आइतबार , अषोज २७, २०८१

कतै रोपाइँ जात्रा, कतै चोपाइ जात्रा : हिलोमा डुब्ने र डुबाउने परम्परा

काठमाडौं उपत्यका तथा देशका विभिन्न ठाउँमा मनसुन सुरु भएसँगै रोपाई जात्रा आयोजना गरिन्छ । यो जात्रा मनोरञ्जनको हिसाबले जति अहम् छ त्यति नै ज्ञानवर्धक पनि रहेको छ ।

image

काठमाडौं । हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।

यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा रोपाइँ जात्रालाई लिन सकिन्छ । काठमाडौं उपत्यका तथा देशका विभिन्न ठाउँमा मनसुन सुरु भएसँगै रोपाई जात्रा आयोजना गरिन्छ । यो जात्रा मनोरञ्जनको हिसाबले जति अहम् छ त्यति नै ज्ञानवर्धक पनि रहेको छ ।

नेवार संस्कृतिबाट सुरु भएको यो जात्रामा धान रोप्ने, असारे गीत गाउने, नाच्ने, हिलो खेल्ने आदि गरिन्छ । सहरमा हुर्की बढेका बालबालिकालाई रोपाइँ जात्रामा लैजानाले उनीहरूले कृषिको व्यावहारिक ज्ञान समेत प्राप्त गर्छन् । कृषि प्रधान हाम्रो देशमा यो जात्रा पछिल्लो समय निकै उल्लासमय तरिकाले मनाइन्छ । एक दिन छुट्ट्याएर रोपाइँ जात्रामा जाँदा माटोसँग नजिक हुने मौका समेत मिल्दछ ।

अहिलेको पुस्तालाई रोपाइँ संस्कृतिबारे जानकारी पनि यो जात्राले दिन्छ । जात्रामा विभिन्न किसिमका स्थानीय खानाका परिकारहरूको आनन्द लिँदै रस्साकस्सी, हिले दौड, हिलो छ्याप्ने लगायतका मनोरञ्जनात्मक खेलहरू समेत खेल्न सकिन्छ ।

यसरी माटोसँग खेल्दा मान्छेहरूले चिन्ता बिर्सिएर मानसिक रोगहरूसँग लड्ने हौसला बढ्ने चिकित्सकहरू बताउँछन् । साथै माटोसँग खेल्दा धेरै रोगहरू निको हुने विश्वास गरिन्छ ।

रोपाइँ जात्रालाई कर्णाली भेगमा विशेषगरि जुम्ला जिल्लामा ‘चोपाइ’ भनिन्छ । स्थानीय भाषा अनुसार चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । विवाह भएको अथवा छोरा जन्मिएको घरमा चोपाइ अथवा रोपाईंजात्रा मनाउने गरिन्छ । चोपाइको आयोजकले गाउँका सबै मान्छेलाई डाक्छन् ।

चोपाइ गर्दाको महत्वपूर्ण कुरा खेतको बिच गरामा पुल्ती राख्नु पनि हो । जसलाई कतै कोठा, कतै भकारी त कतै पोको भनेर चिनिन्छ । खास गरेर पुल्ती रोपाइँ गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखेपछि नव विवाहित वर वधू तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । र, तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ ।

पुल्ती राख्ने चेलीले दुबै हातमा बिउ लगेर पुल्ती वरिपरि नगराको तालसँगै नाचेर चोपाइको लागि नवविवाहित दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् । आमन्त्रण गर्ने बेलामा असारे गीत गाइन्छ । यसरी चोपाइको आमन्त्रण आएपछि गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउँछन् । धेरै ठाउँको रोपाइँ जात्रामा आयोजकलाई हिलोमा डुबाउने चलन रहेको पाइन्छ । जात्रा मनाउने तरिका भूगोल अनुसार फरक-फरक हुनसक्छ ।

आफ्नो खेत हुनेहरूले नजिकैका खेत नभएका इच्छुक साथीभाइलाई भेला पारेर पनि यो रोपाइँ जात्रा मनाउन सकिन्छ । यसरी आफ्नो खेतमा रोपाइँको काममा सहयोग पनि हुने र साथीभाइ तथा आफ्नो परिवारलाई मनोरञ्जन पनि हुन्छ । खेत नहुनेहरूले नजिकैको इष्टमित्रको खेतमा उनीहरूको मन्जुरी लिएर या सल्लाह गरेर पनि रोपाइँको आनन्द लिन सक्नेछन् । यसो गर्नाले एक आपसमा सद्भाव पनि बढ्छ ।

यसका अलावा सर्वसाधारणहरूले सार्वजनिक रूपमा आयोजना गरिएको रोपाइँ जात्रामा सहभागी भएर पनि आनन्द लिन सक्नेछन् । रोपाइँ जात्रा आयोजक अनुसार कतै स:शुल्क तथा कतै निःशुल्क आयोजना गरिएको हुन्छ ।

सम्बन्धित समाचार