बुधबार , मंग्सिर ५, २०८१

कति पुरानो जनकपुर ?

प्राचीन ग्रन्थहरुमा वर्णित र जनविश्वासमा रहेको मिथिला, जनक र विदेह, जनकपुरसंग यसरी जोडिएको छ, त्यसले यस्को प्राचीनताको संकेत गर्छ । तर गम्भीर अध्ययन र पुरातात्विक उत्खनन नभएसम्म जिम्मेवार दावी गर्न गाह्रो हुन्छ ।

image

जनकपुरको इतिहास कति पुरानो हो ? एउटा धर्मपारायण वैष्णव हिन्दूको निम्ती यस प्रश्नको कुनै अर्थ छैन । उनिहरु जनकपुर सीताको जन्मभूमि भएकोले यस्को अस्तित्व राम र सीताको जन्मदेखी नै मान्छन् । उनिहरुको निम्ती प्रमाणले कुनै अर्थ राख्दैन, विश्वास मात्र भए पुग्छ । जनक, सीता, राम आदि यस्तै मिथ पात्र हुन्, जस्को कुनै ऐतिहासिक साक्ष्य छैन र पौराणिक तथा महाकाव्यीय ग्रन्थहरुको आधारमा धर्मपारायण समुदायले उनिहरु थिए भन्ने विश्वास गर्छ । यो हिन्दू धार्मिकता भित्र मात्र छ, भन्ने पनि होइन । संसारका हरेक धर्ममा यस्तै मिथहरु कायम छ ।

यहाँसम्म कि ऐतिहासिककालमा समेत विकसित बौद्ध, जैन, क्रिस्चियन र इस्लामाका धर्मगुरुहरुका बारेमा उनका भक्तहरु यस्तो अविश्वनीय चमत्कारका कथाहरु रचेका छन्, त्यसले बुद्ध, महावीर, जिसस र मोहम्मद पैगम्बरहरु समेत मिथ पात्रहरुमा परिणत भइसकेका छन् । यद्यपि यिनीहरुको क्रियाकलापबारे चमत्कारको मिथहरु रहेपनि यिनीहरु ऐतिहासिक पात्रहरु हुन् भन्ने तथ्य पुरातात्विक र ऐतिहासिक उत्खननहरुले साबित गरी सकेका छन् । बुद्धको जन्मस्थली लुम्बिनी यस्तै प्रमाण हो । वेद र पुराणमा वर्णित समुदाय, भूगोल र तत्कालीन विविध समुदायहरुबारे तुलनात्मक अध्ययन गरि इतिहासकारहरु महाभारतकाल सम्मको ऐतिहासिकताको श्रृङखला जोडने प्रयत्न गरेका छन् । यसरी दक्षिण एसियाको प्राचीन इतिहास अधिकतम् इसापूर्व पन्द्रसय देखी इसापूर्व दुईहजार सम्म अनुमान गरिन्छ । केही धार्मिक आग्रह राख्ने बौद्धिकहरुले स्थानको आधारमा पात्रहरुको ऐतिहासिकता सिद्ध गर्न चाहन्छन् ।

तर तथ्यहरुले ती आग्रहहरुलाई खण्डित गरिदिन्छन् । रामको जन्मस्थली अयोध्या यस्तै एउटा मिथ आग्रह हो । तर ऐतिहासिक साक्ष्यहरु यस विश्वासीमतलाई मत खण्डित गर्छ । बौद्धकालमा हालको अयोध्याको नाम साकेत थियो र भारतमा मौर्यवंशको शासनको अन्तपछि पुष्यमित्र नामक राजाले शासनकेन्द्र पाटलीपूत्रबाट साकेतमा सारेर त्यसलाई अयोध्याको नामाकरण गरेको साक्ष्यहरु पाइन्छन् ।बौद्ध जातकहरुमा रामका पिता दशरथलाई काशीको राजा भनिएको छ । यसरी नै राम र सीताबारे जातकहरुमा फरक कथाहरु भनिएकाछन् । तात्पर्य के छ भने मिथ पात्रको ऐतिहासिकता सिद्ध गर्न कठिन छ । तर पनि प्रश्न यथावत्र छ : जनकपुर कति पुरानो ? यसको उत्तर मिथकीय आग्रहहरुलाई एक कुनामा थन्क्याएर ऐतिहासिक स्रोतहरु खोतल्नु सान्दर्भिक हुनेछ । आधुनिक जनकपुरको इतिहास सामान्यतः जानकीमन्दिरका संस्थापक सन्त सुरकिशोर दासलाई मान्ने गरिएको छ । तर ऐतिहासिक दस्तावेजहरुले हालको राममन्दिर र तत्कालीन रामजानकी मन्दिरका आदि पुरुष चतुर्भुज गिरीलाई सुरकिशोर दास भन्दा पहिले देखाउँछन् । यसबारे पछि यथास्थान चर्चा गरौँला ।

सबभन्दा पहिले जनकपुरको सबैभन्दा पुरानो ऐतिहासिक साक्ष्यको चर्चा गरौँ । हुन त प्राचीन ग्रन्थहरुमा वर्णित र जनविश्वासमा रहेको मिथिला, जनक र विदेह, जनकपुरसंग यसरी जोडिएको छ, त्यसले यस्को प्राचीनताको संकेत गर्छ । तर गम्भीर अध्ययन र पुरातात्विक उत्खनन नभएसम्म जिम्मेवार दावी गर्न गाह्रो हुन्छ । यद्यपी केहीवर्ष पहिले जनकपुरमा भेटिएका कालो पत्थरका मुर्तिहरु, महदैयामा पाइएका प्राचीन सिक्काहरु तथा जनकपुरका वरीपरीका कालो चिल्लो शिवलिङ्ग भएका महादेव मन्दिरहरुले यस शहरलाई प्राचीन बनाउँछन् । केही स्रोतहरुले छैठौँ शताब्दीमा भारतवर्षमा गुप्तवंशको शासन (हर्षबद्र्धनकाल)को एकीकृत साम्राज्य पतन भएपछि त्यस मातहतका कयौँ स्थानीय शासकहरुले आफूलाई स्वतन्त्र घोषित गरेका मध्येका अरुणाश्वलाई मिथिलाका शासक भनेका छन् ।

त्यतिबेला मिथिला गुप्तवंशी शासनको तीर भुक्ति (भुक्ति—प्रदेश)को एउटा शासकीय उपप्रदेश थियो । सन् ६७० तिर वाङ्ग ह्वेन त्से नामक एकजना चिनियाँ राजनीतिक प्रतिनिधि त्यतिबेला यस क्षेत्रमा भ्रमण गरेका थिए । अरुणाश्वको सेनाले वाङ्ग ह्वेन त्सेको सेनामाथी आक्रमण गर्यो । नेपाल मण्डल र कामरुपको सेनाको मद्दतले वाङ्गले अरुणाश्वमाथी जवाफी आक्रमण गरे र उनलाई पक्रेर आफूसंगै लगे । उनको उतै मृत्यु भयो । ‘मिथिलाके इतिहास’का रचयिता डा. राधाकृष्ण चौधरीका अनुसार चीनमा अरुणाश्वको शव गाडिएको ठाउँमा राखिएको शिलालेखमा उनलाई मिथिलाको राजाको रुपमा उल्लेख गरिएको छ । यद्यपि अरुणाश्व, मिथिला र जनकपुरको सम्बन्ध स्थापित गर्न थप अनुसन्धानको आवश्यकता छ । सामान्यतः जनकपुर सीताको पिता राजा शिरध्वज जनकको राजधानीको रुपमा प्रसिद्ध छ । यसको अहिलेसम्म सबैभन्दा पहिलो ज्ञात जानकारी हामी चौधौँ शताब्दीमा विद्यापतिको भूमरिक्रमण नामक रचनाबाट पाउँछौँ । तर रोचक के छ भने विद्यापति यस जनकपुरलाई विदेहको महाग्राम मान्दैनन् ।

उनले अहिेलेका जनकपुरबाट पाँचकोस पर दक्षिणमा विदेहहरुको गाउँ भनेका छन् । यद्यपि लोकमान्यतामा वर्तमान जनकपुर नै राजा जनकको महाग्राम रहेको चर्चापनि उनले गरेका छन् । सबभन्दा महत्वपुर्ण के छ भने भूपरिक्रमणमा जनकपुरका प्रसिद्ध पोखरीहरु गंगा सागर, विषहरि पोखरी (बिसहरा पोखरी), अरगजा आदि पोखरीहरुको उल्लेख गरिएको छ । यसअतिरितm जनकपुरभन्दा पाँचकोषमा धनुषा (धनुषाधाम) र परशुराम कुण्ड समेतको उल्लेख गरिएको छ । विद्यापतिको यस भूपरिक्रमणको सन्दर्भले जनकको राजधानी हो–होइन, भन्ने विवाद सृजना गरेपनि त्यतिबेला जनकपुरको अस्तित्व थियो र यो जनकको राजधानी (महाग्राम)को रुपमा प्रसिद्ध थियो भन्ने तथ्य त स्थापित हुन्छ नै ।

विद्यापतिको यस साक्ष्यपछिजनकपुरको नियमितरुपमा खोज्न सरल छ । विद्यापतिको यस साक्ष्यले के संकेत दिन्छ भने जनकपुरको अस्तित्व जनक र सीताको मिथिलाको रुपमा विद्यापतिभन्दा धेरैपहिले देखि नै थियो । आखिर कुनै ठाउँको प्रसिद्धि फैलिनमा समय त लाग्छ नै । यस दृष्टिले जनकपुरलाई हामी कम्तीमा सय–दुईसय वर्ष पछाडी लगेर बाह्रो शताब्दीसम्म त स्थापित गर्न नै सक्छौँ । यद्यपि एघारौँ शताब्दीमा सिमरौन गढमा स्थापित कर्णाटवंशी शासनकालका दस्तावेजहरुमा हालसम्म जनकपुरबारे चर्चा पाइएको छैन । यसबाट के स्थापित हुन्छ, भने कि यस भन्दा पहिले जनकपुर कुनै अन्य नामबाट परिचित थियो, कि त कर्णाटवंशी शासनकालमै जनकपुर जनकवंशको नगरीको रुपमा प्रसिद्ध हुन थाल्यो र यहाँ मेला लाग्न शुरु भयो । यो जनकको नगरी मिथिलाको प्रसिद्धि नै थियो कि रामानन्दी सम्प्रदायको प्रसारसंगै साधुहरु मिथिलाको खोजीमा जनकपुर आउन थालेको देखिन्छ । यसै क्रममा सबैभन्दा पहिले राममन्दिरका आदि महन्थ चतुर्भुज देखा पर्छन्, जस्लाई विजयुर गढीका सेनवंशी राजा इन्द्रविधाता सेनले सन् १७१७मा रामजानकी मन्दिरको निम्ती दानपत्र लेखेर दिएका थिए । दानपत्रमा सम्वत् ११२४ लेखिएको छ, र यसबारे नेपालको इतिहासकारबीच केही विवादपनि देखिन्छ । तर तुलनात्मक अध्ययन गर्दा यो फसली सम्वत् भएको देखिन्छ । फसली सम्वत् र इस्वी सम्वत्मा ५९३ वर्षको फरक हुन्छ ।

यस हिसाबले इन्द्रविधाता सेनको दानपत्र १७१७ ठहरिन्छ, र यो समीचीन पनि देखिन्छ । किनभने जानकीमन्दिरको आदिसन्त सुरकिशोर दासको प्रशिष्य (चौथो पुस्ता) राम दासलाईमानिक सेनले सन् १७२७मा दानपत्र दिएको पाइन्छ । यी दुई दस्तावेजहरुले चतुर्भूज गिरी र सुरकिशोर दास मध्ये को पहिले आए भन्ने प्रश्नको समाधान त गर्दैन, तर त्यतिबेला गिरीको राममन्दिर नै प्रसिद्ध रहेको जनाउँछ । त्यतिबेलाको स्रोतहरुका अनुसार वरीपरी साना कृषक बस्तीहरु रहेपनि जनकपुर केही साधुहरुको वसोवास भएको वन्यक्षेत्र रहेको तथा यहाँ रामनवमी मेला लाग्ने गरेको देखाउँछन् । केही स्रोतहरुले अहिलेको राममन्दिर सम्भवतः चौथो ढाँचा रहेको देखाउँछन् । इन्द्रविधाता सेनले राममन्दिर (तत्कालीन रामजानकी मन्दिर)लाई दानपत्र गर्नेबेला सम्भवतः त्यहाँ सामान्य मठपनि निर्माण गरेका थिए । किनभने शाहवंशी दस्तावेजहरुमा सन् १७८२ ई.मा राजा रणबहादुर शाहका जरनैल अमरसिं थापाले राममन्दिरको पुनर्निमाण गराएको उल्लेख गरिएको छ ।

स्रोतहरुले त्यतिबेला राममन्दिर चारतले निर्माण गरिएको थियो । सन् १८१४–१६ नेपाल–ब्रिटिस भारतबीचको युद्धपछि सन् १८२०मा यस युद्धबारेको एउटा रिपोर्ट (जर्नल अफ ए टूर थ्रू पार्ट अफ द स्नोई रेन्ज अफ द हिमालया माउन्टेन्स, एन्ड टू द सोर्सेज अफ द रीभर्स जमुना एन्ड गन्गेज, लेखक फ्रेजर जेम्स बेल्ली)मा रामजानकी मन्दिर ११५ यार्डमा फैलिएको वर्गाकार पर्खालहरुमा गुम्बद भएको चारतले मन्दिरको रुपमा उल्लेख गरिएको छ । मन्दिरको छानामा सुनको पाता भएको तथा चारवटै दिशामा ४७–४७वटा घन्टीहरु भएको भनिएको छ । त्यस रिपोर्टमापनि जनकपुरलाई धार्मिक र अन्य मन्दिरहरु तथा केही धेरै पुराना पोखरीहरु तथा केही नेपाली सेनाले सुरक्षाको निम्ती साना साना खाल्दो खनेको उल्लेख छ । (रिपोर्टमा जनकपुर नेपाली सेनाको बलियो चौकी भएको तथा रुपैठागढी र मटिहानी तिर सेना पठाइएको तथा महोत्तरीमा भिठ्ठा नजिक सीमा जोडिएका नेपालका क्षेत्रका जनताहरु दुइतर्फी युद्धको आशंकामा डराएर झन् दक्षिण भागेको उल्लेख गरिएको छ ।) तर वि.स.१९९० सालको महाभूकम्पको बेलाका राणाकालीन दस्तावेजहरुमा राममन्दिर दुईतले मात्र भनिएको छ । यस्को कारण सन् १८३३ र १८६६मा गएका दुईठूला भूकम्पहरु हुन् ।

सम्भवतः १८३३को भयावह भूकम्पमा राममन्दिर ढलेको थियो र त्यसपछिका शासकहरुले यसलाई पुनर्निमाण गरेर दुईतले बनाएको थियो । वि.स.१९९० सालको महाभूकम्पमा ढलेपछि वर्तमान एकतले मन्दिरको निर्माण गरिएको हो । जहाँसम्म राममन्दिरसंगै जोडिएको राजदेवी मन्दिरको प्रश्न छ, फ्रेजर जेम्सको रिपोर्टमा यस्को कुनै उल्लेख छैन, तरपनि यो यिनै अवधिमा कि त अमर सिं अथवा राममन्दिरको पहिलो पुनर्निर्माणको बेला निर्माण गरिएको हो । यो राजदेवी गोर्खाली सेना जनकपुरमा हुँदा कोतघर (हतियार राख्ने तथा शक्ति पूजा गर्ने स्थल वा गहवर) हुने बढी तर्कसंगत देखिन्छ । जनकपुरमा यस राजदेवीलाई राजा जनकको कुलदेवीको रुपमा बढी प्रचारित गरिएको पाइन्छ । यो ऐतिहासिक र तर्कसंगत देखिँदैन ।

एक त यो मिथमात्र हो, अर्को पुराणहरुमा राजा जनकको इष्टदेव महादेव छन् भन्ने उल्लेख छ । यसको पुष्टि सीताले इष्ट पुज्ने गह्वरमा शिवको धनुष एक हातले उचालेर लिपेको प्रसंग आउँछ । जनकपुरबारे एउटा तथ्य के हो भने जनकपुरमा बस्तीको विकास जनकको राजधानी मिथिलाको रुपमा र रामनवमी मेलाको प्रसिद्धि बाट नै भएको हो र क्रमशः धार्मिक साँस्कृतिक तथा राजनैतिक रुपमा समेत ऐतिहासिक रुपमा देशको एउटा प्रमुख नगरको रुपमा विकसित हुँदै आजको अवस्थामा आई पुगेको हो । निश्चय नै राजा शिरध्वज र सीता मिथ पात्र हुन् । तर पौराणिककालदेखी हालसम्म जसरी मिथिला र विदेह निरन्तर चर्चामा रहेको पाइन्छ , तथा वर्तमान जनकपुरलाई केन्द्रमा राखेर यस वरिपरि सीता र जनकसंग सम्बन्धित महाकाव्यीय स्थलहरुको चर्चा गरिन्छ, त्यसले वर्तमान जनकपुरलाई एउटा अति प्राचीन स्थलको रुपमा स्थापित गर्छ । यद्यपि जनकपुरको पुरातात्विक खोज र ऐतिहासिक अनुसन्धान हुनुपर्ने देखिन्छ । तर यसप्रति न त सरकार, न त कुनै अन्य निकाय नै गम्भीर र सक्रिय देखिन्छ ।

(- रोशन जनकपुरी, जनकपुर टुडे)

सम्बन्धित समाचार