सोमबार , भाद्र ३१, २०८१

काठमाडौँमा बग्ने सप्तमती नदी

सप्तमती नदी काठमाडौँ उपत्यकामा बग्ने सात नदीहरूको संयुक्त रूप हो ।

image

सप्तमती नदी

हालसम्म सप्तकोसी, सप्तगण्डकी नदीबारे त सबैले सुनेको वा पढेको हुनुपर्दछ । तर, यहाँ चर्चा गर्न लागेको सप्तमती नदीका बारे कमैलाई मात्र जानकारी हुन सक्दछ । सप्तमती नदी काठमाडौँ उपत्यकामा बग्ने सात नदीहरूको संयुक्त रूप हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बग्ने विभिन्न नदिहरू अन्तमा बागमती नदीमा मिलेर महामञ्जुश्रीले काटेको डाँडा चोभारको गल्छी भएर बाहिर जाने गर्दछ । यसरी बागमती नदीमा मुख्य ६ नदीहरू मिसिन आउने गर्दछन् । यी ६ नदीहरू र बागमती समेत गरी सात नदीहरूको संयुक्त रूपलाई नै सप्तमती भनिन्छ ।

ती सप्तमती नदीहरू कुन कुन हुन् त ?

१. बागमती:

बागमती नदी काठमाण्डौँ उपत्यकाको प्रमुख नदी हो । यस नदीको उद्गमस्थल शिवपुरीको उत्तरी भेगमा अवस्थित बागद्वार हो । यस नदीमा पर्न आउने प्रमुख तीर्थस्थल पशुपति क्षेत्र, राजतीर्थ हो ।

२. विष्णुमती:

काठमाडौँ उपत्यकाको दोश्रो ठूलो नदीको रूपमा विष्णुमती रहेको छ । यस नदीको उद्गमस्थल शिवपुरीको दक्षिण भेगमा अवस्थित विष्णु पादुका हो । यस नदीमा पर्न आउने प्रमुख तीर्थस्थल शोभा भगवती र चिन्तामणी तीर्थ (टेकुदोभान) हो ।

३. इक्षुमती:

सामान्य बोलीचालीको भाषामा टुकुचा खोला भनेर चिनिने नदीको वास्तविक नाम इक्षुमती हो । यस नदीको उद्गमस्थल शिवपुरी जलाधार क्षेत्र हो । यस नदीमा पर्न आउने प्रमुख तीर्थस्थल कालमोचन तीर्थ हो ।

४. रुद्रमती:

सामान्य बोलीचालीको भाषामा धोबीखोला भनेर चिनिने नदीको वास्तविक नाम रुद्रमती हो । यस नदीको उद्गमस्थल शिवपुरीको दक्षिणपूर्वी क्षेत्र हो । यस नदीमा पर्न आउने प्रमुख तीर्थस्थल सहोदर तीर्थ हो ।

५. मणिमती:

सामान्य बोलीचालीको भाषामा मनहरा नदी भनेर चिनिने यस नदीको वास्तविक नाम मणिमती हो । यस नदीको उद्गमस्थल मणिचुड पर्वत (बज्रयोगिनीको डाँडा) हो । यस नदीमा पर्न आउने प्रमुख तीर्थस्थल शङ्ख तीर्थ (शंखमुल/रुद्रधारा) तीर्थ हो ।

६. हनुमती:

सामान्य बोलीचालीको भाषामा हनुमन्ते खोला भनेर चिनिने नदीको वास्तविक नाम हनुमती हो । यस नदीको उद्गमस्थल बागेहिटी, बागेश्वरी हो । यस नदीमा पर्न आउने प्रमुख तीर्थस्थल विराघाट तीर्थ, हनुमानघाट हो ।

७. प्रभामती:

सामान्य बोलीचालीको भाषामा नख्खु खोला भनेर चिनिने नदीको वास्तविक नाम प्रभामती हो । यस नदीको उद्गमस्थल गुप्तेश्वर क्षेत्र हो । यस नदीमा पर्न आउने प्रमुख तीर्थस्थल जय तीर्थ हो ।

(स्रोत : जीआर रञ्जित /किंवदन्तीमा भक्तपुर)

सम्बन्धित समाचार