– रमेश क्षितीज
इतिहास
पृथ्वीनारायण शाहको नेपाल एकिकरणको क्रममा गोर्खाले मकवानपुर लगायतका राज्य विजय गरिसकेपछि कान्तिपुर आक्रमण गर्ने तरखर गर्दै थियो । यसैबेला कान्तिपुरका राजा जयप्रकाश मल्लले उसलाई रोक्नका लागि फकिर रामदास र उमदा – मुसलमान व्यापारीलाई दूत वनाई इस्ट इन्डिया कम्पनी अन्तर्गत रहेको बंगालसँग सहयोगको याचना गरे ।
उनले सैनिक सहयोगका लागि गरेको याचना त्यहाँका गभर्नर ह्यारी वेरेल्स्टलाई यता आक्रमण गर्न – ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो ।
स्पेन/क्यानडाजस्ता राष्ट्रलाई अमेरिकाबाट निकालेर आफैंले शासन गरिरहेको- बेलायत । फ्रान्सजस्तो शक्तिशाली देशलाईसमेत पराजित गरेको – बेलायत । भारतलाई काबुमा राखेको – बेलायत ।
बेलायती साम्राज्य तत्कालिन अवस्थामा संसारमा कसैले हराउन नसकेको अजेय शक्ति थियो । तर शिकारी अफिसर वंशुगुरुङ्ग र खजान्ची विरभद्र उपाध्याय , काजी वंशीराज पाण्डे, श्रीहर्ष पन्त, नेतृत्वको गोर्खाली फौजले वि.सं .१८२४ मा यो यूद्धमा वीरतापूर्ण लडाई लडेर त्यो महाशक्तिलाई घुडा टेकाएको ठाउँ हो, सिन्धुलीगढी ।
कम्पनी सेनाका क्याप्टेन किनलोकको नेतृत्वमा रहेको ,हतियार र यूद्ब कौशलले सुसज्जित बेलायती फौजलाई यसै गढीमा घुयत्रो, घरेलु हतियार र अरिङ्गालको समेत प्रयोग गरेर गोर्खाली फौजले नराम्रोसँग धुलाई गर्यो- यसो भन्छन् इतिहासकारहरु ।
यो पराजय पछि हरिहरपुर गढी पुगेका किनलक त्यहाँ पनि हारेर २४०० सेनाहरुमध्य बचेका ८०० सेनाहरू लिएर रौतहटतिर कुले ठोकेर फर्किए। यसको करिव १० महिनापछि इन्द्रजात्राको दिन पृथ्वीनारायण शाहको सेनाले काठमाडौमा विजयको झण्डा फहर्यायो ।
अबको कुरा
राजधानीबाट १ सय ४० किलोमिटर पूर्वमा पर्ने महाभारत श्रङ्खलामा रहेको सिन्धुलीगढीमा हाल करिब ६ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा गजबको युद्ध सङ्ग्रहालय सञ्चालनमा रहेको छ।
उक्त सङ्ग्रहालयभित्र वृत्तचित्र मार्फत गढीको ऐतिहासिक महत्व प्रदर्शन हुने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालीन युद्धकालीन समयका घरेलु सेना र विपक्षी सेनाको पोशाक लगायत अङ्ग्रेज सेनाबाट खोसिएका हतियार सङग्रहित छन् ।
राष्ट्रिय गौरव र वीरताको साक्षी यो सङ्ग्रहालय हाल कमलामाई नगरपालिकाले सञ्चालन गरिरहेको छ ।सिन्धुलीको सदरमुकामस्थित नेपाली सेनाको बर्दबहादुर गणले यसको निर्माणको जिम्मेवारी पूरा गरेको थियो ।
र मेरो विशेष कुरा
हिजोको दिन यसैले अविस्मरणीय रह्यो –
यो निर्माण कार्यको गहन जिम्मेवारी पूरा गर्ने गणपति कर्णेल विजय थापाले सङ्ग्रहालयका यावत् विवरण / तथ्यहरु वर्णन गर्दै र मेरा जिज्ञासाहरु सम्वोधन गर्दै यो सङग्रहालय अवलोकन गराउनु भयो । उहाँलाई धेरै धेरै धन्यवाद !
मैले यति लामो प्रसङ्ग लेख्नुको एउटै उद्येश्य के हो भने – अहिलेसम्म पुग्नु भएको छैन भने बाटैछेउ छ एकदम योजना बनाईहाल्नुस् ।नानीहरूलाई देखाउनुपर्ने ठाउँ त हुँदै हो ।
निश्चित छ – एउटा नवीन अनुभूति प्राप्त हुने छ ।
(२०७८ चैत्र १३ )