बुधबार , अषोज २, २०८१

‘जैविक र अजैविक फोहोर घरबाटै छुट्याइदिनुस्’ -उपमेयर डंगोल

‘यहाँहरू सबैलाई विनम्र अनुरोध छ फोहोर घरैबाट जैविक/अजैविक छुट्टाइदिनुहोला ।’

image

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले फोहोरलाई जैविक वा अजैविक घरबाटै छुट्टाउन अनुरोध गरेकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जैविक र अजैविक फोहोर छुट्याइदिन अनुरोध गरेकी हुन् ।

काठमाडौं महानगरपालिकाले अहिले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताइन् । बञ्चरेडाँडाका स्थानीयले आन्दोलन गरेपछि लामो समयदेखि काठमाडौंमा फोहोर उठ्न सकेको थिएन ।

शुक्रबार स्थानीयबासीसँग पनि सहमति पाएपछि काठमाडौंका फोहोर उठ्न थालेका हुन् ।

‘हामीले फोहोर मैला व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । र हिजोबाट फोहोर पनि उठ्न थालेको छ,’ उनले भनिन् । उनले यसरी फोहोर उठ्न थालेपनि दीर्घकालीन समाधान भने नभएको बताइन् । त्यसको लागि फोहोरहरू छुट्याउनुपर्ने उनले बताइन् ।

‘यो दीर्घकालीन समाधान भने पक्कै होइन । हामीले फोहोर मैलालाई सेग्रेगेशन एट द सोर्स अर्थात जहाँ स्रोत हो त्यहीँ नै विकेन्द्रिकरण गरेर फोहोरको व्यवस्थापन यतै गर्नुपर्छ,’ उनले भनिन्,‘त्यसैलाई नै हामीले दीर्घकालिन रूपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउँदैछौं । छिट्टै लागु गर्छौं ।’

उनले थपिन्, ‘यहाँहरू सबैलाई विनम्र अनुरोध छ फोहोर घरैबाट जैविक/अजैविक छुट्टाइदिनुहोला । केही समय गाह्रो होला तर पछि बानी पर्दै गएपछि यस्तो सजिलो काम अगाडि नै गर्नुपर्ने रहेछ भन्ने पनि लाग्न सक्छ । सकेसम्म जैविक फोहोरहरूलाई घरैमा मल बनाउन पनि अनुरोध गर्छु ।’

यसअघि काठमाडौं महानगरपालिकाले पनि कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेको थियो । त्यसरी नछुट्याए फोहोर नै नउठाउने बताइएको थियो ।

सम्बन्धित समाचार