शनिबार , अषोज २६, २०८१

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नारासहित नयाँ वर्षमा वसन्तपुरमा टुरिजम फेस्टिभल हुँदै

image

काठमाडाैं । नेपाली नयाँ वर्षकाे अवसरमा काठमाडाैंकाे वसन्तपुरमा टुरिजम फेस्टिभल हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोग, नेपाल पर्यटन प्रवर्द्धन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौँको वसन्तपुरमा वैशाख १ र २ गते नेपाल टुरिजम फेस्टिभल आयोजना गर्न लागिएको हो । यस वर्षदेखि सुरु हुने यो फेस्टिभल हरेक वर्ष हुनेछ ।

नेपालको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन हो नै भएको र पर्यटनमार्फत नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैभन्दा पहिले पर्यटनको नीतिगत बहस तथा छलफल बढाउन आवश्यक भएकोले फेस्टिभलको आयोजना गरिएको जनाएको छ । पहिलो फेस्टिभलको अवसर पारेर नयाँ वर्ष २०८० देखि नै वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रूपमा घोषणा गर्ने तयारी समेत गरिएको जनाएको छ ।

फेस्टिभलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । शिक्षा, स्वास्थ्य, कृषि, खेलदेखि राजनीतिक विषयलाई पर्यटनसँग जोडिएर रोचक, घोचक र विशेष बहस तथा छलफल गर्ने यो फेस्टिभलमा न्यूनतम १० देखि अधिकतम १५ वटा सेसनहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।

फेस्टिभलको उद्घाटन सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ । अन्तिम सेसन ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ पर्यटनमन्त्री सुदन किराँतीको हुनेछ । फेस्टिभलमा विभिन्न विधाको पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन् ।

अन्य सेसनमा ‘पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास’, ‘स्वास्थ्य पर्यटन – स्वास्थ्य सदृश्य र संसार’, ‘चलचित्र पर्यटन : सिन, सिनेमा र सेलिब्रेटी’ हुनेछन् । ‘व्यावसायिक पर्यटन : रहर, सहर र पर्यटन बजार’, ‘पर्यटनमा जलवायु परिवर्तनको असर : हिउँ हिमाल र हिमालय’ सेसन पनि सञ्चालन हुनेछ ।

यस्तै ‘युवा पर्यटन अभियन्ता : ट्राभलर एण्ड एक्सप्लोरर’, ‘सात प्रदेशको पर्यटन : सम्भावना र चुनौती’, ‘हेरिटेज टुरिजम : काठमाडौं उपत्यका र विश्वसम्पदा’, ‘एयरलाइन्स टुरिजम : उडान, उड्डयन र नेपाली आकाश’ सेसन पनि सञ्चालन हुनेछन् । यस्तै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको ‘नेपाल अनुभव’, ‘खेल पर्यटन – खेल, खेलाडी र गोर्खाली’ तथा ‘कला पर्यटन : सङ्गीत, सौन्दर्य र सुनौलो नेपाल’, ‘कृषि पर्यटन : माटो, बाटो र दोबाटो’ सेसन पनि सञ्चालन गर्ने तयारी छ ।

‘घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्ने’ मूल नारा बोकेर सञ्चालन गर्न लागिएको नेपाल टुरिजम फेस्टिभलमा नेपाल पर्यटन बोर्ड, नाथम, नाट्टा, टान, हान, भिटोफसँग सहकार्य गरिएको छ ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस गर्ने यो फेस्टिभलको मुख्य लक्ष्य रहेको छ ।

भिडियो

सम्बन्धित समाचार