भूकम्पपछि घर बनाउन रड, सिमेन्ट, जस्तापाता लगायत आधुनिक प्रविधि तथा सामग्रीको प्रयोग अनिवार्य जस्तै भयो । घर बनाउन आवश्यक सामग्रीहरू फेरिएसँगै घरको संरचना र गुणहरू पनि फेरिएका छन् । यद्यपि, पुराना परम्परागत प्रविधिमा आधारित स्थानीय स्रोत र साधनबाट बन्ने घरको महत्त्व घटेको छैन र घट्ने पनि छैन ।
गाउँको घर भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा एउटा तस्बिर बन्छ, दुई वा चार पाखे छानो, खर वा ढुङ्गाले छाएको, ढुङ्गा र माटोको आयातकार, वर्गाकार वा गोलाकार गाह्रो । अलि सानो झ्याल ढोका अनि पिँडी । प्रायः एउटै गाउँमा चाहिँ उस्तै खालका घरहरू । तर, अहिले गाउँका घरहरूले आफ्नो रूप, रङ्ग र आकार पनि फेरेका छन् । घरहरू मिलेर गाउँ बन्ने त हो, घरसँगै गाउँको मुहार पनि फेरिएका छन् । हुन त समय सँगसँगै सबै चिजले परिष्कृत हुँदै जान्छ ।
०७२ सालको विनाशकारी महाभूकम्पले नेपालका थुप्रै गाउँहरूलाई बगरमा परिणत गरिदियो । उक्त भूकम्पमा सयौँ वर्ष पुराना घरहरू गर्ल्यामगुर्लुम ढले । हजारौँ वर्ष पुराना मठ-मन्दिर र पाटी-पौवाहरू भत्किए । अन्य थुप्रै भौतिक संरचनाहरू क्षतविक्षत भयो । हाम्रो भौतिक संस्कृति ढल्यो, इतिहास ढल्यो, सभ्यता ढल्यो । घर, मठमन्दिर, पाटी-पौवा, बाटोघाटो, चौतारी, पानी-पँधेराे आदी हाम्रा भौतिक संस्कृति हुन् ।
जनधनको क्षतिको हिसाबकिताब गरेर साध्य छैन । उक्त विनाशकारी भूकम्पले गाउँहरूको मौलिक पहिचान मेटिदियो । रूप रङ्ग बदलिदियो । पुनर्निर्मित कुनै गाउँहरू झनै कुरूप देखिएका छन् भने केही झनै सुन्दर पनि देखिएका छन् । सुन्दर या कुरूप जे देखिए पनि गाउँहरूको मौलिक संरचना, रूप रङ्ग र पहिचान भने पक्कै मेटिएका छन् ।
भूकम्पपछि बनेका घरहरूमा परम्परागत प्रविधिमा आधारित स्थानीय स्रोत साधन भन्दा आधुनिक प्रविधि तथा सामग्रीहरूको बढी प्रयोग भयो । पहिले गाउँमा घर बनाउन ढुङ्गा, माटो, खर, बाँस, काठ आदि भए पुग्थ्यो । यी सबै स्थानीय स्तरमै उपलब्ध हुन्छन् । तर, भूकम्पपछि घर बनाउन रड, सिमेन्ट, जस्तापाता लगायत आधुनिक प्रविधि तथा सामग्रीको प्रयोग अनिवार्य जस्तै भयो । घर बनाउने सामग्रीहरू फेरिएसँगै घरको रूप, रङ्ग, संरचना र गुणहरू पनि फेरिएका छन् । यद्यपि, पुराना परम्परागत प्रविधिमा आधारित स्थानीय स्रोत र साधनबाट बन्ने घरको महत्त्व घटेको छैन र घट्ने पनि छैन ।
स्थानीय स्रोत साधनले बन्छ
परम्परागत गाउँले घर बनाउन ढुङ्गा, माटो, खर, बाँस र काठ भए पुग्छ । गाह्रो लगाउनका लागि ढुङ्गा र माटो भए पुग्छ । पछि भित्तामा प्लास्टर गर्न र रङ्गिन बनाउन पनि माटोकै प्रयोग गर्न सकिन्छ । छाना छाउनका लागि खर भए पुग्छ । छानो अड्याउन खाँबाे, डाडाभाटा र बलो आवश्यक पर्छ । डाडाभाटा र बलो बाँसको बनाउन सकिन्छ । काठ उपलब्ध नभए खाँबो पनि बाँसकै बनाउन पनि सकिन्छ । तर, अलि छिप्पिएको बाँस चाहिन्छ । तला बनाउँदा निदाल र दलिन काठकै बन्छ भने सिलिङ छाप्नका लागि पनि काठकै चिर्पट अथवा फल्याक प्रयोग गर्न सकिन्छ । काठ नभए बाँसको कप्टेरो पनि प्रयोग गर्न सकिन्छ । काठकै झ्याल ढोका र चौकोस बन्छ । छाउने बेलामा खरलाई डाडाभाटासँग बाँध्नको लागि चोयाको आवश्यक पर्दछ । चोया बाँसकै बनाउने हो । चोया निङ्गालोको पनि बनाउन सकिन्छ । बाँस र निङ्गालाे प्रायः गाउँघरमा सहजै पाइन्छ । एक पटक छाएपछि चिसो ठाउँमा पाँचदेखि दश वर्षसम्म ढुक्क हुन्छ । तर, गर्मी ठाउँ बेँसीमा चाही अलि कम टिक्छ । यसरी स्थानीयस्तरमै सहजै उपलब्ध हुने सामग्रीहरूको प्रयोग गरी घर बनाउन सकिन्छ ।
जाडोमा न्यानो, गर्मीमा शीतल
यस्तो परम्परागत घरको सबैभन्दा राम्रो गुण भनेको चाहिँ जाडोमा न्यानो हुन्छ भने गर्मीमा शीतल हुन्छ । यस्तो घर ‘साउन्डप्रुफ’ पनि हुन्छ । बाक्लो गाह्रो र छानो हुने भएकाले बाहिरको आवाज आउँदैन । जस्तापाताले छाएको घरमा पानी पर्दा ठुलो आवाज आउँछ तर खरले छाएको घरमा कुनै आवाज आउँदैन । शान्त हुन्छ । यस्तो घरमा चट्याङ पनि लाग्दैन ।
वातावरणीय हिसाबले पनि फाइदाजनक
धातु, प्लास्टिक तथा सिसाको प्रयोग वातावरणीय हिसाबले हानिकारक छ । आधुनिक घर बनाउँदा फलामको रड वा डन्डी, जस्तापाता, आल्मुनियम जस्ता धातुहरू, सिसा र प्लास्टिकका सामाग्रीहरूको प्रयोग हुन्छ । यस्ता सामाग्रीहरूले वातावरणलाई हानि पुर्याउँछ । यतिमात्रै नभएर सिमेन्ट, इँटा, गिटी बालुवाले पनि उत्पादन, ओसारपसार तथा प्रयोग र प्रयोगपछि पनि वातावरणमा असर पुराइरहेका हुन्छन् । यस्ता आधुनिक प्रविधि तथा सामाग्रीहरूको प्रयोग बढ्दै जाँदा वातावरणीय सन्तुलन र पारिस्थितिक प्रणाली बिग्रँदै गएको छ । यो अहिले विश्वव्यापी चिन्ताको विषय बनेको छ । तर, परम्परागत प्रविधिमा आधारित स्थानीय स्रोत सामग्रीहरूको प्रयोगबाट बन्ने घरले वातावरणलाई कुनै हानि गर्दैन । यस्तो घरमा प्रयोग हुने सामाग्रीहरू कुहिएर जान्छ र माटोमा परिणत हुन्छ । वातावरण प्रदूषित हुँदैन । त्यसैले यस्ता परम्परागत प्रविधि र स्थानीय स्रोत साधनले बन्ने घर वातावरणीय हिसाबले पनि फाइदाजनक छ ।
सजाउन पैसा पर्दैन
यस्तो परम्परागत घर सजाउन आधुनिक रङ्गहरू किन्नुपर्दैन । स्थानीय स्तरमा पाइने विभिन्न रङ्गका माटो प्रयोग गरेर सजाउन सकिन्छ । भूगोल अनुसार विभिन्न प्रकारका माटो पाइन्छ । सेतो माटो (कमेरो) धेरै ठाउँमा पाइन्छ । रातो, कालो, खैरो, पहेँलो रङ्गका माटो पाइन्छन् । माटोले नै लिपपोत गरेर चिटिक्क पार्न सकिन्छ । भित्तामा सेतो, रातो लगाउन सकिन्छ । झ्याल ढोकामा कालो, खैरो रङ्गको माटो प्रयोग गर्न सकिन्छ । भुँइमा आफ्नो इच्छाअनुसारको माटोले पोत्न सकिन्छ ।
तर, आगोबाट जोगाउनुपर्छ !
हुन त आगोले जुनसुकै चिजलाई पनि खरानी बनाउन सक्छ, जुनसुकै पदार्थलाई पनि पगाल्न सक्छ । तर, परम्परागत प्रविधि र स्रोत तथा साधनबाट बनेका घरहरू आधुनिक सामग्रीहरूबाट बनेका घरहरूभन्दा बढी संवेदनशील हुन्छन् । सजिलै बल्न सक्ने खर, बाँस, काठ आदिको अधिकतम प्रयोग हुने भएकाले परम्परागत घरलाई आगोबाट भने विशेष सावधानी अपनाउनुपर्दछ ।