लाहुरे पनि देवताको रुपमा मुर्ति बनाइएर पुजिएको यहाँ देख्न सकिन्छ । साथै पहराको तल रहेको बजारको नाम नै लाहुरे बजार रहन गएको छ ।
वि.सं. १८७२ फागुनमा इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धि पछि रुष्ट भएका बलभद्र कुँवर वि.सं. १८७६ मा पञ्जाव केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए । यसरी लाहुरे संस्कृतिको शुरुवात भएको थियो ।
लाहुरे शब्दसँगै वीर, बफादार, निडर तथा कर्तव्यनिष्ठ सैनिकको रुपमा गोर्खालीहरुको परिचय पनि पाएको थियो । विश्वभर वीरताको गाथाले प्रख्यात गोर्खाली लाहुरे मध्य कुनै एक देवताको रुपमा पनि पुजिने गरिएको छ । के कसरी देवता पनि बने खासै जानकारी भएन । तर एउटा कथा सुपादेउराली क्षेत्रमा प्रख्यात छ ।
सुपादेउराली मन्दिर नजिकै ढुङ्गे पहाडको भिरमा ढ्ङ्गाको कापबाट बगेको रसायनबाट बनेको एक आकृतिलाई लिएर एउटा कथा बनाइएको छ । त्यो आकृतिलाई लाहुरेलाई सुपादेउराली भगवतीले भित्तामा टाँसिदिएको भनिन्छ ।
कुनै बेला यसै क्षेत्र नजिकै बसोबास गर्ने कुनै युवाले सुपादेउरालीमा लाहुरे भर्ति हुनसकेमा देवीलाई बोका चढाउने भाकल गरेछ । युवा लाहुरे भर्ति त भए तर देवीलाई भाकलको बोका चढाउन बिर्सिएछ । यसरी भाकल पुरा गर्न नसक्दा देवीको मन्दिर रहेको बाटो छलेर पहराबाट गाँउ तर्फ लाग्दा देवीले भाकल पुुरा नगरि भागेको हुँदा पहरामा टाँसिदिएको भन्ने कथा सुनाउने गर्दछन् ।
पहरामा देखिएको आकृति ढुङ्गाको कापबाट बाहिर बगेको कुनै रसायन हो, जसलाई निकैबेर नियालेर हेर्दा कुनै लाहुरेको आकृति जस्तो लाग्दछ ।
यहाँ कथासंगै कालान्तरमा लाहुरे पनि देवताको रुपमा मुर्ति बनाइएर पुजिएको यहाँ देख्न सकिन्छ । साथै पहराको तल रहेको बजारको नाम नै लाहुरे बजार रहन गएको छ ।
किंवदन्तीहरुमा थोरै मात्र सत्यता हुने गर्दछ । सुपादेउरालीको इतिहास खाँचीकोटका राजकुमार र भारत बलरामपुरका राजकुमारी बिच भएको विवाह र बिबाह पछि खाँची आँउदै गर्दा नवदुलही राजकुमारीले डोलीमै गरेको आत्महत्या पछि भएको अनिष्ट शान्त गर्न देवी स्थापना गराई यो मन्दिर बनाइएको हो ।