा टिकेको छ । कोरोना महामारीले पर्यटनमा गरेको असर र राजनीतिक अस्थिरताका कारण उनीहरूसँग यस्तो मौका छैन । युद्धका कारणले यदि अब खाने सामानमा कुनै प्रतिबन्ध लाग्छ भने निर्यात बिल अझै धेरै बढ्न सक्छ । त्यही पनि हामी वैश्विक स्तरमा कुनै पनि अकालको कुरा गरिरहेका छैनौ । हामी बढ्दो खाद्य असुरक्षा र भोकको बढ्दो समस्याको कुरा गर्दैछौँ ।“

उनी भन्छन् कि यसको असर ५० करोड या एक अरब मान्छेमा हुनसक्छ । यदि खाद्यको स्थिति नियन्त्रणमा आएन भने आउँदो वर्ष भण्डारमा अनाज निकै कम हुनसक्छ । अनि हामी कमी कुरा गर्दै हुनेछौँ ।

कहिलेसम्म रहनेछ सङ्कट ?

अमेरिकाको टफ्ट्स यूनिवर्सिटीका प्रोफेसर डेनियल म्याक्सवेल भन्छन् “हामी खडेरीसँग लड्न सक्छौँ । हामी कोभिडसँग लड्न सक्छौँ । यो एक पटक आउने सङ्कट हो । युद्धले हरेक चिजमा समस्या बढाउँछ ।“
उनी भन्छन् कि खाद्य सङ्कट लामो समयसम्म रहन सक्छ । कोरोना महामारीको असर र बढ्दो महँगाइका कारणले खाद्य सुरक्षामा सङ्कट बढेको छ । डेनियल बताउँछन् कि धेरै देशका अघि विभिन्न किसिमका सङ्कट छन् ।

इथियोपिया, दक्षिणी सुडान र सोमालियामा सङ्घर्ष चलिरहेको छ । २०२० र २०२१मा सलहले पनि समस्या बनाएको छ  । तब खेती नष्ट भयो । जनावर चराउनका लागि केही बचेको थिएन । जसबाट डेरी र मासु बजार पनि प्रभावित भए । डेनियल भन्छन् “ खान-पानका सामानको मूल्य विश्वभरिमा पहिल्यैदेखि बढिरहेको छ । यो स्थिति धेरै हदसम्म त्यस्तै हो जस्तो हामीले २०११मा देखेका थियौँ । २०११लाई सम्झिने हो भने त्यो वर्ष सोमालियामा अनिकाल थियो । उत्तरी अफ्रिका र मध्यपुर्वका सहरी क्षेत्रमा ब्रेडको मूल्य बढ्नुको ठुलो कारणमध्ये एक थियो अरब स्प्रिङ यानिकी अरब क्रान्ति । युक्रेनमाथि हमला हुनुभन्दा अघि देखि खाद्य असुरक्षाको स्थिति बन्दै थियो ।“

विश्वभरिमा खाने सामानको मूल्यमा पहिला पनि उछाल आएको थियो तर यसपटक स्थिति फरक छ । डेनियल भन्छन् संयुक्त राष्ट्रको फूड एग्रीकल्चरल अर्गनाइजेसनले यसलाई फूड प्राइस इन्डेक्समा देखाएको छ । यो १९७४, २००८, र २०११को दाँजोमा उच्च स्तरमा छ । यदि तपाईँले २०११को इन्डेक्स हेर्नुभयो भने थाह पाउनु हुनेछ कि त्यतीबेला पनि उछाल आएको थियो तर त्यतीबाल यो कम समयका लागि थियो । मलाई लाग्छ कि यसपटक यो थोरै समयको लागि हो भनेर ग्यारेन्टी दिन सकिँदैन ।“

यस वर्ष मेमा वर्ल्ड बैङ्कले पुष्टि गर्‍यो कि आगामी डेढ वर्षमा, व्यापक खाद्य सङ्कटलाई सम्बोधन गर्न नयाँ परियोजनाका लागि थप १२ अर्ब डलर उपलब्ध गराइनेछ । यो कुल रकम बढेर ३० अरब डलर हुनेछ । स्रोत साधन मुख्यतः अफ्रिका, मध्य पूर्व, पूर्वी युरोप, मध्य एसिया र दक्षिण एसियाका लागि हुनेछ ।

डेनियल भन्छन् “ केही कुरामा भोकको समस्याबाट राजनीतिक अस्थिरताको स्थिति बन्न जान्छ । सामान्य रूपमा हामी मान्छौँ कि राजनीतिक दाउपेच या सङ्घर्षको कारणले अनिकालको समस्या आइरहेको छ तर धेरै पटक खाद्य सङ्कट पनि राजनीतिक समस्या र कोलाहलको कारण हुनसक्छ ।

त्यसो भए के युक्रेन युद्धको कारणले विश्वमा खाने सामानको सङ्कट खडा भएको हो ?
हाम्रा विज्ञ भन्छन् कि संसारमा अनाज त उपलब्ध छ तर त्यससम्म पहुँच नहुनु सङ्कटको मुख्य कारण हो । महामारी,  आपूर्ति शृङ्खलाका समस्याहरू र द्रुत गतिमा बढिरहेको मूल्य जस्तै अन्य कारणले युक्रेन युद्ध सुरु हुनुअघि नै संसारभरिको सप्लाई सिस्टमलाई बाधा पुर्‍याएको थियो । निर्यातमा प्रतिबन्धले पनि कुनै लाभ भएन । युद्धग्रस्त युक्रेनको बन्दरगाहको नाकाबन्दीले त्यहाँबाट निकासी हुने सामानमा निर्भर रहेका देशहरूलाई प्रतिकूल असर पारेको छ । यो युद्धले आगो नलगाएको भएपनि वर्षौँदेखि दन्किरहेको ज्वालालाई हावा दिएको छ ।

बीबीसी हिन्दीबाट

सम्बन्धित समाचार