‘आफ्नो दिन आएको बेला सबैले सहयोग गर्छन् । बलेको आगो सबैले ताप्ने हो । अहिले सबैतिर हाइ-हाइ छ । सबैले डाक्छन् । आफ्नो परिश्रमपूर्ण दिनमा भने यसरी बोलाउने कमै थिए ।‘ समाजको अनुहार सानैबाट पढेका उनी घरी-घरि गम्भीर कुरा जोड्छन् ।
‘संसारमा कुनै समस्या नभएको मान्छे को होला ? एकजना रहेछ, तर ऊ घाटमा जल्दै छ ।’ सामाजिक सञ्जालकाे भित्तातिर कतै भेटिएको यस भनाइले ‘जीवन रहुन्जेल मान्छेलाई कुनै न कुनै किसिमको समस्या भइरहन्छ’ भन्ने कुरा पुष्टि गर्छ । मिहिनेत गर्ने मान्छेले र हरेक समस्यामा रमाउने या भनौँ त्यसलाई अवसरको रूपमा लिनेले जीवनमा दु:खी भने हुनपर्दैन । आफ्नो एक-एक दिनलाई कडा परिश्रमले खनजोत गरेर त्यसमा आफ्नो पसिनाको सिंचाई गरेर मिठो फल पाइरहेका मिहिनेतीहरू हाम्रै वरिपरि हुन्छन् । ‘स्वदेशमा केही छैन’ भन्दै विभिन्न बहाना बनाएर अर्काको देश जानेहरूलाई परदेशमा पैसाको बोट हुँदैन भन्ने कुरा सायद थाहा हुँदैन । त्यति नै परिश्रम आफ्नै देशमा गरेर, आफन्त साथीभाइसँग बसेर आनन्दको जीवनयापन गर्न सकिन्छ ।
हजारौँ/लाखौँ मानिसका हजारौँ/लाखौँ कथामा ‘सन्ते लामा’को सङ्घर्षपूर्ण जीवन कथाले म भित्र एक किसिमको ऊर्जा भरिदिएको छ । यस्तै कथाहरूमध्ये कुनै नामुद कथाकारले शब्दमा बुनेको एक सुन्दर कथा जस्तै छ ‘सन्ते लामा’को कथा ।
बुढानिलकण्ठ तारेभिरका (पहिलाको बालुवा अहिलेको गोकर्णेश्वर नगरपालिका) सन्ते कक्षा २ सम्म मात्र विद्यालय जान पाए । तर, उनले जीवन अध्ययन गर्न पाए, समाजको अनुहार पढ्न पाए, अभावका पुस्तकहरू पल्टाए, भरे आफ्नो जीवनरूपी कापीमा परिश्रमका अक्षरहरू र पाए खुसीको सर्टिफिकेट-सुखको मार्कसिट ।
९/१० वर्षको कलिलो उमेरमै उनी गाउँबाट आफूभन्दा भारी दाउराको भार बोकेर बौद्धसम्म आउँथे । विद्यालय छोडेर ४० रुपैयाँ पर्ने सो दाउराको भारमा उनले आफ्नो बाल्यकाल बेचिदिए । चरम आर्थिक अभाव भोगिरहेको उनको परिवार ०६१ सालमा बुवाको निधन पश्चात् अझ असहाय भयो । सन्तेको बालख काँधमा जिम्मेवारीको गह्रुङ्गो भारी थपियो । त्यसैले उनले घर छोड्ने निर्णय लिए र घरमा आमा र दुई बहिनीलाई छोडेर स्वयम्भूतिर आए ।
उनका दाइ स्वयम्भू तिरै रेस्टुरेन्टमा काम गर्थे । त्यसैले उनी करिब १२ वर्षको हुँदा रोजगारीका लागि स्वयम्भू प्रवेश गरेका हुन् । पहिला उनी घरमा काम गर्नका लागि भनेर स्वयम्भू आएका थिए, तर कारणवश उनले त्यहाँ काम गरेनन् । स्वयम्भूको एक म:म पसलमा मसाल्चीको रूपमा उनको रोजगारी सुरु भयो । त्यहाँ उनले खाने-बस्ने सुविधा सहित महिनाको ५०० रुपैयाँ पारिश्रमिक पाउँथे । करिब ०६४ सालसम्म उनले मसाल्चीको काम गरे, काम सिके र ६६ सालबाट वेटरको काम सम्हाल्न थाले ।
१४/१५ वर्षकै उमेरमा उनी प्रेममा परे । ०६५ साल, १६ वर्षको उमेरमा उनले प्रेमलाई विवाहको रूप दिए । जिम्मेवारी अझै थपियो । तर, दुःखले मानेको थिएन, अझै केही घट्नै बाँकी थियो । ०६५ सालमै उनकी आमाले अर्को विवाह गरेर परिवार छोडेर गइन् । घरको जिम्मेवारीले अझ भारी भयो । अभावले उनलाई हम्मे-हम्मे बनाइरहेको थियो । सोही समयमा श्रीमती गर्भवती भइन् । पहिलो सन्तानको रूपमा उनको घरमा छोराको जन्म भयो । विगत सम्झिएर गर्वसाथ उनी मुस्कुराउँदै भन्छन् “यस्तै हो दाइ, जिन्दगी भनेको दुःख-सुख चलिरहने रहेछ”
‘काँधमा जिम्मेवारी थियो, भर्खरको केटालाई व्यापार गर्छु भन्दा ऋण पत्याउँदैन थिए’ उनी आफ्नो सम्झनाका पानाहरू पल्टाउँदै देखाउँछन् । करिब ६८ साल तिर उनी रन्थनिएर गाउँ गए, व्यापार गर्ने मन थियो । पैसा थिएन । बाउ बाजेको थोरै सम्पत्ति बाँकी थियो, त्यही ३ लाखमा बेचेर उनले आफ्नो पसल थापे । तर, उनलाई यसमा दुःख छैन किनकि त्यो पैसाले उनलाई अहिलेको स्थानसम्म उनलाई पुर्यायो । उनले आफूले काम गरिरहेको ‘मनाङे म:म पसल’का सञ्चालकलाई नराम्रो नलागोस्, चित्त नदुखोस् भनेर पहिला आफ्नो पसल ठमेलमा खोले । किनभने आफ्नो सफलताको श्रेय उनी आफ्नो पहिलो साहुलाई दिन्छन् । उनैले गर्दा आज यो स्थानमा पुगेको उनी बताउँछन् । उनले माया गरेर काम सिक्ने मौका दिएका थिए ।
सोही रेस्टुरेन्टमा काम गर्दा उनले कस्टमर(पाहुना) सँग राम्रो सम्बन्ध बनाए । उनी ५ जनाले गर्ने काम एक्लै गर्थे । निकै परिश्रम गर्ने, कस्टमरसँग मिजासिलो व्यवहार गर्ने गर्दा-गर्दै एउटा सम्बन्ध स्थापित भइरहेको रहेछ । कस्टमरले उनलाई धेरै रुचाउने उनैलाई खोज्ने गर्न थालेका थिए । उनी भन्छन् “अहिले पनि पहिलाका ग्राहकले यो पहिलाकै त्यही भाइ हो भन्ने सोच्छन् र त्यस्तै मिठो व्यवहार गर्छन् ।” तर, ठमेलको पसलमा भने जस्तो भएन । पसल नचलेर लगानी डुब्ने डर भयो । बेचेर आएको बाउ-बाजेको सम्पत्ति बालुवामा पानी खन्याए जस्तो हुने भयो ।
६९ साल तिर उनले म:म चाउमिन आदि राखेर अर्को पसल (९ -१० जना अट्ने) स्वयम्भू चोकमा सञ्चालनमा ल्याए । यसमा श्रीमतीको साथ पनि थपियो, जीवन सजिलो हुँदै गयो । कस्टमरसँग सम्बन्ध उनले बनाइसकेका थिए । उनको खाजाले लोकप्रियता कमाउँदै गयो र बिस्तारै ठाउँ सानो हुँदै गयो । त्यसैले उनले आफ्नो पसल सारे । भूकम्पसम्म सोही स्थानबाट चलाए । व्यापार राम्रो भयो, भूकम्प पछि घर चर्कियो र मान्छेहरू आउन डराउन थाले । त्यसपछि आफ्नो बचत र फाइन्यान्सको सहयोगमा उनले ७२ सालको असोजमा हाल भएको ठाउँ भन्दा अगाडि रहेको रेस्टुरेन्ट किने र चलाउन थाले । व्यापारमा अझ वृद्धि भयो । मान्छेहरू पनि धेरै अटाउने हुनाले सजिलो भयो । जिन्दगी राम्रो भयो । त्यही पसल राखेपछि उनले ठुलो भर्याङ्गमा जग्गा समेत खरिद गरे ।
अहिले गुन्द्री भएको ठाउँ उनले १० वर्षे सम्झौता अन्तर्गत लिएका हुन् । उनले ०७२ साल देखि ०७८ सालसम्म पुरानो स्थानमा पसल चलाए र ०७९ सालमा हालको ठाउँमा सारेका हुन् । उनले आर्थिक सहयोगका लागि व्यक्तिसँग भने कहिल्यै गुहारेनन् । संस्थासँगै कारोबार गरे । ‘सानैबाट फाइन्यान्स सञ्चालकले चिनेको भएर सहयोग भयो, उनले सानैबाट दुःख गरिरहेको देखेका थिए” भन्दै उनलाई धन्यवाद पनि दिन्छन् ।
अहिले ३१ वर्ष पुगेका उनको १४ वर्षको छोरा र उनको ८ वर्षकी छोरी छिन् । नेपालमा गरेकै परिश्रमबाट उनले राजधानीमा घर मात्र बनाएका छैनन्, गाडी पनि चढेर हिँड्छन् । आफ्नो कामलाई माया गर्ने उनी म:मका लागि मासु छान्न आफैँ जान्छन् । त्यसलाई आवश्यक पर्ने सामाग्री लिन कालीमाटी तरकारी बजार आफैँ धाउँछन् । किमा आफैँ तयार गर्छन् ।
मनाङे म:म पिरो हुने भएकाले गुन्द्रीको म:मलाई पिरो म:म भनेर समेत चिन्ने गरिएको छ । पहिला म:म नै पिरो हुन्थ्यो तर समय अनुसार परिवर्तन गरेर अहिले पिरो अचारमा राखिएको छ । म:म चाउमिन, ससेज, लेग पिस, माछा आदि उपलब्ध भएको उनको पसलमा सफ्ट ड्रिंक्स मात्र पाइन्छ । मादक पदार्थ आफू पनि सेवन गर्दैनन्, आफ्नो पसलमा समेत राखेका छैनन् ।
उपत्यकाका भक्तपुर लगायतका विभिन्न ठाउँबाट मान्छेहरू उनको म:मका लागि आउँछन् । उनी आफ्नो यो लोकप्रियता कायम राख्न आफैँ भान्सामा खट्ने गर्छन् । उही स्वाद निरन्तरताका लागि आफैँ लागिपर्छन् । ‘विदेश गएका विद्यार्थीहरू नेपाल फर्किएको दोस्रो दिनमै मेरो म:म पसलमा आउने गरेका छन्’ ग्राहकको माया पाएका उनी दङ्ग पर्दै सुनाउँछन् ।
‘आफ्नो दिन आएको बेला सबैले सहयोग गर्छन् । बलेको आगो सबैले ताप्ने हो । अहिले सबैतिर हाइ-हाइ छ । सबैले डाक्छन् । आफ्नो परिश्रमपूर्ण दिनमा भने यसरी बोलाउने कमै थिए ।‘ समाजको अनुहार सानैबाट पढेका उनी घरी-घरि गम्भीर कुरा जोड्छन् । अभाव नै मान्छेको सबैभन्दा ठुलो गुरु हुँदो रहेछ । कुनै बेला आफूले प्रेम गरेर ल्याएकी श्रीमतीलाई साथमा राख्न नसकेर माथि (तारेभिर) घरमा राखेका थिए । उनी बल्लतल्ल छुट्टी मिलाएर महिना दिनमा १ पटक आफ्नो प्रेम भेट्न जान्थे । सो दिनको काम सकाएर साँझको गाडीमा उनी घर पुग्थे । बचत गर्ने बानी नभएका उनलाई श्रीमतीले नै बचत गर्ने बानी बसालिदिएकी हुन् । उनी भन्छन् “मैले मिहिनेत मात्र गर्न जाने, अहिले पछाडि फर्केर हेर्दा म कसरी यहाँ सम्म आएँ हुला जस्तो लाग्छ ।’
कोरोना महामारीको समयमा भएको पहिलो लकडाउनमा उनले आफ्नो व्यापार बन्द गरे तर दोस्रो लकडाउनमा व्यवहार मिलाउन गाह्रो हुन थाल्यो र सुरक्षित रूपमा प्याकिङ खाना बेचेर उनले आफ्नो दैनिकी चलाए ।
नेपालमा प्रशस्तै सम्भावना देख्ने उनी भन्छन् ‘विदेश जाने भनेको समुद्र र जहाज हेर्न जाने हो । गर्नेलाई नेपालमै छ । नेपाल भरिपूर्ण छ । स्वदेशमा आफन्त छन्, आफ्नो सुन्दर संस्कृति छ । विदेशमा के छ ? मिहिनेत गरे यहीँ सुखमय जीवन बिताउन सकिन्छ । अमेरिका लगायतका देशमा गएर कमाउने पैसा पनि यहीँ कमाउन सकिन्छ तर गर्न सक्नु पर्यो । आफूमा विश्वास गर्नु पर्यो अर्काको भर परेर हुँदैन ।’
आफ्नो सफलताका लागि आफूलाई काम सिकाउने आफ्नो साहु, कस्टमर, फाइन्यान्स तथा आफ्नी श्रीमतीलाई उनी कुराका बिच बेला-बेला सम्मान देखाइरहन्थे । उनी आफ्नो जीवन यात्रा पढेर कुनै एक जनाले मात्र भए पनि स्वदेश रोज्छ भने त्यो आफ्नो लागि गर्वको कुरा हुने बताउँछन् । आफ्नो परिश्रममा विश्वास राख्ने र अहिले निकै सफल हुँदा समेत सबैलाई सद्भावपूर्ण सरल व्यवहार गर्ने उनलाई सफलताको शुभकामना ।