शुक्रबार , अषोज ४, २०८१

सुर्खेतमा प्रहरी अधिकारीद्वारा मतदान अधिकृत, म्यादी र गाउँमाथि कुटपिट

निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीद्वारा मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेमाथि कुटपिट भएको छ ।

image

सुर्खेत । निर्वाचन सुरक्षा खटिएका एक प्रहरी अधिकारीद्वारा मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेमाथि कुटपिट भएको छ ।

नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन् ।

भट्ट पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका थिए।

बुधबार राति ११ बजेतिर मदिरा सेवन गरेर वरिष्ठ सई भट्ट धनबोट गाउँ पसेका थिए । प्रत्यक्षदर्शीका अनुसार स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेका हुन् ।

मतदान अधिकृत झाले बुधबार राति ११ देखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको बताए ।

भट्टको कुटाइबाट मतदान अधिकृतसहित केही म्यादी र स्थानीय सामान्य घाइते भएका छन् ।

म्यादी प्रहरी र प्रहरी मिलेर उनलाई उद्धार गरेर मतदान अधिकृतलगायतको टोली बसेको घरमा राखिएको थियो । उनले बोकेको पेस्तोल अन्य प्रहरीले खोसेका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको बताए ।

सम्बन्धित समाचार