क्रिश्चियन देश चेक रिपब्लिकबाट उत्पादित सौभाग्यको प्रतिक पोते मुस्लिमको हात हुँदै हिन्दु महिलाको गलासम्म पुग्छ ।
मेहेन्दीले रङ्गाएको हातभरि छमछमी हरिया चुरा, पोते लगाएर साउन महिनालाई स्वागत गरिन्छ । असारमा सुरु गरेको खेतीपाती सकेर सरसफाइ गर्ने महिनाको रूपमा यस महिनालाई लिने गरिन्छ । यो महिनामा महिलाहरूले विशेषगरि हरियो रङ्गका चुरा, पोते, सारी लगाउने गर्छन् । यो महिना चुरा-पोतेका व्यापारी निकै व्यस्त हुने गर्छन् ।
काठमाडौंको इन्द्रचोक (वंघ:) मा रहेको पोते बजारमा साउन लागेसँगै निकै चहलपहल बढ्ने गर्छ । साउन बाहेक विवाहको सिजनमा पनि यो ठाउँमा निकै चहलपहल हुने गर्छ । यसैबिच मैले इन्द्र चौकमा पोतेको पसल सम्हालेर बसिरहेका मेरा मित्र नहिम मियाँसँग केही कुराकानी गरेँ । उनी आफ्नो मामाको पसल ‘जहाँगिर बिड्स स्टोर’मा बस्ने गर्छन् ।
मैले उनीसँग कुरा गर्ने क्रममा सो बजारमा मान्छेहरूको आवतजावत निकै बढिरहेको देखिरहेको थिएँ । हाम्रो कुराकानीका बिच उनी बेला-बेला ग्राहकलाई पनि बोलाउने गर्थे । ग्राहकहरू आफ्नो रोजाइका पोते खरिद गर्थे, हामी एकछिन रोकिएर फेरी कुरा अघि बढाउँथ्यौँ ।
हिन्दु धर्म ग्रन्थहरूका अनुसार विवाहको समयमा मङ्गल मन्त्रका साथ बेहुलाले बेहुलीलाई पोते, सिन्दूर लगाई लगनगाँठो बाँधेर सूर्य वा अग्नि, इन्द्र, यम, वरुण, आकाशका देवता, पातालका देवता, पृथ्वीका देवता र नागलाई साक्षी राखेर विवाहको मङ्गल कार्य सम्पन्न हुन्छ । पोते वा मङ्गलसूत्र सानो इकाईमा २७, ३६, ५४ वा १ सय ८ लुङको लगाइदिने संस्कार रहेको छ । चेलीको माइती पक्षले चेलीलाई विभिन्न खालका कपडा,गहना उपहार दिने गर्ने भएकाले पोते बजारमा तीजको समयमा पनि निकै भीड हुने गरेको पाइन्छ ।
कोरोना महामारीका कारण बिचमा व्यापारमा निकै कमी आएको उनले सुनाए, यद्यपि यसपालि महामारी शान्त भएका कारण व्यापार बढ्ने आशा भने छ । उपत्यका भित्र र बाहिरका होलसेल व्यापारीहरू यही महिनालाई लक्षित गरेर पोते खरिद गर्न आउँछन् । कतिपय व्यापारी भने फोनबाटै आफूले इच्छ्याएको पोते मगाएर, अनलाइन मार्फत भुक्तानी गर्ने गर्छन् । नेपाल अधिराज्यभरिबाट यहाँ पोतेको माग हुने गरेको छ । साउन महिनामा र लगनको बेलामा १५ देखि २० हजारको व्यापार हुने गरेको छ भने अन्य साधारण दिनमा ५ हजार या त्यसभन्दा थोरै व्यापारले पनि चित्त बुझाउनु पर्ने हुन्छ ।
क्रिश्चियनले उत्पादन गरेको पोते, मुस्लिम हातबाट उनिएर हिन्दुको गलासम्म पुग्छ
पोते मुख्यतः नेपाल बाहिरबाटै आयात गर्ने गरिन्छ । चेक रिपब्लिक तथा जापानबाट यसलाई ठुला व्यापारीले आयात गर्ने गर्छन् र तिनीहरूसँग सम्पर्क राखेर थोक व्यापारीले पोते इन्द्रचोक भित्र्याउने गर्छन् ।
चेक रिपब्लिक क्रिश्चियन समुदायको बाहुल्यता भएको देश हो । पोते विशेषगरि ब्याग, साडी, सोफा तथा कुसनमा विभिन्न किसिमका बुट्टा भर्नका लागि उत्पादन गरिएको हुन्छ । पोते इन्द्रचोकसम्म आइपुगिसकेपछि, त्यसलाई मुस्लिम समुदायका कालिगढहरुले विभिन्न डिजाइनमा उन्ने गर्छन् । तयार भएको पोते इन्द्रचोकबाटै नेपालका अन्य स्थानसम्म पुग्छ ।
यसपश्चात्, आफ्नो गाउँ-शहर छेउछाउ रहेको बजारबाट हिन्दु महिलाहरूले यसलाई खरिद गर्ने गर्छन् । क्रिश्चियनबाट उत्पादित सौभाग्यको प्रतिक पोते यसरी मुस्लिमको हात हुँदै हिन्दु महिलाको गलासम्म पुग्छ ।
इन्द्रचौक (इन्द्रचोक) मा आउने अधिकांश पोते सिसाबाटै बनेको हुन्छ । कुनै समय प्लास्टिकको पोते नआएको भने होइन तर, त्यसको रङ्ग चाडै खुइलिने हुनाले पछि हराउँदै गएको नहिमले बताए । पोते बजारमा ग्यारेन्टी सुनका तिलहरी सहितका पोते पनि पाइन्छन् । सुनको भाउ आकासिँदै गएपछि ग्यारेन्टी सुनका तिलहरी खोज्ने ग्राहकहरू बढेका छन् । तर नहिमको पसलमा भने अर्डर बमोजिम सुनकै तिलहरी बनाइन्छ ।
पोते बजार
इन्द्रचोकमा रहेको पोते बजार १३/१४ सय वर्ष पुरानो रहेको नहिमले बताए । सो समयमा बाहुन-क्षेत्रीले महिलाको आभूषण पनि कसैले बनाउँछ भन्दै यसलाई वास्ता नगरेपछि यसको जिम्मा मुस्लिम समुदायले लिएको हो । बाहुन-क्षेत्रीले यसमा हात नहाल्ने भएपछि आफ्ना पुर्खाले यसको व्यापार सुरु गरेको नहिमले बताए ।
पोते व्यवसाय पहिला चुराको व्यापारबाट थालिएको उनले आफ्ना हजुरबुवाबाट सुनेका थिए । चुरा व्यापार गर्दा-गर्दै पोतेलाई बजारीकरण गर्ने जिम्मा उनका पुर्खाहरूले लिएका हुन् । सो समयमा बाहुन-क्षेत्रीले ‘महिला लगाउने वस्तु पनि के पुरुषले बनाएको होला’ भन्दै खिसिट्युरी गर्ने गरेका थिए । तर, ती सबै कुराको बेवास्ता गर्दै उनीहरूले पोतेको व्यापार बढाउँदै लागे र पोते बजार फैलिँदै आजको दिनसम्म सफलतापूर्वक सञ्चालन भइरहेको छ ।
राणा शासन तथा राजपरिवारले पनि राजाको श्रीपेचको झुम्का मर्मत गर्न तथा बनाउन त्यहीँबाट कालिगढहरु लिएर जाने गरेको नहिमले सुनाए । इन्द्रचौकबाट आवश्यक सर-सामान लिएर कालिगढ दरबारमै गएर उनीहरूकै अगाडी आवश्यक सामान तयार गरेर दिन्थे । खानपानको व्यवस्था सहित कालिगढलाई पारिश्रमिक पनि मागे बमोजिम दिने गरिन्थ्यो ।
यहाँबाट अस्ट्रेलिया, अमेरिका लगायतका देशहरूमा समेत पोते पठाउने गरिएको छ । नहिमको यो पुर्ख्यौली पेसा रहेको छ । उनी यो पेसालाई करिब १० वर्षदेखि अँगाल्दै आएका छन् । अरूले आफ्नो पुर्ख्यौली पेसामा ध्यान नदिइरहेको समयमा नहिम भने आफ्नो पुर्ख्यौली पेसालाई अँगाल्न पाउँदा निकै गर्व महसुस गर्छन् । केही समय अगाडीसम्म सामानहरूको दाम सस्तो र भन्सार पनि सस्तो रहेको हुँदा ग्राहकलाई मनाउन पनि सजिलो हुने गरेको थियो । अहिले १०० पर्ने पोतेलाई नै २५० पर्ने गरेको छ ।
पोतेको प्रकारहरूमा जेकोको पोते, जापनिज सिफन, दाना गनेको पोते आदि रहेका छन् । अरू पोतेको दाँजोमा जापनिज सिफन निकै हलुका हुन्छ र लगाउन सजिलो हुन्छ । जापनिज सिफनहरु निकै हाइ क्वालिटीका समेत हुने गर्छन् । कुराकानी सक्ने क्रममा अन्य समुदायका व्यक्ति पनि यो पेसामा आए हुन्थ्यो भन्ने अपेक्षा नहिमले राख्ने गरेको सुनाए ।