बिहिबार , मंग्सिर ६, २०८१

सुन्दरनागीको एक उदाहरणीय कृषि क्रान्ति, एक दशकमै यसरी फेरिए जनजीवन 

करिब १९०० मिटरको उचाइमा महाभारत लेकमा अवस्थित सुन्दरनागी-बाँसखर्कमा यसरी व्यावसायिक तरकारी खेती सुरु भएको धेरै भएको छैन । व्यावसायिक तरकारी खेती सुरु भएको एक दशकमै यहाँको जनजीवनमा आमूल परिवर्तन आएको छ ।

image

– चन्द्र तामाङ 

धादिङको बेनीघाट रोराङ-१ सुन्दरनागी-बाँसखर्कका किसानलाई अहिले उत्पादित तरकारी बजार पठाउन भ्याईनभ्याई छ । बारीमा उत्पादन भएको आलु, काउली र बन्द बजार पठाउन उनीहरू व्यस्त छन् । हिउँदमा लगाएको बाली उठाएर बजार पठाउने र अर्को बाली लगाउने बेला भएकोले उनीहरू अहिले निकै व्यस्त छन् । यहाँका किसानले दुई सिजनमा तरकारी लगाउने गरेका छन् । माघ फागुनमा लगाएको आलु काउली र बन्द अहिले असारमा बजार पठाउँदैछन् । यसलगतै मुला, बन्द र काउली लगाउँछन् र असोजमा बिक्री गर्दछन् । चिसो ठाउँ भएकोले बाली पाक्न अलिक लामो समय लाग्छ । यस गाउँमा तरकारी उत्पादन गर्न पाँच देखि ६ महिनासम्म लाग्ने गरेको छ । समय अलि बढी लागे पनि उत्पादन भने राम्रै हुने गरेको छ ।

करिब १९०० मिटरको उचाइमा महाभारत लेकमा अवस्थित सुन्दरनागी-बाँसखर्कमा यसरी व्यावसायिक तरकारी खेती सुरु भएको धेरै भएको छैन । व्यावसायिक तरकारी खेती सुरु भएको एक दशकमै यहाँको जनजीवनमा आमूल परिवर्तन आएको छ । यस गाउँबाट अहिले वार्षिक तीन करोड रुपैयाँ बराबरको तरकारी उत्पादन हुने गरेको छ । यहाँ उत्पादित तरकारी धादिङको सदरमुकाम धादिङबेँसी, गजुरी, मलेखु, चितवनको नारायणघाट, मकवानपुरको हेटौडादेखि काठमाडौंसम्म पुग्ने गरेको छ । व्यावसायिक तरकारी खेतीको सुरु भएपछि यहाँको जनजीवनमा आमूल परिवर्तन आएको छ ।

कष्टकर थियो विगत

विगत एक दशक अघिसम्म यस गाउँका बासिन्दाको जनजीवन निकै कष्टकर थियो । गाउँका बासिन्दाहरूको प्रमुख पेसा कृषि भएपनि परम्परागत गुजारा प्रणालीमा आधारित कृषि प्रणाली अपनाएकाले यस गाउँका बासिन्दाहरूलाई बर्सभरि काम गर्दा पनि खान लाउन धौधौ हुने गरेको थियो । त्यस ताकासम्म यहाँका किसानले प्रमुख बालीको रूपमा मकै, आलु र धान लगाउने गरेका थिए । बलौटे माटो र चिसो हावापानी भएकाले यस गाउँमा मकैको उत्पादन राम्रो हुँदैन । मकै पाक्न करिब सात देखि आठ महिना लाग्छ । बारीमा उत्पादन भएको मकैले तीन देखि ६ महिनासम्म मात्रै खान पुग्ने भएपछि गाउँका बासिन्दाहरू अन्नको जोहो गर्नकै लागि काम खोज्दै बेँसीतिर झर्नुपर्ने बाध्यता थियो । कतिपय उनीहरू काठमाडौं, पोखरा लगायत भारतमा समेत काम गर्न जाने गरेका थिए । गाउँमा आलुको उत्पादन भने राम्रै हुने गरेको थियो । प्रशस्त आलु उत्पादन भएपनि बजार पुर्‍याउन नसकेपछि कुहिएर जाने गरेको थियो ।

गाउँबाट सबैभन्दा नजिकका बजार गजुरी थियो । जुन गाउँबाट २० किलोमिटरका दुरीमा छ । किसानहरूले एक भारी आलु बजारसम्म पुर्‍याउन एक दिन लाग्थ्यो । बजारबाट फर्कँदा मकै, चामल, कोदो इत्यादि बोक्नुपर्थ्याे । जसले गर्दा एक पटक बजार गएर आउन दुई दिन लाग्ने गरेको थियो । बाँच्नकै लागि भारी बोक्नैपर्ने बाध्यता थियो । जनजीवन निकै कष्टकर थियो । तर पछिल्लो एक दशकको अवधिमा यहाँको जनजीवनमा अकल्पनीय परिवर्तन आएको छ । यो कसरी सम्भव भयो ? यसबारेमा चर्चा गरौँ ।

मोटरबाटोले जाेडिदिए बजारसँग

विगत एक दशक अगाडिको  त्यहाँकाे जनजीवनको चित्रण माथि नै गरिसकेँ । यहाँको जनजीवनमा परिवर्तन ल्याउने पहिलो वरदान बन्याे मोटरबाटो । २०६७/६८ सालतिर सुन्दरनागीमा मोटरबाटो पुग्यो । त्यसअघि नै सुन्दरनागी गाउँभन्दा माथिको खैलिङ भन्ने डाँडामा मोटरबाटो पुगेको थियो । उक्त बाटो मकवानपुरको पालुङ (हाल थाहा नगरपालिकामा पर्ने एक पुरानो बजार) बाट जोडिएको थियो । पालुङबाट मकवानपुरकै डाँडेबास, हिले गल्छी, चिसापानी, खैलिङ डाँडा हुँदै सोही जिल्लाको डाँडाखर्क गाविस (हाल कैलाश गाउँपालिका २)को वैकुण्ठ भन्ने गाउँसम्म पुगेको थियो । उक्त बाटो त्यहाँसम्म पुर्याउनका लागि सुन्दरनागीका जीवन सिं तामाङ (हाल वडाध्यक्ष)  यही वडाका सुन बहादुर तामाङ(प्रभु) लगायतले महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर भर्खरै खोलेको बाटो र त्यहाँबाट पालुङ बजार टाढा भएकाले उक्त बाटोले स्थानीयमा मोटरबाटोको भोग जगाउने बाहेक अरू लाभ दिएन ।

त्यसैताका गजुरी बजारबाट पनि गाउँसम्म पुग्ने बाटो खन्न थालिसकेको थियो । बाटोलाई गाउँसम्म जोड्न सकिए गाउँलेलाई सहज हुने भएपछि जीवन सिं तामाङ, सुन बहादुर तामाङ लगायतले पहल गरे । तत्कालीन गजुरी गाविस, महादेवस्थान गाविस र विभिन्न गैरसरकारी सङ्घसंस्थाको पहलमा २०६७/६८ मा गाउँसम्म मोटरबाटो पुग्यो । मोटरबाटो पुगेपछि सुरु भयो सुन्दरनागीबासीको व्यावसायिक खेतीपातीको यात्रा ।

गाउँमा मोटरबाटो पुगेपछि त्यहाँका बासिन्दाले तरकारी खेती सुरुवात गरे । मानिसले बोक्न नपर्ने र सजिलै बजारसम्म लगेर बेच्न पाइने भएपछि  स्थानीयले व्यावसायिक तरकारी खेतीको सुरुवात गरे । तरकारी खेतीलाई सहज बनाउन जीवन सिं तामाङले विशेष पहल गरे । कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायीकरण, यान्त्रीकरण गर्ने कार्यमा उनले महत्त्वपूर्ण योगदान दिएका छन् र दिँदै आएका छन् । हाल उनी वडाध्यक्ष छन् । बेनीघाट रोराङ गाउँपालिकामा यसअघि लागु भएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा उनले सदस्य भएर काम गरे । त्यसक्रममा उनले कृषकहरूका लागि अनुदानमा हाते ट्याक्टर दिने, बिउवीजन र तालिम दिने, टनेल तथा पोखरी निर्माणका लागि आवश्यक सामाग्रीहरू दिने लगायतका कामहरू गरे । जसबाट कृषकहरूले निकै लाभ लिए । कृषकहरू उत्साहित भए ।

गाउँमा तरकारी खेतीबाटै राम्रो आम्दानी गर्न सक्ने भएपछि वैदेशिक रोजगारीमा गएका युवाहरू पनि फर्केर गाउँमै खेतीपाती गर्न थालेका छन् । आफ्नै बारीमा खेतीपाती गरेर राम्रो आम्दानी गर्न सक्ने भएपछि युवाहरू गाउँमै फर्कन थालेका हुन् ।

बाँसखर्कका कृषक सरोद तामाङ आठ वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए । उनी पाँच वर्ष विदेशमा बिताएपछि गाउँमै फर्केर खेतीपाती गर्न थालेका छन् । दुई वर्षअघिदेखि व्यावसायिक तरकारी खेती थालेका उनले वार्षिक पाँच देखि आठ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । आफ्नै बारीमा खेतीपाती गरेर विदेशमा भन्दा बढी आम्दानी हुन थालेपछि निकै उत्साहित छन् ।

उनी  भन्छन्, ‘विदेशमा मुस्किलले महिनाको ३० देखि ४० हजार रुपैयाँ कमाइ हुन्थ्यो । अहिले गाउँमै त्यो भन्दा बढी कमाई हुन्छ । आफ्नो परिवारसँग पनि बस्न पायो । खुसी लागेको छ ।’ उनी थप्छन्, ‘मेहनत गर्न सके स्वदशमै हुने रहेछ । अन्य साथीहरूलाई पनि सकेसम्म आफ्नै देशमा केही गर्ने कोसिस गर्नको लागि अनुरोध गर्न चाहन्छु ।’

गाउँमै तरकारी खेतीबाट राम्रो आम्दानी गर्न पाएपछि निकै दङ्ग छन् अर्का कृषक सुरज तामाङ । अहिले तरकारी खेतीबाटै वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउँदै उनले कष्टकर विगतलाई पनि सम्झिए ।

आलु बोकेर बजारमा जाँदा ढाडमा सुम्लो उठेको स्मरण गर्दै उनले भने, ‘बोरामा आलु बोकेर बेँसीमा जानु पर्थ्याे, बेँसी पुग्दा ढाडमा आलु फल्थ्यो, अनि फेरी बोराभरि अन्न बोकेर फर्किन्थ्यौँ । बजार पुगेर आउन दुई दिन लाग्थ्यो । भारी बोकेको दुखाई हराउन एक हप्ता लाग्थ्यो तर दुखाई हराउन नपाउँदै फेरी जानुपर्थ्याे । सारै गाह्रो थियो ।’

अहिले भारी बोक्न नपरेको र राम्रो आम्दानी समेत लिन पाएपछि खुसी छन् उनी । तर मोटरबाटोको स्तरोन्नति नहुँदा कहिलेकाहीँ भने समयमा तरकारी बजार पठाउन नपाएको उनको गुनासो छ । उनले आफूहरूले उत्पादन गरेको तरकारीमा बिचौलियाले धेरै फाइदा खाने गरेको गुनासो पोख्दै यसलाई सरकारले नै नियन्त्रण गर्नुपर्ने बताए । ‘उपभोक्ताले पनि सकेसम्म सस्तोमै खान पाओस् भन्ने हाम्रो चाहना हो’,उनले भने ।

गाउँमा मोटरबाटो पुग्नेवितिकै व्यावसायिक तरकारी खेती सुरु गरेका सूर्य तामाङले तरकारी खेतीबाट आफूहरूको जीवनमा ठुलो परिवर्तन आएको सुनाए । उनले पनि आलुको बोरा बोकेर बेँसीमा जानु पर्दाको कष्टकर क्षणलाई स्मरण गर्दै भने, ‘त्यतिबेला भारी बोक्नु हाम्रो बाध्यता नै थियो । हामी बाँच्नकै लागि भारी बोक्नैपर्ने अवस्था थियो । त्यतिबेला हाम्रो जीवन यसरी नै बित्छ हाेला भन्ने लागेको थियो । हाम्रो जिन्दगी गधाको जस्तै थियो । एक दशकमा यति राम्रो परिवर्तन आउँला भन्ने कल्पना पनि गरेका थिएन ।’ उनले थप्दै भने, ‘यो सबै मोटरबाटोले गर्दा भएको हो । अन्य गाउँ ठाउँका मानिसहरूलाई पनि मोटरबाटोले परिवर्तन गर्‍यो होला । हाम्राे गाउँ (सुन्दनागी-बाँसखर्क) का लागि भने बाटो आउनु उज्यालो भविष्यको बाटो कोरे जस्तै भयो ।’

अहिले आफूहरूले उत्पादन गरेको तरकारी बेच्न बजार खोज्दै हिँड्न नपर्ने उनले सुनाए । ‘पहिला हामी बजार खोज्दै जानुपर्थ्याे, अहिले बजार नै हामीलाई खोज्दै बारीमै आइपुग्छन् ।’ आफ्नो गाउँमा फलेको तरकारी विषादीरहित र उच्च पौष्टिकयुक्त हुने भएकाले पनि बजारका मानिसहरूले विषेश मन पराउने गरेको उनले बताए ।

कृषक आयुष तामाङले यसपटक सबैभन्दा धेरै आलु उत्पादन गरेका छन् । उनले यस सिजनमा आलुबाट मात्रै दुई लाख रुपैयाँ आम्दानी गरेका छन् । वार्षिक ७ देखि ८ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका उनले स्थानीय सरकारबाट साथ सहयोग पाएमा व्यवसायलाई अझै विस्तार गर्ने योजना बनाएका छन् । सरकारले समयमा बिउ-वीजन र मल उपलब्ध गराइदिनुपर्ने उनको माग छ । गाउँमा हालसम्म विद्युतिकरण समेत नभएकाले कोल्डस्टोर नहुँदा कहिलेकाहीँ तरकारी खेर समेत जाने गरेकाले विद्युतिकरणमा पनि जोड दिनुपर्ने उनले बताए । वडामा हालसम्म विद्युतिकरण भएको छैन । अहिले विद्युतिकरणको काम भने अगाडि बढिरहेको छ ।

स्थानीय जयराम थिङ तामाङ र राजकुमार तामाङले खेतीपातीसँगै होटेल पनि सञ्चालन गर्दै आएका छन् । उनीहरूले आफ्नो होटेलमा आउने पाहुनालाई आफ्नै बारीमा उत्पादन भएको ताजा तरकारी खुवाउने गरेका छन् । ताजा र विषादीरहित भएकाले होटेलमा आउने पाहुनाले तरकारी विषेश मन पराउने गरेको जयराम तामाङले बताए । उनले आफ्नो होटेलमा पाहुनाले तरकारी किनेर पनि लाने गरेको सुनाए । उनीहरूले बाँसखर्क नजिकै थमभन्ज्याङमा होटेल सञ्चालन गर्दै आएका छन् । थमभन्ज्याङ निकै सुन्दर ठाउँ भएकाले आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । करिब १९ सय मिटरको उचाइमा अवस्थित थमभन्ज्याङबाट प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन पनि गर्न सकिन्छ ।

त्यस क्षेत्रको विकासका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका जीवन सिं तामाङ भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । जीवन सिं ले आफ्नो चुनावी घोषणापत्रमा पनि कृषिलाई प्राथमिकता दिने उल्लेख गरेका थिए । वडाको सुन्दरनागी बाँसखर्क क्षेत्रमा व्यावसायिक तरकारी फस्टाउँदै  गए पनि वडाका अन्य गाउँहरूको अवस्था भने उस्तै छ । कृषिलाई व्यवसायीकरण गर्न सकिएको छैन । अन्य गाउँहरूमा सिँचाइको लागि पानीको अभाव छ । वडाध्यक्ष जीवन सिं ले वडाका सबै गाउँहरूलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न अधिकतम पहल गर्ने बताएका छन् । एउटै वडा भएपनि पहाडी क्षेत्र भएकाले हावापानी र माटो पनि फरक छ । प्रत्येक गाउँहरूको माटो फरक छ । माटोको परीक्षण गर्ने र जे उत्पादन गर्दा राम्रो हुन्छ, त्यही खेती गर्न पहल गर्ने उनले बताए ।

कृषि पर्यटनको सम्भावना 

वडाध्यक्ष जीवन सिं तामाङ आफ्नो वडामा कृषि पर्यटनको प्रचुर सम्भावना रहेको दाबी गर्छन् । वडा प्राकृतिक सुन्दरता र विविधताले भरिपूर्ण रहेको र मध्यम खालको हावापानी र तापक्रम भएकाले बेमौसमी खेती पनि गर्न सकिने भएकाले कृषि पर्यटनको पनि सम्भावना रहेको उनले बताए ।

‘हाम्रो वडा प्राकृतिक र सांस्कृतिक पर्यटनको लागि त भर्जिन ल्यान्ड नै हो, यतिमात्र नभएर कृषि पर्यटनको पनि प्रशस्तै सम्भावना छ । यहाँ मध्यम खालको न्यानो समशीतोष्ण हावापानी पाइने हुनाले बेमौसमी खेती-बाली पनि गर्न सकिन्छ । अन्य ठाउँको भन्दा यहाँको उत्पादन अत्यन्तै पौष्टिकयुक्त पनि हुन्छ । यहाँ धेरै प्रकारका फलफूलहरू पनि उत्पादन गर्न सकिन्छ । हामीले अब परिक्षण गर्ने क्रममा छौँ ।’ वडाध्यक्ष जीवन सिं ले भने, ‘हामी यस वडालाई कृषि पर्यटनको हब बनाउने कोसिस गर्दै छौँ ।’

उनले वडाको विकास र समृद्धिको लागि सबैभन्दा पहिला मोटरबाटोको स्तरोन्नति र कृषिलाई आधुनिकीकरण गर्ने कार्यमा जोड दिने बताए ।

धादिङको दक्षिणी भेगमा महाभारत पर्वत शृङ्खलामा अवस्थित यस वडामा हालसम्म विद्युतिकरण भएको छैन । मोटरबाटो पुगे पनि स्तरोन्नति हुन नसक्दा वर्षाको मौसममा भने बन्द नै हुने गरेका छन् । बाटोको स्तरोन्नति गरी बाह्रै महिना चल्नसक्ने बनाउन सकेमा यस क्षेत्रका बासिन्दाहरूले सजिलै आवतजावत गर्न पाउनुका साथै उनीहरूले उत्पादन गरेका फलफूल तरकारी पनि समयमै बजारमा पुर्‍याउन पाइने थियो । वर्षाको मौसममा बाटो बन्द हुँदा कतिपयले समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । बाटोलाई सहज बनाउन सके स्थानीयले समयमै उपचार पनि पाउनेछन् । यस वडामा बाह्रै महिना मोटर चल्नसक्ने बनाउन तीनै तहको सरकारको ध्यान जान जरुरी छ ।

तस्बिरहरू:

सम्बन्धित समाचार