बुधबार , मंग्सिर ५, २०८१

साझाको पुस्तक मेला : ५० पैसामा एउटा पुस्तक, आफ्नो प्रति सुरक्षित गर्नुस्

image

काठमाडौँ । पं. बद्रीनाथ भट्टराईको ‘अनुवादबाधनी’ नामक पुस्तकको मूल्य एक रुपियाँ मात्रै छ तर, तपाईंले ५० पैसा मात्रै तिरे पुग्छ । संस्कृत सिक्न चाहनेका लागि ‘अनुवादबाधिनी’ दुर्लभ पुस्तक हो । यति दुर्लभ पुस्तक यति सस्तोमा मूल्यमा ?  साच्चै यस्तै हो ? किताब त्यो पनि एक रुपैयामा ? अनि त्यसमा पनि पचास प्रतिशत छुट ?

तर, यो साँचो कुरा हो ।  साझा प्रकाशनले देशभरका आफ्ना कार्यालयमा राखेको पुस्तक प्रदर्शनीमा  ५० पैसामा पनि पुस्तक पाइन्छ । भाषासाहित्यका मात्रै होइनन्, साझा प्रकाशनबाट प्रकाशित ज्ञानविज्ञानका हरेक क्षेत्रका पुस्तक सस्तोमा बिक्री भइरहेको छ ।

May be an image of book

काजी रोशनको ‘मानसरोवरमा डुबुल्की मार्दा’ (विविध संकलन) को मूल्य तीन रुपैयाँ छ तर, तपाईंले एक रुपैयाँ ५० पैसा तिरे पुग्छ । वि.सं. १९८५ मा पहिलोपटक छापिएको  सुब्बा ऋद्धिबहादुर मल्लको ‘शर्मिष्ठा (पौराणिक उपन्यास)’ तपाईंले छुटसहित ९ रुपैयाँ २५ पैसामा पाउन सक्नुहुन्छ । यसैगरी शैलेन्द्र साकारको कविता छुटरहित ९ रुपियाँ ३० पैसामा पाउन सक्नुहुन्छ । हृदयचन्द्रका केही कथाहरूको मूल्य ३ रुपैया ५० पैसा रहेको छ, तपाईंले एक रुपैया ७५ पैसा तिरे पुग्छ । 

भीमनिधि तिवारीका ‘सामाजिक कहानीहरू’, बालकृष्ण समको ‘नेपाली कसरी शुद्ध लेख्ने?’, रामविक्रम सिजापतीको ‘भाषा शिक्षा’, कमलमणि दीक्षितको ‘एउटा अर्को बुइँगल’, भरतराज पन्तको ‘पञ्चदशिका’, वासुदेव त्रिपाठीको ‘नवपल्लव’, यदुनाथ खनालको ‘साहित्यिक चर्चा’जस्ता पुस्तक असाध्यै न्यून मूल्यमा किन्न पाइन्छ । यस्तै साहित्यिक पत्रिका ‘गरिमा’ ८० प्रतिशत छुटमा  प्रदर्शनमा राखिएको छ। १९९० सालपछि पुनर्मुद्रण नभएका कतिपय पुस्तक पनि प्रदर्शनी स्टलमा सस्तो मूल्यमा किन्न पाइन्छ । यस्ता पुस्तक पुनर्मुद्रण गर्ने सम्भावना निकै कम छ । पाठकहरूले आफ्नो प्रति सुरक्षित राख्नुमै भलाइ छ ।

May be an image of 2 people and book

भण्डारमा रहेका पुस्तक पाठकसम्म पुगोस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल बताउँछन् । “साझासँग पुस्तकहरू छन् तर, हामीले तिनलाई कोठामा थुनेर राख्यौँ, पाठकसामू पुग्न सकेन । अब यसैप्रकारका प्रदर्शनीहरूलाई निरन्तरता दिने हो भने पुस्तकहरू भण्डारमा थन्किएर रहनेभएन”, उनले भने ।

‘पाठकहरू आउने क्रममा बढोत्तरी भइरहेको उनले बताए । ‘दुई हजार रुपैयाँमा एक भारी पुस्तक पाइन्छ ’, उनले भने, ‘कतिपय पुराना किताब फेरि प्रकाशन हुने सम्भावना छैन। त्यसैले पनि लेखक/पाठकका लागि प्रदर्शनी एउटा अवसर हो ।’ 

May be an image of 1 person

साझाले वि.सं. २०६० सम्म मुद्रित पुस्तकहरूमा पचास प्रतिशत, २०७० सम्म मुद्रित पुस्तकहरूमा ३५ प्रतिशत, २०७१ पछी मुद्रित पुस्तकहरूमा ३० प्रतिशत छुट दिइरहेको छ भने ‘गरिमा’ मासिक पत्रिकामा ८० प्रतिशत छुट दिइरहेको सञ्चालक एवं लेखक सीता ओझाले बताइन् । “२०७९ वैशाख १ देखि १५ गतेसम्म केन्द्रीय कार्यालय (पुलचोक), भृकुटीमण्डप,प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका सबै शाखाहरू झापा,विराटनगर, धरान, राजविराज, जनकपुर, चितवन, पोखरा, बुटवल, दाङ, धनगढीमा विशेष छुटसहित पुस्तक प्रदर्शनी भइरहेछ” उनले भनिन् ।

साझा प्रकाशनले कोरोना महामारीअगाडिसम्म बर्सेनि बृहत् पुस्तक प्रदर्शनी गर्दै आएको थियो । विगत दुई वर्षदेखि प्रकाशनले पुस्तक प्रदर्शनी गरेको थिएन । 

भिडियो

Tags:

सम्बन्धित समाचार