खल्तीलाई उति मर्का नपर्ने, पेट भरिने तर मन नभरिने खाजा र कलात्मक क्यापाचिनोको मिठो अनुभूति दिलाउन 'टिफिन पोइन्ट' तपाईँको प्रतिक्षामा छ है ।
“यति मिठो चिकेन मःम मैले अहिलेसम्म खाना पाएको थिएन,” मःमको डल्ला अचारमा चोपल्दै खोटाङकी सुस्मीता मगर भन्दै थिइन्, “यति भिआइपी ठाउँमा पनि यति सस्तोमा यति मिठो मःम खाना पाएँ, अनएक्सपेक्टेड ।”
काठमाडौंको मुटु सुन्धारास्थित सिभिल मलको सातौँ तलामा भर्खरै सञ्चालनमा आएको रेस्टुरेन्ट ‘टिफिन पोइन्ट’को कर्नरमा रहेको टेबुलमा बसेर मःमको स्वादसँगै बोल्दै थिइन् सुस्मीता । मलको सातौँ तलामा रहेको क्युएफएक्स सिनेमा हलको बाहिर निस्कने ढोकासँगै रहेको रेस्टुरेन्टमा रहेका टेबुलहरू भरिभराउ थिए ।
‘टिफिन पोइन्ट’ रेस्टुरेन्टको उद्घाटनकै दिनमा देखिएको ग्राहकको आकर्षण र सन्तुष्टिले निकै प्रफुल्लित थिइन्, रेस्टुरेन्टकी सञ्चालिका उर्मिला तामाङ । युवा व्यवसायी उर्मिला र उनका भाइ विमल तामाङले रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । सस्तो मूल्यमा सिभिल मलमा आउने पाहुना र मलका व्यवसायी तथा कर्मचारीको भोक मेटाउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उर्मिलाले बताइन् । “मलमा अन्य रेस्टुरेन्ट पनि छन् तर चर्को मूल्यका कारण जोकोही छिर्ने आँट गर्दैनन्, सबै खालका ग्राहकहरूलाई समेत विचार गरेर र मलमा कार्यरत कर्मचारी तथा व्यवसायीलाई समेत टिफिन खाने ठाउँ बनोस् भनेर नै ‘टिफिन पोइन्ट’ सञ्चालनमा ल्याएका हौँ ।” उर्मिलाले भनिन् ।
राहुल मगर नाम बताउने एक जना ग्राहकले कफीको चुस्की लिँदै भने, “आहा ! गज्जब लाग्यो, अघिल्लो हप्ता चलचित्र हेरेर बाहिर निस्कँदा खाजा खानै पाएको थिएन । आज ढोकामै रेस्टुरेन्ट सञ्चालनमा आएको रहेछ । खाना पनि मिठो लाग्यो ।” मःम र स्टिक फुडको केही आइटम आफूले खाएको र सबै स्वादिष्ट लागेको उनले बताए । भिआइपी ठाउँमा आफूले कल्पना गरेका भन्दा सस्तोमा मिठो खाना पाएकोमा दङ्ग थिए राहुल । अर्का ग्राहक चित्रराज भण्डारीले एक प्लेट मःमले मन नभरेपछि दुई प्लेट खाएको बताए । “मःम एकदमै मिठो लाग्यो, मैले त दुई प्लेट खाएँ ।” अन्य ग्राहकहरू पनि खानाको स्वादप्रति सन्तुष्ट देखिन्थे । उपस्थित ग्राहकमध्ये केही त्यहाँको चिसो/तातो पेय पदार्थमा रमाइरहेका थिए भने केही खाजाको स्वादबाट आनन्दित भएर हर्षित मुद्रामा देखिन्थे ।
१८ जना ग्राहकका लागि बस्ने क्षमता भएको रेस्टुरेन्ट ‘फास्ट फुड रेस्टुरेन्ट’को अवधारणामा तयार गरिएको छ । चलनचल्ती ‘ट्रेन्ड’ अनुसारका खाजाका साथै कफी तथा विभिन्न पेय पदार्थको चुस्की लिँदै बस्न सकिने सञ्चालिका उर्मिलाले बताइन् ।
यसरी बन्यो ‘टिफिन पोइन्ट’को योजना
उर्मिलाका अनुसार उनका भाइ विमलले सोही मलको तल्लो तलामा रहेको ‘हिमालयन जाभा’मा तालिम लिएर ‘कफी क्लब’ नामक क्याफेमा जागिर खाँदै थिए, यसैबीच सञ्चालकले उक्त क्याफे बेच्ने कुरा गरे । उनले उक्त प्रस्ताव आफ्नो दिदी उर्मिलासमक्ष राखे र दिदिभाइ मिलेर उक्त क्याफे खरिद गरी केही वर्ष राम्रैसँग सञ्चालन गरे । तर, कोरोना महामारीले उनको व्यवसायलाई गिजोल्यो र लामो समयका लागि उक्त क्याफे बन्द भयो । मलसँग गरिएको सम्झौता नसकिएकाले र उक्त क्याफेमा उर्मिला र विमलको ठुलो लगानी लागेको हुनाले मलको सञ्चालकले उनीहरूलाई हालको ठाउँ उपलब्ध गराएका हुन् ।
उर्मिलालाई पहिलादेखि खानासँग सम्बन्धित व्यवसायले लोभ्याइरहेको थियो, त्यसमा भाइको कफीसँग सम्बन्धित ज्ञानले मलजल गर्ने काम गर्यो र कफी क्लब हुँदै हालको ‘टिफिन पोइन्ट’ स्थापना भयो । करिब २० लाख रुपैयाँ लगानीमा स्थापना भएको ‘टिफिन पोइन्ट’ले सिभिल मलमा पुग्ने पाहुना र मलमा कार्यरत कर्मचारीहरूले पनि साधारण मूल्यमा खाजा खाने ठाउँ बनोस् भन्ने ध्येयले मूल्य निर्धारण गरेको छ ।
टिफिन पोइन्टको नाम पहिला ‘कफी क्लब’ राख्ने कि भन्ने योजना बनाइएको थियो तर उक्त कफी क्लब मदिराजन्य पदार्थ बेच्न मिल्ने गरि ठुलो कम्पनीको रूपमा दर्ता भएकाले हाललाई साधारण स्वरूपमा सुरु गरौँ भनेरै अहिलेको टिफिन पोइन्ट थालिएको उर्मिलाले बताइन् । टिफिन टाइम (खाजा खाने समय)मा नजिकै रहेका व्यापारी तथा कर्मचारीको ‘खाजा खान कहाँ जाने ?’ भन्ने प्रश्नको जवाफ स्वरूप ‘टिफिन पोइन्ट’को न्वारन भएको उनले बताइन् ।
रेस्टुरेन्टमा प्रत्यक्ष रूपमा ७ जना कर्मचारीले रोजगारी पाएका छन् । कर्मचारीलाई बेला-बेला ग्राहक तथा खाना सम्बन्धी तालिम समेत दिने गरिएको छ ।
टिफिन पोइन्ट किन आउने त ? भन्ने मेरो प्रश्नको जवाफमा सहरको मुटुमा रहेको क्याफेमा तालिम प्राप्त बारिस्ताबाट बनेको कफी र ‘ट्रेन्ड’मा रहेका खाजाको आनन्द लिन आउनुपर्ने सञ्चालिका उर्मिला बताउँछिन् ।
खल्तीलाई उति मर्का नपर्ने, पेट भरिने तर मन नभरिने खाजा र कलात्मक क्यापाचिनोको मिठो अनुभूति दिलाउन ‘टिफिन पोइन्ट’ तपाईँको प्रतिक्षामा छ है ।
तस्बिरहरू :