मंगलबार , अषोज १, २०८१

कमला गिरीको नेतृत्वमा पर्यटक बोलाउन जुरुक्कै उठ्यो पोखरा (फोटोफिचर)

image

चारैतिर हरियाली डाँडा । त्यो माथि अन्नपुर्ण, माछापुच्छ्रे र धौलागिरी हिमालको सेताम्मे दृश्य । फेवातालको विशाल तलाउमा सँधै माछा खेलिरहेजस्तै पोखरामा पनि सँधै पर्यटक घुमिरहन्छन् ।

तर यसपटक त्यस्तो छैन । हुनुपर्ने पर्यटक नभएर पोखरा हिजोआज पोखरा जस्तो छैन ।

पानीको ताल र तलाउ खोजिरहेको माछाजस्तै पोखरेली पनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक खोजिरहेका छन् ।

कति व्यवसायी पर्यटक बोलाउन पोखराबाहिरको चक्कर काटिरहेका छन् । कति पोखरामै विभिन्न गतिविधि गरिरहेका छन् ।

त्यसमध्ये नाट्टा र हानका पदाधिकारीसहितको टोली भारतीय पर्यटक बोलाउन सिलगुढी पुगेका छन् । त्यसअघि उनीहरु एसियाली देश बंगलादेश र युरोपसमेत पुगिसकेका छन् ।

तर पोखरामा आउने पर्यटकलाई सँधै मिठो मुस्कान र परिकार खुवाएर स्वागत गर्ने महिला पर्यटन व्यवसायी यसपटक पर्यटक बोलाउन जुरुक्कै उठेका छन् ।हरितालिका तीजको अवसरमा पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान)को नेतृत्वमा सोमबार पोखराको लेकसाइडमा महिला व्यवसायीको लाम लाग्यो ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नाराका साथ टेवानले सुरु गरेको तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका सबै जिल्लाका महिला व्यवसायीले पोखरामा र्‍याली निकालेर पर्यटकलाई स्वागतका शब्दगुच्छा ओछ्याए ।

कमला गिरीको अध्यक्षतामा रहेको टेवानको आह्वानमा पोखराका सयौँ महिलाहरु विभिन्न रङका सारी र चोली लगाएर प्रभातफेरी गर्दै पर्यटकलाई बोलाउन लेकसाइडको परिक्रमा गरे । बाराही चोकबाट सुरु भएको र्‍याली कोमागाने पार्कमा निर्माण गरिएको भव्य स्टेजसहितको कार्यक्रममा पुगेको थियो ।

टेवानकी अध्यक्ष कमला गिरीको नेतृत्वमा रहेको र्‍यालीमा सांसद सरस्वती गुरुङ, पोखराका पर्यटन व्यवसायी महिला, पत्रकार, समाजसेवी, गण्डकी प्रदेशका सबै जिल्लाका महिला उद्यमी लगायतको उपस्थिती रहेको थियो ।

बृह्त झाँकी, पञ्चेबाजासहित सुरु भएको र्‍यालीमा महिला व्यवसायीहरु नाच्दै, गाउँदै, नारा लगाउँदै कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पोखरामा पर्यटक भित्र्याउन पोखरेली महिला व्यवसायीको सक्रियताको खुलेर प्रशंसा गरे । हरेक क्षेत्रमा महिलाहरुको भूमिका महत्वपूर्ण हुने भएपनि पोखरामा पर्यटन महिला व्यवसायीको काम, कर्तव्य र नेतृत्व अद्भुत रहेको भन्दै तीज सांस्कृतिक महोत्सवको निरन्तरतामा जोड दिए ।

‘पर्यटनको राजधानी पोखरामा महिला पर्यटन व्यवसायीले गरेको यो महत्वपूर्ण काम र कार्यक्रम ऐतिहासिक छ’ संघीय कानूनमन्त्रीले कार्यक्रमको उद्घाटन गर्दै भने, ‘यसको निरन्तरता र पोखराको पर्यटनलाई थप उचाईमा पुर्याउन महिला व्यवसायीको विशेष योगदान रहन्छ ।

’यस्तै कार्यक्रमकी सभापति तथा टेवानकी अध्यक्ष कमला गिरीले अनेकौ आरोह अववरोहबीच पोखरामा पहिलोपटक टेवानले महिला प्रतिभा र उद्यमी मेलाको संयोजनसहित तीज सांस्कृतिक महोत्सव आयोजना गरेको तथा यसको निरन्तरतामा निरन्तर लागिरहने बताइन् ।

पर्यटनको राजधानी पोखरामा महिला पर्यटन व्यवसायीको योगदान र कामलाई अब नेतृत्वगत हिसाबले निरन्तरता दिने भन्दै अध्यक्ष गिरीले गण्डकी प्रदेशभरीका महिला पर्यटन व्यवसायीको उद्यमशिलता र नेतृत्व विकासलाई पनि टेवानले महत्वपूर्ण स्थान दिने बताइन् ।

‘कोभिड महामारी र आर्थिक मन्दीको मारमा परेको पोखराको पर्यटन व्यवसायलाई चलायमान बनाउन हामी जस्तोसूकै जोखिम र कदम उठाउन तयार छौँ’ टेवानकी अध्यक्ष गिरीले कार्यक्रम आयोजना गर्दाको प्रतिबद्धतामा जोड दिँदै भनिन्, ‘अब ऐतिहासिक रुपमै पोखराका महिला पर्यटन व्यवसायीको नेतृत्व र निरन्तरतालाई हातमा हात राखेर अघि बढ्छौँ । अफसिजनमा पनि पोखरामा पर्यटक ल्याउन लागिपरेका छौँ ।

’सोमबारदेखि सुरु भएको तीज सांस्कृतिक महोत्सव बुधबारसम्म चल्नेछ । राधिका हमालसहितका राष्ट्रिय चर्चित गायक गायिकाको समेत प्रस्तुती रहेको महोत्सवमा तीज विशेष महिला प्रतिभा प्रतिष्पर्धा र महिला उद्यमी सम्मेलन पनि चलिरहेको छ ।

दर्जन बढी स्थानीय उत्पादनसहितका स्टल पनि प्रदर्शनीमा राखिएका छन् । स्टलमा रहेका विभिन्न उत्पादन तथा ब्राण्डको मन्त्री गुरुङले अवलोकन गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय भेषभुषासहितको नृत्य पनि प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार