बिहिबार , कार्तिक २९, २०८१

चुरे पर्वतको फेदीमा विराजमान ‘जखेरा ताल’को सुन्दरता

image

चुरे पर्वतको फेदमा विराजमान जखेरा ताल निकै सुन्दर छ । यो ताल दाङ जिल्लाको एक महत्वपूर्ण र चर्चित पर्यटकीय गन्तव्य पनि हो । पहाडको फेदमा जंगलले घेरिएको यो तालको सुुन्दरताले त्यहाँ पुग्ने पर्यटकहरुलाई मन्त्रमुग्ध बनाउँछ । ताल घुम्न आउने पर्यटकको संख्या बर्षेणी वृद्धि भइरको स्थानीय बताउँछन् ।

जखेरा ताल लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिकामा अवस्थित छ । देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित यो ताल कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यको रूपमा रहेको छ । यो ताल दाङ जिल्लाको एक प्रमुख पर्यटकीय स्थल हो । यस ताल भित्र र बाहिर गरी जम्मा चार वटा मन्दिर निर्माण गरिएको छ। यहाँ घुम्न आउने पर्यटकमाझ वनभोज क्षेत्रको लागि लोकप्रिय रहेको यस ताल क्षेत्रमा माघी (माघे सङ्क्रान्ति) र शिवरात्रीमा भब्य मेला समेत लाग्ने गर्दछ। प्रायः वर्षैभरी नै चहलपहल रहने यस ठाउँमा दशैं र तिहार सकेपछिको २/३ महिनासम्म विशेष भिडभाड हुने गर्दछ। थारू समुदायको बाहुल्यता रहेकोले यस क्षेत्रमा माघी पर्वमा मेला लाग्ने गरेको छ। साथै शिवरात्रीमा यहाँ भजनकृतन पुजापाठ र मेला लाग्ने गरेको छ।

नामाकरण र इतिहास

स्थानीय थारू समुदायमा बोलिने प्रमुख भाषा थारू हो। जहाँ आकाशबाट परेको पानी जम्मा हुने गर्दछ तेसैलाई नै थारू भाषामा जखेरा भन्ने गरिन्छ।

आजभन्दा लगभग ६०/६५ वर्ष अघि सोनपुर गाविसका प्रायः जमिनहरू सुख्खा थिए र पछि वर्षाको पानी सङ्कलन गरी सिंचाइ गर्नका लागि दिबु चौधरीले यसको बाँध निर्माण सुरु गरे। यस कार्यमा स्थानीय सोनपुर गविसका गाउँहरू टिकुलीगढ, फल्कापुर र श्रिगाउँ का वासिन्दाले पनि साथ दिए।

भौगोलिक अवस्थिती

जखेरा ताल देउखुरी उपत्यकाको मध्य उत्तरी भागमा चुरे पहाडको फेदीमा अवस्थित छ। यस तालको उत्तर र पश्चिममा जंगलले घेरिएको छ। यो ताल महेन्द्र राजमार्ग देखि १.४ किमि को दुरिमा उत्तर तर्फ अवस्थित छ र लमही बजार देखि ५ कि मि पूर्व पर्छ।

सम्बन्धित समाचार