विश्वव्यापी काेभिड-१९ महामारीबाट ध्वस्त भएकाे पर्यटनलाई पुनः ब्युँताउन पर्यटनमाथि नै पुनर्विचार गर्न आवश्यक रहेकाे भन्दै सन् २०२२ मा "रि-थिङ्किङ टुरिजम" भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाएको थियो । हामी चाहिँ पर्यटनलाई "रि-थिङ्किङ" गर्न पछि पो पर्दैछाैँ कि ?
“देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार एवम् प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय रूपमा नेपाललाई एक आकर्षक र भरपर्दो पर्यटन स्थलहरूको रूपमा विकसित गरेर राष्ट्रिय उत्पादन, विदेशी मुद्रा आर्जन र रोजगारीको अवसरहरूको सृजनामा अधिकतम वृद्धि गर्नका निमित्त नेपाल पर्यटन बोर्डको स्थापना गर्न र त्यसको कार्य सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौँ वर्षमा संसद्ले यो ऐन बनाएको छ ।”
नेपाल पर्यटन बोर्ड ऐन २०५३ को प्रस्तावना हो यो । संसद्बाट जारी यसै ऐनमा टेकेर सार्वजनिक निजी साझेदारीको माेडालिटीमा सन् १९९८ डिसेम्बर ३१ मा स्थापना गरिएको नेपाल पर्यटन बोर्ड गत शनिवार (डिसेम्बर ३१, २०२२) मा २४औँ वसन्त पार गर्दै २५औँ वर्षमा प्रवेश गरेको छ । साढे दुई दशक लामो यात्रा तय गर्दै गर्दा पनि बोर्डको औचित्यमाथि भने प्रश्न चिन्ह कायम छ । स्वयम् पर्यटन व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्थाका अगुवा एवम् सो क्षेत्रका विज्ञहरूले नै बोर्डको औचित्यमाथि प्रश्न तेर्स्याउने गरेका छन् ।
नेपाललाई एक आकर्षक पर्यटन स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने, देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने, पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी बढी भन्दा बढी रोजगारीका अवसरहरूको सृजना गर्ने, नेपाललाई सुरक्षित, भरपर्दो तथा आकर्षक पर्यटन स्थलको रूपमा विकसित गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई उच्च एवम् मर्यादित ढङ्गबाट स्थापित गर्ने, पर्यटकहरूलाई गुणात्मक सेवा प्रदान गर्न पर्यटन व्यवसायमा देखापरेका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउन आवश्यकताअनुसार कार्यमूलक अनुसन्धान गर्ने, गराउने र पर्यटन व्यवसायको विकासका लागि आवश्यक संस्थाहरूको स्थापना र विकास गर्न सघाउने लगायतका उद्देश्यहरू बोर्डको ऐनमा उल्लेख छ ।
तर, बोर्डले उद्देश्य अनुरूपका कार्यहरू गर्न नसकेको र यसको ऐन, नीति तथा नियम र कार्यशैली नसच्याए बोर्ड नै खारेज गर्नुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् । बोर्डले पर्यटन प्रवर्द्धनका नाममा राज्यको ढुकुटी रित्याउने काम मात्रै गरेको, पर्यटन र पर्यटन व्यवसायीको हितमा काम गर्न नसकेको उनीहरूको गुनासो छ ।
साहसिक जल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज (नारा)का अध्यक्ष शिव अधिकारी नेपालको पर्यटनलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्न सर्वप्रथम पर्यटन प्रवर्द्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डको सुदृढीकरण जरुरी रहेको बताउँछन् । नेपाल पर्यटन बोर्डमा चरम राजनीतिकरण बढेको उनको दाबी छ । अधिकारी भन्छन्, “नेपाल पर्यटन बोर्ड राजनीतिक दलका कार्यकर्ताहरूको भर्ती केन्द्र जस्तो भएको छ । यसको ऐन संशोधन गरेर गठन प्रक्रिया नै बदल्न जरुरी छ । होइन भने बोर्ड खारेज गर्दा पनि हुन्छ ।”
पर्यटन क्षेत्र नै नबुझेका व्यक्तिहरूलाई बोर्डमा नियुक्ति गर्ने, पर्यटन दूत बनाउने र विभिन्न बहानामा आफ्ना नजिकका मानिसलाई कर्मचारी भर्ती गर्ने गरेका कारण बोर्डले परिणाममुखी काम गर्न नसकेको अध्यक्ष अधिकारीको ठम्याई छ ।
पर्यटन बोर्डले आफ्नो मुख्य उद्देश्यभन्दा बाहिर गएर राजनीतिक दलका नेता कार्यकर्तालाई रिझाउन विभिन्न पूर्वाधारका कामहरू गर्ने गरेको उनको आरोप छ ।
“बोर्डको काम भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने हो, नेपाललाई चिनाउने हो, नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाका क्षेत्रहरूलाई पर्यटन बजारमा पुर्याउने हो”, अधिकारीले भने, “यसको काम बाटोघाटो, मन्दिर, प्रतीक्षालय, ट्रेकिङ रुट बनाउने होइन । पर्यटन पूर्वाधारमा निजी क्षेत्रले नै अरबौँ लगानी गरिसकेको छ । बाेर्डले व्यवसायीमैत्री वातावरण बनाइदिने हाे ।”
महँगो हवाई भाडा, प्रभावहीन प्रवर्द्धनात्मक गतिविधि, गुणस्तरहीन आतिथ्य सेवा, पर्यटन गतिविधिका लागि एकद्वार नीतिको अभाव, कमजोर भौतिक पूर्वाधार, आफ्नै उत्पादन पहिचान गर्न नसक्नु र पर्यटन प्रवर्द्धनका लागि उपयुक्त गुरुयोजनाको अभाव आदि नेपालको पर्यटन विकासका चुनौतीहरू रहेको अध्यक्ष अधिकारीले बताउँछन् । नेपाललाई साहसिक र खेलकुद पर्यटनको हब बनाउनतर्फ राज्य र सम्बन्धित निकायको ध्यान जानुपर्ने अधिकारीको भनाइ छ ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष नीमा नुरु शेर्पा नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनको शैलीलाई आधुनिकीकरण गर्नुपर्ने बताउँछन् । “अहिले हामी सूचना र प्रविधिको युगमा छौँ, पर्यटन बोर्डले पर्यटन मेलामा स्टल किनेर ब्रुसर, पर्चा, पाम्प्लेट बाँडेर हुँदैन । यो त ट्रेडिसनल मेथड भयो”, अध्यक्ष शेर्पाले भने, “ग्लोबल भिलेजको कन्सेप्टलाई बुझेर अब बोर्डले डिजिटल प्रविधिको प्रयोगमार्फत प्रचारमा जोड दिनुपर्छ, पर्यटन प्रवर्द्धनमा नयाँ रणनीतिको खोजी गर्नुपर्छ । यसो नगरिए पर्यटक भित्र्याउन सकिन्न ।”
पर्यटनसँग सम्बन्धित नीति नियमहरूलाई पनि परिमार्जित गर्दै जानुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ । तीन चार दशकअघि बनाएका नीति नियमले अब काम नगर्ने र तिनलाई वैज्ञानिक ढङ्गले संशोधन गर्नुपर्ने शेर्पा बताउँछन् ।
“अहिलेको विश्व चाइने छिटो परिवर्तन हुन्छ, हुँदै छ । अब हाम्रो पर्यटन क्षेत्र तीन चार दशक अघिको नीति नियममा चलेको छ । ती नीति नियमले अहिलेको समय र परिस्थितिको सम्बोधन हुन सक्दैन”, शेर्पाले भने, “नेपाल पर्यटन बोर्डको ऐन मा पनि संशोधनको खाँचो छ । समग्र पर्यटन क्षेत्रको हितलाई ध्यानमा राखेर ‘कमन इन्ट्रेस्ट’को आधारमा ऐन, नीति तथा नियमलाई परिमार्जन गर्नुपर्छ ।”
नेपाल पर्वतारोहण सङ्घकै निवर्तमान अध्यक्ष सन्तवीर लामा पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनको रणनीतिमा व्यापक परिवर्तन ल्याउनुपर्ने बताउँछन् । पर्यटन क्षेत्रमा पाँच दशक लामो अनुभव सँगालिसकेका लामाले भने, “अब विदेशी पर्यटन बजारमा गएर नेपालको पर्यटनको प्रवर्द्धन गर्ने होइन क्या, यो त असफल भइसक्यो । विदेशीलाई नेपालमा ल्याएर गर्ने हो । विदेशका पर्यटन व्यवसायी, चर्चित व्यक्ति, पत्रकार, डिप्लोम्याटिक पर्सनहरूलाई नेपालमा ल्याएर नेपाल र नेपालका पर्यटन गन्तव्यबारे ब्रिफिङ गर्नुपर्छ । यसो गरे पर्यटन प्रवर्द्धन हुन सक्छ ।”
पर्यटन बोर्डले विदेशी पर्यटन बजारमा पर्यटन प्रवर्द्धन गर्ने नाममा राजनीतिक दलका कार्यकर्ता र नजिकका आफन्तलाई विदेश घुमाउने र राज्यको ढुकुटी रित्याउने काम मात्रै गरेको लामाको दाबी छ । बोर्डले नेपालको पर्यटन र पर्यटकीय गन्तव्यबारे सामान्य जानकारी दिन नसक्ने व्यक्तिहरूलाई पर्यटन प्रचारको लागि भन्दै विदेश घुमाउन लाने गरेको लामाले बताए ।
“नेपालको पर्यटन प्रवर्द्धनमा राज्यले सिन्को पनि भाँचेको छैन । अहिलेसम्म जति भएको छ, निजी क्षेत्रकै प्रयासमा भएको छ”, उनले भने, “राज्यले प्रचार गरेर विदेशी पाहुना आएका छैनन्, पर्यटन व्यवसायी आफैँ विदेश गएर प्रचार गर्छन् अनि पाहुना ल्याउँछन् । राज्यलाई कर पनि तिरेका छन् ।”
बोर्डले आफ्ना उद्देश्यहरू हासिल गर्न नसकेको स्वयम् बोर्डकै अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी स्विकार्छन् । गत शनिवार बोर्डको कार्यालय भृकुटीमण्डप बोर्डको २४औँ स्थापना दिवस समारोहमा बोल्दै उनले भने, “पर्यटन बोर्डको मुख्य उद्देश्य भनेको पर्यटनको प्रवर्द्धन नै हो, भौतिक पूर्वाधारको विकास गर्ने होइन । त्यसका लागि अन्य जिम्मेवार मन्त्रालयहरू छन् । हामी अलिकति आफ्नो उद्देश्यभन्दा बाहिर गएको अवस्था छ । म आफैँले नेतृत्व गरेपछि पनि बोर्डले केही भौतिक पूर्वाधारका कामहरू अगाडि बढाएको हो । तर, यो गल्ती भएको महसुस मलाई भएको छ । अब यसलाई करेक्सन गरेर अगाडि बढ्नुपर्छ ।”
उक्त कार्यक्रममा बोल्दै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बोर्ड स्थापनाको २४औँ वर्षसम्म आइपुग्दा थुप्रै उतार चढाव बेहोरेको उल्लेख गर्दै विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु नै आजको आवश्यकता भएको बताए । उनले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको खाँचो रहेको औँल्याए ।
नेपाल अथाह पर्यटकीय सम्भावनाले भरिपूर्ण भएर पनि पर्यटनको विकास गरी यसबाट तुलनात्मक लाभ लिन नसकेको यथार्थ कसैबाट लुकेको छैन । विश्वकै अर्थतन्त्रका महत्त्वपूर्ण आधारकाे रूपमा विकसित भइरहेको पर्यटन क्षेत्र कोभिड-१९ महामारी, रुस र युक्रेनबीचकाे युद्ध, डेङ्गी भाइरसको सङ्क्रमण लगायत कारणले थलिएको छ । पछिल्लो समय महामारी न्यूनीकरण भएसँगै पर्यटन क्षेत्र तङ्ग्रिन थालेको छ । सन् २०२३ को सुरुवातसम्म आउँदा पर्यटन क्षेत्रमा आशाका किरणहरू देखिएका छन् । सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार भन्दा बढी विदेशी पर्यटक भित्रिए । यो पर्यटन आगमनको निकै राम्रो सङ्केत हो, तर यतिमै खुसी हुने अवस्था छैन । हामीले पर्यटनलाई थप सशक्त ढङ्गले प्रवर्द्धन, विकास र विस्तार गर्न जरुरी छ ।
अब हामीले पर्यटनमाथि पुनर्विचार गर्न ढिला गर्नुहुँदैन । यसका लागि पर्यटनको प्रवर्द्धन, विकास र विस्तार गर्ने जिम्मेवारी पाएको पर्यटन बोर्डले आफ्ना ऐन, नीति तथा नियम र कार्यशैलीलाई समयानुकूल परिमार्जन गर्दै लानुको विकल्प छैन । पर्यटनको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न र सार्वजनिक निजी साझेदारीलाई बढाउन बोर्डको ऐन, नीति तथा नियमलाई पनि संशोधन गर्दै जानुपर्दछ । विश्वव्यापी काेभिड-१९ महामारीबाट ध्वस्त भएकाे पर्यटनलाई पुनः ब्युँताउन पर्यटनमाथि नै पुनर्विचार गर्न आवश्यक रहेकाे भन्दै सन् २०२२ मा “रि-थिङ्किङ टुरिजम” भन्ने नाराका साथ विश्व पर्यटन दिवस मनाएको थियो । हामी चाहिँ पर्यटनलाई “रि-थिङ्किङ” गर्न पछि पो पर्दैछाैँ कि ?