बिहिबार , कार्तिक २९, २०८१

आहा ! मनमोहक बाहुबली झरना

झरना र पानीसँग खेल्न मन पराउनेहरूका लागि उत्कृष्ट गन्तव्य हो, बाहुबली झरना ।

image

नेपालमा अहिले गर्मी मौसम छ । तराइमा उखरमाउलो गर्मी छ, पहाडमा गरम गरम । हिमाली क्षेत्रको चिसो नै हुने भयो । तर, यो मौसममा अलि कम । वसन्त ऋतु भएकाले जहाँतहीँ रूख बिरुवामा नयाँ पालुवा, हरियाली, फूलै फूल । प्रकृतिलाई जवानी चढेको बेला हो यो । घुमघामको लागि सर्वोत्तम समय । गर्मी मौसम भएकाले खोलानाला, झरनाको घुमघाम बढी रमाइलो हुन्छ यस बेला । किनकि निर्धक्कले पानीसँग खेल्न पाइन्छ ।

झरना र पानीसँग खेल्न मन पराउनेहरूका लागि उत्कृष्ट गन्तव्य हो, बाहुबली झरना । काभ्रेपलान्चोक जिल्लाको राेशी गाउँपालिकामा अवस्थित यस झरनाको खास नाम चाहिँ तीनधारे झरना हो । चर्चित दक्षिण भारतीय चलचित्र बाहुबलीमा देखाएको झरना जस्तै देखिने भएकाले यस झरनालाई बाहुबली झरना भनिएको हो ।

यो झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खलामा रहेको छ । यो झरना काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटरको दुरीमा अवस्थित छ । समुद्र सतहबाट लगभग १८०० मिटर उचाइमा रहेको यो झरनाको उचाइ लगभग ३०० मिटर छ । तिनधारे झरना वि.सं. २०२८ सालमा पत्ता लागेको थियो ।

महाभारतको लेकबाट तीनवटा धाराको रूपमा खसेको हुनाले यस झरनाको नाम तिनधारे झरना रहेको हो । यो झरना काभ्रेपलाञ्चोक जिल्लाको एक चर्चित पर्यटकीय गन्तव्य हो ।

खासगरी गर्मी माैसमा दैनिक सयाैँ पर्यटक यस झरनामा पुग्ने गरेका छन् । उचाइका कारण झरनाकाे पानी निकै चिसाे हुन्छ । तर, गर्मी माैसमा भने मज्जाले खेल्न सकिन्छ ।

तस्बिरः सामाजिक सञ्जालबाट

कसरी पुग्ने ?

यो झरना सम्म पुग्न दुई ओटा मार्ग प्रयोग गर्न सकिन्छ । पहिलो काभ्रेको पनौतीबाट नमोबुद्द रोड हुँदै नमोबुद्द वा धुलिखेलबाट काभ्रेभंन्ज्याङ, नमोबुद्द रोड हुँदै दाप्चा पुगेर पिपलटार, काफलडाँडाको मार्ग भएर जान सकिन्छ । यसैगरी दोस्रो मार्गका रूपमा बिपी राजमार्गस्थित नमोबुद्द नगरपालिका र रोशी गाउँपालिकाको सीमाना कटुन्जे चौकीडाँडा बाट रोशी खोलाको किनारै किनार जाँदा समेत उक्त झरनासम्म पुग्न सकिन्छ ।

जिल्ला सदरमुकामबाट २ घण्टाको सवारी यात्रा तथा ३० देखि ४० मिनेटको पैदलमार्ग पश्चात् उक्त झरना भएको स्थानमा पुग्न सकिन्छ । यात्राका क्रममा देखिने दाप्चाको पुरानो नेवार बस्ती, मनमोहक ग्रामीण दृश्यहरू, मनै लोभ्याउने महाभारत पर्वत शृङ्खलाका पहाडहरू आदीले जो कोहिको पनि मन लोभ्याउँछ ।

सम्बन्धित समाचार