बालेन शाह, गणेश पौडेल, प्रेम बहादुर बोहरा र राजानन्द माण्डव्यहरू किनारामा बसेर स्थापितका कर्तुतहरूको बहस चलाउन अभ्यासरत छन् । ब्युँझाउन कोसिस गरिरहन्छन्- सुतेका आम नागरिकका चेतनाहरू ।
Photo by: Himal Darpan
मानवले स्वतन्त्रताकै लागि लामो र कहरपूर्ण यात्रा तय गर्छ, जेलनेल हाँसी हाँसी भोग्छ र क्रान्ति,आन्दोलनका अग्निमय बाटोमा होमिन्छ तर, ऊ कहिल्यै स्वतन्त्र हुन सक्दैन । त्यसैले त रुसोले भनेका रहेछन् कि ‘मान्छे स्वतन्त्र जन्मन्छ तर ऊ चारैतिरबाट बन्धनले घेरिन्छ ।’ आजकाल म यस्तै यस्तै महसुस गरिरहन्छु ।
हामी घरको चार दिवारमा उभिएर अनुभूत गर्न सक्छौँ कि हाम्रो स्वतन्त्रता कति ठुलो कारागारभित्र कैद छ । हाम्रा आबद्ध संघ संस्था,स्कुल, कलेज, कार्यालयहरू, कारखानाहरू सबैसबै हाम्रा भयङ्कर ठुला जेलघरहरू हुन् ,जसले हामीलाई कहिल्यै स्वाधीनताको सग्लो आकाश देखाउन चाहँदैनन् । हामीलाई आफ्ना नियम र अनुशासनपुरका दाम्लाभित्र कसेर आजीवन दासता स्विकार्न बाध्य गराउँछन्, भलै तिनले भत्ता र महिनावारीको चारो दिएकै किन नहुन् ।
राजनैतिक सङ्घ-संस्थाहरू दुनियाँका क्रूर कारागारहरू हुन्, जहाँभित्र रहेर हामी कहिल्यै स्वाधीनताको उन्मुक्त श्वास फेर्न सक्दैनौँ । जसका केही दृष्टान्तहरू हाम्रै आसपासबाट लिन सक्छौँ ।
एकै पदमा पटकपटक दोहोरिएर लिप्सा लागिरहनु, आफ्ना प्रतिस्पर्धीहरूलाई छिर्के हान्नु र अघि आउन अवरोध सिर्जना गर्नु पनि अर्को निरङ्कुशता हो । सङ्घसंस्थाहरूमा आजीवन अध्यक्षको डङ्का पिट्ने हजारौँ छन्, हाम्रा वरपरै ।
राणाकालमा आजीवन प्रधानमन्त्री बन्ने कानुनको विरोध गर्नेहरू, जन्मँदै राजा हुने हैकमवादी, वंशवादी प्रवृत्तिको विरुद्ध धावा बोल्ने प्रचण्डले कार्यकर्तालाई कति स्वतन्त्रता दिएका छन् आफ्नो विरुद्ध बोल्न ? कति उदार छाती बनाउँछन् अर्कोलाई अध्यक्ष स्विकार्न ? उस्तै हालत छैन र काङ्ग्रेस र एमालेमा पनि ?
राजनीति सफेद चरित्रको चहमा प्रज्वलित हुनुपर्ने अहिले कहाँ खोज्नुहुन्छ सफेद नैतिकता ? सुरु गरौँ कि राजधानीका मेयरको उमेद्वारबाट ।
केशव स्थापित यस्तै एक पात्र हुन्, जसको स्वतन्त्रता स्वार्थ, दर्प र दम्भको घिनलाग्दो आहालमा चुर्लुम्म डुब्नु, महिला, मदिरा र पद प्रतिष्ठाको भोकमा अरूको स्वतन्त्रता हनन गर्नु उनको राजनीतिक अभीष्ठ हो । कुनै बेला उनी माले, एमाले र प्रजापरिषद्को आँगन चहारी हिँडे, बाबुराम भट्टराईको जुठोपुरो वरपर माखा बनेर पनि भन्किए । जहाँबाट पद प्रतिष्ठा आर्जन हुन सक्थ्यो एक निष्ठावान् कार्यकर्ता, जो दलको विधान र अनुशासनको कठघरामा उभिन्छ र समर्पण गर्छ आफ्नो फुक्काफाल जीवनलाई- नेताका झुसिला डकारमय आदेशमा धनुष्टङ्कार भएर । हो ती निष्ठावान् कार्यकर्ताहरूको स्वतन्त्रता अधिकार र श्रम पसिनामाथि केशव स्थापित र स्थापित ब्रान्डहरू घोडा चढेर ‘हट् घोडा हट्’ गरिरहन्छन् ।
विद्यासुन्दर शाक्यहरू थपडी मारिरहन्छन् र मुस्कुराइरहन्छन् ओलीहरू ।
बालेन शाह, गणेश पौडेल, प्रेम बहादुर बोहरा र राजानन्द माण्डव्यहरू किनारामा बसेर स्थापितका कर्तुतहरूको बहस चलाउन अभ्यासरत छन् र ब्युँझाउन कोसिस गरिरहन्छन् सुतेका आम नागरिकका चेतनाहरू । जहाँबाट उम्रन सक्छ नयाँ युगको नयाँ उज्यालो ।
त्यसैले फोहोरी हत्केला उठाएर छोप्न खोज्छन् उज्यालाहरूलाई कुरूप केशवहरू र भन्छन् – ‘बालेन बच्कनाहरू उम्मेदवार नै हैनन् ।’
के थाहा र गन्हाएका घ्याम्पाहरूलाई कि साना कृष्णले नै पूतनाहरू मारेका थिए । भीमकाय राक्षसी विद्रुप ताण्डवको अन्त्य बच्कनाहरूबाटै हुनेछ ।
किम्बदन्ती भन्छ कि सत्ययुगमा कमिलाहरू पनि मान्छेजस्तै ठुला थिए । मान्छेले जस्तै बात मार्नसक्थे र मान्छेजस्तै विचार विमर्श गर्न सक्थे । ती कमिलाहरूमध्ये एक गोबरको थुप्रोमा गुण लगाएर बस्थ्यो । अर्को कमिला जेरी पसलमा बस्थ्यो । एकदिन जेरी पसलमा बस्ने कमिलाले हिँड्दै गर्दा बाटोमा गोबर कमिलालाई बाटोमा भेट्यो । उसको शरीरभर गोबर लागेको थियो ।
जेरी कमिलालाई उसको रूप देखेर दया लाग्यो र आफ्नो घर लिएर गायो । तिम्रो शरीरमा दुर्गन्ध मात्रै रहेछ भनेर नुहाइ धुवाइ गरिदियो र भन्यो, ‘अब तिम्रो शरीरबाट दुर्गन्ध हरायो । सुँघ त अब त मह, मिष्ठान्न, सुगन्धै सुगन्ध मात्रै हर्र हर्र बास्ना आइरहेको छ ।’ गोबर कमिलाले भन्यो “ खै साथी मेरो नाकबाट त गोबर मात्रै गन्हाइरहेको छ त ।” जेरी कमिलाले फेरि आफ्नो साथीलाई बोलाएर असको नाकमा हेरेको त गोबरको डल्लै रहेछ । उसले गोबर कोट्याएर झिकिदियो, अनि त गोबर कमिलाको नाकबाट पनि मह, मिष्ठान्नको बास्ना हरर पस्न थालिहाल्यो ।
हामीले देखिरहेका छौँ, पुराना नेताहरूका नाकमा गोबरको डल्लो अहिले पनि छँदैछ । त्यसैको आडमा गोबरमा रमाउनेहरू दुर्गन्ध बोकेर हिजैको ह्याङ ओकलिरहेका छन् र काठमाडौंका जनताले नाक धोइपखाली गरेको देख्दै देखेका छैनन् । काठमाडौका जनतालाई सनातनी, परम्परावादी र फेर्नै नसक्ने जडवादी सम्झिरहेका छन् । अब यो भ्रमबाट हामी विश्लेषकहरू पनि मुक्त हुन आवश्यक छ । हिजो बाबुराम भट्टराईको पालामा होस् कि केपी ओलीको पालामा होस्, काठमाडौंको स्थानीयतालाई चोट पर्ने गरेर गुठीहरूमा अतिक्रमण आरम्भ भएको थियो । संसारलाई अनौठा जात्रा, उत्सव, महोत्सव देखाउने मुहानमा प्रहार भएको थियो । त्यसैले त्यो जडसूत्रवादीहरूको अनुहार खोज्दै जाँदा एक अजीव मूर्ख मनुवा भेटेर प्रस्तुत गरेको पाइयो, जसले छेपाराले भन्दा अचम्मसँग रङ बदल्न सक्छ ।
हाम्रो राजनीति वर्तमानमा यति घिनलाग्दो र यति दूषित बन्दै गइरहेको छ कि त्यसभित्र धन, डन र गनको हाबी भइरहेको छ । चुनावपिच्छे खतरनाक भ्रष्ट र अराजक व्यक्तिहरूले अवसर पाइरहेका छन् । इमानदार र निष्ठावान् व्यक्तिहरू राजनैतिक परिदृश्यबाट पाखा लगाइएका छन् । चरित्रहीन, घुसखोर र कमिसन एजेन्टहरू राजनीतिको पर्दामा अगाडि देखिएका छन् । यसको सफाइ हुन सकेन भने हाम्रो निर्वाचन प्रक्रिया र दलहरूको लगाम नै तस्कर र भ्रष्टहरूको चङ्गुलमा पुग्नेछ । एकदिन यस्तो समय आउनेछ कि राजनीति र शौचालयमा कुनै भेद देखिने छैन, जहाँ गएर प्रदूषण मात्र उत्सर्जन हुनेछ ।
चाणक्यले भनेका थिए कि जसको साथमा विद्या छैन, तप छैन, दान छैन, वीरता छैन, शील, गुण र धर्म छैन, ऊ यस लोकमा लायक छैन र धर्तीका भार मात्र हुनेछ । सायद चाणक्य अहिले भएका भए उनले आफ्नो भनाइलाई सच्याउने थिए र भन्ने थिए, ‘त्यस्ता व्यक्तिहरू नेपालको राजनीतिमा लायक हुनेछन्, जसले सुरा, सुन्दरी, डन, गन र धनको उन्मादमा उम्लिरहेका हुनेछन् ।’
खराब नेता वा राजा हुनुभन्दा नहुनु श्रेयष्कर छ, मूर्ख साथ हुनुभन्दा नहुनु लाभदायी हुन्छ । निन्दित शिष्य हुनुभन्दा नहुनु श्रेयष्कर छ । भइरहेको छ पनि उस्तै ।
नेताको व्यवहार शुद्धीकरण नभएकै कारण परिष्करण खोज्ने क्रममा बालेन शाहहरू जन्मिए । अधिकार खोज्न २००७ सालदेखिको अनवत सङ्घर्षले नपुरेर जगन्नाथहरूले चिन्ह त्यागेर स्वतन्त्र उम्मेदवारी दिन पुगे । कटहर, गुलाब, धारा र अनेकअनेक चिन्हका शरणमा पर्न विवश भए।
मेरा एकजना मित्रले फेसबुकमा एक स्ट्याटस लेखे, “ विचार/सिद्धान्त ठुलो कि चिन्ह साथीहरू ?”
प्रश्नले मेरा मथिङ्गल घुमायो । केशव स्थापितहरूलाई त चिन्ह ठुलो नै भो किनकि त्यसैका लागि सुमेरु पर्वत परिक्रमा गरिसकेपछि पनि केही नलागेपछि फेरि शरण बाआमाकै गर्नु परिरहेको छ । तर, सिद्धान्त, विचार र चरित्र महान् हो भन्नेहरूले चिन्हको सङ्कुचित दायराभन्दा माथि उठेर जनअदालतमा आफ्नो दलिल पेश गरिरहेका छन् । म भने अझै दुविधामा छु चिन्ह ठुलो हो कि चरित्र ?
चिन्ह ठुलो देख्नेहरूले सिद्धान्तको रटान छाड्नेछैनन् । दर्शनको फलाक्नेछन्, डुक्रनेछन् तर विचार के हो ? दर्शन के हो ? र सैद्धान्तिक मूल्यहरू के के हुन् ? भन्न सक्ने छैनन् । मरेका विचारहरूको लास, सडेका दर्शनहरूको कङ्काल र गन्हाएका सिद्धान्तको प्रदूषण बोकेर अपानवायु मिश्रित आवाजमा रटिरहन्छन् सुगा रटाइ ।
चरित्रको महानता देख्नेहरूले सङ्कुचनका दाम्लाहरू छिनाल्नेछन् । उखाल्नेछन् इतिहासका किलाहरू । डोब मेट्न प्रयास गर्नेछन् अनीति र अनैतिकताको । अहिले तिनका दिलमा घाउ लागेको छ । त्याग, समर्पण र निष्ठामाथि माथिबाट बिष्ट्याइएका उत्सर्जित दुर्गन्धहरूले । त्यसैले त स्वाधीनताका लागि कहिलेकाहीँ दाम्ला छिनाल्नु आवश्यक छ । बन्धन तोड्न पनि आवश्यक छ ।
आउनुहोस् महोदय, मक्किइसकेको आफूलाई कसिरहेको अनावश्यक विचारको दाम्लो छिनालौँ । तपाईँलाई थिचिरहेको कथित सिद्धान्तको बूढो अघोरी पहाड एकसाथ मिल्काऔँ । तपाईँ कहाँ हुनुहुन्छ ? के तपाईँलाई पनि आफूलाई परीक्षण गर्न आवश्यक छैन र ? सक्नुहुन्छ परिष्करण गरौँ, नसके उत्सर्जन गरौँ । समयलाई नेटो काट्न नदिऔँ ।