मंगलबार , मंग्सिर ४, २०८१

शेर्पा विहे : शेर्पाली शैली

परम्परागत तरीकाबाट विवाह गर्दा धेरै विधि अंगाल्नु पर्ने र पैसा पनि प्रशस्त खर्च हुने हुँदा गरीब शेर्पाहरू यस्तो प्रकारले विवाह नगरेर प्रेम गरेर वा केटी भगाएर ल्याउन बढी रुचाउँछन् । पहिले पहिले शेर्पा समाजमा प्रचलनमा रहेको वहुपति प्रथा र विधवा भाउज्यू स्याहार्ने प्रथा पनि आर्थिक दृष्टिकोणले नै अपनाइएको देखिन्छ । तर हाल वहुपति प्रथा लोप हुँदै गएको  पाइन्छ ।

image

Photo by: Google

-तेजप्रकाश श्रेष्ठ

१.पृष्ठभूमि

नेपाल विभिन्न जनजातिले बसोबास गरेको साझा थलो हो । यहाँका प्रत्येक जनजातिमा पनि आ-आफ्नै प्रकारका रीतिरिवाज, व्यवहार र संस्कार छन् । नेपालमा प्रचलित विभिन्न संस्कार वा संस्कृतिको साझा नाम हो नेपाली संस्कृति । सुदूरपश्चिमका राउटे संरक्षणका समुदायको होस् वा सुदूरपूर्वका धिमाल समुदायका संस्कृति होस् । तराई भेगका थार समाजको होस् या हिमाली भेकका शेर्पा समुदायका रीतिरिवाज होस् मध्य पहाडी भेकका विभिन्न जनजातिको संस्कार होस् ती सबैको सामूहिक रूप नै नेपाली लोक संस्कृति हो । 

नेपाली समाजमा बाहुन, क्षेत्री, नेवार, तामाङ, गुरुड, राई, पारु, यादव, शेर्पा आदि विभिन्न जनजाति मिलेर बनेको छ । ती प्रत्येक जनजातिमा जन्मेदेखि मृत्युपर्यन्त गरिने व्यवहार प्रायः एक प्रकारको देखिन्छ । जन्म, न्वारन, व्रतबन्ध, विवाह र दाहसंस्कार जस्ता संस्कारहरू सबै समुदाय तथा समाजमा प्रचलन छन् । तर ती संस्कारहरू था- प्रापर्न प्रकारले संचालन गरेको पाइन्छ । आ-आफ्नै शैली अनुसार सम्पन्न गरिन्छन् ।

विवाह संस्कार मानव सभ्यताको विकसित स्वरूप हो । हिन्दू संस्कृतिमा विवाहलाई अति महत्त्वपूर्ण सांस्कृतिक कार्य मानिन्छ । र वर्णाश्रमका कर्महरूको लागि स्थायी परम्परा चलाउने सोन्ह संस्कारमा प्रमुख संस्कार मानिन्छ । यसै अनुरूप नेपाली समाजले विवाहलाई मान्यता प्रदान गर्दै आएको छ । हिन्दू मात्र हैन हाम्रो नेपाली समाजमा मुसलमान या बौद्धधर्मावलम्बी वा जुनसुकै धर्म का अनुयायीले पनि विवाहलाई सर्वोपरि मानेका छन् । प्रत्येक समुदाय आ- आफ्नै रीतिरियाजद्वारा विवाह संस्कार सम्पन्न गर्न बढी रूचाउँछन् । यसै सन्दर्भमा नेपालको उच्च हिमाली भेकका (खास गरी सोलुखुम्बुमा) बसोबास गर्ने शेर्पा समुदायको विवाह संस्कार सम्बन्धमा केन्द्रित हुन चाहन्छु । 

२.विवाहका विभिन्न चरणहरू

सोलुखुम्बु निवासी शेर्पा समुदायमा आफ्नै प्रकारको विवाह संस्कार प्रचलनमा छ । विवाहको लागि बधु खोज्ने कार्यदेखि बधु अन्माउने कार्यसम्म विभिन्न चरणसम्पन्न गर्नु पर्दछ । ती चरणहरुलाई शेर्पा बोलीमा विभिन्न नामकरण गरिएको पाइन्छ । 

 २.१ टि छ्याङ-

शेर्पा समुदायमा सबभन्दा पहिले टि छ्याङ वा सोध्ने (सोध्न जाँदा लाने जाँड) भन्ने विधिदेखि विवाहको मेसो बस्छ । केटाको घरबाट केटीको घरमा पोङ भन्ने काठको सुलुत्त परेको पित्तलले मोडेर राम्रो बनाएको ठेकीमा छ्याङ, फ्याम्बर र खादा लिएर केटी माग्न जान्छन् । त्यो लागेको सौगात (छ्याङ, फ्याम्बर र खादा) केटाका अभिभावकहरूले स्वीकारेमा विवाहको अरू विधि गरिन्छ । यदि अस्वीकार भएमा सौगात फिर्ता ल्याइन्छ र कुरा नमिलेको मानिन्छ तर, खासगरी शेर्पा समाजमा सौगात यसै फिर्ता पठाएको पाइन्न् । किनभने धेरैजसो केटा र केटीका पहिलेदेखि नै मायाप्रीति बसेको हुन्छ र औपचारिकताको लागि टि छ्याङ गरेर कुरा टुंग्याइन्छ भने टि छ्याङ गर्नु भन्दा अगाडी नै अनौपचारिक रूपमा कुरा गरिसकेका हुन्छन् । त्यसैले टि छ्याङको सौगात सहर्ष स्वीकारिन्छ । टि छ्याङको विधि सम्पन्न भएपछि केटा र केटीको सम्बन्ध जोडिएको मानिन्छ ।

२.२ देम छ्याङ-

त्यस पछिको अर्को विधि हो- देम छ्याङ । देम छ्याङमा केटा र केटीमा टीकाटालो सम्पन्न हुन्छ र सम्बन्ध पक्का गरिन्छ । देम छ्याङ भएपछि केटीको अरूसँग विवाह गर्न पाइन्न । किनभने यो विधि सम्पन्न भएपछि केटा र केटी लोग्ने स्वास्नी भएको मानिन्छ । पछि केटीको अरूसँग विवाह भएमा वा केटी अर्को केटोसँग पोइलो गएमा नयाँ केटोले पुरानो केटोलाई फिजाल मनिने जार खर्च तिर्नुपर्छ । देम छ्याङ विधि सम्पन्न गर्न पनि केटीको घरमा केटा तर्फबाट छ्याङ, फ्याम्बर र खादाको साथसाथै तीस पाथी अन्न पनि लानुपर्छ । तीस पाथी अन्न लैजानुको तात्पर्य केटीतर्फका अन्य सबै नातेदारहरुलाई विवाहमा पुर्याउन नसकिए पनि रिसानी नहोस् भन्ने जनाउनु मानिन्छ । अन्न नलगे विवाहको दिनमा सबै नातेदारलाई पुग्ने गरी फेमर (फ्याम्बर)  लैजानु अनिवार्य मानिन्छ ।

एउटा अर्को रमाइलो पक्ष के छ भने देम छ्याङ विधि सम्पन्न भएपछि शेर्पा समाजमा केटालाई भावी ससुरालीमा गएर केटीसँग रात बिताउने अधिकार प्राप्त हुन्छ ।  यदि यसै अवधिमा केटी गर्भवती भएमा विवाहको अर्को विधि जतिसक्दो चाँडो सम्पन्न गर्न खोजिन्छ । अर्को विधि सम्पन्न नहुँदै बच्चा जन्मेमा त्यो जन्मने बच्चालाई नांगुन अर्थात् ठेमसिङ भन्ने गरिन्छ । यस्ता बच्चाहरू पनि समाजद्वारा स्वीकार गरिएकै हुन्छ । त्यति मात्र हैन विवाहित दम्पतीमा यदि लोग्नेको अनुपस्थितिमा स्वास्नीले अर्को लोग्नेमान्छेबाट बच्चा जन्माइन् भने पनि त्यो बच्चा नांगुन नै मानिन्छ । यदि छोरी भएमा त्यसलाई नांगुनमा भनिने गरिन्छ । यस्तो बच्चाबच्ची पनि उनीहरूसँगै बस्न पाउँछन् । स्वास्नीले अर्को लोग्ने मान्छेसँग यौन सम्बन्ध जोडेको चाल पाएमा लोग्नेले आफ्नो जारबाट फिजाल तिराउन पाउने अधिकार छ । लोग्नेले अर्को आइमाईसँग यौन सम्बन्ध राखेको चालपाएमा स्वास्नीले पनि ती आइमाईलाई फिजाल तिराउन सक्छे तर, फिजालको रकम लोग्नेमान्छेले तिर्नेभन्दा आधा हुन्छ । 

२.३ पे छ्याङ-

देम छ्याङ विधि समाप्त भएपछि पे छ्याङ विधि सम्पन्न गरिन्छ । यो विधिमा ग्यांकुतु अर्थात् विवाहको अन्तिम तिथि निधो गर्न केटाको घरबाट फेमर, खादा र छ्याङ सौगात लगेर दुवै सम्धिहरूले आपसमा सरसल्लाह गर्छन् र विवाहको लगन निश्चित गर्दछन् ।

२.४ याङ्जी –

निश्चित लगनमा दुलहा तर्फबाट दुलहीको घरमा जन्ती लगिन्छ । जन्तीको साथमा एउटा लामो बक्खु जस्तो पोशाक र झल्लरवाल टोपी पहिरिएका दुलहा एउटा सिंगारिएको घोडामा सवार भएका हुन्छन् । अगाडि मयूर पंख राखिएको कलश: र खादाले बेर्हिएको मन्त्र लेखिएको पुङ्वा भनिने कागज लिएका केल्मी अर्थात् लोकन्ती रहन्छन् । शंख र सहनाईको संगितले जन्तीको शोभा बढाइन्छ । पैदल हिंडेका र घोड सवार शेर्पा शेर्पानी समेतको जन्तीको साथ एउटा ट्रङ्क बाकस र एक टीन आरक( रक्सी) बोकेका भरियाहरू पनि हुन्छन् । जन्ती दुलाहाको घरमा पुगेपछि दुलही तर्फका दुइजना केटा र दुइजना केटीहरूले ढोकामा जन्तीको याङ्जी (स्वागत) गर्छन् । याङजी सकिएपछि जन्तीलाई सजाइएको कोठामा राखिन्छ । सबै जन्ती बसीसकेपछि सुच्याले अतिथ्य सत्कार गर्ने गरिन्छ ।

२.५ सुर छ्याङ 

त्यसपछि सुर छ्याङको कार्यक्रम शुरू हुन्छ । सुर छ्याङलाई जन्ती पर्खने विधि भन्न सकिन्छ । वर तर्फका पुरोहित लामाको अगाडि केटितर्फका मानिसहरूले छ्याङको ठेकी राखिदिन्छन् । धुपाउरोमा धूपीको धूप बालेर लामाले छ्याङमा पात चोपेर जन्तीलाई छर्कन्छन् । अनि केटीतर्फका मानिसहरूको एक समूहले सबभन्दा पहिले पुरोहित लामालाई कचौरामा छ्याङ राखेर समात्न दिन्छन् र छ्याङको कचौरा प्रदान गर्ने व्यक्तिले पनि समाती राख्छ । अनि केटितर्फका मानिसहरू संगीतात्मक लयमा गीत गाउँछन् ।

छ्याङ ती छ्याला पेदुछेला
छ्याङ कि पोला छे कि पोला छे
छे पा पुल । 

‘तपाईहरु टाढाबाट आउनु भएको कष्ट भयो होला हाम्रो सत्कार स्वीकार गर्नु होस्’ भन्ने जस्ता भावना भएको  गीत गाउँदै छ्याङ खान दिन्छन् । एक जनाले खाइसकेपछि त्यसै कचौरामा छ्याङ थपेर पालैसँग सबै जन्तीलाई संगीतात्मक वातावरणमा छ्याङ बाँडिन्छ । अनि सुर छ्याङ कार्यक्रम समाप्त भएपछि दुलहाले कपडा बदल्ने र जन्तीलाई भोज खुवाउने गरिन्छ । 

२.६ कर छ्याङ- 

भोजको कार्यक्रम समाप्त भएपछि कर छ्याङ भन्ने कार्यक्रम शुरू हुन्छ । कर छ्याङमा दुलाहातर्फबाट दुलहीतर्फ फ्याम्बर, खादा र आरक सौगात पुर्याउनु पर्छ । जन्ती बसेको घरबाट अर्को घरमा जन्तीले साथमा ल्याएको ट्रङ्क( बाकस) र आरक (रक्सी) को टीन लिएर जान्छन् । ट्रङ्कमा तोरण आकारको ठूला ठूला फ्याम्बर खादा बेरेर दुलहाका अभिभावकले दुलहीका अभिभावकलाई प्रदान गर्नु पर्दछ । दुलहीका अभिभावकलाई फ्याम्बर दिई सकेपछि दुलहीतर्फबाट सबै नाता कुटुम्बलाई एकएक गरेर खादा प्रदान गरिन्छ र रक्सीको टीन पनि दुलहीतर्फ प्रदान गरिन्छ । 

अनि एउटा ठेकीमा छ्याङ राखेर पुरोहित लामाको अगाडि राखिन्छ र लामाले मन्त्रोच्चारण गरि त्यो छ्याङले वातावरणमा अभिषेक गरि अरू लामाहरूलाई पनि पर्सादीको रूपमा वितरण गरिन्छ । तब दुलहा तर्फबाट फेरि सुर छ्याङमा झैँ गित गाउँदै कचौरामा छ्याङ राखेर प्रत्येक घर गाउँलेलाई खान दिन्छन् । यो वातावरण पनि संगितमय हुन्छ । यसरी छ्याङ प्रदान गरि सकेपछि दुलहा दुलहीका अभिभावकहरूलाई र दुलही दुलहाका अभिभावकलाई सुम्पने काम हुन्छ । तर यस कार्यक्रममा न त दुलहाको नै उपस्थित रहन्छ न त दुलहीको । उनीहरूको उपस्थित आवश्यक मानिन्न । यसमा दुलहातर्फका लामा उठेर ` आजसम्म हाम्रो जिम्मामा रहेको केटा अब तपाईंहरूको जिम्मामा भयो´ भन्ने भावले गुन्गुनाउँछन् । दुलही तर्फकाहरूले पनि त्यसरी नै संगीतात्मक किसिमले दुलही जिम्मा लगाउँछन् । अनि दुवै तर्फबाट `हाम्रो जिम्मा भयो´ भन्ने भाव रमाउँदै प्रकट गर्छन् र `थुबे´ भनेर धन्यवाद आदानप्रदान गर्छन् । कर छ्याङ कार्यक्रम समाप्त भएको खुसिमा शेर्पाशेर्पिनीहरू विभिन्न गीत गाउँदैँ र सेरूगेकु (शेर्पा नाँच) नाच्दै फर्कन्छन् । जस्तै,

छु कि फमा च ई लामा छे वा पुले

लामा छे वा पुले, सुला। एहाँक´ इत्यादि

२.७ ग्यांकुतु-

केही बेर पछि दुलही सिंगारेर दुलहा भएको ठाँउमा ल्याईन्छ । दुलहासँग बसालिन्छ । अनि ग्यांकुतु भन्ने विवाहको सबभन्दा महत्त्वपूर्ण कार्यक्रम आरम्भ हुन्छ । ग्यांकुतु भन्नाले केटा र केटीको बीचमा सिंदुर हाल्ने वा टीका लगाउने कार्यक्रम हो । यस दिनमा बाहेक अरू दिनमा शेर्पाखशेर्पानीहरूले निधारमा टीका लगाएको देखिन्न । यसबेला दुलहीका अभिभावकहरूले दुलहालाई दुलही सुम्पीदिन्छन् । र दुलहाले दुलहीलाई टीका लगाई दिन्छ । तब पहिले दुलहाले र त्यसपछि दुलहीले पुरोहित लामासँग आशिष् थाप्छन् । पुरोहित लामाले पनि दुलहा दुलहीको टाउकोमम नौनी घिउ राखेर मन्त्रोच्चारण सहित आशीष दिन्छन् । त्यसपछि दुलहा दुलहीले आ आफ्नो सासू ससुरा र नातेदारसँग ढोगभेट गर्छन् ।

ग्यांकुतु समाप्त भएको उपलक्ष्यमा शेर्पानीहरू  रमाइला र मीठा गीत गाएर सरूग्यकु नाच नाच्न थाल्छन् । शेर्पानीहरू आठ नौ जना हातेमालो गरेर एकै स्वरमा शेर्पाली बोलीमा गीत गाउँछन् । कहिले अगाडि र कहिले पछाडि, कहिले ठाडो र कहिले झुकेर, खुट्टा चलाउँदै नाच्छन् । बेलाबेलामा दुई दुई जनाको समूह भएर फनफनी घुम्छन् र फेरि सबै हातेमालो गर्न पुग्छन् । खुट्टा बजारेर संगीतमय वातावरणमा एकजनाले गीत गाएर धेरैबेरसम्म नाचिरहन्छन् । शेर्पाहरूको यो गीत र नाच प्रति उच्च मानिन्छ । यस नाचमा तरुनीदेखि बूढीसम्म पनि भाग लिन पुग्छन् । 

२.८ डेन कार्यक्रम-

भोलिपल्ट शेर्पाहरूको डेन कार्यक्रम शुरू हुन्छ । डेन पनि शेर्पाहरूको राम्रो परम्परा मानिन्छ । जन्तीहरू लाई घर गाउँलेहरू मिलेर सामूहिक पाहुनाचार गराउँछन् । जन्ती गएको भोलिपल्ट दिनभर घरघरमा गएर जन्तीहरूले खाना खाई दिनुपर्छ । गाउँलेहरूले सामूहिक रूपमा पाहुना सत्कार गर्ने प्रचलन पनि छ । त्यसरी पाहुना सत्कार गरिएमा सत्कार गर्ने व्यक्तिलाई प्रत्येक पाहुनाले केही रकम भेटी राखेर थुचे (धन्यवाद) प्रदान गर्नु अनिवार्य मानिन्छ ।

२.९ टोल्डोक –

डेन कार्यक्रम सकिएपछि फेरि दुलहीको घरमा खाना खाई सकेपछि दुलहा दुलहीलाई सिंगारेर टोल्डोक कार्यक्रम शुरू हुन्छ । टोल्डोक भन्नाले अन्तिम टीकाटालो गरी दुलही अन्माउने कार्यक्रम हो । टोल्डोक समाप्त भएपछि छ्याङ र आरकले चूर शेर्पा शेर्पानीहरू दुलहीको साथ खुशीले नाच्दै गाउँदै घर फर्कन्छन् । दुलही दिई पठाएपछि घरको सह नजावस् भन्ने भावनाले घर गाउँले तरुनीहरूले बाटोमा जन्तीलाई फुक्का पीठोले हान्ने चलन छ । 

२.१० टसियाङ –

दुलहाको घरमा दुलही भित्राउन पनि सुरज्याङ् गरिन्छ र जन्तीलाई भोज खुवाइन्छ । अर्को दिन सबै गाउँले मिलेर दुलहा दुलहीलाई डेन गर्ने गर्दछन् । एउटा घरको विवाहमा गाउँले सबैले उत्तिकै उत्साह लिएर रमाइलो र भोज भत्तेर गर्ने परम्परा पनि शेर्पाहरूको आफ्नै विशेषता हो । अनि यसै दिन दुलहा दुलहीको टसियाङ गरिन्छ । टसियाङ भन्नाले दुलहा दुलहीलाई परिवारबाट स्वीकार गर्नु मानिन्छ । त्यसपछि भोज खाई घरमा सह भित्राउने कार्यक्रम गरिन्छ । शेर्पाहरूको विवाह, नाचगान र हाँस ठट्टा गर्दै मनोरन्जक वातावरणमा सम्पन्न हुने गर्दछ ।

२. ११ टोङ वालङ सिकिरू –

शेर्पा विवाहको अर्को एउटा रमाइलो पक्ष के लाग्छ भने ग्यांकुतु अर्थात् विवाहको अवसरमा दुलही लाई दाइजो दिइने प्रचलन छैन । दाइजो दिने लिने विधि अर्को हुन्छ । दाइजो लिने दिने विधिलाई टोक वालङ सिकिरू भनिन्छ । यो विधि दुलहा दुलहीको छोराछोरी भै सकेपछि मात्र सम्पन्न गरिन्छ । यसको मुख्य कारण के देखिन्छ भने छोराछोरी नभएसम्म लोग्ने स्वास्नीको पक्का सम्बन्ध नहुन सक्छ र लोग्नेले अर्को स्वास्नी ल्याउन सक्ने र स्वास्नी पनि अर्कोसंग पोइल जानसक्ने बढी सम्भावना भएकोले यो परम्परा चलाइएको हुनुपर्छ । यो विधिमा पनि ग्यांकुतुमा झैँ भव्य कार्यक्रमको आयोजना हुन्छ ।

३. उपसंहार

यसरी परम्परागत तरीकाबाट विवाह गर्दा धेरै विधि अंगाल्नु पर्ने र पैसा पनि प्रशस्त खर्च हुने हुँदा गरीब शेर्पाहरू यस्तो प्रकारले विवाह नगरेर प्रेम गरेर वा केटी भगाएर ल्याउन बढी रुचाउँछन् । पहिले पहिले शेर्पा समाजमा प्रचलनमा रहेको वहुपति प्रथा र विधवा भाउज्यू स्याहार्ने प्रथा पनि आर्थिक दृष्टिकोणले नै अपनाइएको देखिन्छ । तर हाल वहुपति प्रथा लोप हुँदै गएको  पाइन्छ ।

(नोट)

१) फ्याम्बर:- घ्यू र चिनीमा पोठो मुछेर बनाइएको एक प्रकारको रोटी, जसले हिन्दू संस्कार अनुसार विवाहमा चाहिने कसारको काम गर्दछ ।

२) खादाः- पातलो सेतो कपडाको गलबन्दी जस्तो, जसले फूलमालाको काम गर्छ । सम्भवतः हिवाली भेकमा सधैँ फूल नपाइने हुनाले फूलको सट्टा खादाको प्रयोग गरिएको हो ।

सन्दर्भ – स्रोत

१) सम्भरबहादुर थापा, सल्लेरी, सोलुखुम्बु

 २) जुनबेसी गाउँमा सम्पन्न शेर्पा विवाहको अध्ययन

३) आङ दामी शेर्पाः प्र. पं. सल्लेरी गा. पं., सोलुखुम्बु

४) पासाङ तेम्वा धूम्रकेतु शेर्पा : शेर्पा जाति: संक्षिप्त परिचय । मधुपर्क, वर्ष १३ अंक ४,२०३७ भदौ।

(नेपाली संस्कृति चौमासिक पत्रिका – बैशाख-साउन २०४७ अंक २ बाट साभार)

सम्बन्धित समाचार