घुम्ने अनेक बहानाहरू हुन्छन् । अनेक चाहानाहरू पनि हुन्छन् । मनोरञ्जन, स्वास्थ्य, अनुभव, रहर, ज्ञान आदिको लागि भ्रमण आवश्यक छ । जातीय संस्कृति, विविधता, संस्कार चालचलन आदि बुझ्न त घुम्नै पर्छ नि । यसरी भ्रमण गर्दा अनेक प्रकारको विचार पनि पुर्याउनु पर्दछ । त्यस्तै मध्यको घुम्न लायक एक स्थान हो- सिचेत पोखरी ।
बिगार गरे भक्लक्क ढाल्ने सिचेत पोखरी
धादिङ जिल्लाको खनियाबास गाउँपालिका वडा नं १ झार्लाङ गाउँ तामाङ जातिको बाहुल्यता रहेको छ । यो गाउँ सांस्कृतिक, धार्मिक र भौगोलिक पर्यटकीय हिसाबले अति महत्वपूर्ण छ । यस गाउँको शिरानमा ओङ्गुल टोल छ । ओङगुल आलु पकेट क्षेत्र पनि हो भने अन्य खाद्यान्न पनि पर्याप्त फल्दछ । यस टोलबाट सिढी लगाएको बाटो पछ्याउँदै उकालो करीब ४५ मिनेट जतिको दुरी पार गर्दा त्यहाँ रहेको सुन्दर मनमोहक एक पोखरी छ, जसलाई सिचेत य्हे भनिन्छ । यसमा गणेशहिमाल यानेकी ल्हप्सङकर्पोको स्वरुप छायामा देखिन्छ, यसले थप मनमोहकता थपिदिन्छ । अनौठो त के भने यस पोखरीमा नियमित पानी आइरहने मुल वा खोला छैन । फाँटमा टन्न पानी भरिरहेको रक्त जस्तो तर कालो रंगको पानी देखिने यो पोखरी नै सिचेत हो । यो पोखरी ‘ममा र वपा’ गरेर नजिकको दुरीमा गरी दुई स्थानमा रहेको छ ।
नामकरण
सिचेत तामाङ शब्द हो । यसलाई विग्रह गर्दा सि र चेत बन्दछ । सि भनेको सिप को छोटो रुप हो । सिप चेत नै अपभ्रंश भएर सिचेत भएको हो । सिप (सि) भन्नाले मृत र चेत भन्नाले फाँट बुझिन्छ । फाँटमा अवस्थित यो पोखरीमा बिगार गरेमा वा जुठो पारेमा मान्छे नै मर्ने विश्वास गरिन्छ । त्यसैले सिचेत य्हे याने फाँटको मृत पोखरी भन्ने नाम रहन गएको हो ।
अवस्थिति
करिब २,१०० मिटर उचाइमा रहेको सिचेत ताल दुईवटा छन् । ममा (स्त्री) देखि व्हपा (पुरुष) ५० मिटरको दुरीमा रहेको छ । तल र माथि रहेको यी तालमा व्हपा पोखरी देखि ममापोखरी हुँदै पानी बग्दछ । ममा पोखरीको भित्तामा एउटा अचम्मको ढुङ्गा छ त्यही पुजा गर्ने गर्दछन्, यो हेर्दा त्यति आकर्षक लाग्दैन तर धार्मिक विश्वासको आधारमा यो व्हपाभन्दा शक्तिशाली पोखरी हो । भने व्हपा पोखरीमा तीनवटा कुङ्करहरु छन् त्यही नै फुलपाती चढाउने, प्रार्थना गर्ने तथा पुजा गर्ने गर्दछन् । यसमा गणेश हिमालको छाया देख्न सकिन्छ ।
चिटिक्क आकर्षक पोखरीमा अहिले फोटो खिच्न जानेको ताती लाग्दछ । गाउँपालिकाले यसको संरक्षणार्थ वरीपरी गाह्रो लगाइदिएका छन् भने कुङकरको जिर्णेदार गरेका छन् ।
किम्बदन्ती
एक किम्बदन्ती अनुसार, घना जंगल थियो । त्यहाँ उत्तरतिरबाट मानिसहरु सुरक्षित बसाइ र भरपेट खान दक्षिणतिर आउँदथे । आउने क्रममा एक जना तान्त्रिकको त्यहाँ मृत्यु भएछ । त्यही तान्त्रिक मृत्यु भएको स्थानलाई सिचेत भनिन थालेछन् ।
अको किम्बदन्ती अनुसार एक यात्रुको मृत्यु भएछ । ती मृत लासलाई बोकेर लान पनि सकेनछन् भने मृत्युसंस्कार गर्न जान्ने टोलीमा कोही थिएनन् । त्यसैले त्यही झाँडीमा जंगली जनावरले नखोतलोस् भनेर खाल्डोमा पुरी ढुंगाले छोपि राखेछन् । पछि, लामा खोजेर फर्केर काजक्रिया गर्न खोज्दा छोपिराखेको ढुंगा निकाल्न नसक्ने भएछन् । तब लामाले ‘यो सेरोफेरो आजदेखि तिम्रो भयो । तिमि हामीसँग नआऊ । यतै बसिराख, यहीको संरक्षण गरेर बस’ भनिराखेछन् ।
त्यसैले अचेल ‘त्यहाँका केही पनि चलाउन हुँदैनन्, चलाए क्षति हुन्छ’ भन्ने मान्यता रहेको छ । त्यसैले यसलाई पार गरेर जानु पर्दा पाती चढाउने गर्दछन् भने तीर्थमा जानेहरूले भर परेर अण्डा चढाउने चलन छ । अण्डा चढाउदा त्यहाँ सिमे भुमे, नागनागिन सबैलाई खुसी तुल्याएको हुन्छ भन्ने मत पाइन्छ । र सिचेतलाई खुशी तुल्याउन नसके तीर्थयात्रा सफल नहुने विश्वास गरिन्छ ।
कसरी पुग्ने ?
सिचेत पुग्नको लागि हिउँदमा काठमाडौंदेखि नै सार्बजनिक जिप वा बससेवा झार्लाङसम्म पाइन्छ । वर्षामा भने काठमाडौंबाट धादिङबेंशीसम्म मिनि बस, माइक्रो बस र डिलक्स बसहरु माछापोखरी बालाजुमा पाइन्छ । धादिङवेशी मिलनटोलमा लेकाली काउण्टरबाट दामन पाख्रिन मार्ग हुँदै किम्ताङफेदीसम्म जीपको टिकट पाइन्छ । किम्ताङफेदीबाट अर्को जीपमा चढ्दा तरम्हाने, दार्खासम्म पुर्याउँदछ ।
पहिलो दिन पेर्चो वा मेयममा स्थानीय होटलमा बास बस्नुपर्दछ । भोलिपल्ट बिहानै नास्ता गरी ओङगुलतर्फ लाग्नुपर्दछ । ओङ्गुलमा खाना खाइ फराकिलो फाँटहरु, आलु पकेट क्षेत्र हेर्दै र पारीपट्टीको गाउँ अनि दृष्य हेर्दै सिचेत पुग्न सकिन्छ ।
त्यसदिन नै बास बसेको स्थानमा फर्किन पनि सकिन्छ वा ओङगुल आसपासका अन्य महत्वपुर्ण स्थानहरुको भ्रमण गरी त्यतै बास बस्न सकिन्छ । गुराँस फुल्ने समयमा पोखरी वरिपरीका जंगलहरू विभिन्न किसिमका गुराँसहरु ढकमक्क देखिन्छ । भने जाडो महिनामा जब हिउँ पर्दछ, तब सेताम्य हिउँमा चिप्लेटी खेल्न बडो मज्जा आउँछ । अनेक प्रकारका जडिबुटी, चराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिन्छ । संकलन र शिकार खेल्न भने स्थानीय सामुदायिक वन उपभोक्ता समितिले रोक लगाएको छ ।
यात्रा सहजताको लागि सिल्पिङ ब्याग, रेनकोट, वाटरफ्रुफ बुट, जाडोबाट बच्ने कपडा, लेक लाग्नबाट बचाउने औषधी, ड्राइ फुड आदि सामानहरु लिएर जानुपर्दछ । जेठ महिना पश्चात् जुका पनि लाग्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउनुपर्दछ ।
काठमाडौंदेखि झार्लाङ हुँदै सिचेत पुगेर फर्किन ३ देखि ४ दिन लाग्दछ भने आसपासका गाउँहरुबाट २ दिन मात्र लाग्दछ ।
कति खर्च लाग्छ ?
काठमाडौंबाट आउनेहरुको लागि गाडी भाडा २४००, सादा खाना १६००, चिया नास्ता १०००, औषधी तथा ड्राइ फुड १५०० गरी लगभग ६,५०० खर्च चाहिन्छ । यो खर्च हिउँदमा कम र वर्षामा बढी लाग्दछ ।
स्थानीयहरुसँग ढिंडो खान सकिन्छ । स्थानीय जातको आलुको बिभिन्न परिकार, जौं, कोदो, फापर, मकैं, गहुँ आदिको ढिंडो, लोकल कुखुरा र लोकल रक्सी पनि पाइन्छ । स्थानीय पसलहरुमा बजारबाट ल्याएका सामानहरु पनि पाइन्छन् । तामाङ बाहुल्य क्षेत्र भएकाले माध्यम भाषाको रुपमा तामाङ भाषा बोल्दछन् । तैपनि नेपाली भाषा बुझ्ने जमात पनि कम छैन ।
घुम्ने उपयुक्त समय
यहाँ वर्षभर नै पुग्न सकिन्छ ।
तपाइँको यात्रा सहजताको लागि केहि कुरा :
गाउँको नजिकमै रहेको प्राकृतिक सुन्दरताले भरिभराउ सिचेत संरक्षणको लागि खनियाबास गाउँपालिकाले केही प्रयास गरे तापनि पर्याप्त भने छैन । अझ यसलाई संरक्षण गरी सुन्दर र मनमोहक बनाउन सकिने पर्याप्त सम्भावना रहेको छ ।
तपाइँहरू आउनुहोस्, सिचेत ताल तपाईंलाई पर्खिरहेको छ ।