बुधबार , कार्तिक २८, २०८१

गोरखाको सैनिक इतिहाससँग जोडिएको डडेलधुरा उग्रतारा मन्दिर

image

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका-७ पोखरामा अवस्थित प्रसिद्ध मन्दिर उग्रतारा भगवतीको मन्दिर, बागबजारबाट करिब ५ कि.मि. टाढा डडेलधुरा, बैतडी राजमार्गको पश्चिमपट्टिको अग्लो, विशाल तथा रमणीय फाँटमा  रहेको छ । डाँडाको टुप्पोमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न जाने भक्तजनहरूले जताबाट गए पनि उक्लेर जानु पर्दछ ।

प्रकृतिप्रदत फाँटमा अवस्थित उग्रतारा देवीको दर्शन गर्न जाने भक्तजनहरूले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानुपर्दछ । अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी– ८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ । गतवर्ष सरकारले छनोट गरेका १ सय नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ ।

प्यागोडा शैलीमा निर्मित उग्रतारा मन्दिर सुदूर पश्चिमकै ठुलो शक्तिपिठ मानिन्छ । यो मन्दिरलाई  सुदूरपश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । यहाँ पुगेमा मनको चिताएको सबै मनोकामना पूरा हुने जन विश्वास छ। यस उग्रतारा मन्दिरमा लाग्ने कार्तिक शुक्लपक्ष मेलापछि चिस्यान सुरु भई हिउँद लाग्ने हुँदा डडेलधुरावासीका फुर्सदका दिनहरू यहाँ आउने गर्दछन् ।

खनमडा, छचोडा, दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाउँबाट ‘देउरो’ आउँछ । यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशीको राति रत्यौली मनाउने, मन्दिर पुग्ने, लटाउली लगायत खनमडाट, जिलोडा र दमडामा सांस्कृतिक झलकका साथ खेल र जात्रा गरी देउरो उग्रतारामा लाग्ने गौरवमय परम्परा आफैँमा रोमाञ्चक छ ।

उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रूपमा प्रख्यात छ । हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरालगायत स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ । स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । उग्रतारा मेलामा विक्री गर्ने पूर्वयोजनाका साथ स्थानीयहरूले विभिन्न बाँस र निगालोका सामग्रीसँगै खाद्यवस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन् । मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाई विक्री गर्छन् ।

उग्रतारा मन्दिरमा 'देहिजाँत' आज

अहिले उग्रतारा मन्दिर परिसरमा वेद विद्याश्रम पनि सञ्चालनमा ल्याइएको छ । यहाँ २५ जना विद्यार्थीहरू अध्यापन गरिरहेका छन् । डडेलधुरासहित बैतडी, डोटी र बाजुराका विद्यार्थीहरू यहाँ पढ्छन् ।

उग्रतारा मन्दिरको उत्पत्ति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भेटिन्न । तर यस मन्दिरको उत्पत्ति बारेमा धेरै किम्बदन्ती छन् । त्यी मध्य केही निम्न लिखित छन्,

१.

धेरै वर्ष पहिले उग्रतारा भगवती रहेको स्थान नजिकको लटाउली गाउँमा  एउटा किसान बस्थे । एक दिन तिनै  किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि एउटा ढुङ्गा (शीला) मा गढेर शीलाबाट निरन्तर रगत बग्न थालेछ । किसानले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा  पनि रोकिएनछ । रगत बग्दै जाँदा रगतको खोला नै बग्न सुरु भयो । हाल पनि यो खोला ‘तलन्वा खोला’को नामले चिनिन्छ । यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खान भनी ल्याएको “मास” को खिचडी सोही शीलाको फालि लागेको घाउमा लगाउँदा लगाइदिएछन् । त्यसपछि रगत बग्न रोकियो । पछि, सो शीलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो । ती किसानले घरबार त्यागी  त्यही मन्दिरका  पुजारी भए ।

सो किसानका सन्तानहरूले पुजारी हुनका लागि उग्रतारा क्षेत्रको भित्रै ‘नचनटुक्रि’ भन्ने ठाउँबाट सिँधै ओरालो उल्टो शरीर सुति करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिरभित्रको सानो झ्यालबाट भित्र छिर्नु पर्दछ । त्यसपछि अन्य परम्परागत कर्म  गरी आफ्नो गृहस्थ जीवन त्यागी भगवतीको पूजामा रहनु पर्ने प्रचलन छ । यदि कुनै कारणले पुजारी मन्दिरमा  छैनन् भने मन्दिरको बाहिरी शीलाभन्दा अलि टाढा ब्राह्मणहरूद्वारा मात्रै  पूजा गराउने चलन अहिले पनि छ ।

२.

यिनै पुजारीबारे अर्को किम्बदन्ती पनि छ । एक समय उग्रतारा माताको पुजारीको वृद्ध अवस्थासम्म पनि सन्तान भएनछ । त्यसपछि उनले  सन्तान दिलाइ पाऊँ भन्ने आग्रह गरेछन् । उग्रतारा माताले ती पुजारीलाई सम्झाउँदै भनिछन्, “सन्तानले  पछि गएर दुःख दिन्छन् ।”  पुजारीले सन्तानको ढिपी  गरिरहेछन् । त्यसपछि पुजारीलाई सन्तान प्राप्तिमा छोरो भएछ ।

छोरो ठुलो भएपछि पुजारीको सबै घर व्यवहार छोराले सम्हाल्न थाले  तर एक वर्षको उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरू आएछन्  । पुजारीका छोरा पाहुना सत्कारमा व्यस्त भएछन् । आजभोलि पनि त्यस गाउँमा   पाहुनाहरूको सत्कार गर्नु  गाउँको मानिसहरू आफ्नो कर्तव्य सम्झन्छन्।

त्यस रात पनि आधारातसम्म पाहुनाकै सत्कारमा ती वृद्धाको छोराबुहारीको समय बिताइरहे ।  त्यस रात बुढा पुजारीलाई लागेछ, ‘छोरा बुहारीले आफ्नो कुनै  वास्ता गरेनन् ।’ त्यसपछि  वृद्धा  रिसाएर राति नै उग्रतारा मन्दिरमा पुगेछन् र देवीसँग प्रार्थना गरेछन्, “हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस ।”

भोलिपल्ट मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किंवदन्ती पनि  सुन्न पाइन्छ।

.

उग्रताराको मन्दिरबारे अझ अर्को किम्बदन्ती प्रचलित छ । कार्तिक पूर्णिमामा लाग्ने प्रसिद्ध मेला ‘देइजात’ मा प्राचीनकालमा गर्खा (गोर्खा) बाट लडाकुहरू र यहाँका सैनिकबिच लडाई हुँदा रगतको खोला बगेको थियो । जसलाई यहाँ  ‘तलन्वा खोला’ भनेर चिनिन्छ ।

भनिन्छ, ‘मानव देह हत्या गर्दा लागेको पापमोचनका लागि  उग्रतारा मन्दिरको निर्माण गरिएको हो ।’

यहाँ कार्तिक शुक्ल पूर्णिमाको दिन जिल्ला भरिबाट मात्र नभई विभिन्न जिल्ला जस्तै डोटी, बैतडी, दार्चुला, कञ्चनपुर, अछाम र कैलालीबाट मेला हेर्न आउँदछन् । टिकापुर कैलालीमा रहेको सशस्त्र बलको नाम (उग्रतारा सशस्त्र बल) यसै मन्दिरको नाम बाट राखिएको हो ।

Tags:

सम्बन्धित समाचार