मंगलबार , अषोज १, २०८१

द ग्रेट हिमालायन ट्रेलः ताप्लेजुङ टु दार्चुला पदयात्रा सुरु

image

काठमाडाैं । वृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदमार्ग दार्चुलासम्म फैलिएको छ । पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन् ।

प्राकृतिक सुन्दरता अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्रा अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा उक्त पदयात्रा पर्दै गएको हो ।

दुई विदेशी नागरिकसहितको टोली ग्रेट हिमालयन ट्रेल पदमार्गमा भ्रमणका लागि ताप्लेजुङबाट  घुन्सा प्रस्थान गरेको छ ।

स्लोभेनियाका ६७ वर्षका मारिया आन्द्रेको नेतृत्वमा ग्रेट हिमालय ट्रायल पदमार्गका लागि यात्रा सुरु गरिएको हो। उनले यसअघि नै सगरमाथासहित आठ हिमालसमेत सफल आरोहण गरिसकेको आन्द्रेले बताए ।

सन् १९९१ मा ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल सफल आरोहण गरिसकेका आन्द्रेले अहिले ग्रेट हिमालयन ट्रेल पदयात्रा गर्न नेपाल आएको बताए ।

हिमालयन ट्रेलको पदयात्रा गराउनका लागि सोलुखुम्बुका इनसुहाङ राई गाइड (पथ प्रदर्शक) रहेका छन् । राईका अनुसार १ सय १५ देखि एक सय २० दिन सम्ममा ग्रेट हिमालय टे«लको पदयात्रा पूरा गर्ने योजना रहेको छ ।

दुई विदेशी नागरिक, आवश्यक सामग्री बोक्ने शेर्पा र एक पथप्रदर्शक गरी पदमार्गमा यात्रा पूरा गर्नका लागि ५० लाखदेखि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राईले बताए ।

गत साता तीन विदेशी नागरिकलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट सुखद भ्रमणको कामनासहित बिदाइ गरिएको थियो ।

टोलीमा दुई जर्मनी नागरिक लुकास र आन्ना तथा एक अष्ट्रेलियाली नागरिक क्रिष्टोफर ग्रेट हिमालय टे«ल पदयात्रा गर्न ताप्लेजुङ पुगेका थिए ।

उनीहरूलाई फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले भ्रमणका लागि आएकामा स्वागत गर्दै भ्रमण सफलताको कामनासहित बिदाइ गरेका थिए ।

भ्रमण टोली ग्रेट हिमालयन ट्रेलअन्तर्गत कञ्चनजङ्घा बेसक्याम्प घुन्साबाट ओलाङचुङ्गोला हुँदै लुम्बासुम्बा हिमालबाट सङ्खुवासभाको मकालु बेस क्याम्पतर्फ जाने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङ नुपुले जानकारी दिए ।

करिब ४ हजार ५ सय किलोमिटर लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करिब १ हजार ७ सय किमी भाग पर्छ । यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजङ्घादेखि पश्चिममा दार्चुलासम्मको भूभाग ओगटेको छ। नेपालभित्र मुख्य १० क्षेत्रलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो ।

ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ । ताप्लेजुङमा पर्यटकको चहलपहल हुन थालेसँगै पर्यटन व्यवसायी, होटल सञ्चालक तथा यातायात व्यवसायी उत्साहित भएको होटल व्यवसायी विमल भण्डारीले बताइन् ।

सम्बन्धित समाचार