सोनाम ल्होछार नेपालको मात्र नभएर एसियाकै सभ्यताको ठूलो परम्परा हो ।
तामाङ समुदायको सबैभन्दा ठूलो चाड सोनाम ल्होछारको आज पूर्वसन्ध्या । यस ल्होछारको पूर्वसन्ध्यामा विभिन्न किसिमका विवादहरू पनि सुनिन थालेका छन् । कुन ल्होछार कुन समुदायले मनाउने अथवा सोनाम ल्होछार कुन तिथिमितिमा मनाउने लगायत विभिन्न विषयमा विवादहरू देखिन थालेका हुन् ।
तामाङ समुदायका लेखक तथा अगुवा परशुराम तामाङले आदिबासी आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका छन् । त्यसैगरी, नेपालको सामाजिक, आर्थिक, राजनीतिक लगायत विविध विषयमा पुस्तकहरूसमेत लेखेका उनमा तामाङ संस्कृतिसँग सम्बन्धित धेरै अध्ययनको अनुभव पनि छ । तामाङ संस्कृतिको विज्ञ भएको हिसाबले पनि यो सोनाम ल्होछारको विषयमा उनले स्पष्ट आफ्नो कुरा राख्नेछन् भन्ने उदेश्यले यी जिज्ञासाहरू मेटाउने प्रयत्नस्वरूप हिमाल दर्पणका लागि चन्द्र तामाङले परशुराम तामाङसँग गरेको कुराकानी यसप्रकार छ ।
यही माघ ८ गते आइरहेको सोनाम ल्होछारको इतिहासबारे केही बताइदिनुहुन्छ कि ?
ल्होछारको परम्परा धेरै पुरानो परम्परा हो । सांस्कृतिक दृष्टिकोणले भन्ने हो भने नेपालमा ल्होछार परम्पराजस्तो पुरानो अरू कुनै परम्परा छैन । यो परम्परा नेपालको मात्र नभएर एसियाकै सभ्यताको ठूलो परम्परा हो । यसको रेकर्ड हेर्ने क्रममा त्यसबेला चिनमा ६० वर्ष मनाइसकिएको एउटा रेकर्ड भेटिएको थियो । त्यसअनुसार अहिले ५००० वर्षको रेकर्ड देखिन्छ । ल्होछार भनेको संसारकै प्राचीन सांस्कृतिक परम्परा हो ।
तामाङहरूले कहिलेबाट मनाउन थालेको हो भन्ने कुरा यकिनसाथ भन्न सकिँदैन । किनभने, विभिन्न स्रोतअनुसार तामाङहरूको इतिहास हेर्दा काठमाडौँ उपत्यकाको बुढानिलकण्ठ (पण्डित गाउँ र धोबीखोलाको बिचको क्षेत्र)मा रसियाका विज्ञहरूले उत्खनन् गर्दा गोबी प्रान्तमा पाइने ३० हजार वर्ष पुरानो ढुङ्गाको हतियार फेला पारेका थिए । त्यो हतियार कसले लिएर आयो भनेर खोज्दा इतिहासविद् जनकलाल शर्माको दृष्टिकोणअनुसार मङ्गोल समुदायले लिएर आएको निर्क्यौल निस्कियो । त्यसैगरी, त्यस्तो कुन समुदाय काठमाडौँ वरपर बसोबास गर्छ भनेर खोज्दा तामाङहरू रहेको पत्ता लाग्यो र सो हतियार उनीहरूले प्रयोग गरेको निर्क्यौल निकालियो ।
भर्खरै आएको डिएनएको आधारमा गरिएको एउटा रिसर्च अनुसार चीनका दुई नदीको बिच रहेको मैदाने भागमा आजभन्दा १६ हजार वर्ष अगाडि बसोबास गर्ने समुदाय र तामाङहरूको डिएनए मिल्छ । त्यसअनुसार तामाङ समुदाय १६ हजार ४०० वर्षअघि काठमाडौँ भित्रिसकेको हुनुपर्छ भन्ने निर्क्यौल निकालिएको छ ।
ल्होछार परम्परासँग सम्बन्धित सभ्यताका मानिसहरू जहाँ-जहाँ पुगे ल्होछार परम्परा पनि त्यहाँत्यहाँ पुग्यो । नेपालको आदिम जाति भएको नाताले त्यो परम्परालाई जगेर्ना गर्ने अनुयायीको रूपमा प्राचीनकालदेखि यो परम्परा बोकेर तामाङ समुदाय बसेको छ र यो नेपालको लागि गर्वको कुरा हो भन्ने मलाई लाग्छ ।
ल्होछार कुनै धर्म विशेषसँग पनि सम्बन्धित छैन अथवा यससँग सम्बन्धित कुनै किंवदन्ती पनि छैन भनिन्छ । यो मनाउने परम्परा कसरी सुरु भयो होला ?
यसका दुई पक्ष छन् । एकातर्फ यो सांस्कृतिक रूपमा सुरु भयो । जब मानिसहरू समुदायमा बस्न थाले र समुदायमा बस्दा पहिला प्राकृत रूपमा जसरी बस्थे त्यसले नै मानिसलाई नपुगेपछि मानिसहरू कृषि पेशामा लाग्न थाले । श्रम गर्न थाले । श्रम, उत्पादन र प्रकृतिसँग जोडियो । मानिसले प्रकृतिसँग अन्तरक्रिया गर्दा एक खालको संस्कृतिको विकास हुन्छ र तामाङहरूले पनि त्यसरी नै विकास गरेका हुन् । ऋतु परिवर्तन आदि प्रकृतिको गतिविधिहरूलाई पनि तामाङ समुदायले आत्मसात गरी बुझ्नुपर्ने हुन्छ । मानिस र प्रकृतिको सम्बन्ध बुझ्ने क्रममा तामाङहरूको दर्शन (जसलाई ताम्बा दर्शन पनि भनिन्छ) को बिकास भयो ।
तामाङहरूले प्रकृतिलाई बुझ्ने क्रममा या भनौँ प्रकृति विज्ञानलाई बुझ्ने क्रममा ल्होछारको विकास भयो र पछि यसैलाई धार्मिक रूप दिइयो । चीनमा पनि यसलाई स्प्रिङ्ग फेस्टिभल भनेर भनिन्छ हामीले यहाँ पनि चीनमा मनाउने दिन नै मनाउँछौँ ।
ल्होछार मनाउने क्रम अहिले व्यापक बन्दै गएको छ । त्यसैगरी, ल्होछार मनाउने शैली परिवर्तन हुँदै गएको छ । मौलिक भेषभूषाका स्वरूपहरू परिवर्तन हुँदै गएका छन् । यस्तो कुरालाई तपाईंले कसरी हेरिरहनु भएको छ ?
‘ल्हो’ भनेको ‘वर्ष’, ‘छार’ भनेको ‘नयाँ’ । त्यसकारण नयाँ वर्ष भनिएको हो । अहिले नेपालमा खासगरी तीन परम्परा देखिन्छ । एउटा गुरुङहरूले मनाउने, दोस्रो तामाङहरूले मनाउने र तेस्रो शेर्पाहरूले मनाउँछन् । यो परम्परा चन्द्र पात्रोसँग जोडिएको परम्परा हो तर, गुरुङहरूले चन्द्र पात्रोसँग जोड्दैनन् । उनीहरूले पुसको १५ मनाउँछन् ।
तिब्बतीहरूले मनाउने ग्याल्बो ल्होछार र तामाङले मनाउने ल्होछारबिच थोरै फरक छ । तिब्बतमा जब मङ्गोलको बादशाहले आक्रमण गरे, युद्धमा भाग लिनुपरेकाले तिब्बतीहरूले ल्होछार मनाउन पाएनन् । एक महिनापछाडि मङ्गोलको बादशाहले जित हासील गरिसकेपछि तिब्बतीहरूलाई आफ्नो ल्होछार मनाउन भने र सँगै आफ्नो विजयोत्सव पनि मनाउन लगाए । यसरी ग्याल्बो ल्होसार एक महिना पछाडि मनाइएको हो र त्यसअघि सोनाम ल्होछार मनाइन्छ ।
प्राचीन ल्होछार चाहिँ ‘तामाङहरूले मनाउने गरेको ल्होछार परम्परा’ हो । यसलाई सोनाम पनि भनिन्छ त्योबेलामा कृषि पेशा गर्ने भएको हुनाले किसानको ल्होछार भनिएको हो ।
वैज्ञानिक कुन हो ? पात्रो अनुसारको कुन हो ? भन्ने कुरामा पात्रो बनाउँदा बन्ने कुरा हो भन्ने बुझ्न पर्छ । तिब्बतमा पात्रो दुई स्थान; एउटा चीन, एउटा भारतबाट ल्याई दुवैलाई मिलाएर बनाइयो । उनीहरूले आफ्नो भाषाको पात्रो बनाएका हुन् । त्यो ग्याल्बो ल्होसारको छुट्टै पात्रो होइन । यसमा कन्फ्युज हुनुपर्छजस्तो लाग्दैन ।
ग्याल्बो ल्होछार मनाउन थालेको छ-सात सय वर्ष मात्र भएको छ । स्पष्ट हुनुपर्ने कुरा के हो भने हामीले घरमा चाहिँ लामा/बुद्ध धर्म अपनायौँ तर, जहाँसम्म संस्कृतिको कुरा छ त्यो धर्मभन्दा फरक छ ।
कतिले सोनाम ल्होछार भन्नुभएको छ म यसलाई चाहिँ राष्ट्रिय ल्होछार भन्छु । किनभने, नेपालमा हिन्दु धर्मले मात्र सांस्कृतिक पर्वको मान्यता प्राप्त गरेको थियो र २०५१ सालमा हाम्रो पहलमा सरकारबाट यो ल्होछारलाई पहिलोपटक नेपालमा राजकीय सम्मान दिलाउन सक्यौँ त्यस हुनाले यो राष्ट्रिय ल्होछार भयो । त्यसैले यसलाई सोनाम भन्नु भन्दा पनि राष्ट्रिय भन्नु उपयुक्त होला किनभने, यो नेपालको ल्होछार हो ।
पात्रोको हिसाबले ग्याल्बो ल्होछारमा ऋतु परिवर्तन हुन्छ भन्ने दाबीहरू सुनिन्छन् । सोनाम ल्होछारचाहिँ पात्रोभन्दा अघि नै मनाउन थालेको पनि भनिन्छ । यसबारे के भन्नुहुन्छ ?
मान्छेको आ-आफ्नो विश्वास हुन्छ । तर, यी कुरा तर्कसंगत होइनन् । किनभने, सोनाम ल्होछार भारतीय पात्रोले पनि देखाउँछ । त्योचाहिँ पात्रो होइन ?
तिब्बती पात्रोको जननी पात्रो भारतीय पात्रो भएको हुँदाहुँदै पात्रो नै छैन भन्न मिल्दैन ।
ल्होछार मनाउने भनिन्छ । ल्होछार मनाउने कुनै विधि/ संस्कार केही छ ? ल्होछार मनाउँदा के गर्ने भन्ने कुरामा धेरैजनामा अन्यौलता देखिन्छ ।
ल्होछार एकपटक झण्डै-झण्डै समाप्तजस्तै भइसकेको थियो । त्यसलाई पुनरुत्थान गरियो । मान्छेहरूलाई माघ शुक्लपक्ष प्रतिपदाबाट यो सुरु हुन्छ भन्ने थाहा भयो तर, माघ शुक्ल प्रतिपदा कहिले पर्छ भन्ने थाहा थिएन । त्यसो हुँदा माघमा ल्हो सर्छ/फेर्छ भन्थे । जुन फेरिनु भनेको माघ शुक्ल प्रतिपदाबाट फेरिन्छ भनेको हो ।
मानिसहरूले नबुझेर माघबाट फेरियो भने । तामाङहरूमा ल्होबाट उमेर गन्ने प्रचलन जीवित थियो । चन्द्र पात्रो या क्यालेन्डरअनुसार चल्ने हुनाले त्यसलाई पुनर्जीवित गरी समबन्धित दिनबाटै मनाऔँ भनि सुरु गरिएको हुनाले मानिसहरूलाई यो कन्फ्युजन् भएको हो ।
पहिलो दिन ल्होछारको तयारी गर्ने । हाम्रो गाउँघरमा भएको प्रचलनअनुसार पिठोको १२ वटा जनावरका आकृति बनाउने, अनि त्यो पकाउने र अन्य पिठोका परिकारहरू तयार गर्ने हो । दोस्रो दिन नुहाइधुवाइ गरी गुम्बा जाने, आफूभन्दा ठूलोबाट आशिर्वाद लिने गरिन्छ । १५ दिनसम्म दाजुभाइ भेला हुने रमाइलो गर्ने, भोज भतेर गर्ने आदि गरिन्छ ।
यही विधि गर्नुपर्छ भन्ने छैन । तर, नयाँ वर्ष भएको हुनाले झण्डा फेर्ने भने गर्नुपर्छ । तामाङहरूमा तीन प्रचलन रहोस् भन्ने मलाई लाग्छ । एउटा भनेको ल्होछारको बेला झण्डा फेर्ने, दोस्रो भनेको हरेक तामाङले घरमा डम्फु राख्ने र तेस्रो भनेको कोकोमेंदको प्रयोग गर्ने । यी तीन कुरालाई विचार गरेर मनाउँदा हुन्छ ।
ल्होछार अहिले काठमाडौँको टुँडिखेल लगायत विभिन्न स्थानमा सामूहिक रूपमा मनाउने प्रचलन बढेको छ । यो ल्होछारको ऐतिहासिक परमपरासँग सम्बन्धित छ कि छैन ?
यो वास्तवमा घरघरमा मनाउनु पर्ने हो । घरमा मनाउने परम्परा करिबकरिब सकिइसकेको थियो । यो परम्परा एकप्रकारले लोप हुन लागेकाले यसको पुनरुत्थान गर्नु आवश्यक थियो । त्यसैले, सुरुवात गर्ने क्रममा यसलाई सार्वजनिकीकरण गर्नुपर्ने आवश्यक ठानेर विशेष व्यक्तिलाई आमन्त्रित पनि गर्न थालियो । विशेष व्यक्तिलाई आमन्त्रित गर्दा सञ्चार माध्यममार्फत् अझ धेरै स्थानसम्म यो पुग्यो ।
जुन बेलामा मैले सुरुवात गराएँ, त्योबेला एक ठाउँमा ५० जना भेला भएर मनाउँदा पनि आनन्द लाग्थ्यो । यसले ल्होछारलाई गाउँघर पुर्याउनुपर्छ, स्थापित गर्नुपर्छ भन्ने सबैलाई भयो । साथै, ल्होछार आएको सबैलाई जानकारी पनि हुने भयो । त्यसैले यसलाई महोत्सवको रूपमा मनाइएको हो ।
यसलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा ?
तामाङहरूले यो राज्यमा दासको स्थिति धेरै समयसम्म गुजार्नुपर्यो । राज्यले जुन खालको औपनिवेशिक दासत्व लादेको थियो त्यसबाट मुक्तिको अभिलाषा अभिष्ट हो । राष्ट्रिय मुक्ति आन्दोलनको रूपमा हामीले ल्होछारलाई लिएका छौँ । यो सन्देश तामाङसमुदायमा तथा देशैभरि जानुपर्छ ।
अहिले पनि नेपालमा दुई खालको सांस्कृतिक औपनिवेशवाद छ । एउटा पश्चिमाहरूको, अर्को हिन्दु संस्कृतिको । यी दुई संस्कृतिले किचेको ठाउँबाट तामाङ संस्कृतिलाई मुक्त गराएर तामाङहरूले राजनीतिक रूपमा स्वतन्त्रता प्राप्त गर्नुपर्छ । त्यसैले, यो मुक्ति आन्दोलनको पनि अभिन्न अंग हो । यसलाई सामाजिक रूपमा मनाउनुको कारण यो अभियानलाई अझ बलियो ढंगले अघि बढाउँदै लैजानु पनि हो ।
राज्य एकीकरण हुनुभन्दा अघि ल्होछार मनाइन्थ्यो ?
मनाइन्थ्यो । पहिलादेखि नै मनाएको हुनाले पुस्तान्तरण हुँदै अहिलेको अवस्थासम्म आएको हो ।
धेरैलाई यो चाड हाम्रो होइन कि भन्ने पनि लाग्छ नि ?
यस्तो पनि कतिपयलाई लाग्छ । चारपाँच सय वर्षबाट हिन्दु धर्म, संस्कृति लागु गरिएको छ । चारपाँच सय वर्षबाट हिन्दु धर्म तथा संस्कृति मात्र मान्न पाइने अरू मान्न नपाइने भनी जबर्जस्ती गरियो भने एकदुई पुस्तालाई आफ्नो मौलिक संस्कृति सम्झना हुन्छ । त्यसपछिका पुस्ताले बिर्सिँदै जाने भए ।
त्यसैले, हिन्दु धर्मका परम्परा हामीमाथि लादिएको परम्परा हो र हाम्रो आफ्नै परम्परा थियो भन्ने बुझ्नुपर्छ । ताम्बा परम्परा, लामा परम्परा र बंबो परम्पराको सम्मिश्रण तामाङ संस्कृति हो ।
अन्तिममा तामाङ समुदायलाई केही भन्न चाहनुहुन्छ ?
ल्होछारको सबैलाई शुभकामना छ । हामी सांस्कृतिक रूपमा पुनःजागृत भइसकेका छौँ । तर, संस्कृतिभित्र, सांस्कृतिक आन्दोलनभित्र राजनीतिक स्वतन्त्रताको कुरा पनि हुन्छ । तामाङहरूले यो प्राप्त गर्न बाँकी छ । सांस्कृतिक रूपमा जागृत भइसकेको अवस्था रहेकाले यसमा विवाद नगरौँ । हामीले प्राप्त गर्न बाँकी एकमात्र कुरा राजनीतिक स्वायत्तता रहेको छ । यो राज्यमा साझेदारिता प्राप्त गर्नुपर्नेछ । अब त्यो अभियानमा लाग्न म आग्रह गर्दछु ।
धन्यवाद !