सिन्धुपाल्चोकको पाँच पोखरीबारे नसुन्ने कमै होलान् । सरकारले एक सय प्रमुख गन्तव्यभित्र समेटेको पाँच पोखरी जाने पर्यटकको सङ्ख्या बढ्दो छ । हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने पाँच पोखरीमा घुमफिर मन पराउनेहरू बाह्रै मास पुगिरहेका हुन्छन् ।
तर यस पटक हामीले पाँच पोखरी भन्दा माथिका रमणीय पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्यौँ । ४०६५ मिटरको उचाइमा रहेको पाँच पोखरीबाट तीन दिनको पदयात्रा गरेर ४९०० मिटरको उचाइमा रहेको “गन्छेर्पो बेस क्याम्प” सम्म पुग्यौँ । त्यस क्षेत्रमा गर्न सकिने पदयात्रा पर्यटनको सम्भावना बुझ्यौँ ।
यहाँ हामीले काठमाडौँदेखि पाँच पोखरी र पाँच पोखरीदेखि “गन्छेर्पो बेस क्याम्प” सम्म गरेको मनोरम यात्रा यहाँहरूसमक्ष ल्याएका छौँ ।
पदयात्राका क्रममा देखिएका उच्च पहाडी र हिमाली जैविक विविधता, अनुपम प्राकृतिक सौन्दर्य, नाकैमा ठोकिन आउने जुगल हिमाल श्रृंखला मात्र होइन, इटलीको डोलोमिटिज् हिमाली उपत्यकासँग तुलना गर्न सकिने लेङसिङ भ्यालीको सुन्दरतासँग यहाँहरूलाई साक्षात्कार गराउँदै छौँ ।
पहिलो दिन
काठमाडौँ – भोताङ
आज हाम्रो यात्राको पहिलो दिन । पाँच पोखरी थाङपाल गाउँपालिकाले पाँच पोखरी–आमायाङ्ग्री तथा गन्छेर्पो हिमाल आधार शिविरसम्मको पदमार्ग खोजी कार्यदलमा सहभागी हुनको लागि जाँदैछौं । हामी पाँच जना पर्यटन क्षेत्रमा काम गरिरहेका युवाहरूको टोली उत्साहित हुँदै काठमाडौँबाट हिँड्यौँ । हाम्रो पहिलो दिनको बसाई भोताङको निमा हसिना होमस्टेमा भयो । भोताङ गाउँपालिकाको वडा नं. – ३ मा रहेको तामाङ गाउँ हो । १८४२ मिटरको उचाइमा रहेको यस गाउँमा स्थानीय स्वादको खानाका साथै तामाङ रहनसहन अवलोकन गर्न पाइन्छ ।
दोस्रो दिन
भोताङ – नोस्याङपाटी
भोताङको होमस्टेमा पहिलो बास बसेपछि आज यात्राको दोस्रो दिन पदयात्रा सुरु हुन्छ । आजको हाम्रो बास नोस्याङ्पाटीमा हुनेछ । पदयात्रा सुरु भयो भोताङबाट । बाटो राम्रै रहेछ । बाटोमा चौरीका खर्कहरू छन् । केही समयको हिडाईपछि छिम्ती पुग्यौं । यो तामाङ बस्ती हो । छिम्ती र देउराली बीचको डाँडामा मानव निर्मित झरना बनाइदै छ ।
ठुलो भीरमा लार्के खोलाको पानी ल्याएर झरना बनाइदै छ । पाँच पोखरी समेत बनाएर त्यहाँ पार्क बनाउने योजना रहेको स्थानीय बताउँछन् । जङ्गलको बाटो हुँदै मैजाङ्बु खर्क पुगियो । यो पनि चौँरी खर्क नै हो । त्यसपछि टुपी डाँडा पुगियो । यहाँ होटलहरु छन् । खाना पछि ताप खर्क हुँदै नोस्याङपाटी पुगियो । नोस्याङपाटीमा बासका लागि होटलहरु छन् । ३६५७ मिटर अग्लो स्थानमा रहेको नोस्याङपाटी दृश्यावलोकनको लागि उपयुक्त छ । जुगल हिमाल रेन्ज, दोर्जे लाक्पा, गन्छेपो हिमाल देख्न सकिन्छ । तलतिर हरियाली डाँडाहरूको मनोरम दृश्य देख्न सकिन्छ ।
तेस्रो दिन
नोस्याङपाटी–पाँच पोखरी
नोस्याङपाटीबाट करिब चार घण्टा हिंडेपछि पाँच पोखरी पुगिन्छ । पाँच पोखरीबाट ढाेका भनिने दक्षिण तिर ठुलो ठुलो ढुङ्गाले बनेको स्थानमा पुगिन्छ । पाँच पोखरी पुग्नुअघि सात घुम्ती कटेर जानु पर्छ । सात घुम्ती भनेको ठाडै उकालोलाई हिँड्न मिल्ने गरी बाटो बनाउँदा बनेको घुम्ती हो । उकालो सकिए पछि लौरी विनायक पुगिन्छ । खास गरेर उकालोमा टेकेर आएको लौरो बिसाउने स्थानलाई लौरो विनायक भनिएको हो ।
पाँच पोखरी ४०६५ मिटर उचाइमा रहेको छ । यो स्थानमा जनै पूर्णिमाको दिन ठुलो मेला लाग्छ । यहाँ मन्दिर, बासका लागि पाटी, होटेल, सार्वजनिक चर्पीहरू बनाइएका छन् । यो स्थान पाँच पोखरी गाउँपालिकाको वडा नं. ३ मा पर्छ । पाँच पोखरीमा ५ वटा पोखरीहरू छन् । यो बुद्ध र हिन्दु धर्मावलम्बीका लागि पवित्र धार्मिक स्थल हो । इन्द्रावती नदीको उद्गम हो, पाँच पोखरी । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । यो क्षेत्रका बारेमा स्कन्ध पुराणमा उल्लेख गरिएको छ। ठुली एकादशी र जनपूर्णिमाका दिन पाँच पोखरी धाममा भव्य मेला लाग्छ जसमा सयौँ भक्तजनहरूको घुइँचो लाग्छ।
बुद्धिस्टहरू यस स्थानलाई महागुरु पद्मसंभव, महायोगी मिलारेपा, आमा याङ्ग्रीदेखि अनन्त अवतारी लामा गुरुले तपस्या गरेको भूमि मान्छन् ।
चौथो दिन
पाँचपोखरी-छयाक्साल (४४७३ मी.)
अहिलेसम्म पदयात्रीहरु पाँच पोखरी पुगेर फर्कन्छन् । तर हाम्रो गन्तव्य भने पाँच पोखरी होइन, यहाँबाट थप दुई दिनमा पुगिने लेङसिङ भ्याली हो । पाँच पोखरीबाट हिँडेको दिन हामी छ्याक्साल पुग्यौँ । ४४७३ मिटरको उचाइमा रहेको छ्याक्साल भेडी खर्क हो । यहाँ पुग्ने बाटो ठिकै छ । उकालो–ओरालो हुँदै जानु पर्छ । सा–साना पास तथा खर्कहरू छिचोलेर यो ठाउँ पुगिन्छ । बाटोबाट पुरै दिन जुगल हिमालको रेन्ज देखिन्छ । बुट्यानहरूमा समाउँदै सा–साना खोलाहरू तर्दै यहाँ पुगिन्छ । छ्याक्साल यस पदमार्गको पहिलो क्याम्पिङ साइट पनि हो । यहाँ पनि सानो पोखरी छ ।
पाँचौँ दिन
छ्याकसाल-लेङसिङ भ्याली (४०५५ मी.)
हामी आज लेङसिङ भ्याली पुग्ने दिन । छ्यक्सालबाट ४५९० मिटरको पास पार गरेर तल ‘लेङसिङ भ्याली’ पुगियो । पासबाट गञ्छेपो हिमाल, जु्गल हिमाल रेन्ज र लेङसिङ भ्यालीको भ्यू देखिन्छ । लेङसिङ भ्यालीमा जोर झरना छन् । सँगसँगै रहेकाले यसलाई जोर झरना नाम दिइएको बुझ्न सकिन्छ । यहाँ अरू पनि साना झरनाहरू छन् । यो फराकिलो मनोरम उपत्यका हो । यो खासमा भेडी गोठको खर्क हो । गन्छोर्पो हिमालको काखमा अवस्थित यो भ्यालीमा पुगेपछि पुग्दाको सबै थकाइ बिर्सिन्छ । यहाँ पुग्दा हामी युरोपको अति सुन्दर ठाउँ इटलीको डोलिमिटी पुगेको अनुभव हुन्छ ।
लेङ्सिङ भ्यालीमा हामी दुई दिन बस्यौँ । हाम्रो उद्देश्य गन्छेर्पो हिमालको आधार शिविरसम्मको पदमार्ग पत्ता लगाउने थियो । यस हिमालको आरोहणको लागि अहिलेसम्म लाङटाङ क्षेत्र भएर आरोहण हुँदै आएकोमा हामीले पाँच पोखरी हुँदै आरोहण रुट खोज्ने कोसिस गर्यौ । त्यही योजना अनुसार हामीले गन्छेर्पो हिमालको दक्षिण हिम नदीनजिक ‘गन्छेर्पो बेस क्याम्प’ तय गर्न सफल भयौँ । हामीले छैटौँ दिन दक्षिण–पश्चिम तर्फ बाटो खोज्यौँ र ४९०० को उचाइमा पुग्यौँ । सातौँ दिन दक्षिणतर्फ ४९०० मिटरकै कै उचाइमा पुगेर आधार शिविर तय गर्यौँ ।
सातौँ दिन
लेङसिङ भ्याली-सेमथाङ सिदि (४५०३ मी.)
गञ्छेपो हिमालको आधार शिविर तय गरेर लेङसिङ भ्याली फर्केपछि दुई घण्टाको यात्रा गरी सेमथाङ सिदि पुग्यौँ । ४५०३ मिटर उचाईको सेमथाङ सिदि पनि भेडा खर्क नै हो । यहाँबाट गञ्छेपो हिमाल र जुगल हिमाल रेञ्जको मनोरम दृश्य नजिकैबाट देख्न सकिन्छ । तलतिर हरिया पहाडहरु हेरेर खुशी हुन पाइन्छ ।
आठौ दिन
सेमथाङ सिदि- पेडाले ढुंगा (४०८२ मी.)
आठौँ दिन सेमथाङ सिदिबाट पेडाले ढुङ्गातिर लाग्यौँ । बाटो रमाइलो छ । फराकिला चौरहरू, चौलेनी पोखरी, हिमाली बुट्यानहरुको अवलोकन गर्दै यात्रा रमाइलो छ । पेडालेमा ओडार छ । पदयात्रीहरुले त्यही ओडारमा पनि आश्रय लिन सक्छन् । डाँफे प्रशस्तै देखिंदो रहेछ ।
नवौं दिन
पेडाले ढुंगा-ड्रागन गुफा – पेडाले ढुंगा
आज हाम्रो यात्राको नवौ दिन पेडालेबाट ड्रागन गुफासम्म हिड्यौं । यो यात्रामा अर्को पुग्नैपर्ने ठाउँ अवलोकन गर्ने अवसर पनि मिल्यो– ड्रागन शिला र ड्रागन गुफा । जुन जो कसैले नपाउन नसक्छ । ड्रागन शीला र ड्रागन गुफा यस पदमार्गको अर्को आकर्षण हो ।
दशौं दिन
पेडाले ढुंगा- गिलदाङफु (४२७० मी.)
पेडाले ढुंगाबाट गिलदाङफु जाने बाटो भने निक्कै कठिन रहेछ । जंगलको बाटो, भीर भएकोले पनि समस्या भयो । गिलदाङफु गञ्जला पासबाट आउने नियमित ट्रेकिङ रुट हो । यो पनि ठुलो फराकिलो ठाउँ छ । यहाँ पनि क्याम्प मै बस्ने हो ।
पेडाले ढुंगा देखि गिलदाङफु १०औँ दिनमा १० घण्टा लामो लगातार हिँडाइले बेस्सरी थाकियो । मालिङ्गो घारी भित्रको बाटो पहिल्याउँदै हिँड्न निकै मुश्किल भयो । बाटो हराएर कति ठाउँमा अल्मिलिदै बित्यो ।
एघारौ दिन
गिलदाङफु – आमा याङग्री- छोमाथाङ (३१२६ मी.)
यो पदयात्राको अन्तिम बास छोमाथाङ हो । गिलदाङफुबाट डुपु, आमा याङग्री हुँदै छोमाथाङ आइपुगिन्छ । डुपुमा गुरु रिम्पोछे गुफा छ । यो बौद्ध मार्गीको लागि महत्त्वपूर्ण रहेको छ । छोमाथाङबाट सिधै काठमाडौँ ७ घण्टामा आउन सकिन्छ ।
यस पदमार्गको अर्को एउटा आकर्षण आमा याङ्ग्री हो । तीन हजार सात सय ७१ मिटर अग्लो टाकुरो हो आमा याङ्ग्री । यहाँबाट दोर्जे लाक्पा, गणेश हिमाल, लाङटाङ हिम–शृङ्खला, गौरीशङ्कर हिम–शृङ्खला, भैरव टाकुरा, ग्याल्जेन ‘पीक’, याङ्ग्री हिमाल, किमसुङ, भेमडाङ हिमाल, उर्कुमा हिमाल, यान्सा छेञ्जी हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालहरू देखिन्छन् । पद्मसम्भव (गुरु रिम्पोचे) र मिले रेप्पाले आमा याङ्ग्रीमा पाइला टेकेर भोटतर्फ लागेको भन्ने जनविश्वास छ ।बौद्ध धर्मावलम्बीहरू र हिन्दुहरू गुरु पद्म सम्भवले तपस्या गरेको यस तपो भूमिमा पाइला राख्दा मोक्ष मिल्ने जनविश्वास छ ।
यसरी सिन्धुपाल्चोकको पाँच पोखरी गाउँपालिकाबाट प्रवेश गरेर चर्चित पाँच पोखरी, अनि रमणीय लेङसिङ भ्याली हुँदै आमा याङ्ग्रीबाट हेलम्बुको शेर्माथाङ् ११ औँ दिनमा आइपुगियो ।
१२ औँ दिन हामी पुन काठमाडौँ आइपुग्यौ । यो पदयात्रा आकर्षण भनेको काठमाडौँदेखि छोटो यात्रामै हिमालको काखसम्म पुग्नु हो । अर्को कुरा यो पदमार्ग धार्मिक तथा दृश्यावलोकनको लागि उपयुक्त रहेको छ । – सञ्जीव गुरुङ (माउन्टेन गाइड तथा ट्रिप हिमालायका अपरेशन म्यानेजर हुन् ।)