बुधबार , कार्तिक २८, २०८१

ओझेलमा भगवान शिवको वासस्थान मकवानपुरको कैलाश डाँडा

image

मकवानपुरको कैलाश गाउँपालिका पर्यटकीय सम्भावनाले भरिपूर्ण पालिका हो । मनमोहक प्राकृतिक सुन्दरताले भरिएको यो गाउँपालिका धार्मिक पर्यटनका हिसाबले पनि महत्वपूर्ण रहेको छ । जिल्लाको उत्तरी भेगमा अवस्थित गाउँपालिकामा विभिन्न पर्वत, गुफा, मन्दिर, झरना आदि रहेका छन् । जुन पर्यटकहरुका लागि आकर्षण बन्न सक्छन् । पालिकाको वडा नम्बर दुईमा रहेको कैलाश डाँडाको नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो । सोही वडामा रहेका दुई ठूला गाउँहरु प्राकृतिक सुन्दरतासँगै धार्मिक हिसाबले अति महत्वपूर्ण रहेको छ ।

भगवान शिवले वास बसेको ठाउँलाई कैलाश भनिन्छ । सत्ययुगमा भगवान शिव र पार्वती यही बाटो हुँदै यात्रा गर्दा यहाँको डाँडामा रहेको गुफामा वास बसेको हुनाले यो डाँडाको नाम कैलाश राखिएको विश्वास गरिन्छ । डाँडाको काखमा रहेको गाउँ कैलाश गाउँको नामले चिनिन्छ । सोही वडामा पर्ने नजिकै रहेको अर्काे गाउँको नाम बैकुण्ठ हो । भगवान विष्णुको वासस्थानलाई बैकुण्ठ भन्दछन् । बैकुण्ठ गाउँभन्दा माथि डाँडा कहिल्यै नसुक्ने पोखरी रहेको छ । जसलाई विष्णुकुण्ड नामाकरण गरिएको छ ।

करिब १८ सय मिटर उचाइको कैलाश डाँडाको टुप्पोमा गुफा रहेको छ । सोही गुफाभित्र भगवान शिवले वास गरेको विश्वास छ । गुफाभित्र शिवलिङ्गको आकृतिका साथै विभिन्न जीवजन्तुहरुको स्वरुप समेत देख्न सकिन्छ ।

कैलाश डाँडा धार्मिक, प्राकृतिक एवम सांस्कृतिक पर्यटनका हिसावले महत्वपूर्ण गन्तव्य भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । अहिले विभिन्न व्यक्ति तथा संस्थाहरुले स्वइन्छाले त्रिशुल गाड्ने, बाटो बनाउने आदि कार्यहरु गरिरहेका छन् । डाँडासम्म पुग्ने बाटोमा एक सय आठ वटा त्रिशुल गाडिएको छ ।

कैलाश डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय समुदाय जागरुक हुन जरुरी छ । साथै तीनै तहको सरकारले यस क्षेत्रको विकासका लागि ध्यान दिन सके पर्यटन विकासमा महत्वपूर्ण उपलब्धि हुनेछ । यसो गर्न सकिए कैलाश डाँडा नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नेछ ।

सम्बन्धित समाचार