जीवन भनेको यात्रा हो या होइन त्यो मलाई थाह छैन तर, कुनै-कुनै यात्रामा भने जीवन भेटिन्छ । यात्रा सधैँ आफूले तय गर्न सकिँदैन । कहिलेकाहीँ परिस्थित या मानिसहरू भन्छन् नि डेस्टिनी, हो त्यो डेस्टिनीले हिँडाउछ । मैले भर्खरै गरेको एउटा यात्रा, एकजना साथीको भागको यात्रा थियो । यात्रा उसको थियो, यद्यपि त्यो डेस्टिनीले यात्री मलाई चयन गरेको थियो ।
ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले विभिन्न काम गरिरहेको भिटोफ नेपालले निकै अघि रुबी भ्यालीलाई गाउँ गन्तव्य रोजेको थियो । त्यसको अध्ययन र अवलोकन भ्रमणको चाँजोपाँजो भर्खर मिलेको थियो । मिति जान्न मन भए सर्दै-सर्दै आएर माघ १८ गतेबाट २० गते सम्मलाई तय भएको थियो । यो यात्रामा साथी चन्द्र तामाङ जाने तय थियो, तर कारणवश उनी जान पाएनन् । डेस्टिनी !
अन्ततः म जाने भए मसँग साथी राजेश पौडेल पनि जाने भन्ने भयो । तर अघिल्लो दिन सिट सङ्ख्या नपुग्ने भनेर उनलाई खिस्स बनाउनुपर्यो । नमज्जा लाग्यो । हामीले धेरै योजनाका खाकाहरू बनाइसकेका थियौँ । उनलाई निकै अप्ठ्यारो मान्दै मैले यो खबर गरेँ ।
सुनिराखेको नाम ‘रुबी भ्याली’ यात्रा गर्न पाउने कुराले मन झङ्कृत भइरहेको थियो । झोलामा सामानहरू र मनमा छटपटी भरियो । १८ गते बिहान ६ बजे सोह्रखुट्टेमा भेला हुने कुरा थियो । तोकिएको समयमै म त्यहाँ पुगे र भिटोफका अध्यक्ष गोपाल थापालाई भेटें । समय घर्किंदै थियो । पर्यटक प्रहरीलाई मैले खबर गरेँ, केही समयमै अन्य साथीहरू पनि भेला भए । यत्तिकैमा गोपाल थापाले ‘तपाईँको अर्को त्यो साथीलाई बोलाइएन, दुःख लाग्यो, मिल्छ भने बोलाउनुहोस्’ भने । तुरुन्तै फोन गरेर निन्द्रामा रहेका राजेशलाई कलङ्कीमा पर्खिन आग्रह गरेँ । राजेश पनि अकमकिँदै तयार भए । डेस्टिनी !
नेपाली समयको ६ बज्दा घडीमा ८ देखाउन थालेको थियो । मानिसहरू चाँडो जाऊँ- चाँडो जाऊँ भन्दै ढिलो गरिरहेका थिए । उता कलङ्कीमा छटपटी रहेका राजेशलाई म २ घण्टादेखि ५ मिनेटको समय मागिरहेको थिएँ ।
अब हिँडौ है ! अबेर पनि भयो क्यार !
सोह्रखुट्टे-कलंकी-कलंकीमा राजेश-मलेखु । मलेखु नै भन्दा पनि फुर्के खोला पुल नजिक हामी एकछिन् अडियौँ। ‘लोकल माछा खानुहोस् है’ होटेलकी सञ्चालकले व्यवसायको सबैभन्दा लोकप्रिय परिकारको प्रचार गर्न खोजिन् । ‘के को लोकल हुन्थ्यो, जनकपुरको माछा हो’ भन्दै समूहका केही व्यक्तिले सञ्चालकलाई विश्वासको मत दिएनन् । मेरो प्रभाव पनि सकियो र जिब्रोलाई चिया मात्र दिइयो ।
फुर्के खोला पार गर्दै गाडीहरू अघि बढे । अघि बताउन बिर्सेछु- ५ वटा गाडीमा हामी ४५ जना यात्रा गरिरहेका थियौँ । धादिङ बेसी-लपाङफेदी- खानियाबास प्रवेशद्वार अर्थात् किम्ताङफेदी-डुन्डुरे (तातो पानी)- आंखु खोला पार गरेर बोराङ-सेर्तुङबाट तल ओर्लिएर रुबी भ्याली वडा नम्बर ४ को चालिस गाउँ पुग्यौँ ।
सजिलै पुगियो होइन त ? सजिलै पुगिँदैन । ‘भीरको बाटो अप्ठ्यारो’ भन्ने गीतझैँ साँघुरा र पहिरोले आधाउधि पुरिएका बाटा छिचोल्दै यात्रा गर्नुपर्ने हुन्छ । त्यसमाथि अझ धुलो थपिन बाँकी नै छ । कतै-कतै त धुलोको आँधी नै सिर्जना हुन्छ । वाक्खुम् र बाख्खुम् !
तर ग्रामीण पर्यटनको लागि यात्रा गर्ने र ढलान गरिएका आनन्ददायी सडकमा हिँड्न पाउने भयो भने ग्रामीण भेगको मजा पनि त भएन । ठाउँ-ठाउँमा पहाडको छाती चिर्दै बगेका खोल्सा, बन्जी जम्प हानिरहेका झरना, बाटो बनेका खोला, डाँडामा कुनै चित्रकारले कोरेको सुन्दर चित्रझैँ बसेका गाउँ, गोठालाको दिन चर्न हिँडेका भेडा, मुटु छुने चिसो-चिसो हावाले हृदय पुलकित भएर आउँछ । मस्तिष्क दिव्य आनन्दले भरिन्छ । कुनै साहित्यकारहरूले यात्रा गर्दा हुन् त एक दुई पुस्तक तयार गरेर फर्किँदा हुन् ।
ग्रामीण भेगमा उपलब्ध या भनौँ उत्पादित स्थानीय खाना एक पटक त सबैले थप्ने गर्छन् । अँ ! साँच्ची कहालीलाग्दो भिरबाट यात्रा गुज्रिँदा मेरो मुटु चिसो भएर आएको थियो । एक दुई पटक त केही भगवान्को नाम समेत स्मरण गरेँ । मसँग यात्रा गर्ने अधिकांश व्यक्तिहरूले यस्ता किसिमका यात्रा या यो भन्दा कहालीलाग्दा भिर छिचोलिसकेका थिए । त्यसैले उनीहरू संयम थिए, यात्राको मजा लुटिरहेका थिए ।
बाटोमा चिया पिउँदै, थकाइ मार्दै यात्रा गर्दा रात परिसकेको थियो । एक ठाउँमा एक गाडी धुलोमा फसेर यात्रा अझ लम्बियो । केही व्यक्तिले बाटो र बाटो राम्रो नबनाएकोमा स्थानीय सरकारलाई दोषी बनाए । जे होस् दुःख-सुख चालिस गाउँ पुगियो । पाहुना आएको चाल पाउनासाथ स्वागत गेटमा हाम्रो पर्खाइमा बसेका स्थानीयले ताली बजाएर स्वागत गरे । तालीको साथमा माला, टिका, सगुन समेत प्रस्तुत गरे ।
चालिस गाउँको एक घर सबैको विश्राम स्थल बन्यो । त्यहाँ क-कसलाई कुन घरमा राखेर आतिथ्यता प्रदान गर्ने निधो गरियो । रात झमक्कै परिसकेको थियो, त्यसैले वरपरको दृश्यको अवलोकन त्यति मजाले गर्न पाइएन । यसको लागि रातलाई बिदा गर्नु आवश्यक थियो । रातलाई बिदा गर्न स्थानीय आतिथ्यता लिनु थियो । आँगनमा ठुलो मेस बनाएर पाहुनाहरूलाई राखियो र गुन्द्रुक, भट्ट अनि थोरै स्थानीय रक्सी स्वागत स्वरूप प्रदान गरियो । मुखहरू हल्लिए, घाँटीहरू भिज्न थाले ।
पाहुनालाई सम्बोधन गर्दै स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले त्यस ठाउँको बेलिबिस्तार लगाए (जुन म पछि अर्को एक लेख मार्फत बताउने छु) र हामीले गर्ने क्रियाकलापको बारेमा बताए । उक्त कार्यक्रममा सबैले आ-आफ्नो परिचय दिए ।
अनि ? अनि लोकल खसीको मासु, मार्सी चामलको भात, स्थानीय रूपमा उपलब्ध सब्जी र दालको स्वादिलो भोजन र खुट्टे खाटमा नुनु ।
१९ गते बिहान घाम झुल्किनु अघि नै स्वागत द्वारमा भेट भएर फ्यान्चेत गुम्बा रहेको डाँडा उक्लिने र हिमाल, डाँडाकाँडा तथा गाउँको मनोरमतामा हराउने सल्लाह थियो । स्थानीयले उक्त डाँडा उक्लिन ४५ मिनेट लाग्छ भने तापनि मलाई २ घण्टा लाग्यो । तर २ घण्टाको कसरत भने खेर गएन । डाँडाबाट देखिने सुन्दर सेर्तुङ गाउँ, मनमोहक हिमालको दृश्यले हृदयमा मिठो शान्ति प्रदान गर्यो । एकछिन् मलाई त्यो परिवेशमा हराउन मन लाग्यो । म हराएँ । वरिपरि गर्भमा रुवी लुकाएर बसेका डाँडा, डाँडापछाडि शानसँग उभिएका हिमाल, हिमाललाई चुमिरहेको सूर्यको किरण, सेर्तुङ गाउँको चुलोबाट निस्किरहेको एक मुस्लो दिन, डोकोमा दिनचर्या भरेर ओहो-दोहोर गरिरहेका निधार, सिरसिर सिरसिर चलिरहेको मन्द बतास……र, मन हुँदै सारा शरीरमा फैलिएको शान्ति ! शान्ति ! शान्ति !
अलार्म लगाएर ५ मिनेट निदाउन खोज्दा थाहै नपाइ १/२ घण्टा घर्किए जस्तै रुवीभ्यालीको मनोरमतामा हराउँदा-हराउँदै करिब ९ बजिसकेको थियो । अबको यात्रा भनेको सेर्तुङ गाउँसम्मको । लागौँ होइन त ?
रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ अन्तर्गत रहेको सेर्तुङ गाउँतिर पाइलाहरू अघि बढ्दै जान थाले । ढुङ्गाले बनेका आकर्षक घर, कतै जस्ता त कतै ढुङ्गाकै छाना, ग्रामीण जनजीवन नियाल्दै हामी निरन्तर ओरालो लाग्यौँ । साझा आँगन भएका घर, घरको आँगनबाट बाटो, बाटो छेउ स्वच्छ बगिरहेका खोल्सा छिचोल्दै यात्रा वडा नम्बर ३को कार्यालयमा गएर रोकियो ।
सेर्तुङमा हामीलाई स्वागत गर्नका निम्ति स्थानीयहरू कुरेर बसिरहेका रहेछन् । फूलमाला, टिका, सल्लोको धूप, प्वाङमा रक्सी राखेर विशेष स्वागत गरेपछि रुवीभ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङले त्यस क्षेत्रको बारेमा विस्तृत रूपमा बताए । उनको संस्कृति, आर्थिक, ऐतिहासिक तथा सामाजिक कुरा सुनेपछि हिमाललाई ब्याग्राउण्ड बनाएर केही सम्झनाहरू पोको पारियो ।
सेर्तुङको आतिथ्य पाइसकेपछि हामी चालिस गाउँ झर्न थाल्यौँ । गाउँमा हामीलाई भट्ट र ठोट्नेको साँधेको एक परिकार र कोदोको रोटी पर्खिरहेको थियो । स्थानीयले बताए अनुसार ठोट्ने भनेको सिम क्षेत्रमा पाइने एक किसिमको जडीबुटीजन्य झार हो । यसले पेट दुखेको निको हुने जनविश्वास रहेको छ । चिया पनि थियो है !
भुँडी भरिएपछि गफगाफ र गाउँ घुमघामतिर लागियो । खसीको कान पोलेर खान मेहनत गरियो । गाउँलेका रसिला कुराहरू ग्रहण गरियो । तिता-मिठा अनुभवहरू सुनियो । गणेश हिमाल आरोहणको समय, ट्रेकरको जीवन लगायत बढ्दो धर्म परिवर्तनसम्मका कुरा जान्न पाइयो ।
गफैगफमा बिहानको खाना खाने समय भइसकेको थियो । सिस्नु, स्थानीय गेडागुडी, अचार र भातले घिच्रो भरिएपछि कार्यक्रमतिर लागियो । भिटोफ नेपालले आयोजना गरेको ‘गन्तव्य रुवीभ्याली अध्ययन अवलोकन भ्रमण’को औपचारिक कार्यक्रम चालिस गाउँकै एक सार्वजनिक स्थानमा सुरु भयो ।
कार्यक्रममा अतिथिका सर-सल्लाह, बाचा-कसम, हाट्ट-हुट्टका बिच-बिचमा भइरहेको सांस्कृतिक नाचले दर्शकलाई टिकाइरहेको थियो । विभिन्न समूहको घोडचढी नाच , घाटु नाच, मारुनी नाच, मेन्दोमाया नाच र स्थानीय बालबालिकाको सुन्दर नाचले कार्यक्रमको माहौल निकै नै रोमाञ्चित बनाएको थियो । नाच्दा-नाच्दै-गाउँदा गाउँदै दिन बिदा भइसकेको थियो । अँध्यारोले रुवीभ्यालीको प्राकृतिक सुन्दरता ढाकेपनि सांस्कृतिक सुन्दरता भने ढाकेको थिएन ।
कोही नाची नै रहे भने कोही चिसोको औषधी लिनतिर लागे । चिसोको औषधी खाइ तातिएर आएका पुनः नाच्न थाले । औषधी-नाच ! औषधी-नाच ! थप औषधी-थप नाच ! एक थिर्काइ औषधी- एक गिलास नाच !
समयको मतलब नगरी, बिहान चाडै उठ्नु छ भन्ने ख्याल नगरी खुट्टा हल्लिरहे । गीत गुन्जिरह्यो । करिब १ बजे बिहान मैले चाहिँ बाघ घुराइ सुरु गरेँ । नाच्ने नाची नै रहेका थिए, कति बजे सुते सोधिएन ।
बिहान भएपछि दुई दिनमै मनमा बसेको गाउँलाई छोड्नु थियो । मन कटक्क भयो । कस्तो गजबको आतिथ्य ! आफ्नै घर छोडेर हिँडेझैँ न्यास्रो लाग्यो । तर जानु त थियो नै, त्यसैले पुनः भेट्ने वाचा गरेर खुट्टालाई जिउ बोकाएर हिँडियो ।
हातमा दिएको सगुनको रक्सी सुरुप्प पारेर । छोर्बहिनीले लगाइदिएको टिका थापेर, शरीर अघि बढ्यो, मन भने त्यतै-कतै छुट्यो । उताबाट मेरो मनले करायो ‘लौ है राम्रोसँग जानु !’ यताबाट मेरो शरीर चिच्यायो ‘ल है राम्रोसँग बस्नु, फेरी भेट्नुपर्छ ।’
अनि हल्लिरहे हातहरू ! हल्लिरहे हातहरू ! हल्लिरहे हातहरू !
र हल्लिरहेका हातपछाडि छुट्दै गयो चालिस गाउँ, सेर्तुङ र रुवीभ्याली !