बिहिबार , मंग्सिर ६, २०८१

तामाङ गाउँखाने कथाको महत्त्व

जनजातिहरूको सम्पत्ती भनेको उसका चालचलन, रीतिरिवाज, भाषा, संस्कृति, वेशभूषा आदि हुन् । भाषा, कला, परम्परा र संस्कृति जोगाउन तामाङ गाउँखाने कथाले विशेष योगदान दिएको छ ।

image

पृष्ठभूमि

नेपाल लोक साहित्यमा धनी छ (तामाङ, वि.स‍. २०६८: ३) । तामाङहरू आफ्ना कूल कर्म, पूजा पाठ, चाड पर्व र संस्कारहरू आफ्नै विधि विधानमा सम्पन्न गरिन्छ । यस प्रकारले लोक साहित्यका क्षेत्रमा तामाङहरू धनी छन् । अहिले तामाङ गाउँ समुदायका प्रचलनमा रहेका बर्मा, छेची, चेन, लिङ्मा, दोरा नाच, म्हेन्दो माया, साइकोले, बोम्पो, लम्बु, पोम्पो, गुर्बा नाच जस्ता विविध लोक सांस्कृतिक कृयाकलापहरू पनि क्रमशः हराउँदै गएको पाइन्छ ।

साथै गाउँखाने कथाको प्रचलन गोठ बस्ने परम्पराको कमीसँगै प्रयोगमा सीमितता रहेकोले यसको महत्त्व ठम्याउनु पर्ने आवश्यकता टड्कारो रूपमा रहेको छ । आधुनिक युवा पुस्ताले यसको कम प्रयोग गरे पनि बुढापाकामा भने अझै दोन तथा गाउँखाने कथा भन्ने खेल्ने चलन रहेको छ । यससँगै संस्कृति र लोक साहित्यको संरक्षणमा तामाङहरू लागि रहेको पाइन्छ । विभिन्न अवसरमा सवाल जवाफ गरी मनोरन्जनका साथै ज्ञान हस्तान्तरण समेत गरिरहेको पाइन्छ ।

जनजातिहरूको सम्पत्ती भनेको उसका चालचलन, रीतिरिवाज, भाषा, संस्कृति, वेशभूषा आदि हुन् । भाषा, कला, परम्परा र संस्कृति जोगाउन तामाङ गाउँखाने कथाले विशेष योगदान दिएको छ । तामाङ जातिले प्राचीनकालदेखि नै आफ्नो मौलिकताको चिनारी हरेक क्षेत्रमा दिँदै आएको छ । कमजोर सामाजिक, आर्थिक र राजनैतिक अवस्थाले गर्दा समय अनुकुल परिवर्तन गर्न सकिरहेको छैन । यसो हुनुमा उनीहरूको कमजोरी भन्दा पनि सामाजिक संरचना र राजनैतिक व्यवस्थाको दोष देखिन्छ । यसको कारणले तामाङ गाउँखाने कथाहरू प्रकाशन तथा प्रसारणको माध्यममा छलफल तथा वहसमा पुग्न सकेका छैनन् ।

तामाङ समुदायसँग तामाङ गाउँखाने कथाको सम्बन्ध अविछिन्न रहेको पाइन्छ । यो सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थासँग जोडिएको छ । यसको विकाससँगै तामाङ लोक साहित्यको पनि विकास हुनेछ । त्यसैले पहिचान जोगाउन तामाङ गाउँखाने कथाको संरक्षण गरिनु आवश्यक छ ।

गाउँखाने कथाको सामान्य परिचय

प्रश्न र उत्तर शैलीमा बौद्धिकता परीक्षण गर्न सोधिने लोक साहित्यको एक विधालाई गाउँखाने कथा भनिन्छ । नेपालीमा अड्का हाल्नु, अड्का वा झ्याँगा थाप्नु, कथा हाल्नु, जान्ने कथा, कर्णाली अञ्चलमा साइतर वा सातर, पश्चिमी भेगतिर सास्तर, पुर्बी भेगतिर अड्को वा अत्तो, जुम्ला भेगमा कठ्यौरा हाल्नु भनिन्छ । अवधी भाषामा बुझौअल तथा हियाली भनिन्छ । यसलाई हिन्दीमा प्रहेलिका वा पहेली पनि भनिन्छ । गाउँखाने कथालाई संस्कृतमा ब्रम्होदय, अङ्ग्रेजीमा रिडल, जर्मनीमा र्याक्टसेल र जापानी भाषामा नाजो नाजो भनेर चिनिन्छ ।

मनोरञ्जन र ज्ञानवद्र्धनका निम्ति उपयोगी ठानिने यो कथा प्रश्नकर्ता र उत्तरदाता दुई समूहका बीचमा सवाल जवाफका रूपमा प्रस्तुत हुने लोक आख्यानको लघुतम प्रविधा हो । यसमा प्राश्निकले सोधेको जवाफ दिन नसक्ने उत्तरदाताले गाउँ दिनुपर्दछ । उत्तरदाताले हारको प्रतीक गाउँ दिनु पर्ने र प्राश्निकले जितको प्रतीक गाउँ पाउने पद्धतिबाट गाउँखाने कथा रहन गयो भन्ने पुस्टि हुन जान्छ । यसमा प्रतीकात्मक अर्थ सङ्केत प्रत्येक प्रश्नको उत्तर भएर रहेको हुन्छ (सुवेदी र सुवेदी, २०५५ : २) । त्यसैगरी उत्तर दिन नसके गाउँ खाने प्रचलन भएकाले यस्ता कथालाई गाउँखाने कथा भनिन्छ (भट्टराई, २०५६ : २७) ।

गाउँ दिने प्रचलनले यसको नामकरण भएकोमा प्रायः विद्वान्हरूको मत मिलेको छ । यस्ता कथाहरू अति संक्षिप्त र कूट प्रकृतिका हुन्छन् । यसमा गाउँघरे मानिसको हृदयको उद्गारमा तिखारिएको बुद्धिको देन पनि देखा पर्दछ, जुन मामुली भए पनि अर्थपूर्ण हुन्छ र समस्या पूर्तिको रूपमा प्रश्न बनेर सबका सामुन्ने खडा हुन्छ । यसैले गाउँखाने कथा बुद्घि विनोदका साधन पनि हुन पुगेका छन् ।

दुई चार जना एकै ठाउँ भेला भएर हँस्सी रमाइलोका रूपमा कुरैकुराले अड्का थाप्ने र फुकाउने चलन मानव समाजकै आदिम स्वभाव हो । यो परम्परा नेपाली लोक जीवनमा गाउँखाने कथाका रूपमा जीवित छ । दैनिक व्यवहार तथा बसाउठीमा मानिस बुद्धि परीक्षाका निम्ति आफ्नो कथन घुमाई फिराई अरूले हम्मेसि ठम्याउन नसक्ने पार्न चाहन्छ । त्यस बेला ऊ अरूले सहजै बुझ्न नसक्ने भाषा भङ्गीमाको प्रयोग गर्न थाल्छ र वातावरणलाई रोचक तुल्याउँछ । वस्तुतः यही कथनले गाउँखाने कथाको रूप धारण गर्दछ (पराजुली, २०६५ : १७४) ।

लोक जीवन सुखदुःखका अनेक क्षणमा आफ्ना जिज्ञासा तथा मनोरञ्जनका निम्ति विभिन्न साधनको उपयोग गर्दछ । गाउँखाने कथा तिनै मध्येको एउटा रोचक विषय हो । मानिसहरू दैनिक काम सकेर फुर्सतको बेला बसिबियाँलो गर्दा यस्ता रमाइला प्रसङ्ग उठाउँछन् । यस प्रकारको गाउँखाने कथा तामाङमा ओमोख्लाङ र दोन भनेर प्चलनमा रहेको छ ।

तामाङ गाउँखाने कथाको महत्त्व

गाउँखाने कथामा स्थानीय, जातीय, सामाजिक र आर्थिक लगायत ऐतिहासिक घटनाक्रमलाई समेत रोचक ढङ्गले प्रस्तुत गरिन्छ । अति संक्षिप्त हुने हुनाले बुद्धि तिखार्न र स्मरण शक्ति बढाउन समेत यसले भूमिका निर्वाह गर्दछ । केटा केटी समेत यस्ता कथा भन्न र फुकाउन उत्सुक हुन्छन् । यिनमा भाषा तथा लोक साहित्यको जगेर्नासँगै मनोविनोद र बौद्धिकता समेत प्रदर्शन हुन्छन् । कूट पद्य र अड्काको रूपमा विकसित भए तापनि गाउँखाने कथा ग्रामीण जन जीवन, स्थानीय परिवेश, वातावरण, परिस्थिति र बुद्धि विनोदको परिणाम भएकाले यसको महत्त्व धेरै रहेको पाइन्छ ।

सामाजिक महत्त्व

तामाङ गाउँखाने कथाले तामाङ जातिको सामाजिकता समेटेको हुन्छ । यो समाजको प्रतिबिम्ब हो । यसमा जातीय सामाजिकता समेटेको हुन्छ । तामाङहरूको जातीय, लैङ्गिक, पारिवारिक, धार्मिक र सांस्कृतिक अवस्था समेत यसमा समेटिने हुनाले यसको सामाजिक महत्त्व रहेको स्पष्ट हुन्छ । जस्तै ; म्ही सोम कङ ची ता ? ग्लप मोइपल यस उदाहरणले सामाजिक कृया कर्मको रुपमा मान्छेले गोरु जोतेको सन्दर्भलाई जोडेको छ । तामाङ जाति गोरु जोत्दथे र यसकै आधारमा आफ्नो विविध सामाजिक कामहरू सम्पन्न गर्दथे ।

जातीय महत्त्व

तामाङ गाउँखाने कथामा यस जातिमा विद्यमान रीतिरिवाज, समस्या, धार्मिक निष्ठा र अन्य विविध जातीय सबालहरूमा सवाल जवाफ समेत हुने हुनाले यसको महत्त्व रहेको छ । यसका माध्यमबाट आफ्नो जातिप्रतिको चिनारी, पहिचान, वेशभूषा, रहनसहन, चालचलन, रीतिरिवाज र परम्पराको समेत जानकारी हुन्छ । वास्तवमा यसले तामाङ जातिको न्वारनदेखि मृत्युसम्मका जातीय सन्दर्भ जोडिएको हुन्छ । स्योते विशेषतः लेकमा रहनेहरूले लगाउने गर्दछन् । तामाङ जातिले लाउने गरेका स्योते भेडाको ऊनबाट बुनेको हस्त निर्मित हुन्छन् । यो टाउको सुरक्षार्थ लगाउने गर्दछ । जाडोबाट जोगाउनुका साथै हुस्सुबाट समेत जोगिने हुनाले यसको प्रयोग गरिन्छ । यसको उदाहरण यहाँ दिइएको छ : परटी युपरी बाँडो अरे कोत्परी याङी तोपल ता ? स्योते । त्यसैले तामाङ जाति लेक तथा जाडोमा बस्दछन् भनेर यस उदाहरणले जनाएको छ ।

साहित्यिक र सृजनात्मक महत्त्व

मौखिक ढङ्गले अगाडि बढिरहेको तामाङ गाउँखाने कथाले नेपाली लोक साहित्यलाई समेत महत्त्वपूर्ण टेवा पुर्याइरहेका छन् । सरल र मिठासपूर्ण प्रश्नमा बौद्धिक एवम् कुटिल जवाफ खोजिने हुनाले झन् यो बालकदेखि बृद्धसम्मलाई लोकप्रिय रहेको छ । गाउँखाने कथाको प्रयोगद्वारा आफू जुन परिस्थितिमा छ त्यही परिस्थितिसँग मिल्ने गरी प्रश्नहरू निर्माण गर्ने तथा फुकाउने सिर्जनशील क्षमताको समेत विकास हुन्छ । तलको उदाहरणमा फापरको बोटलाई तामा र फललाई चाँदीको रूपमा चित्रण गरिएको छ । यसमा सुन्दर अलङ्कार प्रयोग गरिएको छ ।

जस्तै ; म्हुइकी दोत नाजिम स्हङमोइ बेर्का दाप ता ? ब्र्या दोङपो, वनटी फे दिमटी सङ्मो ता ? क्रे, च्याइ रालिङ ग्यतिङ ग्य केत्पे सो बिरुवा चि यिन्जी ? मकै आदि उदाहरणको माध्यमबाट यसको साहित्यिक र सिर्जनात्मक महत्त्व ठम्याउन सकिन्छ । यी उदाहरणहरूमा चाँदी, तामा, फलाम जस्ता धातुजन्य पदार्थसँग रूख, बोटविरूवा र अन्य वस्तुलाई सुन्दर ढङ्गले प्रयोग गरिएको छ । उत्तरदातालाई सही उत्तर दिन नसक्न यसले सघाउ पुर्याउदछ । यथार्थमा जवाफ सही नआएमा ओम खाने विशेष उद्देश्यले नै सवालहरू निर्माण गर्दछन् ।

ऐतिहासिक महत्त्व

प्राचीनकालमा कुनै गोप्य कुरा भन्नु परेमा प्रयोग गरिएको शैली नै गाउँखाने कथा बन्यो भन्ने विद्वान्हरूको मान्यता रहेको पाइन्छ । तामाङहरूको विगतको घटना क्रम, चेतना स्तरको मूल्याङ्कन समेत गरिने हुनाले यसको ऐतिहासिक महत्त्व छ । इतिहासको कालखण्डमा गरेका सङ्घर्ष, पीडा र दुःखको प्रतिनिधित्व स्वरूप सवाल जवाफ हुने गर्दछ । तामाङ जाति हस्त निर्मित वस्तुहरूको प्रयोग गर्दथे भन्ने सुन्दर उदाहरणहरू पाइन्छन् । ती मध्ये एक यहाँ दिइएको छ ।

सवालः म्रमे लुङ्री ठुङ्पे युङ्, लकैचेरी ठुङ्पे सिङ, फो तिङ मो ग्युर्पे स्यासु ची यिन्जी ?
जवाफ : म्रमे लुङ्री ठुङ्पे युङ्, लकैचेरी ठुङ्पे सिङ, फो तिङ मो ग्युर्पे स्यासु तोक्चे तिङ गुतुङ यिन्ना ।

तामाङहरू ऐतिहासिक कालखण्डदेखि प्रताडित थिए । उनीहरू जमिनको माथिल्लो भाग पहाडको टाकुरा आसपास खोरिया फारेर बस्दथे । ती स्थानमा काठ प्रसस्त पाइने हुनाले तिनीहरूको अधिक प्रयोग गर्दथे । साहुँ महाजनको काममा जाँदा भेटाइने लाम्चो ढुङ्गा ल्याई काठमा खोपेर नुन पिध्ने गर्दथे । त्यही ऐतिहासिकता यहाँ प्रस्तुत गरिएको छ । यस प्रकारका थुप्रै गाउँखाने कथाहरू तामाङ समाजमा प्रचलनमा रहेको छ ।

भौगोलिक महत्त्व

स्थानीयताको चित्रण तामाङ गाउँखाने कथामा पाइने हुनाले यसको भौगोलिक महत्त्व रहेको छ । तामाङ समुदाय कस्ता स्थानमा बसोबास गरेका छन् भन्ने कुरा गाउँखाने कथामा गरिने सबाल जबाफमा आकलन गर्न सकिन्छ । आफू बसोबास गर्ने स्थानहरूको चिनारी दिन गाउँखाने कथा सफल छन् । उनीहरू प्रश्न वा उत्तर स्थानीय भौगोलिक परिवेशमा आधारित रहेर रचना गर्ने गर्छन् । यसको उदाहरण स्वरुप यहाँ म्यन्ची र ग्यु ब्रङको सन्दर्भ आएको छ । जस्तै ; केरोङ ङिपे प्लीक दोयुपे ता ? लङ, नियी जुप सल्यान गु यारी फेलेङ्गु ता ? बन्दुक, नेपालकी मयील मे ङी ता ? हात्ती आदि ।

यहाँ सल्यान र केरोङको कुरा पनि आएको छ । यसले त्यस बेलाका सम्पर्क स्थान तथा व्यापारिक केन्द्र र त्यको भू-वनोटबारेको सन्दर्भ जोडिन आएको छ । तामाङ गाउँखाने कथामा यस प्रकारको भौगोलिक स्थानहरूको जानकारी दिने हुनाले भौगोलिक महत्त्व दर्साउन सकिन्छ ।

धार्मिक महत्त्व

तामाङ गाउँखाने कथाले यस जातिका धार्मिक आस्था र विश्वास पनि दर्साउँदछ । तामाङहरूका सनातन धर्म, आस्था र विश्वासको बारेमा गाउँखाने कथाबाट थाहा पाउँदछौं । त्यसैले यसले धार्मिक महत्त्व पनि बोकेको छ । लामाले लगाउने गरेको मालालाई, ग्यरस गी ल ग्रुङ गीएनो ता ? फ्रेङपा । यो उदाहरण अनुसार पनि तामाङहरू बौद्धमार्गी थिए भन्ने बुझिन्छ । अझै पनि लामाहरूले आफ्नो वा जजमानको रक्षार्थ फ्रेङ्पा माला जप्ने गर्दछन् । भूत प्रेत धपाउनदेखि योग साधना गर्नको लागि समेत फ्रेङ्पा प्रयोग गरिने चलन छ । यस प्रकारका धर्मसँग सम्बन्धित कुराहरू गाउँखाने कथा मार्फत उजागर हुने हुनाले यसको महत्त्व छ ।

प्राप्ति

परापूर्वकालदेखि लोनजीवनमा प्रचलित सवबालजवाफ नै गाउँखाने कथा हो । तामाङले पनि आफ्नै भाषामा यसको प्रयोग गरिएको पाइन्छ । सबैले स्विकार गर्ने, स्थानीय भाषा, भेष, संकार, प्रचलन समेतको सवालजवाफ बनाउने गर्दछन् । प्रचलित गाउँखाने कथामा मौलिक विशेषताहरु पाइन्छन् ।

तामाङ गाउँखाने कथाको महत्व धेरै छ । गाउँखाने कथा अचेल न्यून प्रचलनमा रहेको छ । यसका बारेमा नव पुस्ताको ध्यान जान सकेको छैन । थप संकलन गरी व्याख्या विश्लेषण गर्नु जरुरी छ । प्रकाशन प्रसारणका विभिन्न माध्यमको नजरमा नपरेको एक महत्वपूर्ण लोकसाहित्य तामाङ गाउँखाने कथा लोप हुने अवस्थामा रहेको देखिन्छ ।

सुझाव

नेपालका प्रत्येक भाषासँग सम्बन्धित लोक साहित्यका विभिन्न विधामा अध्ययन अनुसन्धान गराई प्रकाशमा ल्याउनु, पुराना ज्ञानको संशोधन र विस्तारका साथै नयाँ ज्ञानको स्थापना गर्नु र नेपालको लोपोन्मुख जातिका भाषा, लिपि, संस्कृति, श्रुति परम्परा, जीवन पद्धति र साहित्यको खोजी गरी तिनलाई जोगाउनु आवश्यक छ । तामाङहरूको जोमख्लाङ, कोच्चाख्लाङ (गाउँखाने कथा) जस्ता तामाङ सांस्कृतिक खेलहरू लगभग मौखिक इतिहासबाट पनि हराइसकेका छन् (तामाङ, इ. १९९५ : १३) । गाउँखाने कथाहरूलाई जोगाउन राज्यको ध्यान जान नसके पनि यसको वास्तविकता अध्ययन गर्नु जरूरी छ ।

तामाङ गाउँखाने कथाको उचित अभिलेखीकरण, वर्गीकरण र विश्लेषण हुन सकिरहेको छैन । तामाङ लोक साहित्य अध्ययनको थालनी भइसकेका छन् । यसका व्यवस्थित अध्ययन तथा खोज कार्य भइरहेको सन्दर्भमा तामाङ गाउँखाने कथा भने ओझेलमा परिरहेका छन् । त्यसको पूर्तिको लागि वैज्ञानिक, व्यवस्थित र पूर्ण अध्ययन गर्नु पर्ने आवश्यकता टड्कारो रुपमा आइपरेको छ । तामाङ गाउँखाने कथाको सङ्कलन गरी तिनीहरूको वर्गीकरण र विश्लेषण समेत गरिनु पर्दछ ।

तामाङ गाउँखाने कथा तामाङ लोक साहित्यको एक विकसित शाखा भएकोले यसको बारेमा निरन्तर नयाँ नयाँ खोज र अनुसन्धान हुनु पर्दछ । गोठालो युगको अन्त्यसँगै तामाङ गाउँखाने कथाको पनि लोप हुने सम्भावना छ । यदी त्यस्तो भएमा तामाङका पहिचानहरू बिस्तारै हराउँदै जानेछन् । नेपालको एक प्रमुख आदिवासी जनजातिको पहिचान गुम्न दिनु हुँदैन ।

सम्बन्धित समाचार