बिहिबार , मंग्सिर ६, २०८१

टापुहरू मिलेर बनेकाे सानाे देश ‘माल्दिभ्स’काे पर्यटनबाट केही सिक्ने कि ? 

माछा मार्ने कार्य माल्दिभ्सकाे ऐतिहासिक रूपमा प्रमुख आर्थिक गतिविधि हो र यो अहिलेसम्मको सबैभन्दा ठुलो क्षेत्र हो । त्यसपछि द्रुत गतिमा बढिरहेको पर्यटन उद्योग हो ।

image

साना-साना टापुहरू मिलेर बनेको सानो देश हो, माल्दिभ्स । दक्षिण एसियामा श्रीलङ्का र भारतको दक्षिण-पश्चिममा अवस्थित माल्दिभ्स एसियाकै सबैभन्दा सानो देश हो । हिन्द महासागरको बीचमा टापुहरू मिलेर बनेको यस देशको क्षेत्रफल जम्मा २९८ वर्ग किलोमिटर रहेको छ । करिब पाँच लाख साठी हजार जनसङ्ख्या भएको माल्दिभ्स सानो तर सम्पन्न देश हो ।

माल्दिभ्स सार्क राष्ट्रहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश हो । सन् २०२१ को आर्थिक सर्वेक्षण अनुसार माल्दिभ्सको वार्षिक प्रतिव्यक्ति आय ९८०७.५८ (नौ हजार आठ सय सात दशमलव पाँच आठ डलर) छ । यो भनेको हालको अमेरिकी डलरको मूल्य अनुसार करिब साढे बाह्र लाख नेपाली रुपैयाँ हुन जान्छ । यसको अर्थ माल्दिभ्सका प्रत्येक नागरिकहरू वर्षमा साढे १२ लाख रुपैयाँ अर्थात् मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउँछन् । जबकि नेपालको सोही वर्षको वार्षिक प्रतिव्यक्ति आय १०३७.०९ अमेरिकी डलर छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब एक लाख ३० हजार रुपैयाँ हुन जान्छ । यसको अर्थ नेपालीहरू एक वर्षमा जम्मा एक लाख ३० हजार रुपैयाँ अर्थात् मासिक मुस्किल्ले करिब ११ हजार रुपैयाँ कमाउँछन् । सिमित प्राकृतिक स्रोध तथा साधन र सानो जनसंख्या भएको टापुहरूको देश माल्दिभ्स कसरी यति सम्पन्न भयो ?

विश्व बैङ्कले माल्दिभ्सलाई उच्च मध्यम आय भएको मुलुकका रूपमा वर्गीकरण गरेको छ । माछा मार्ने कार्य ऐतिहासिक रूपमा प्रमुख आर्थिक गतिविधि हो र यो अहिलेसम्मको सबैभन्दा ठुलो क्षेत्र हो । त्यसपछि द्रुत गतिमा बढिरहेको पर्यटन उद्योग हो । माल्दिभ्सले मानव विकास सूचकाङ्कमा “उच्च” दर हासिल गरेको छ भने प्रतिव्यक्ति आय अन्य सार्क राष्ट्रहरूको तुलनामा उल्लेखनीय रूपमा उच्च रहेको छ । माल्दिभ्सको प्रमुख आयस्रोत माछा मार्ने र पर्यटन हो । महासागरको बीचमा टापुहरू मिलेर बनेको देश भएकोले माछा मार्नु उनीहरुको पुरानो र मुख्य पेसा नै हो । तर, पछिल्लो समय पर्यटनको तीव्र विकास हुँदै जाँदा त्यहाँको राष्ट्रिय आय ह्वात्तै बढेकाे छ । माल्दिभ्सको अर्थतन्त्रमा पर्यटनको योगदान २८ प्रतिशत भन्दा धेरै रहेको छ । उस्तै पर्यटकीय सम्भावना भएको देश नेपालको राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान करिब ६ प्रतिशत छ ।

सन् २०२२ मा माल्दिभ्समा १६ लाख ७५ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । आफूहरूले प्रक्षेपण गरेकोभन्दा बढी पर्यटकको आगमन भएको त्यहाँको पर्यटन मन्त्रालयले जनाएको छ । सन् २०२२ मा सन् २०२१ को भन्दा २६.७ प्रतिशत बढी पर्यटकको आगमन भएको जनाएको छ । तर, सन् २०१९ को भन्दा १.६ प्रतिशत कम हो । सन् २०१९ मा १७ लाख १२ हजार ९२ जना पर्यटकको आगमन भएको थियो । यद्यपि, पर्यटक आगमनको तथ्याङ्कलाई हेर्दा माल्दिभ्सको पर्यटन कोभिड-१९ महामारीअघिकै अवस्थामा फर्किएको देखिन्छ ।

माल्दिभ्स घुम्ने पर्यटकहरूमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । सन् २०२२ मा २,४०,००० (दुई लाख चालीस हजार) भारतीय पर्यटकले माल्दिभ्स भ्रमण गरेका छन् । यो माल्दिभ्सकाे साे वर्षकाे पर्यटक आगमनको १४ प्रतिशत हो । भारतपछि माल्दिभ्स घुम्ने सबैभन्दा धेरै पर्यटक रसियाका छन् । सो वर्ष रसियाका १९८००० (एक लाख अन्ठानब्बे हजार) पर्यटकले माल्दिभ्सको भ्रमण गरेका छन् । यो भनेको माल्दिभ्स पुग्ने पर्यटकको १२.१ प्रतिशत हो । त्यसपछि माल्दिभ्स घुम्ने सबैभन्दा धेरै पर्यटक बेलायतका रहेका  छन् । साे वर्ष १,७७,००० (एक लाख सतहत्तर हजार) बेलायती पर्यटकले माल्दिभ्सकाे भ्रमण गरेका छन् । त्यसैगरी माल्दिभ्स घुम्ने धेरै पर्यटक जर्मनी, इटली, अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, स्विट्जरल्याण्ड लगायत देशका छन् ।

दुई वटा “वर्ल्ड ट्राभल अवार्ड”

माल्दिभ्सले सन् २०२२ मा दुई वटा वर्ल्ड ट्राभल अवार्ड पनि हात पारेका छन् । पर्यटन पुनरुत्थान, प्रवर्द्धन र पर्यटकको व्यवस्थापनमा उत्कृष्ट काम गरेका कारण “वर्ल्डस्  लिडिङ डेस्टिनेसन” अवार्ड जितेका छन् । यो टाइटल अवार्ड माल्दिभ्सले तीन वर्षदेखि लगातार कब्जा गर्दै आएको छ । दुबई, इन्डोनेसिया, ग्रीस लगायतका १८ वटा प्रतिष्ठित देशहरूलाई पछि पार्दै माल्दिभ्सले यो टाइटल जित्दै आएका छन् ।

त्यसैगरी माल्दिभ्सले “वर्ल्डस् लिडिङ टुरिस्ट वाेर्ड” टाइटल अवार्ड पनि पोल्टामा पारेका छन् । कोभिड पछिको पर्यटनलाई पुनरुत्थान गर्न एक वर्षमा १५० भन्दा धेरै कार्यक्रमहरू गरेर सफलता हासिल गरेका कारण यो टाइटल जितेका हुन् । यो टाइटल अवार्ड “माल्दिभ्स मार्केटिङ एण्ड पब्लिक रिलेशनस कर्पाेरेशनलाई” हस्तान्तरण गरिएको छ । टुरिस्ट वोर्डले भिजिट माल्दिभ्स नारासहित थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको थियो ।

पर्यटकीय सम्भावनाको दृष्टिले माल्दिभ्सभन्दा धनी भएर पनि नेपालले  पर्यटन क्षेत्रबाट लाभ लिन सकेको छैन ।  नेपालमा सन् २०२२ मा जम्मा ६ लाख १४ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । नेपालको पर्यटनको इतिहासमा सबैभन्दा धेरै सन् २०१९ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयार हुँदै गर्दा सन् २०१९ को अन्त्यतिर सुरु भएको विश्वव्यापी कोभिड महामारीले नेपालको सपना चकनाचुर बनाइदियो । फलस्वरूप सन् २०२० र २०२१ मा नेपालमा पर्यटकको आगमन पछिल्लो पाँच दशकयताकै सबैभन्दा कम हुन पुग्यो । महामारी मत्थर हुँदै गएसँगै विश्वको पर्यटन क्षेत्र गतिशील बन्न थालेको छ । सन् २०२२ मा विश्वको पर्यटन क्षेत्रमा उत्साह देखिएको छ ।

विश्वव्यापी काेराेना महामारीपछि पर्यटनकाे इतिहासमा नयाँ अध्याय सुरु भएको छ । नेपालले पनि अन्य देशहरूको पर्यटकीय गतिविधि, अभ्यास, पर्यटकीय प्रवृत्ति, पर्यटकहरूको रुचिलाई ध्यानमा राखेर पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास तथा विस्तारमा ध्यान दिन जरुरी छ ।

सम्बन्धित समाचार