मंगलबार , मंग्सिर ४, २०८१

यसरी राख्न सकिन्छ जिब्रोलाई सफा

image

काठमाडौँ । जब जिब्रोलाई सफा गरिँदैन जिब्रो पनि रोगको स्रोत बन्न सक्छ । जिब्रोको सफाईबाट धेरै रोगको सम्भावना टार्न सकिन्छ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या हुन्छ भने स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्‍याउनुपर्छ ।
यसरी जिब्रोलाई सफा राख्न सकिन्छ :
  • मनतातो पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ । साथै, जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।
  • बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गरेमा पनि जिब्रो सफा हुन्छ ।
  • खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फङ्गस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ ।
  • बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ ।
  • घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केहीबेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । यसले सास गनाउने र जिब्रो फोहोर हुने समस्या हट्छ ।
  • बेसारमा ब्याक्टेरियानाशक तत्त्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ । यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ । आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिन थाल्छ ।
  • बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ ।

Tags:

सम्बन्धित समाचार