बुधबार , कार्तिक २८, २०८१

कालीगण्डकीको तिरैतिर घुम्दै जाँदा

करिब सय जना अटाउने डुङ्गा पनि यहि गाउँका बोटेहरूले चलाएका थिए रे, जसलाई खियाउन १०-१२ जना मान्छेको आवस्यकता पर्थ्यो रे । सो डुङ्गा बनाउन पाल्पाको रुप्सेको टुनीको रुख प्रयोग गरिएको रहेछ, जसलाई तीन वर्षमा छेर्लुङसम्म ल्याइएको रहेछ ।

image

Photo by: Himal Darpan

– जनक कार्की

कालीगण्डकीको तिरैतिर घुम्दै जाँदा, चैतको उखरमाउलो गर्मीलाई चुनौती दिँदै, बतासले धुलो उडाएर मुहारमा पाउडर घसेको अवस्थामा एकैक्षण भएपनि पैतालालाई आराम दिन कि चौतारी खोजिन्छ नत्र पौवा नै सही । `तँ आट म पुर्‍याउँछु´ भनेजस्तै आँट्न त आटेको होइन तर, चाहना भने एउटा बिसौनीको पक्कै थियो । ‘ढुङ्गा खोज्दा देउता भेटियो’ भनेजस्तै हामीले न ढुङ्गा खोजेका थियौँ न त देउता नै भेट्नेवाला थियौँ । हामीले त थकानलाई तह लगाउन एउटा शीतल छहारी खोजेका थियौँ । मनले चिताएको जस्तै हामीले एउटा पौवा भेट्यौँ । आफूले खोजेको कुरा प्राप्त हुनु नै देउता भेटे जस्तै होला, खैर देउता त नभनौँ त्यो पौवा भेट्दा हामीलाई मन्दिर चाहिँ भेटिएको जस्तो लाग्यो ।

पौवा दुई तले थियो । दुई जनाले पौवाको मरम्मत कार्य गर्दै थिए, अर्का एकजना ज्येष्ठ नागरिक लौरो टेकेर पेटीमा बसिरहेका थिए । सामान्य कुराकानीमा औपचारिक संवाद भयो । कुराकानीको क्रममा थाहा भयो, जो ज्येष्ठ नागरिक त्यहाँ बसिरहेका थिए, उनै त्यो पौवा बनाउने व्यक्ति पनि रहेछन् । त्यसपछि कुरा खोतल्ने उत्सुकताका साथ मैले थप प्रश्नहरू गर्न सुरु गरेँ ।

उनले आफ्नो  नाम लाल बहादुर खत्री बताए । उनी वि.सं. १९९५ मा जन्मेका रहेछन् । हिसाब गर्दा ८३ वर्षको उमेर काटेर गएको भदौबाट ८४ पुगेछन् । अचम्म लाग्यो, ८४ वर्षको उमेरमा पनि यति सशक्त र साहसिलो देख्दा । स्वास्थ्यको हिसाबले पनि कतै कमजोर नदेखिएको ती बुवालाई हेरेर हामी चौरासीसम्म त बाँच्न पनि नसकिएला भन्ने मनमा कुरा खेल्यो । उनले बताए, यही साल उनको  चौरासी पूजा पनि सम्पन्न भइसकेको रहेछ । अनि लागेँ पौवाकै कुरा उक्काउन ।

uhileka kura

मलामीलाई थकाइ बिसाउने चौतारी अर्थात् पौवा: 

यो पौवा उनले वि.सं. २०६१ मा स्थापना गरेका रहेछन् । मातापिता र पितृको सम्झनामा पौवा बनाएको कुरा हामीलाई बताए । उनलाई मैले पौवा बनाउने विचार कहाँबाट आयो ? भनेर सोध्दा उनले भने, `मन्छे भएर जन्मेपछि केही न केही त गर्नै पर्छ । पृथ्वीमा हामी खाली हग्न र मुत्न मात्र त आएका होइनौँ ।´ उनको यो साधारण कुरा भित्र कत्रो दर्शन लुकेको महसुस गरेँ मैले । यो पृथ्वीले हामीलाई पाहुना बनाएर बोलाएपछि, हामीले कमसेकम केही उपलब्धिमूलक काम नगरेपनि कसैलाई हानी नोक्सान हुने काम त नगरौँ भन्ने विचारले मस्तिष्कमा हथौडा हानिहाल्यो ।

खोतल्दै जाँदा उनले यो ठाउँको नाम ‘सप्लक’ भएको बताए ।  कालीगण्डकीको घाटको छेवैमा रहेको यो ठाउँको  वरिपरि खेतले भरिएको रहेछ । हामी त्यहाँ पुग्दा गहुँले महँगो सुनको झुम्का कानभरी सजाएर उभिएको थियो । उनलाई फेरि कुरा खोतल्नको लागि मैले सोधेँ, ‘यो पौवा बनाउने खास प्रेरणा कसरी आयो ?’ यसमा एउटा प्रसङ्ग रहेछ उनले जोडे, `धेरै पहिला सायद ३० दशक हुनपर्छ, त्यतिबेला यहाँको खेतमा दुईजना पण्डितले मलमास कथा सुनाउन आएका थिए । उनीहरूले मलाई भने, `बा यहाँ घाटमा आउने मलामीलाई थकाइ बिसाउने चौतारी पनि रहेनछ, किसानलाई झरी पर्दा ओतिने छानो पनि छैन, बटुवाले भारी बिसाउने स्थान पनि छैन, यहाँ एउटा पौवा बनाउन पर्‍यो । तपाईँ सक्नुहुन्छ बनाउनोस् ।´ यो कुराले मेरो मनमा जरा गाडेर बसेको थियो । एकपटक हुरी आउँदा अञ्चालाधीसले पाटी, पौवा, मन्दिर बनाउन जापानी टीन बाँडेको थिएँ । मैले तीन बन्डल टिन त ल्याए पौवा बनाउन तर, त्यो टिन अर्कै पौवा र मन्दिरमा लगाउन परेकोले यहाँ पौवा बनाउने काम सफल हुन सकेन ।´

अनि मैले उनलाई फेरि प्रश्न गरेँ, ती पण्डितलाई के भनेर जवाफ दिनुभएको थियो ?

उनले जवाफ फर्काए, `मेरो सिद्धान्त भनेको कुरा थोरै काम धेरै हो । त्यसैले नबनाउँदा सम्म मैले गर्छु नै भनेर प्रतिबद्धता गरिन ।´

यो भन्दा झट्ट मैले सम्झिएँ, तानसेनको टुँडिखेलको प्रवेशद्वारको छेवैमा देशका मालिक ठडिएको वीरेन्द्रको पूर्णकद सहितको सालिकलाई । उनको सालिक मुन्तिर पनि `कुरा थोरै, काम धेरै गरौँ´ भनेर लेखिएको छ । वीरेन्द्रले आफ्नो जीवनकालमा कुरा पनि थोरै नै गरे, काम पनि थोरै मात्र गरे र आयु पनि थोरै बाचे तर, खत्रीले भने काम पनि धेरै, आयु पनि धेरै र कुरा कति गर्छन् थाहा भएन ।  हामीसँग एक घन्टाको भलाकुसारीमा कुरा पनि धेरै नै गरे ।

वि.सं. २०६१ सालमा उनी फेरि कस्सिए । पुरानो कुरा स्मरण गरेर पौवा बनाएरै छाडे । उनले फेरि पनि दोहोर्‍याए, `मैले पौवा मेरा पूज्य मातापिता र पितृको नाममा बनाए ।´ उनले आफ्ना मातापिताको नाम लिँदा कति श्रद्धापूर्वक लिए एकदम खुसी लाग्यो । त्यसैले भनिएको होला, `कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको ।´ तर, आजको समयमा त कुरा ‘इन्टरनेटको सुन्ने र आगो बिजुली हिटरको ताप्ने’ जमाना आइसकेको छ । आजभोलि आफ्ना मातापिताको प्रसङ्ग आउँदा खत्री बालेझैँ  पूज्य भन्ने चलन हराएर सुड्डो भन्ने चलन आइसकेको छ ।

यात्रा एउटा खुल्ला पाठशाला हो । जसले हामीलाई प्रकृति, रहनसहन, संस्कृति, भाषा, परम्परा आदिको ज्ञान दिन्छ । अझ यात्रामा भेटिएका मान्छेसँग बसेर भलाकुसारी गर्ने हो भने त एउटा नयाँ कथाको स्वाद पनि पाइन्छ । प्रत्येक मान्छे  स्मृतिको पहाड बोकेर हिँडेको हुन्छ । त्यसैले मान्छेलाई ‘यादको भरिया’ मान्न सकिन्छ । खत्री बासँग स्मृतिका बक्सा खोतल्ने क्रममा थाहा भयो, उनी त जिल्ला पञ्चायत व्यवस्था अन्तर्गत पाल्पाको बौघा गुम्बा गाविसका पूर्व उप-प्रधानपञ्च पनि रहेछन् । उनेले वि.सं. २०२४ देखि निरन्तर २०४६ सम्म चुनाव जितेर २२ वर्षसम्म उप-प्रधानपञ्च भएर गाउँको विकासमा योगदान दिएका रहेछन् । हाम्रो उत्सुक मनलाई झन् धेरै कुरा फुकाउने मन भएर आयो ।

त्यतिबेला चुनाव चाहिँ कागजको चिर्कटोमा लेखेर हुने चलन रहेछ । उनलाई मैले सोधेँ, तपाईँ बाइस वर्षसम्म उप-प्रधानपञ्च भएर के-के विकास गर्नुभयो ? उनले सविस्तार बताए, `बौघा गुम्बामा भएको स्कुल `सर्वोदय माविलाई आठ कक्षाबाट दस कक्षामा पुर्‍याइयो ।´ उनले यही प्रसङ्गमा एउटा रमाइलो किस्सा पनि सुनाए । त्यतिबेलाका शिक्षा मन्त्री मरीचमान सिंहलाई भेट्न काठमाडौँ डेलिगेसन लिएर प्रधानपञ्च सहितको समूह पुग्यो । उनका प्रधानपञ्च पिसाब गर्न गएका कता अलमल परेर हराए । १० बजे शिक्षामन्त्रीलाई भेट्ने समय थियो । प्रधानपञ्च बेपत्ता भएपछि खत्री बा पनि अलमलमा परे । अनि जसोतसो मन्त्रीलाई भेटेर बिन्ती चढाएपछि । मन्त्रीले दरबन्दी पर्दा पक्क भन्ने बाचा गरेपछि सो काम फत्ते भयो ।

मैले अन्य विकासको बारेमा पनि बताउनोस् न ? भनेर सोधेँ, उनले भने, `छेर्लुङको शारदा माविलाई ३ कक्षाबाट  आठ कक्षासम्म बनाएँ ।´ उनले त्यतिबेला शिक्षकलाई तलब खुवाउनको लागि सरकारले पैसा नपठाउने र गाउँ मिलेर धान, गहुँ आदि अन्न उठाएर करिब हजार रुपैयाँ ५-६ जना शिक्षकलाई बाँड्ने गरेको पनि खुलाए । सरकारले गाउँबाट कर उठाउन गाउँ पञ्चायतलाई आदेश दिए पनि उनको स्थानीय ग्राम पञ्चायतले जनताबाट कर उठाउन नसकिने भनेर अञ्चलाधीशलाई खबर पठाएर जनतालाई करबाट बचाएको कुरा पनि सुनाए । साथमा उनले त्यतिबेला एक लाखको बजेट पारेर बराङ्दीदेखि अर्तुङ्गासम्म कुलो मर्मत पनि गरे ।

छेर्लुङको कुलो

छेर्लुङको कुलो निकै प्रसिद्ध छ । यसबारे मैले पहिला पनि सुनेकै थिएँ । यहाँको कुलो चट्टानलाई फोरेर बनाइएको छ । त्यो चट्टानलाई कसरी उतिबेला छेडियो होला भन्ने प्रश्न सबैको दिमागमा आउँछ । त्यहीँ कुलोले गर्दा छेर्लुङमा एकदमा राम्रो धान, मकै र गहुँ गरेर तीन खेती गर्न सम्भव भएको छ । मेरो यो जिज्ञासालाई शान्त पार्न केही प्रश्नहरू कुलो सम्बन्धि राखेँ ।

वि.सं. १९८५ मा जतिबेला त्रिभुवन राजा थिए भने चन्द्र शमशेर प्रधानमन्त्री थिए । त्यतिबेला खत्री बाका पिता कृष्ण बहादुर खत्री र पुरुषोत्तम भट्टराईको नेतृत्वमा २७ जनाको सदस्यता सहित कुलो बनाउने समिति बनेको रहेछ । गुल्मीको दम्बुरखानीबाट आग्री (कुलो खन्ने कालिगड) ल्याएर उनीहरूलाई तीन वर्षको ठेक्का दिइएको रहेछ । उनीहरूको श्रमको मूल्यको लागि नुन, तेल, अन्न, पाँच हजार पैसासहित दस मुरी धान उत्पादन हुने खेत दिने सहमति पनि भएको रहेछ ।  तीनवर्षे ठेक्का १९८८ मा सक्काइएको रहेछ । उक्त कुलो ५८ हेक्टरको छ । कुलोबाट पानी आइसकेपछि छेर्लुङमा पानीको सुविधा भयो । त्यसपछि धान खेती गर्न थालियो । खत्री बाले भने, `कुलो आएर धान खेती यहीँ हुन थालेपछि तराई झर्ने बसाइँसराइ रोकियो । बरु यो गाउँमा स्याङ्जा लगायत वरपरका गाउँबाट बसाइँ सर्न थाले । यहाँको अन्न अन्य गाउँमा बेँच्न थालियो । तराईमा झर्दा हैजाको डर हुन्थ्यो, हैजाले मर्न परेन ।´

एउटा कुलोले गाउँलाई सम्पन्नशाली बनायो तर, खत्री यतिबेला चिन्तित छन् । हुन त पहिलेभन्दा दोब्बर खेती हुन्छ रे तर, रसायनिक मल प्रयोग हुँदा माटोको आयु घट्दै जाने कुराको चिन्ता व्यक्त गरे । यहाँको आफ्नै बिउ छेर्लुङ्गे धान भनेर प्रख्यात थियो, त्यो धान आजभोली सम्पूर्ण रुपमा लोप भइसकेको छ । यसको स्थान अहिले विदेशी धानका बिउले लिएको कुरा पनि बताए ।

हाम्रा पुर्खाले देखिसकेका पानीजहाज :

छेर्लुङको तल्लो गाउँलाई ‘बोटे गाउँ’ भनिन्छ । बोटे गाउँ कालीगण्डकीको किनारैमा अवस्थित छ । बोटेहरूको मूख्य पेशा भनेको माछा मार्ने र डुङ्गा खियाउने हो । आजभोलि झोलुङ्गे र पक्की पुल बनेपछि डुङ्गाको प्रचलन हराउँदै गएको छ। खत्री बालाई मैले उहिले डुङ्गा चल्ने बेलाको कुरा कोट्याउन खोजेँ, खत्री बाले भने `उहिले जब पुल थिएन । त्यतिबेला यहाँ डुङ्गाद्वारा मान्छे आवतजावत गर्थे । यसै गाउँका मानिस डुङ्गा चढ्दा वर्षको एक मुरी धान दिनु पर्थ्यो भने अन्य गाउँका मान्छेले डुङ्गा चढेको पैसा दिने प्रचलन थियो । डुङ्गाकै प्रसंगमा उनले एउटा रोचक कुरा सुनाए । उनका अनुसार करिब सय जना अटाउने डुङ्गा पनि यहि गाउँका बोटेहरूले चलाएका थिए रे, जसलाई खियाउन १०-१२ जना मान्छेको आवस्यकता पर्थ्यो रे । सो डुङ्गा बनाउन पाल्पाको रुप्सेको टुनीको रुख प्रयोग गरिएको रहेछ, जसलाई तीन वर्षमा छेर्लुङसम्म ल्याइएको रहेछ । एकवर्ष डुङ्गा बनाउन लागेछ अनि करिब एक हजार मानिसले डुङ्गालाई तानेर करिब ३०-३५ किलोमीटरको दुरीबाट गाउँसम्म ल्याउन तीन वर्ष लागेछ । नेपालमा अहिले पानीजहाजको कुरा चल्दा लाग्यो, सानोतिनो पानीजहाज त हाम्रा पू्र्खाले देखिसकेका रहेछ्न् ।

खत्रीबासँग कुरा गर्दै जादा थाहा भयो उनले एक दर्जन भन्दा बढी स्कुल र मन्दिरमा पँचास हजारदेखि एक लाखसम्मको अक्षयकोष पनि खडा गरिदिएका रहेछन् । उनका दस जना सन्तान रहेछन् । ५ छोरी ५ छोरा । उनी आफू निरक्षर र हलो जोतेको मान्छे भएकोले शिक्षाको महत्व बुझेर सबै छोराछोरीको पढाईलाई महत्व दिइएको देखियो । उनका पाँचैजना छोरीहरू स्टाफ नर्स हुन् भने पाँचैजना छोराहरूले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । आफूले आफ्नो जीवनकालमा परदेश कहिले नजाने निर्णय लिएका खत्री बाले आफ्ना छोराहरूलाई भने परदेश जानबाट रोक्न सकेनन् । उनका प्राय छोराहरू स्वीडेनमा बस्छन् । दुईवर्ष पहिला श्रीमतीले पनि छोडेर गएपछि उनी एक्ला भएका छन् । अहिले कहिले गाउँमै त कहिले तानसेनमा छोरीसँग बस्ने कुरा बताए ।

२०४७ सालको प्रजातन्त्रपछि खत्री बा नेपाली काङ्ग्रेसमा प्रवेश गरे । मैले उनलाई सोधेँ, ‘बा तपाईं त उप-प्रधानपञ्च, राप्रपामा जान पर्ने होइन र ?’ उनले भने, ‘जान त राप्रपामा गइन्थ्यो होला तर, हाम्रा नेता प्रजातन्त्र आएपछि भागेर काठमाडौँ गए, त्यसैले प्रजातान्त्रिक पार्टी रोजियो ।’

प्रजातन्त्रपछि उनी फेरि  बौघा गुम्बा गाविसको उपाध्यक्षमा निर्वाचित भए । मैले फेरि उनलाई सोधेँ, ‘बा पञ्चायत र प्रजातन्त्रमा के फरक रह्यो ?’ उनले भने- `बोल्ने स्वतन्त्रता छ ।´

अरु केही कुरा थप्नोस न !

उनले भने, `बाबु यो जमाना बोल्नु दुश्मन कमाउनु हो । बोल्न हुन्न ।´ बोल्ने स्वतन्त्रता भएको गणतन्त्रमा बा आफैंले बोल्न हुन्न भनेपछि नामै मात्रको गणतन्त्र त होला नि भन्ने पनि सोचेँ । बालाई एक घन्टा जति अलमालाए पछि कुराकानी छोट्याउन पर्ने सोचेर मैले जाने बेलामा एउटा प्रश्न गरेँ, ‘बा चुनाव आउँदैछ स्थानीय सरकारले के गरोस्  भन्ने चाहनुहुन्छ ?’ उनले निराशावादी जवाफ दिए, `केही गर्दैन बाबू यीनिहरूले ।´

अन्तिममा मलाई सोध्न मन लागिहाल्यो,  ‘बा जिन्दगी के रहेछ ?’ उनले भने, ‘केही होइन, कहाँबाट आएको, काहाँजाने केही थाहा छैन । मरेपछि पनि नाम रहने काम गर्नपर्छ ।’

uhileka kura

‘बात निक्लेगी तो बहुत दूर तक जाएगी’ भनेजस्तै पौवाबाट सुरु भएको गफ १०० वर्ष पुरानो इतिहास उत्खनन गर्न पुग्यो । नखुलेका धेरै कुरा खोलियो । एकपछि अर्को प्याजको पत्रपत्र जस्तै उनका कर्म खोलिदै गए । भन्न त उहिलेको कुरा खुइलेर गयो भन्ने उखानै छ । उहिलेका सबै कुरालाई खुइलेर जान चाहिँ दिनु हुन्न । उहिलेका कुरालाई रंग लगाएर पुस्तानतरण गरिरहन् पर्छ । उहिलेला कुरामा धेरै भिटामिन लुकेको छ । जिन्दगीको लागि पक्कै पनि उहिलेका कुरा निकै स्वस्थ्यकर पनि छ । यो हामी आफैँले बोझिलो बनाइरहेको जिन्दगीलाई यात्रामा निकाल्नु र यस्तै यात्रामा भेटिएका मान्छे मात्र होइन, हरेक निर्जीवचिजसँग संवाद गर्नाले साच्चै `लाइफ इज ब्युटिफुल´ भन्ने महशुस गराउने रहेछ ।

Tags:

सम्बन्धित समाचार