काठमाडौं । चुनावमा पैसा बाँडेको आरोप लागेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले सुरक्षित रुपमा जनकपुर विमानस्थल पुर्याएको छ । उनी हवाईमार्गमार्फत् जनकपुरबाट काठमाडौं फर्किएका छन् ।
मतदाता प्रभावित पार्न पैसा बाँड्न थालिएको भन्दै प्रहरीमा फोन आएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीको टोली खटिएको थियो । मियाँ जनकपुरधामको बसपार्कस्थित होटल सीताशरणको ३०५ नम्बर कोठामा बसिरहेका थिए । मियाँले मतदाता रिझाउन पैसा बाँडेको आरोप लगाउँदै जनकपुर एमालेका कार्यकर्ताहरु उनी बसेको होटल घेराउ गरेपछि त्यहाँ तनावको स्थिति सिर्जना भएको थियो । सोहिकारण प्रहरी त्यहाँ पुगेर मियाँलाई सुरक्षा दिएको प्रहरीको भनाइ छ ।
। पैसा बाँडेको भनेर उजुरी आएपनि अनुसन्धानका क्रममा त्यस्तो कुनै प्रमाण नभेटिएको प्रहरीको भनाई छ । प्रहरीले होटलबाट निकालेको तस्बिर बाहिरिएपछि उनलाई पक्राउ गरिएको खबर फैलिएको थियो ।