मंगलबार , अषोज ८, २०८१

सती प्रथा: केहि ऐतिहासिक तथ्यहरू

सतीप्रथा एउटा बिर्सन लायक अस्पष्ट क्षण थियो र यो दुर्लभ पनि थियो ।

image

सती भनेको पतिको मृत्युमा पत्नीले पतिको चितामा वा छुट्टै आत्मदाह गर्ने कार्य हो । भारत तथा हिन्दुत्त्वको विरुद्ध बहस गर्ने बहसकर्ताहरूले सतीको तुलना प्रायः जातीय विभेद, महिलाहरूमाथिको दमन तथा अन्धविश्वासजस्ता कुरीतीहरूसँग गर्ने गरेको पाइन्छ । सतीलाई भारतमा व्याप्त एक प्रतिगामी प्रथाको रुपमा चित्रण गरिन्छ ।

चौधौं/पन्ध्रौं शताब्दीतिर सती प्रथा:

सती प्रथा भारतको उत्तरपश्चिमी भेगतिर मौलाएको जौहरभन्दा फरक छ, जसमा बर्बर मुसलमानहरूको चङ्गुलमा फसेर दासत्त्व तथा बलात्कारको शिकार हुन नपरोस् भनेर हिन्दु नारीहरू समूहगत रुपमा आत्मदाह गर्दथे ।

सतीको वृत्तान्त :

केही ब्रिटिस अभिलेखका साथसाथै १८०० यताका इसाई अभिलेखहरूले वर्षेनी १०,००० देखि १,००,००० जति महिलाहरू सती जाने गरेको दर्शाउँछन् । भारतमा रहेको ब्रिटिस सरकारलाई महिलाहरूप्रतिको यो किसिमको अन्याय असह्य भयो । त्यसताका विलियम क्यारेजस्ता इसाई धर्म प्रचारक एवम् राम मोहन रायजस्ता सुधारकहरूले चलाएको अभियानको परिणामस्वरुप ब्रिटिस राजले १८२९ मा सती प्रथाको उन्मुलन गर्‍यो ।

द गार्डियनका लुक हार्डिङ्ग लेख्छन;

यसको उद्गमस्थल हिन्दु धर्ममा रहेको छ । यसको अभ्यास उत्तर भारतीय राज्य राजस्थानसँग गाँसिएको छ जहाँ पारम्परिक रुपमा राजपूत शासकका रानीहरूले समूहगत रुपमै आत्मदाह गर्ने गर्दथे । सती गएका महिलाहरूको स्मारक भारतमा जताततै पाईन्छन् ।

यस प्रथालाई निरुत्साहित पार्नका लागि आधिकारिक जमर्को पनि बारम्बार भए जसअन्तर्गत सुधारप्रेमी मुगल सम्राट अकबरले सोह्रौँ शताब्दीमा गरेको प्रयास अनि ब्रिटिश सरकारले १८२९ मा लगाएको बन्देज पर्दछन् ।

वेद एवम् इतिहासमा सतीका प्रमाण

ऋग्वेद (१०:१८:७-८)मा पहिलोपटक रद्द भएको यस्तो ज्ञात सतीको बारेमा चर्चा छ, जसमा आफ्नो मृत श्रीमानको छेउमा रहेकी एक महिलालाई आत्महत्या गर्न नदिई उनको अन्तिम संस्कार गरिएको थियो । माइकल विट्जेलजस्ता विद्वानहरू ऋग्वेदको उत्पत्ति १,९०० देखि १,२०० ईसापूर्वका बीच भएको मान्दछन् । त्यसैले हामीसँग लगभग ७०० वर्षको यो अवधिमा यसरी रद्द भएको सतीको एउटा मात्र उदाहरण उपलब्ध छ ।

महाभारतमा कम्तीमा तीनवटा आत्मदाहका घटनाहरूको जिकिर गरिएको छ जसअन्तर्गत पाण्डुकी पत्नी माद्री, वासुदेवका चार वटी पत्नी एवम् श्रीकृष्णका पत्नीहरूमध्ये पाँच वटी सती गएको घटना पर्दछन् ।

पूर्वीय (ईक्ष्वाकु वंशी) उदय रहेको रामायणमा भने आत्मदाहका कुनै अभिलेख उपलब्ध छैनन् । सामान्यतया पश्चिमी विद्वानहरू महाभारत १,२०० देखि ४०० ईसापूर्व बीच घटेको र यसको वर्तमान टेक्स्टका विभिन्न तहहरूमा विभिन्न कालखण्डका विशेषताहरू समाहित भएको बताउँछन् या भनौँ महाभारत १,२०० देखि ४०० ईशापूर्व बीचको अवधिको snapshot हो र यस अवधिभर केवल तीनवटा आत्मदाहका घटनाहरूको दस्तावेज उपलब्ध छन्, जसमा १० जनाले ज्यान गुमाए र यी तीनवटै घटना भारतवर्षको उत्तरी तथा पश्चिमी भेगमा मात्र सिमित रहे ।

यति त स्पष्ट छ कि कम्तीमा वैदिक कालमा सती प्रथा निहायती रुपले कम चल्तीमा थियो । १,९०० देखि ४०० ईशापूर्व बीचको १,५०० वर्षको अन्तरालमा केवल चारवटा यस्ता घटनाहरूको अभिलिखित प्रमाण हामीसँग छ ।

सतीका बारेमा पुरालेख तथा लिखित प्रमाण

तल मैले सतीसँग सम्बन्धित प्रत्यक्षदर्शीका भनाइ तथा पुरालेखहरूको प्रयोगसिद्ध विवरण पेश गरेको छु । यो विवरण मिनाक्षी जैनले विभिन्न प्राथमिक तथा माध्यमिक स्रोतहरूमा आधारित रहेर गरेको सूक्ष्म एवम् विस्तृत अनुसन्धानबाट लिइएको हो । सतीसँग सम्बन्धित पहिलो विदेशी दस्तावेज सिसिलिका डियोडोरसले तयार पारेका हुन् ।

सो दस्तावेज कार्डियाका एक प्रत्यक्षदर्शी हायरोनिमस (ईशापूर्व ३२६)को बयानमा आधारित छ । यहाँ आफ्नो मृत पतिसँगै प्राण त्याग्ने सौभाग्य कसले पाउने भनेर दुई विधवाहरूबीच विवाद परेको घटना उल्लेख छ । त्यसैगरी ईशापूर्व ३०० तिर आन्ध्र प्रदेशको गुन्टुर इलाकाका एकजना आयामणीको मृत्युमा उनकी पत्नी पुस्तिकाले आत्मदाह गर्छिन् र पछि त्यतैको एउटा गाउँमा एउटा घैँटोभित्र उनीहरूको अवशेष फेला पर्छ ।

ईसापूर्व ४६४ मा नेपालका राजा धर्मदेवकी विधवा राज्यवतीले सती जाने निर्णय गर्छिन् तर जाँदिनन् र आखिरमा उनी लामो जीवन बिताउन पुग्छिन् । ईसापूर्व ५१० मा राजा भानुगुप्तका सेनानायक गोपाराजा मैत्राहरू विरुद्ध युद्ध गर्दा मारिन्छन् र उनकी विधवाले सागर जिल्लाको एरन भन्ने ठाउँमा आत्मदाह गर्छिन् ।

महाराष्ट्रको कोल्हापूर जिल्लामा पर्ने संस्की भन्ने ठाउँमा ईशापूर्व ५५० मा कुँदिएको सती शिलालेख पाइएको छ । त्यसैगरी, ६०६ मा हर्षाकी आमा, राजा प्रभाकर वर्धनकी पत्नी रानी यशोमति युद्धमा आफ्नो पतिको बच्ने कुनै सम्भावना नरहेपछि पहिल्यै सती जान्छिन् ।

ढोलपूर, राजस्थानको ८४२ को शिलालेखमा चन्दमहासेना नामक व्यक्तिकी पत्नी कनहुल्ला सती गएको उल्लेख छ भने राजस्थानकै घटियाला भन्ने ठाउँको ८९० को शिलालेखमा रानुका भन्ने व्यक्तिकी पत्नी सम्भलादेवी सती गएको बारे उल्लेख गरिएको छ ।

ईशापुर्व ९५५ मा जब परान्तक चोला प्रथमको निधन भयो तब उनका ११ वटी पत्नीहरू सती गए । सुन्दर चोला (परान्तक द्वितीय) को ईसापूर्व ९७३ मा निधन हुँदा उनकी पत्नी वनवन महादेवी सती गईन् । त्यसैगरी १०४४ मा राजेन्द्र चोलाको मृत्युपश्चात् उनका रानीहरू वनवन महादेवीयार, मुक्कोकिलन, पञ्चवन महादेवी, अरिंदवन महादेवी र विरामदेवी सती गएका थिए ।

१,०५७ मा एक गंगा राजासँग युद्ध गर्ने क्रममा पतिको मृत्यु भएपछि देकाब्बे नाम गरेकी एक सुद्र महिला आफ्ना बाबुआमाको कडा प्रतिरोधका बावजुद सती गएकी थिईन् । त्यसैगरी १२१८ मा कुलोथुङ्गा चोला तृतीयको मृत्युुमा उनकी पत्नी भुवनमुलुदैयाल सती गइन् । १२९० तिर भेनिसबाट आएका अन्वेषक मार्को पोलोले मालाबारमा देखेको एक सतीको बारेमा रिपोर्टिङ गरेका थिए भने मोरोक्कोका अन्वेषक इब्न बट्टुटाले पनि मध्य प्रदेशस्थित धार भन्ने ठाउँमा तीनजना महिलाले आत्मदाह गर्दै गरेको दृश्य प्रत्यक्ष देखेका थिए ।

ती तिनै महिलाहरूका पतिहरू सिन्ध राज्यका सुमरस विरुद्ध लड्ने क्रममा मारिएका थिए । सती गएका महिलाहरूको सम्झनामा ठड्याइएका स्मारकहरूलाई आधार मान्ने हो भने विजयनगरमा मात्र सन् १३३६ देखि १६४६ सम्ममा सयजना भन्दा बढी सती गएको देखिन्छ । १६०६ मा क्याथोलिक धर्म प्रचारक रोबर्टो दे नोबिलीले मदुरायमा देखेको एक सतीबारे रिपोर्टिङ गरेका थिए ।

१७०० सम्म आईपुग्दा विदेशी अन्वेषक तथा धर्म प्रचारकहरूले प्रत्यक्ष रुपमा देखेका सतीहरूको संख्या अझ बढी हुनसक्ने अनुमान रहेको छ । १७३५ मा बुंदिका राजा बुध सिंहको मृत्युपश्चात् ८४ जना महिलाहरू सती गएको भनिएको छ । पुरालेखहरू केलाएर हेर्दा दक्षिण भारती राज्य कर्नाटकमा सन् १००० र १४०० का बीचमा ११ र फेरि १४०० देखि १६०० सम्ममा ४१ वटा सतीका घटना बाहिर आएका छन् ।

१६८० मा शिवाजी र त्यसैगरी १७०० मा राजारामका श्रीमतीहरू सती गएका थिए । १७४९ मा शिवाजीका नाति शाहुकी पत्नी पनि सती गईन् । मिनाक्षी जैनद्वारा उद्धृत आल्तेकरको अनुमानका अनुसार सन् १३०० देखि १८०० सम्मको अवधिभर राजस्थानका राजपरिवारबाट मात्र १०% सम्म महिलाहरू सती गएको देखिन्छ । त्यसैगरी, मारवाडमा १५६२ देखि १८४३ बीचको २८१ वर्षको अवधिमा शासकहरू मर्दा जम्माजम्मी २२२ जना सती गएको कुरा उल्लेख छ ।

१२औँ शताब्दिसम्म बंगालमा सतीप्रथाको एउटा पनि पुरालिखित प्रमाण फेला परेको छैन मनुस्मृतिका टिप्पणीका र कुल्लुक भट्ट र स्मृतिका सुरुवाती लेखक जिमुतवाहन जसका धेरै लेखनीहरू विद्यमान छन्, उनीहरूमध्ये कुनैले पनि सतीका बारे भने केही बोलेका वा लेखेका छैनन् । अझ भन्ने हो भने, जिमुतवाहन आफैँमा सती विरोधी विचारधार राख्दथे र विधवा अधिकारबारे पनि उनको आधुनिक दृष्टिकोण थियो । उनको चितपरिचित लेख दयाभागमा एउटि पुत्रविहिन विधवाको आफ्नो श्रीमानको सम्पत्तिमाथि रहने अधिकारबारे चर्चा गरिएको छ ।

विभिन्न युरोपेली तथ्यांकअनुसार सन् १७०० र १८०० का बीचमा १७४२, १७७०, १७७९, १७९३ र १७९९ मा गरि पाँचपटक मात्र सतीप्रथाका घटनाहरू घटित भएको देखिन्छ । भारतमा सन् १८०० तिर इसाई धर्मप्रचारक आन्दोलनले गति लिन थालेपछि सतीप्रथाका घटना झन् आकाशिन थालेको र बंगालमा मात्र सन् १८०३ को एकवर्षको अवधिमा १०,००० यस्ता घटना घटेको पाइएको छ ।

त्यसपछि त यो क्रम यति बढ्यो कि वर्षेनी यसका ५०,००० घटना रिपोर्ट हुन थाले । सरकारी तथ्यांककाअनुसार १८१५ देखि १८२९ बीचको १४ वर्षको समयमा ४१३४ जना महिलाहरू सती गए जसमध्ये ६० प्रतिशतभन्दा धेरै त कलकत्ताका मात्रै थिए । कलकत्ताजस्तो सतीप्रथाको कुनै इतिहासै नभएको क्षेत्रमा यस्तो हुनुले सरकारी तथ्यांकलाई नै शंकाको बादलले घेरिदिएको छ ।

ब्रिटिस सरकारको अधीनमा रहिरहँदा सतीप्रथाको रिपोर्टमा आएको अचानक वृद्धिका विभिन्न कारणहरू हुनसक्छन् । धर्मप्रचारक अभियानमा टेवा पुर्‍याउने हेतुले तथ्यांकलाई अतिरञ्जित गरिएको अथवा त्यसमा आधारहिन तथा मनगढन्ते तथ्य मिसाइएको हुनसक्छ । तर, यदि यो तथ्यांक साँचो हो भने ब्रिटिस राजमा भएका कस्ता परिवर्तनले गर्दा यस्तो अवस्था निम्तिएको हुनसक्ला त ?

२५०० वर्षको तथ्यांकलाई केलाउँदा

ईशापुर्व १९०० देखि सन् १९०० को बीचमा रेकर्डमा आएका सतीप्रथाका पुरालेख तथा प्रत्यक्षदर्शीका बयानलाई जोडेर हेर्ने हो भने झन्डै ४००० वर्षको यस अवधिमा मुस्किलले ५०० वटाभन्दा बढी घटना घटेको देखिन्छ । अर्थात् औसतमा हरेक आठ वर्षमा एउटा सती जुन ब्रिटिस उपनिवेशकर्ता एवम् इसाई धर्मप्रचारकहरूले अतिरञ्जित गरेर प्रतिवर्ष हुने गरेको भनेको १०,००० घटनाको आसपास पनि आउने देखिँदैन । यति भन्दैगर्दा हामी रुढिवादको पक्षमा ढल्किन रुचाउछौँ त्यसैले हाम्रो तथ्यांकमा यी दुई अवस्थाहरू लागु गर्न सकिन्छ :

१) जम्मा घटना (लगभग ५००) मा थपघट नहुने गरी यस प्रथाको सुरुवाती समयलाई ईशापुर्व १९०० को सट्टा ५०० मान्ने,
२) उपलब्ध प्रमाणले जम्मा आत्मदाहका घटनाहरूमध्ये केवल पाँच प्रतिशतको मात्र प्रतिनिधित्व गर्छन । बाँकी, ९५ प्रतिशतको रिपोर्टिङ नै भएको छैन ।

मेहरानगढ फोर्ट, जोधपुर, राजस्थानमा सतीको हातको छाप ।

अध्ययनका क्रममा सबै हिंसात्मक अपराधमध्ये त्यस्तै ५२ प्रतिशत अपराधबारे कुनै रिपोर्टिङ नहुने कुरा बाहिरिएको हुँदा तथ्यांकलाई घटनाको रिपोर्टिङ विहिनता झल्किने गरी सामान्यीकरण गर्ने गरिन्छ । यद्दपि हाम्रो रुढिवादी प्रवृतिलाई मध्यनजर गर्दै ९५ प्रतिशत आत्मदाहका घटना रिपोर्ट नगरिएको हुनसक्ने मानेर हामी हाम्रो तथ्यांकलाई सामान्यीकरण गर्नेछौँ ।

यहि सबको आधारमा यो अनुमान लगाउन सकिन्छ कि रिपोर्टिङमा परेका झन्डै ५०० घटनाले जम्मा घटनाको केवल पाँच प्रतिशत मात्र जनाउने हुँदा जम्माजम्मी १०,००० भन्दा बढी सतीप्रथाका घटना घटेका छैनन् भन्ने अड्कल काट्न सकिन्छ । यसका अतिरिक्त हामीले हाम्रो तथ्यांकबाट १५०० वर्षको अवधिलाई मेटाइदिएका छौँ जसका कारण हामीले हेर्ने अवधि भनेको २५०० वर्ष मात्र हो । अब यसमा पनि भौगोलिक विभाजनलगायत अन्य मापदण्डहरूले प्रभाव पार्ने हुँदा हामी निम्न निष्कर्षमा पुग्नसक्छौँ :

– प्राय: घटनाहरू भारतको उत्तरी तथा उत्तरपश्चिमी भेगमा मात्र सिमित रहे ।
– सती गएकामध्ये धेरैजसो महिलाहरू क्षेत्रीय समुदायका अथवा योद्धाका श्रीमती अथवा शाही
खान्दानका थिए ।
– ९० प्रतिशतभन्दा बढी घटना सन् १४०० पछि घटे ।

सन् १४०० देखि १८०० सम्मको तथ्यांकलाई केलाउँदा :

हामीले विशुद्द रुपमा १४०० देखि १८०० सम्म आधारित रहेर हेर्ने हो भने सतीप्रथाका बढिमा ४०० रिपोर्ट गरिएका घटना पाउन सक्छौँ अर्थात रिपोर्ट भएका र नभएका दुवै गरेर जम्माजम्मी ८००० घटना घटेको हुनसक्ने अनुमान गर्न सकिन्छ । १४०० ताका भारतको जनसंख्या नौ करोड ८० लाख रहेकोमा १८०० सम्म आइपुग्दा यो संख्या बढेर १४ करोड ४० लाख पुग्यो । त्यो चार शताब्दीको औसत जनसंख्याको आधारमा सतीको अनुमानित संख्याले कति महत्त्व राख्ला ?

सतीका अनुमानित संख्याको हिसाब गर्दै हामी ठ्याक्कै कति प्रतिशत विधवाहरू सती जाँदा रहेछन् भन्ने अनुमान लगाउने कोसिस गर्नेछौँ । आजको दिनमा भारतको औसत मृत्युदर १००० मा ७.३ रहेको छ । उहिलेका दिनमा चिकित्साशास्त्र आज जस्तो प्रभावकारी थिएन तब यो दर निकै बढी थियो । हामीसँग मान्यताप्राप्त तथ्यांकको अभाव भएकाले हामीले बर्सेनि ४.५ प्रतिशत जनसंख्या मर्ने गरेको अड्कल काटेका छौँ ।

सती (आत्मदाह)

यसको मतलब मृत्युदर १००० मा ४५ थियो । प्रतिवर्ष १४ करोड ४० लाखको ४.५ प्रतिशत अर्थात ६५ लाख मानिसको मृत्यु हुन्थ्यो । तीमध्ये बढीजसो बालबालिका हुने गर्दथे किनकी त्यसताका शिशु मृत्युदर अति उच्च थियो । यसका अतिरिक्त यसमा अविवाहितहरूको संख्या पनि उल्लेख्य हुन्थ्यो । जम्मा मृतकमध्ये १/६ त्यस्ता पुरुषहरू हुन्थे जो आफ्नो पछाडि विधवा श्रीमती छोडेर जान्थे । यस अनुमानलाई संख्याबद्ध गर्ने हो भने औसतमा बर्सेनि १० लाख महिलाहरू विधवा हुने गरेको देखिन्छ जसमध्ये जम्मा २० जनाले आत्मदाह गर्दथे ।

मृत्युदर ४.५% आजको दिनमा भारतमा यो दर ०.७३ % छ ।

औसत मृत्यु प्रतिवर्ष : ६,४५७,५००
विधवाहरू : १,०७६,२५० (छ भागमा एक भाग विधवा हुनेअनुमान गर्दा)
सतीका रिपोर्ट गरिएका घटना : ४००
रिपोर्ट नभएका घटना : ९५%
सती जाने अनुमानित संख्या : ८०००
प्रतिवर्ष अनुमानित सती : २०

९५ प्रतिशत घटना रिपोर्ट नहुने कुरालाई मध्यनजर गर्दापनि सतीप्रथा एकदमै विरल घटना भएको कुरा स्पष्ट छ । झन्डै ५०,००० मा एक जनामात्र सती जाने गर्दथे । मृत्युदरलाई न्यून राखेर हेर्दा पनि तल देखाएजस्तै सतीप्रथाका घटनाहरू केही हदसम्म थोरै नै घट्ने गरेको स्पष्ट हुन्छ :

सरदर मृत्यु दर           सतीप्रथाका घटना
४%                          ४५,००० मा १
३%                          ३५,००० मा १
२%                          २४,००० मा १

९५ प्रतिशत घटना रिपोर्ट नहुने कुरालाई मध्यनजर गर्दागर्दै पनि मानौँ कसैले मेरो कुरामा असहमति जनाउँदै मलाई पर्याप्त मात्रामा रुढिवादी नभएको आरोप लगाउन सक्ला । त्यसैले रुढिवादको पराकाष्ठाको साख राख्नकै लागि भएपनि म सतीका झन्डै ९९ प्रतिशत अर्थात १०० मा ९९ घटना रिपोर्ट नभएको हुनसक्ने अनुमान लगाउँछु । औसत मृत्युदर ४.५ प्रतिशत मान्ने हो भने १०,००० मा एकजना भन्दा बढि विधवा सती नजाने गरेको देखिन्छ ।

यो तथ्यलाई अझ लम्ब्याएर हेर्दा पनि १८१५ देखि १८२८ सम्म इसाई धर्मप्रचारकहरूले प्रभावित
पारेको सरकारी तथ्यांकलाई साँचो मानेर हेर्दा पनि बंगालमा बर्सेनि ४०० मा एक जना विधवा मात्र सती जाने गरेको देखिन्छ ।

विश्लेषणमा निहित तथ्यहरू:

तथ्यांकलाई जुन हिसाबले विश्लेषण गरेपनि आउने निष्कर्ष उही अघिकै हो । सतीप्रथाका घटनाहरू विरलै घट्ने गर्थे । यी कुराहरूलाई थप परिप्रेक्ष्यमा राखि हेर्दा देखिने तथ्यहरू यसप्रकार छन:

  • ९५ प्रतिशत घटना रिपोर्ट नहुने कुरालाई आधार मान्दा वर्षमा ५०,००० विधवामा एकजना सती जाने गरेका
  • बेलायतमा वर्षेनी २०,००० मा एकजना महिलाले आत्महत्या गर्ने गरेका,
  • १०,००० मा एकजना अमेरिकी नागरिकले बन्दुक हिंसाको सिकार भई ज्यान गुमाउने गरेका,
  • ३५०० मध्ये एकजना पाकिस्तानी महिलाको प्रतिष्ठाको नाममा हत्या हुने गरेको,
  • भारतमा २४०० मा एकजनाको क्यान्सरका कारण मृत्यु हुने गरेको,
  • अमेरिकामा प्रतिवर्ष ३२ मा एकजना बालबालिका घरेलु हिंसाको प्रत्यक्षदर्शी बन्ने गरेका,
  • एट्लान्टिक दास ओसारपसारअन्तर्गत अफ्रिकाबाट अमेरिका र बेलायत लैजाने क्रममा छ जनामा एकजना दासदासीले ज्यान गुमाउने गरेका,
  • प्रत्येक छ जना अमेरिकी महिलाहरूमा एकजना आफ्नो जीवनकालमा बलात्कार वा बलात्कार प्रयासको शिकार हुन परेको,
  • प्रत्येक पाँचजना बेलायती महिलाहरूमा एकजना आफ्नो जीवनकालमा यौनजन्य हिंसाको शिकार हुन परेको ।

निष्कर्ष :

सबैखाले व्यवहारिक उपयोगका अभ्यासहरूमध्ये सतीप्रथा आफैँमा साह्रै अस्पष्ट छ । ब्रिटिस साम्राज्यवादी र इसाई धर्मप्रचारकहरू एकअर्काका कडा प्रतिद्वन्दी भएतापनि यस घृणित परम्परामाथि प्रकाश पारेर यसलाई सनसनीपुर्ण विषय बनाउन भने हातेमालो गर्ने निधो गरे ।

मनगढन्ते तथ्यांक प्रकाशित गर्नाले र त्यसपछि यस प्रथालाई उन्मूलन गर्न उनीहरूले बनाएका नियमहरूले दुवै समूहलाई भरपुर लाभ भयो । यति गर्नाले ब्रिटिस साम्राज्यवादिहरूलाई सभ्यताको रक्षा गर्ने नाममा भारतमा शासन जमाउने बहाना मिल्यो अनि अर्कातिर इसाई धर्मप्रचारकहरूले पनि धर्मपरिवर्तनको बजार चलाउन पाए ।

वास्तवमा ब्रिटिस उपनिवेश अघिका प्राय विदेशी लेखकहरूले नै त्यतिबेला आत्मदाहको अभ्यास निकै दुर्लभ रहेको बताएकोमा सतीप्रथाबारे तथ्यांक जम्मा पार्ने क्रममा ती आवाजहरूलाई नजरअन्दाज गरेर वर्षेनी १०,००० जना सती जाने गरेको भन्नेजस्ता मनगढन्ते तथ्यांक सार्वजनिक गरियो ।

हामीले यहाँ राखेका तथ्यांकहरूले यो दर्शाउँछन् कि भारतमा १२औँ शताब्दिपछि इस्लामको बर्चस्व बढ्दै गयो अनि उत्तरी भेगमा इस्लामी लडाकुहरूले शासन जमाउन थाले त्यसपछि सतीप्रथाका घटनाहरू ह्वात्तै बढ्न थाले । बंगालको हकमा पनि पुर्वी बंगालमा मुसलमानहरूले कब्जा जमाएपछि मात्र सतीका घटनाहरू रिपोर्ट गर्न थालियो ।

आजको दिनसम्म सतीप्रथाले गर्दा जतिको ज्यान गयो, त्योभन्दा बढी त बेलायत र पाकिस्तानमा क्रमश: आत्महत्या र प्रतिष्ठाको नाममा हत्याले गर्दा मारिन्छन् । अमेरिकामा हिंसाको सिकार भएर मर्ने महिलाहरूको संख्या पनि सती गएकाहरूको भन्दा बढी नै छ । उदाहरण- हरेक दिन औसतमा तीनजना महिला आफ्ना जीवनसाथी अथवा पुर्व जीवनसाथीका हातबाट मारिन्छन् ।

यसका बावजुद पनि ब्रिटिस राजले सतीलाई एक अकल्पनीय अनुपातको असाधारण अभ्यासको संज्ञा दिँदै यसलाई तत्काल खारेज गर्नु आवश्यक ठान्यो । सायद सती जानभन्दा त अब्राहमिक धर्मको धर्मगुरु बन्ने प्रक्रिया दुर्लभ थियो (पाँच करोडमा जम्मा एकजना मात्र बन्थे)। धन्न विगत १४०० वर्षमा यस क्रममा हल्का विराम लाग्यो नत्र भने हामी थप ७० धर्मगुरूसँग जुझ्नुपर्ने हुन्थ्यो ।

मैले मेरा परिवारका ठुलाबडाबाट एउटा रोचक किस्सा सुनेको थिएँ कि ईष्ट इन्डिया कम्पनीअन्तर्गत बंगालमा रहेका ब्रिटिस पुरुषहरू त्यहाँका जवान हिन्दु विधवाहरूलाई आफ्नो रखैल बनाउन चाहन्थे । रक्षकको खोल ओढेर तिनीहरू ती महिला र तिनका परिवारको कडा प्रतिरोधका बावजुद दुख कष्टबाट उद्दार गरिदिने नाममा उनीहरूसँग जबर्जस्ति विवाह गर्नेसम्म गर्थे ।

मैले यस विषयमा आफैँले खासै अनुसन्धान त गरेको छैन तर देखेसुनेको आधारमा भन्ने हो भने बंगालमा रहेका प्राय भारतीय मुलका अंग्रेजी समुदाय यस्तै सम्बन्धको नतिजा हुन् । जे जस्तो भएपनि ऋग्वेदको समयदेखि नै सतीप्रथा एक दुर्लभ प्रथाका रुपमा रहेको छ । भारतमा स्वतन्त्रता यता यसका ४० वटा मात्र घटना रिपोर्ट भएका छन् जसमध्ये अधिकांश घटना राजस्थानमा भएका छन् भनिरहँदा आश्चर्य नलाग्ला ।

यद्यपि १८०० यता सतीप्रथालगायत अन्य चलन जस्तै जातीय प्रणाली, दलित उत्पीडन, ब्राह्मणवाद, हिन्दु पितृसत्ता आदिलाई हिन्दु धर्म विरोधी तथा अन्य धर्मका प्रचारकहरूले प्रचारप्रसारको साधनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । हामीलाई आजको दिनसम्म हाम्रो ईतिहास र सामजिक पाठ्यपुस्तकबाट सतीका बारेमा जे जति थाहा छ, त्यतिलाई तिनको वास्तविक ऐतिहासिक सन्दर्भमा हेरिनुपर्दछ ।

सतीप्रथा एउटा बिर्सन लायक अस्पष्ट क्षण थियो र यो दुर्लभ पनि थियो । अति सिमित भुगोलका अति सिमित समुदायले मात्र मान्ने यस प्रथामाथि अचानक यसरी प्रकाश पार्दै हिन्दुधर्मलाई शर्मशार बनाउन, नियन्त्रणमा लिन अनि धर्म परिवर्तन गराएर आफ्नो धर्म लाद्ने हेतुले सनसनीपूर्ण बनाइयो ।

सम्बन्धित समाचार