मधेसको चुलोमा दैनिक जसो बनाइने यो परिकार चाडबाड तथा अन्य प्रायोजनका लागि पनि विशेष मानिन्छ । नयाँ वर्षको उपलक्ष्यमा पूर्वी मधेसमा मनाइने ‘सिरुवा पर्व’मा पनि यो परिकारले विशेष स्थान पाउने गरेको छ ।
बहुजाति, बहुभाषा तथा बहुसंस्कृतिको धनी देश नेपालको तराईमा पनि यो कुरामा विविधता देख्न सकिन्छ । म आफैँ पूर्वी मधेस सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको बासिन्दा भएको हुनाले यो कुरा राम्ररी देखेको या बुझेको छु । मिथिला कला तथा विभिन्न सांस्कृतिक पक्षका मधेस जति लोकप्रिय छ त्यति नै लोकप्रिय खानाका लागि पनि छ । आज म तिनै खानामध्ये लोकप्रिय परिकार ‘तरुआ/तरुवा’को कुरा गर्न गइरहेको छु ।
भिंडी : भिनभिनाइत भिंडी के तरुआ,
आगु आ ने रे मुंह जरूआ
हमरा बिनु उदाश अछि थारी,
करगर तरुआ रसगर तरकारी।।।।
कदीमा : गे भिंडी तू चुप्पे रह,
अहि से आगु किछ नै कह
लस लस तरुआ, फच फच झोर,
नाम सुनितहि खसतै नोर।
खायत जे से खोदत दाँत,
देखिते तोरा सीकुरत नाक
हम कदीमा नमहर मोंट,
भागि ले नै तक कटबौ झोंट ।
आलू : जमा देबै हम थापर तड़ तड़,
कयल हिनके सब हमर परि तर
छें जे मर्दक बेटा तोय,
आबि के बान्ह लंगोट तों
की बाजें माटि तर सक,
बाजे जेना जनाना घर सक
हमरे पर अछि दुनियाँ राजी,
आब जे बजबें बन्हबौ जाबी
हमर तरुआ लाजवाब,
नाम हमर अछि लाल गुलाब ।
(अज्ञात रचनाकारको यो तरुवासम्बन्धी लेखिएको मैथिली लोकगीतमा विभिन्न तरकारीहरू एक-आपसमा झगडा गरिरहेको बुझिन्छ।)
मधेसको चुलोमा दैनिक जसो बनाइने यो परिकार चाडबाड तथा अन्य प्रायोजनका लागि पनि विशेष मानिन्छ । नयाँ वर्षको उपलक्ष्यमा पूर्वी मधेसमा मनाइने ‘सिरुवा पर्व’मा पनि यो परिकारले विशेष स्थान पाउने गरेको छ । साथै मेजमान (अतिथि)को विशेष सत्कारको रूपमा पनि यो परिकार तयार गरेर पस्किने गरिन्छ । भात, दाल र तरुवा खान पाएपछि मधेसको जिब्रो र पेट त्यसै तृप्त हुन्छ । तरुवा विशेष गरी भन्टा, फर्सीको फूल, आलु, भिन्डी तथा पातहरूको बनाइन्छ ।
मौसम अनुसार उपलब्ध पात, फुल तथा तरकारी विशेष किसिमले तयार गरिएको मसलाको लेपन लगाएर, तेलमा तारेर बनाइने परिकार नै तरुवा हो ।
केही दिन अघि मात्र काम विशेषले म आफ्नो गाउँ गएको थिएँ । लामो समयपछि लामो समयका लागि घरमा बस्दा खाने खानामा मलाई केही अपूर्णता महसुस भइरहेको थियो । एक दिन फुत्त मेरो मनले जिब्रो हुँदै ‘यसो तरुवा-सरुवा खाऊँ न हौ’ भन्ने वाक्य निकाल्यो ।
‘तरुवा त खाने तर के को खाने ?’ यो प्रश्नको उत्तर खोज्न म गुद्री लागेँ । मधेसतिर स्थानीय रूपमा सञ्चालन भइरहेको तरकारी बजारलाई गुद्री भनिन्छ । गुद्रीमा डुल्दा-डुल्दै मेरा आँखा डल्लो भन्टामा गएर अडिए । अन्य केही तरकारीसँग ५० रुपैयाँ किलोको उक्त भन्टा एक किलो उठाएर गोडाहरू घरतिर लम्किएँ ।
ठुलो ममीले भन्टालाई सफा गरेर गोलो-गोलो आकारमा काट्नुभयो र थाल्नुभयो, त्यसको लागि चाहिने सर्दाम जुटाउन । चामल, लसुन, अलिकति जिरा, खुर्सानीको धुलो राखेर बडो मिहिनेतसँग सिलौटोमा पिसेपछि तरुवाको मसला तयार भयो । काटेर राखेको भन्टाका चानामा मसला लाग्दै गयो । मुख आत्तिन थाल्यो । अहिले तराईमा अत्यन्तै गर्मी भएकाले ठुलो ममी बेला-बेला यस्तो गर्मीमा पनि के-के खानु परेको होला भन्दै फतफताउँदै भित्र बाहिर गरिरहनुहुन्थ्यो । वास्तवमै यहाँ एक स्टेन्जा अटाए जस्तो हुँदैन तरुवाको लागि गरिने मिहिनेत ।
गर्मीको बेवास्ता गर्दै ठुलो ममीले तरुवा पकाउने अगाडीको प्रोसेस थाल्नुभयो । आगोमा ताइ/तावा बसाल्नु भयो र थोरै तेल तुर्क्याउनु भयो । मसला दलिसकेका भन्टाका चानालाई तेल तातिसकेपछि झ्वाइँ पार्दै तावामा राखियो । र, अब प्रतीक्षा ।.. बेला-बेला तेल थप्दै, पाक्दै गरेको तरुवालाई दुवै तिर फर्काउँदै गर्दा हतारले बुरुक-बुरुक उफ्रिउँ जस्तो हुने गर्छ । रातो भएर पाकिसकेको तरुवालाई प्लेटमा राख्नासाथ मलाई भात कुर्न मन लागेन । स्व-स्व गर्दै मैले ६ पिस तरुवा तुरुन्तै चट्काइदिएँ ।
पूर्वी मधेसको यो लोकप्रिय परिकार युट्युब या यही लेख हेरेर घरमै बनाएर खान सकिन्छ । तर, पूर्ण तृप्तताका लागि म मधेस गएको समयमा त्यहीँको चुलोमा पाकेको, र त्यहीँको हातले बनाएको ‘तरुवा’को स्वाद लिन सल्लाह दिन्छु ।