भक्तपुर जिल्लाको नवनिर्मित सहरहरू मध्य एक दुवाकोट पनि रहेको छ । दुवाकोट शब्द देवीकोटबाट अपभ्रंश भई बनेको शब्द हो । स्वस्थानी व्रत कथामा देवीकोटबारे उल्लेख गरिएको छ ।
सतीदेवीको अङ्ग पतन हुने क्रममा देवीकोटमा गएर बायाँ घुँडा पतन भएको उल्लेख गरिएको छ ।
“देवीकोटमा पुगेर बायाँ घुँडा पतन भए । देवीकोट पीठ भद्राक्ष देवी ललितायोगिनी नात्यश्वर महादेव उत्पत्ति भए । शिवशक्ति स्वरुपले रहे । त्यस पुण्यभूमिमा मेष आदि बार्ह राशि आएर तपस्या गरे । ईश्वरी प्रसन्न भई वरदान माग भने मनुष्य आदि हाम्रो अधीनमा रहुन् भनी मागे ईश्वरीले तथास्तु भनी वरदान दिए ।”
यस हरफबाट स्पष्ट हुन्छ कि देवीकोटमा सतीदेवीको बायाँ घुँडा पतन भएको थियो । जहाँ भद्राक्षदेवी र नात्यश्वर महादेवको उत्पत्ति भएको थियो । चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोटमा घुँडाको आकारको त्रिपुरासुन्दरी भद्राक्षदेवी र मातेश्वर महादेवको मन्दिर अवस्थित रहेको छ ।
पौराणिक कालमा सृष्टि भएको पीठको नाम भद्राक्ष देवी ललितायोगिनी थियो भने हाल आएर यस देवीलाई त्रिपुरासुन्दरी भद्राक्षदेवी भन्ने गर्दछ । त्यस्तै पौराणिक कालमा नात्यश्वर महादेवको सृष्टि भएको थियो भने हाल उक्त महादेवको नाम मातेश्वर रहन पुग्यो । यसबाट यो स्पष्ट हुन्छ कि देवीकोट शब्दबाटै दुवाकोट हुन पुगेको हो ।
जसरी यस पुण्य भूमिमा बार्ह राशि आई तपस्या गरि वरदान पाएका थिए हाल पनि यस स्थानमा बार्ह राशिहरूको मूर्ति स्थापना गरेका छन् । राशिहरूले वरदान पाए झैँ त्रिपुरासुन्दरी भद्राक्षदेवी र मातेश्वर महादेवको पूजा गरेको खण्डमा आफूले चिताएको पुग्छ भन्ने जनविश्वास रही आएको छ ।
स्रोत: प्रभु भण्डारी