फोहोरसँग खेल्दा, रहँदा सफाईकर्मीहरूमा रिस उठ्ने, घिन लाग्ने, आफैदेखि दिक्क लाग्ने, मनमा धेरै कुरा खेल्ने, राती निन्द्रा नपर्ने जस्ता मानसिक समस्याहरू अलवा स्वास्थ्यसम्बन्धि शारीरिक जटिलताहरू देखिएका छन्।
फोहोर अहिले विश्वव्यापी समस्या बनिरहेको छ । विश्वभरमा प्रत्येक दिन ३५ लाख टन फोहोर उत्पादन हुने कुरा विभिन्न अध्ययनले जनाएको छ । यसरी उत्पादन हुने फोहोरको ५५ प्रतिशत हिस्सा प्लाष्टिकजन्य तथा नकुहिने फोहोर रहेको छ । जसले वातावरण प्रदूषण बढाउनुको साथै पर्यावरण र जलवायु परिवर्तनमा असर गरिरहेको छ ।
जमिनको भू-भागका साथसाथै जलीय क्षेत्रमा पनि ठूलो असर पुर्याइरहेको छ । आफैँले उत्पादन गरेको फोहोरकै कारण मानव जीवन कष्टकर बनिरहेको छ । फोहोरले आममानिसको जीवन कति असर पारेको छ भन्ने कुराको उदाहरण खोज्न टाढा जानै पर्दैन, पछिल्लो समय देशको राजधानी काठमाडौं भित्रको फोहोर एक महिना मात्र नउठ्दा देखिएको सास्तीबाटै प्रष्ट हुन्छ । पछिल्लो समय समाचारका पृष्ठहरूमा छाएका ‘हैजा’का समाचारहरू यसै कुराको सूचक हुन् ।
काठमाडौं महानगर भित्र प्रत्येक दिन ४७९ टन ठोस फोहोरमैला उत्पादन हुन्छ । यसरी उत्पादन भएको फोहोर समयमै व्यवस्थापन भएन भने आम जनजीवन अस्वस्थकर हुन् पुग्छ । अस्वस्थकर हुनु महानगरको दैनिकी ध्वस्त हुनु हो ।
फोहोर कति छ थाहा छ, सफाईकर्मी कति छन् थाहा छैन !
नेपाल भरिका प्रमुख सहरहरूबाट प्रत्येक दिन औसत ११३५ टन र देश भरिबाट १४३५ टन फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन भएको ठोस फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकारले कर्मचारीहरू खटाएको हुन्छ ।
यसरी ठोस फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारी देशभरिमा कति छन् यकिन तथ्याङ्क भने छैन, तर पाँच हजार आसपास वा सो भन्दा बढी रहेको अनुमान गरिन्छ । कर्मचारीको यकिन तथ्याङ्क राख्न नसकिनुको कारण स्थानीय सरकारबाट ठोस फोहोरमैला व्यवस्थापन गर्ने टेन्डर लिएर फोहोर व्यवस्थापन गर्ने कम्पनीले कर्मचारीको यकिन तथ्याङ्क नदिनु हो ।
यस्ता कर्मचारी देशका ठूला सहरहरूमा धेरै रहेका छन् । काठमाडौं उपत्यकाभित्र मात्र करिब १,५०० कर्मचारी रहेको मानिन्छ ।
***
फोहोर उठाउने कर्मचारीको अनुभूतिबारे यस अगाडी “ओ फोहोर नभन्नुस् ! हाम्रो पनि मन छ, दुख्छ“ शीर्षकमा लेख प्रकाशित छ । आजको अंकमा ठोस फोहोर मैला व्यवस्थापन गर्ने कर्मचारीको स्वास्थ्य अवस्थाबारे बोलिने छ ।
काठमाडौं जिल्लाभित्र कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका विभिन्न ठाउँमा ठोस फोहोर मैला व्यवस्थापनमा खटिएका ५० जना सफाई कर्मचारीहरूको अनुभवको आधारमा यस अंक तयार पारिएको छ ।
फोहोरसँग खेलेर, फोहोर उठाउँदै अरूलाई स्वस्थ राख्ने काम (भलो काम) भएता पनि ठोस फोहोरमैला व्यवस्थापन गर्ने पेसाले सम्मान पाउन सकेको छैन । फोहोर उठाउँदा, फोहोरसँग रहँदा आफू पनि फोहोर हुने हुँदा अन्य मानिसहरूले आफूलाई देख्यो कि मुख बिगार्ने, सबैभन्दा खराब काम गर्ने भनेर हेप्ने, फोहोरलाई जस्तै व्यवहार गर्ने गर्दा मन दुख्ने कुरा कर्मचारीहरू बताउँछन् ।
बिहानीपाख त्रिपुरेश्वर क्षेत्रमा फोहोर उठाइरहेका एक कर्मचारी भन्छन्, “पढेका र ठूला मान्छेले भन्दा राम्रो काम गर्या छुम । अरूलाई बिरामी हुन नदिने काम हामीले गर्या छुम । तैपनि हेप्दिन्छ यो मान्छेको जात ! मन नमजैले दुख्दछ नि ।”
अर्का कर्मचारी थप्छन्, “काठमाडौंमा दुई दिन फोहोर उठेन कि भ्वाक्कै गाली गर्छ यहाँको मान्छे तर, फोहोर उठाउने मान्छे बिरामी भएर दुई हप्ता नउठ्दा पनि खोज्दैन त हाओं ! हामीहरूले फोहोर नउठाइदियो भने त मर्छ हो यहाँको मान्छे । यति हुँदा नि हामीलाई पो हेप्छ र पो त !”
यसरी हेर्दा फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरूको शारीरिक अवस्था तथा फोहोरसँगको उनीहरूको सानिध्यता देखेर हेपेको देखिन्छ ।
फोहोर आफैँमा रोग र रोगजन्य कारणको भण्डार हो । उक्त फोहोरसँग नजिकिनु अगाडि फोहोरको कारण आइपर्ने समस्याहरूबाट बच्न विभिन्न उपायहरू अपनाइनु पर्छ । तर, फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीहरूमा फोहोर उठाउनु वा व्यवस्थापन गर्नु अगाडि अपनाउनुपर्ने सुरक्षाको उपायबारे पूर्ण जानकारी छैन ।
सामान्य जानकारी भएता पनि साधन र स्रोतको अपर्याप्तता, उपलब्ध साधन स्रोत प्रयोग गर्न झन्झट मान्ने बानी, प्रयोग गर्ने तरिकाबारे विशेष जानकारीको कमी, सुरक्षाको साधन किन अपनाउने वा प्रयोग गर्ने भन्ने कुराको अर्थपूर्ण जानकारी नहुँदा सफाई कर्मचारीहरू नै उक्त ठोस फोहोरमैलाको कारण रोगबाट सङ्क्रमित भएका छन् भने कोही सङ्क्रमित हुन सक्ने देखिन्छन् ।
ठोस फोहोरमैला व्यवस्थापन गर्नु अगाडि लगाउनुपर्ने पोसाक (जस्तै: मास्क, पञ्जा, टोपी, बुट, कोट) नलगाउने, टिटिको खोप नलगाउने, नियमित स्वास्थ्य जाँच नगर्ने, शारीरिक सरसफाइमा ध्यान नदिने,अस्वस्थकर खानपिन व्यवहार उनीहरूमा बढी देखिन्छ । दिनभर फोहोरमा काम गर्यो साँझ जाड, रक्सी खायो र सुत्यो । यतिमै उनीहरू सीमित देखिन्छन् । पोसिलो खाने कुरा बारे खासै जानकारी नभएका उनीहरूले बजारमा सस्तो पाउने साग सब्जी र मासुको सेवन बढी गर्ने गरेको देखिन्छ ।
यस्ता उल्लेखित व्यवहारले उनीहरूको स्वास्थ्यसम्बन्धि जटिलता बढाउँछ । फोहोर उठाउनु अगाडि मास्क पन्जा बुट किन लगाउनु हुँदैन भन्ने प्रश्नमा उनीहरूको जवाफ छ, “लगाए नि के गर्नु, काम गर्न अप्ठेरो हुन्छ, झन्झट हुन्छ ।”
खाली हात खुट्टाले फोहोर छुँदा रोग लाग्ला नि भन्ने प्रश्नमा सटिक जवाफ दिन्छन्, “आयु हुन्जेल वायुले छुँदैन हो गाँठे ! अब त मान्छे नि बानी पर्यो, ज्यान पनि बानी पर्यो । पचाउँछ सानातिना घाउ खटिरा र रोग त !”
यसरी हेर्दा ठोस फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीहरूमा स्वास्थ्य साक्षरता र स्वास्थ्य शिक्षा कमजोर देखिन्छ । उनीहरूलाई स्वस्थ राख्न स्वास्थ्य साक्षरता र स्वास्थ्य शिक्षा बढाउन महानगरले पहलकदमी चाल्नु अत्यावश्यक छ ।
नेपाल सरकारले सबै नागरिकले सजिलै स्वस्थ उपचार पाउनु पर्छ भन्ने उद्देश्यका साथ स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्यो र देशभरी लागू गर्यो । पचास हजारसम्मको स्वास्थ्य बिमा हुने भनिएको यस कार्यक्रम काठमाडौं, भक्तपुर र ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भने भएको छैन । फोहोर उठाउने कर्मचारी धेरैजसो काठमाडौं बाहिरका छन् । उनीहरूलाई स्वास्थ्य बिमा कार्यक्रमबारे जानकारी नै छैन । फोहोर उठाउने कर्मचारीहरूमा धादिङ, नुवाकोट, काभ्रेका जनजाती मूलको बाहुल्यता बढी देखिएको छ ।
फोहोरसँग दिनहुँ पैठेजोरी खेलिरहँदा उनीहरूमा रोग लाग्ने सम्भावना आम मानिसको भन्दा धेरै रहन्छ तर बिडम्बना, उनीहरूको स्वास्थ्य उपचार सहजताको लागि स्वास्थ्य बिमाले छोएको छैन । फोहोरजन्य वस्तुसँग नजिक हुने यी कर्मचारीहरू रोगको पनि त्यतिकै नजिक हुने हुन्छन् । साथै आर्थिक अवस्था न्यून रहेका यी आफैले सजिलै स्वास्थ्य उपचार सम्म सक्दैनन् । अरूलाई रोगदेखि बचाउन लागि पर्ने यी कर्मचारीलाई रोगदेखि बचाउन स्वास्थ्य बिमाको दायरामा ल्याउन जरुरी देखिन्छ ।
गल्ली गल्लीमा गएर फोहोर उठाउँदै हिँड्ने यी कर्मचारीहरू भने देशको राजधानी भित्र नि: शूल्क स्वास्थ्य सेवा सम्म लिन सकिरहेका छैनन् । साँझपख फोहोर बोक्ने गाडीमा फोहोर मिलाइरहेका एक कर्मचारी भन्छन्, “गाउँमा सरकारी स्वास्थ्य चौकी यहाँ छ भनेर थाहा हुन्छ, सानो स्वास्थ्य चौकी हुँदा सजिलै जान पनि सकिन्छ । यहाँ त स्वास्थ्य चौकी कहाँ छ थाहा नै हुँदैन । सबै ठुला अस्पतालहरू छन् । कुन सरकारी, कुन प्राइभेट थाहा पाउनै मुस्किल पर्छ । फेरि हामी बसेको नजिक सरकारी अस्पताल छैन, खोज्दै कहाँ जानू ? मेडिकल नै जान्छौँ बिरामी परिहाल्यौ भने ।”
रिक्सामा फोहोर ल्याएर ट्रकमा खन्याइरहेका अर्का कर्मचारी थप्छन्, “चिनेको मान्छेको कोही छैन, सरकारीमा पालो पाउन नि धौं हुँदो र छ । ठुला अस्पताल छन्, कता हो कता पत्तै हुँदैन । पर्चा काट्न नि पैसा लाग्ने ! डाक्टरलाई देखायो औषधि किन्न बाहिर जा भन्छ । जानै पर्यो । फ्रीमा औषधि पाउने तरिकै थाहा हुँदैन क्यारी पो ल्याउनु ?”
यसरी हेर्दा ठोस फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरूलाई काठमाडौं भित्र कसरी र कहाँ नि:शुल्क स्वास्थ्य सेवा पाइन्छ भन्ने कुराको स्पष्ट जानकारी नै छैन । जसकाकारण उनीहरूले सरकारले दिएको नि:शुल्क स्वास्थ्य सेवाको भरपुर उपयोग गर्न पाएका छैनन् ।
फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरूको नियमित स्वास्थ्य जाँच हुनु पर्ने हो तर सो भएको देखिँदैन । नियमित स्वास्थ्य जाँच त धेरै परको कुरा, उनीहरूले प्राथमिक स्वास्थ्य सेवा पनि सहजै पाउँदैनन् । कानुन र सम्झौताअनुसार ठोस फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीहरूको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने व्यवस्था छ, तर सो लागू हुन सकेकै छैन ।
सामान्य खालका स्वास्थ्य समस्याहरू त केही नगरिकनै निको भएको कर्मचारीको अनुभव छ । सामान्य घाउ चोटपटक, ज्वरो, रुघाखोकी, जिउ दुख्ने, पखाला लाग्ने समस्याहरू आफै सन्चो हुन्छ ।
एक कर्मचारी भन्छन्, “जिउ बलियो भइसको अब त, त्यसैले दुई दिन बिरामी नभएसम्म मेडिकल खासै जाँदैनौ । प्रेसर, सुगर, यस्ता चेक त ठूलै बिरामी भए मात्र गर्ने हो, नत्र कहाँको चेक गर्नु ?”
ठोस फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीहरूलाई सम्भावित रोग तथा सङ्क्रमितबाट बच्न प्रोफाइलेक्सिस ( कुनै पनि रोग वा स्वास्थ्य समस्या बाट बच्नका लागि काममा जानू पूर्व दिइने औषधि) सुरक्षाको औषधि दिनु पर्ने हो । जस्तै, टिटि खोप, अन्य रोगका खोप तथा औषधि । साथै, उनीहरूको नियमित स्वास्थ्य जाँच गरि सो बारेको जानकारी लिनु पर्ने र मोनिटरिङ गर्नु पर्ने हो । तर, आक्कलझुक्कल समेत यसो गरिएको भेट्न मुस्किल छ।
फोहोरसँग खेल्ने कर्मचारीहरूमा आम मानिसको तुलनामा रोग सङ्क्रमणको सम्भावना बढी स्वतः हुन्छ । यसरी फोहोरसँगै खेल्दै गर्दा उनीहरूमा चोटपटक लाग्ने लगायत थुप्रै स्वास्थ्य समस्या देखिने गरेको छ । सिसा वा फलाम वा अन्य धारिला वस्तुहरूले हात खुट्टा काट्ने जस्ता समस्याहरू त सामान्य नै भए । यसका साथसाथै अन्य रोग तथा स्वास्थ्य समस्याहरू देखिने गरेका छन् :
१. पाचन प्रणाली सम्बन्धी समस्या
खान मन नलाग्ने, खानाको स्वाद हराउने, वाकवाकी लाग्ने, वान्ता आउने, जुका पर्ने, पखला लाग्ने, पेट देख्ने, कमलपित्त हुने, पेटमा चिसो पस्ने, अल्सर हुने, ग्यास्ट्रिक हुने ।
२. आँखा तथा छाला सम्बन्धी समस्या
आँखामा घाउ चोट लाग्ने, आँखा दुख्ने, रातो हुने, आँखा पाक्ने, छाला चिलाउने, छाला फुट्ने, छालामा दाना तथा बिबिरा आउने, छालामा दाग र दुबि देखिने, लुतो आउने, छाला पोल्ने ।
३. श्वासप्रश्वास सम्बन्धी समस्या
खोकी लाग्ने, घाँटी दुख्ने, घाँटी चिलाउने, दम बढ्ने, छाती दुख्ने, खकार जम्ने ।
४. मूत्र प्रणाली सम्बन्धी समस्या
पिसाब पोल्ने, पिसाब छिटो छिटो हुने ।
५. हाड जोर्नी तथा नसा सम्बन्धी समस्या
जिउ दुख्ने, ढाड दुख्ने, हात खुट्टा झमझमाउने, हड्डि खाइने आदि ।
साथै, फोहोरसँग खेल्दा, रहँदा रिस उठ्ने, घिन लाग्ने, आफैदेखि दिक्क लाग्ने, मनमा धेरै कुरा खेल्ने, अनेक चिन्ता लाग्ने, राती निन्द्रा नपर्ने जस्ता मानसिक समस्याहरू पनि देखिन्छन् ।
***
ठोस फोहोरमैलाको उचित व्यवस्थापन गर्नु कठिन कार्य हो । फोहोर आफैमा रोग र रोगको कारण बनिरहेको हुन्छ । घरमा जम्मा भएको फोहोर निश्चित समयभित्र उठेन भने हामीलाई घर नै गन्ध आउने हुन्छ । चोक र गल्लीको फोहोर नउठे आम मानिस नाक मुख थुन्दै हिँड्न थाल्दछन् । यसरी केही समय हामीलाई फोहोरको बाटो हिँड्दा त कठिन महसुस हुन्छ भने अब सोचौँ त हामी उत्पादन गरेको फोहोर उठाउने मान्छेको मनोदशा के हुन्छ होला ?
आम मानिसले उत्पादन गरेको ठोस फोहोरमैला उठाउने पेसा सजिलो पेसा भने होइन । यो पेसामा खटिएका कर्मचारीको सम्मान गर्न जरुरी छ । आम मानिसलाइ रोगबाट बचाउन रोगसँग पैठेजोरी खेलिरहेका यी कर्मचारीको स्वास्थ्यको चिन्ता सबैले गर्नुपर्दछ । ठोस फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा लिएको सम्बन्धित संस्था वा निकायले यस्ता कर्मचारीको स्वास्थ्य सेवा तथा स्वास्थ्य साक्षरता बढाउन विभिन्न पहल गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य बिमा जस्ता कार्यक्रमको विशेष प्याकेज सफाईकर्मीका लागि अत्यावश्यक बनिसकेको छ । नियमित स्वास्थ्य जाँच गरी उनीहरूमा देखिएको वा देखिन सक्ने स्वास्थ्य समस्या पहिल्याइ सो को निदान गर्नुपर्दछ । फोहोर व्यवस्थापन गर्ने कर्मचारीको स्वास्थ्यप्रति सम्बन्धित निकाय र आम मानिसले चासो राखेको खण्डमा सम्पूर्ण व्यक्ति स्वस्थपूर्ण जीवनयापन गर्न सक्ने कुरामा कुनै सन्देह भने रहने छैन ।
ठोस फोहोरमैला व्यवस्थापन गर्नुपर्ने कार्य आफैँमा कठिन र महत्त्वपूर्ण कार्य भएकाले सफाईकर्मीको सम्मान गरौँ ।