बिहिबार , मंग्सिर ६, २०८१

थारुको माघी महोत्सव, मौलिक परिकार र तिनको परिचय

उनले घोंघीको बेग्लै नाम राखिदिएकी छिन् । घोंघीलाई किस गरेर खाइने हुनाले यस परिकारको नाम आफूले 'किस फुड' राखिदिएको उनले बताइन् ।

image

आज माघे सङ्क्रान्ति । थारु समुदायले यस पर्वलाई माघ पर्वका नामले मनाउने गर्छन् । तर, विगत केही वर्षदेखि भने थारुहरूले माघ पर्वलाई ‘माघी’ भनेर सम्बोधन गर्न थालेको पाइन्छ ।

आज माघ पर्वको दिन आइतबार काठमाडौँको टुँडिखेलमा थारु समुदायले ‘राष्ट्रिय पर्व माघी महोत्सव- २०७९’ मनाएका छन् । नेपालका आदिवासी भूमिपुत्र थारु समुदायले मनाउँदै आएका विभिन्न चाडपर्वहरू (शिरुवा/जुरशीतल पावैन, अखारही, गुरीया, रैब/अट्वारी, जितिया, डश्या, सुकराइत/देवारी, अष्टिम्की, समाचकेवा, होरी/फगुई)मध्ये एक विशेष पर्व माघी पनि हो ।

माघी पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानमा बस्ने थारु समुदायले आ-आफ्नो स्थान अनुसार माघ/माघी/तिला संक्राइत/खिचरा/खिचरी खिचडी आदि नामबाट मनाउने गर्छन् । थारुहरूको मातृसंस्था थारु कल्याणकारिणी सभाको अगुवाइमा वि.सं. २०५९ सालदेखि काठामाडौँमा माघी पर्व मनाउन थालिएको हो ।

महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भनिए पनि कारणवश उनी उपस्थित हुन नसक्दा थारु आयोगका अध्यक्ष विष्णु चौधरीको अतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको छ ।

महोत्सवमा झाँकी, विभिन्न किसिमका सांस्कृतिक नाच, पारम्परिक खानाका परिकार, समुदायको विशेष भेषभुषा आदि देखाइएका छन् । थारु समुदायको कार्यक्रममा समुदायसँग सम्बन्धित विभिन्न परिकारहरूले स्थान पाएका छन् । कार्यक्रम भ्रमण गर्न आएका मानिसहरू घोंघी, ढिकरी, चिचर, बयरको अचार आदिमा रमाइरहेका देखिन्थे  ।

कार्यक्रममा बारा जिल्लाबाट आएकी गुन्जा चौधरीको स्टलमा घोंघी, ढिकरी, झिँगे माछा, सितुवा, बयरको अचार, परेवाको मासु, हाँसको परिकार, तिलको लड्डु, भुजाको लड्डु, तरुवा त्यसैगरी, पारम्परिक तरिकाले बनाइएको रक्सी राखिएको थियो । उनले पूर्वदेखि पश्चिमसम्मका थारुहरूले दैनिक तथा विशेष चाडवाडमा खाने परिकारहरू सङ्कलन गरेर राखेको बताइन् ।

घोंघीलाई केही मानिसहरूले शंखे किरासमेत भन्ने गरेकोमा उनले दुःख व्यक्त गरिन् । ‘यो शंखे किरा होइन । शंखे किरा जमिनमा पाइने किरा हो तर घोंघी एकदम शुद्ध हुन्छ । घोंघी स्वस्थवर्द्धक समेत रहेकाले केही डाक्टरहरूले यसको सेवन गर्न सल्लाहसमेत दिने  गरेका छन् ।’, उनी भन्छिन् , ‘पहिला मानिसहरूले यो थारुले मात्र खानेकुरा भन्थे तर अहिले यसको माग थेगी नसक्नु रहेको छ ।’ उनले विभिन्न स्थानबाट ५० किलो मगाएकोमा २० किलो मात्र पाएको सुनाइन् ।

थारु समुदायका पारम्परिक खानाहरू तयार गर्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । घोंघी-सिप्पी सजिलै पाइँदैन । यसको पछाडिको भाग काटेर मजाले पखाल्नुपर्छ । राम्रोसँग सफा नगरिएको घोंघी-सिप्पी खान नसकिने उनले सुनाइन् । सफा गरिसकेपछि पनि पिठो राखेर पुनः केही समय रहन दिनुपर्छ ।

उनले घोंघीको बेग्लै नाम ‘किस फुड’ राखिदिएकी छिन् । यसबारेमा सोध्दा उनी हाँस्दै भन्छिन्, ‘यसलाई किस गरेर खाइने हुनाले यसको नाम ‘किस फुड राखिदिएकी हुँ ।’

सबै जातजातिको आ-आफ्नै किसिमको संस्कृति तथा परम्परा हुन्छन् । थारु परिकारलाई माया गरिदिन र यसको उचित प्रचार-प्रसार गरिदिन उनले आह्वान गरेकी छन्  । ‘म आफ्नो संस्कृतिलाई बिर्सन चाहँदिन । म विद्यालयको प्रधानाध्यापक हुँ, दुई विद्यालयमा म कार्यरत छु तर आफ्नो सांस्कृतिक परिकार अन्य समुदायमाझ पस्किन पाउँदा गर्व लाग्छ ।’

उनी भन्छिन् , ‘मान्छेहरू शिक्षिका भएर यस्तो काम गरेको भन्छन् । यत्रो पैसा भएको मान्छे किन यस्तो काम गरेको भनी सोध्छन् । मेरो संस्कार र मेरो संस्कृति मलाई प्यारो छ र त्यसको लागि मैले यसो गरेको हुँ । त्यसलाई नकारात्मक नलिनु होला र थारु संस्कृति तथा परिकारलाई माया गरिदिनु होला ।’

गुन्जा चौधरीले जस्तै मारिया चौधरीले पनि आफ्नो स्टलमा घोंघी, ढिकरी, झिँगे माछा, सितुवा लगायतका थारुहरूको मौलिक परिकार राखेकी थिइन् । मारियाकोमा भने ‘चिचर’ समेत राखिएको थियो ।

बरघर थारु रेस्टुराँको स्टलमा पनि यिनै परिकार खाइरहेका मानिसहरू देखिन्थे । बरघरको स्टलमा अनादिको रोटी, घोंघी, सिन्कीको अचार, सुटही/सतुवा, हाँस/कुखुराका परिकार, बयरको अचार, चिचर, बरिया(बारा), ढिकरी आदि खाद्य परिकार थिए । त्यसैगरी पेय पदार्थमा अनादिको जाँड, मौवाको रक्सी आदि राखिएका थिए । बरघरमा कार्यरत रोशन चौधरीका अनुसार मौवा फूल हो जसलाई थारु समुदायमा टिप्न मिल्दैन । त्यो झरेपछि मात्र त्यसबाट विधिवत् तरिकाले रक्सी बनाइन्छ ।

सितुवा

सितुवालाई सामान्य भाषामा सिप्पी पनि भनिन्छ । सितुवा पानीमा पाइने एक प्रकारको जीव हो । जमेको पानी या तलाउहरूमा पाइने सितुवाको बाहिरी भाग कडा खोलले बनेको हुन्छ । सितुवालाई उसिनेपछि बाहिरी खोल खुल्छ । खोल फुटाएर भित्री भागमा रहेको मासु मात्र खानका लागि प्रयोग गरिन्छ ।  सितुवा खाए शरीरमा न्यानोपन बढ्ने जानकारहरू बताउँछन् ।

घोंघी

घोंघी खेत, दलदले हिलो, पोखरी तथा सिमसार क्षेत्रमा पाइने एक प्रकारको  सामुद्रिक जीव हो । निकै मिहिनेतका साथ सफा गरेपछि विभिन्न स्थानीय  मरमसला हालेर घोंघी पकाइन्छ । घोंघी चुसेर खानुपर्छ । चुस्दा घोंघीको भित्री मासु मुखमा आउँछ । घोंघीमा क्याल्सियम पाइने हुनाले हड्डीको समस्या ठिक हुने, शरीर दुखेको, मर्केको समेत सन्चो हुने जानकारहरू बताउँछन् ।

ढिकरी

ढिकरी अथवा ढिक्री थारु समुदायको निकै लोकप्रिय परिकार हो । यो चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइन्छ । यसलाई बफ्याएर पकाइन्छ ।

बयरको अचार

बयरको अचार बढी पश्चिमका थारुमाझ प्रख्यात रहेको छ । यो विशेष अचार ढिकरी तथा चिचरसँग खाने गरिन्छ ।

चिचर

अनादिको चामलबाट बनाइने चिचर थारु समुदायमा निकै लोकप्रिय छ । यो परिकार पहिला उम्लिएको पानीमाथि बसालेर, बफ्याएर पकाएपछि केराको पातमा बेरेर आगोको भुङ्ग्रोमा राखेर केहीबेर पकाउनुपर्छ ।

तरुवा

थारु समुदायमा पाहुनाहरूलाई विशेष सत्कारस्वरूप तरुवा दिने गरिन्छ । विभिन्न तरकारीमा चामल तथा जिरा पिसेर लेप लगाई तावामा तारेर यो परिकार पकाइन्छ ।

मौवाको रक्सी

थारु समुदायमा रक्सी एक विशेष पेय पदार्थ हो । त्यसमध्ये पनि मौवाको रक्सीलाई अझ विशेष मानिन्छ । मौवा भनेको मौवाको रुखमा फुल्ने फूल हो जसलाई थारु समुदायमा टिप्न मिल्दैन । त्यो झरेपछि मात्र त्यसबाट विधिवत् तरिकाले रक्सी बनाइन्छ ।

महोत्सवका लगभग सबै स्टलमा उस्तै परिकारहरू थिए । कतै एक-दुई परिकार बढी त कतै एक-दुई परिकार कम थिए । तर, हरेक स्टलमा मेला भर्न आएकाहरूको उस्तै भिड देख्न सकिन्थ्यो । थारुको माघीविशेष उक्त कार्यक्रममा निकै कम मात्रामा अन्य परिकारहरू भेटिए ।

सम्बन्धित समाचार