साधारण चाउमिन र फ्राई राइसभन्दा हातले बनाएको विशेष चाइनिज चट्नी प्रयोग गरिएको सेजुवान चाउमिन र फ्राई राइसले बेग्लै स्वाद दिन्छ ।
खाना भन्ने बित्तिकै अहिले दालभात मात्र बुझिँदैन या कुनै एक प्रकारको खाद्य वस्तुलाई चिनिँदैन । समय फेरिएको छ, मान्छेहरू आफ्नो रुचि र स्वाद अनुसारका खाना खान थालेका छन् । खाद्य बजार निकै विशाल भइसकेको छ । विभिन्न होटल तथा रेस्टुरेन्टहरूले विभिन्न स्थानका खानाहरू पस्किरहेका छन् । पूर्वको स्वाद पश्चिम पुगिरहेको छ भने उत्तरको स्वाद दक्षिणसम्म यात्रा गरिरहेको छ । मान्छेहरूले फरक स्वादका खाना खोज्ने क्रममा विभिन्न किसिमका परिकारहरूको आविष्कार भइरहेको छ । यस्तै फरक स्वादले भरिएको खाना हो नेपालको पश्चिम भेगको ‘सेजुवान फ्राई राइस र चाउमिन ।’ उपत्यकालाई यो खानासँग शंखमूल, यातपाउँ मार्ग, गणेश मन्दिर छेउमा रहेको ‘सुप सियु’ले परिचित गराइरहेको छ ।
करिब १.५ महिनाबाट सुरु भएको सुप सियु नामक यो रेस्टुरेन्टले उपत्यकामै पहिलो पटक सेजुवान चाउमिन र सेजुवान फ्राई राइस पस्किन थालेको छ । नेपालको पश्चिमी भेगमा निकै लोकप्रिय रहेको यो परिकार यसअघि काठमाडौं भित्रिएको थिएन । कृतन ठकुल्लाले पश्चिमको त्यो लोकप्रिय स्वादलाई टपक्क टिपेर काठमाडौंसम्म ल्याएका हुन् ।
साधारण चाउमिन र फ्राई राइसभन्दा सुदूरपश्चिममेली हातले बनाएको विशेष चाइनिज चट्नी प्रयोग गरिएको सेजुवान चाउमिन र फ्राई राइसले बेग्लै स्वाद दिन्छ । बेला-बेला धनगढीका मानिसहरूले यो परिकार काठमाडौंमा उपलब्ध नभएका कारण हवाई माध्यमबाट मगाएर खाने गरेको कृतनले देखेका थिए । काठमाडौंमै सहज रूपमा यो परिकार पाउन थालेपछि पहिल्यैबाट यो परिकारका पारखी रहेका मानिसहरू निकै उत्साहित भएका छन् । नयाँ या पहिलो पटक यो परिकार चाख्नेहरूले पनि राम्रो प्रतिक्रिया दिइरहेको कृतनले सुनाए ।
कृतनको मनमा धेरै समयदेखि पश्चिमको यो विशेष परिकार काठमाडौं भित्र्याउने योजना बनिरहेको थियो । तर, व्यवसाय सुरु गर्न उनीसँग पर्याप्त बजेट थिएन । उनको चिनजानमा सेजुवान चाउमिन र फ्राई राइसलाई मौलिक स्वाद सहित तयार पार्न सक्ने सेफ आएपछि योजना अघि बढेको हो ।
सुप सियुले आफ्नो व्यापारिक यात्रा सुरु गरिसके तापनि रेस्टुरेन्टमा गर्नु पर्ने केही भौतिक कामहरू भने अझै बाँकी छन् । अहिले सीमित खानाहरू मात्र पस्किरहेको रेस्टुरेन्ट चाडै नै अरू खानाहरू पनि थप्ने योजनामा रहेको छ । अब थपिने खानाहरू सकेसम्म नयाँ र पश्चिम भेगको स्वाद बोकेको रहने कृतनले बताए ।
आकर्षक ढङ्गले निर्माण गरिएको रेस्टुरेन्टको भित्ताहरू कलात्मक चित्रले भरिएका छन् भने डोरी र टायरको उचित प्रयोग गरी सौन्दर्य थप्ने काम गरिएको छ । कृतन आफैँले खोजेर रेस्टुरेन्टको डेकोरेसनको काम सम्हालेका हुन् ।
उपत्यकामा यस्तो किसिमको स्वाद भरिएको खाना नपाउने हुनाले आफ्नो रेस्टुरेन्ट एक पटक भ्रमण गर्नै पर्ने कृतन बताउँछन् । फरक स्वाद बोकेको फ्राई राइस र चाउमिन चाख्नका लागि सुप सियु पुग्नुपर्ने उनी बताउँछन् ।
धनगढीका ग्राहकहरू त सुप सियु पुग्छन् नै नयाँ ग्राहकहरू पनि खाना स्वादिलो भएको भन्दै पुग्ने गरेका छन् । सेजुवान फ्राई राइस र चाउमिन बाहेक सिंगापुरे र ट्रिपल चाउमिन तथा फ्राई राइस पनि रेस्टुरेन्टका विशेष खाना रहेका छन् ।
चार वर्षको उमेरमा बुवा गुमाएका कृतन यो पेसामा आउनुअघि एक कुशल नृत्यकार थिए । धनगढीमा उनले नृत्य सिकाउने इन्स्टिच्युट नै खोलेका थिए । तर नृत्य क्षेत्रमा सोचे जस्तो सफलता भने पाउन सकेनन् । बढ्दो जिम्मेवारीले थिच्दै गएपछि नाच छुट्दै गयो । अहिले उनले नाच्न छोडेकै ५ वर्ष भइसकेको छ । कुनै बेला पश्चिम भेगमा आयोजना हुने प्राय सबै महोत्सवमा आफ्नो नृत्यकला प्रस्तुत गर्ने कृतन अहिले फरक बाटोमा छन् । नृत्यका विभिन्न रियालिटी शोहरूमा समेत आफ्नो भविष्य नभेटेपछि उनी अन्तै मोडिन बाध्य भएका हुन् ।
कोरोना महामारीले निम्त्याएको लकडाउन सुरु हुनुभन्दा एक महिना अघि काठमाडौँ प्रवेश गरेका उनको धनगढीबाट काठमाडौँसम्मको यात्रा सजिलो थिएन । साथीसँग १० हजार सापटी लिएर उनी काठमाडौँ आएका थिए ।
व्यवसाय थाल्नु भन्दा अघि अनलाइन काम गरिरहेका कृतनलाई बेला-बेला आफ्नै व्यवसाय सुरु गर्नुपर्ने हुटहुटीले सताइरहन्थ्यो । केही वर्षदेखि सेजुवान चाउमिन र फ्राई राइस काठमाडौंलाई चखाउनुपर्छ भन्ने उनलाई लागिरहेको थियो । उनी बाहेक धनगढीका प्रायजसो साथीहरूमाझ यो योजना पुगिरहेको थियो । व्यवसायको छटपटीले उनलाई गिजोलिरहेको बेला उनको भेट अहिले भान्सा सम्हालिरहेका सेफसँग भयो । उनी पनि पश्चिमकै भएकाले कृतनलाई थप सजिलो भयो । र, दुई जनाको मिलेमतोमा सुरु भयो ‘सुप सियु’ यानिकी सुदूरपश्चिम खाना ।
अनलाइन व्यापार गर्ने क्रममा कृतनले व्यवसायका लागि केही पैसा जम्मा गरेका थिए भने केही पैसा ऋण लिएका छन् । थोपा-थोपा मिलेर सागर बन्छ भने झैँ थोरै पैसा उनलाई साथीले सहयोग गरे भने उनकी दिदीले थोरै पैसा थपिदिइन् । करिब १० लाखको लगानीमा भर्खरै निर्माण भएको रेस्टुरेन्टमा साथीले भरपुर सहयोग गरेको कृतन सुनाउँछन् ।
रेस्टुरेन्टले कृतनलाई नाफा नै दिई नसके तापनि भाँडा तिरेर आफ्नो जीविकोपार्जन गर्न सहयोग गर्न थालिसकेको छ । रेस्टुरेन्टको प्रचार प्रसार गर्ने काम सुरु नहुँदै उल्लेखनीय हिसाबमा ग्राहकहरू आएकाले प्रचार प्रसार पाए ग्राहकको सङ्ख्या अझ बढ्नेमा कृतन विश्वस्त छन् ।