दाँतको स्नायु(नसा), रक्तनली तथा अन्य तन्तु भएको भाग लाई Root Canal भनिन्छ । विषेशगरी दाँतलाई दुई भागमा छुट्टाइन्छ । गिजा माथिको मुख र गिजामुनिको हड्डी । हड्डीभित्र जरा हुन्छ र त्यो जरा भित्र नसा रहेको हुन्छ । यसले दाँतलाई जीवित राख्न मद्धत गर्दछ । साथै यस भित्र रहेको स्नायुले तातो चिसो लगायत दाँतको दुखाइ पनि थाहा पाउँछ । विभिन्न कारणले यो स्नायु तन्तु (pulp) लाई असर गर्यो भने गरिने उपचार विधि लाई RCT भनिन्छ । सोही RCT उपचार पद्धती बारे डा. सोनी भुजेलसँग गरिएको कुाराकानी :
दाँतको जरै देखिको उपचार (RCT) भनेको के हो ?
साधारण भाषामा भन्नुपर्दा RCT(Root Canal Treatment) लाई दाँतको जरै देखिको उपचार हो भन्ने बुझिन्छ। यसलाई इन्डोडोन्टिक्स ट्रिटमेन्ट (Endodontics Treatment) पनि भनिन्छ। रूट क्यानल(Root Canal)भनेको दाँतको जराको भित्री खोक्रो भाग हो।
दाँतको दुईटा भाग हुन्छ। एउटा देखिने वा गिजा भन्दा बाहिर जसलाई हामी क्राउन (Crown) र अर्को भनेको गिजा भित्रको भाग जसलाई हामी जरा (Root) भन्छौँ । क्राउन ( Crown) र जरा (Root) को सबैभन्दा भित्री भागमा पल्प (Pulp) हुन्छ। पल्प भित्र स साना रक्तनली र नशाहरु हुन्छ। जसले दाँतको Dentine बनाउने कामसँगै प्रतिरक्षात्मक काम पनि गर्ने गर्दछ।
सामान्यतया आम जनमानस र दाँतको बिरामीमा RCT को बुझाइ कस्तो छ त ?
सामान्यतया कसैको दाँत दुख्दा, के कारणले दुखेको हो र यसको के के उपचार विधिहरू छन भन्दापनि दाँत उखेल्ने भनेर हस्पिटलमा आउनुहुन्छ। तर यो एकदमै गलत धारणा हो। तसर्थ दाँत दुख्दा दाँत उखेल्नु भन्दा पनि दाँत बचाउने प्रयास गर्नु पर्छ र त्यसको लागि RCT गर्नु पर्छ।
कस्तो अवस्थामा RCT गराउने त ?
RCT गराउनु पर्ने केहि लक्षणहरू:
– खाना चपाउँदा वा दाँत टोक्दा धेरै दुख्ने
– गिजामा पिपको फोका आउनु
– दाँत भाँचिएको अवस्थामा
– चिसो वा तातो खाँदा धेरै बेरसम्म दाँत दुखेमा
– गिजा सुन्निने वा दुख्नु
– गिजा कालो भएमा
के RCT गराउँदा दुख्छ त?
RCT गर्दा हामीले बिरामीलाई नदुख्ने औषधि (local anesthesia) लगाउँछौ जसले गर्दा बिरामीलाई दुखाई महसुस हुँदैन ।
RCT गराउन कति समय लाग्छ ?
सामान्यतया RCT गर्दा ४/५ पटक सम्म आउनु पर्छ । यदि ५-७ दिनको अन्तर गरयो भन्ने एक महिना जति लाग्न सक्छ । तर सबै उपकरणहरू उपलब्ध भएको खण्डमा तथा बिरामी र दाँतको अवस्था हेरेर एक दिनमा पनि RCT भ्याउन सकिन्छ जसलाई single visit RCT भनिन्छ ।
दाँतको उपचार समयमा भएन अथवा थाहा हुँदाहुँदै पनि उपचारमा ढिलाई भएको खण्डमा पल्प संक्रमित भयो भने, संक्रमण दाँतको जरामा फैलिन सक्छ र गम्भीर पीडा हुन सक्छ । यो अन्ततः पिप जमेर सुनिन्न सक्छ। यसले दाँत वरिपरिको भाग सुनिन्नका साथै अनुहारको सङ्क्रमण(infection) पनि निम्त्याउँछ । यदि RCT गरिएन भने, संक्रमण फैलिनेछ र सो अवस्थामा दाँत निकाल्नै पर्ने आवश्यक हुन्छ ।
RCT गराउँदा के – के फाइदाहरू हुन्छन् त ?
– आफ्नो प्राकृतिक दाँत बचाउन सकिन्छ
– दाँतको दुखाई हराएर जान्छ
– अरू छेउ छाउको दाँतलाई बचाउन मद्धत गर्छ
– पछि नक्कली दाँत राख्नुभन्दा आफ्नै दाँत बचाउनु राम्रो हो
– Implant र Bridge लगाउनु भन्दा धेरै सस्तो हुन्छ
RCT गराइसकेपछि के गर्नुपर्छ ?
RCT गराइसकेपछि RCT गरेको दाँतलाई लामो समयसम्म टिकाउन र खानेकुराहरू राम्ररी चपाउनको लागि दाँतको माथिबाट क्याप ( Cap) राखिन्छ जसलाई हामी Crown भन्छौँ ।
RCT गर्नुपर्ने आवश्यकताको रोक्कथामको लागि केही गर्न सकिन्छ ?
राम्रो मौखिक स्वच्छता अभ्यासहरू(Good Oral Hygiene), दिनको दुई पटक ब्रश गर्दै, कम्तिमा फ्लसिङ(flossing)दिनमा एक पटक र नियमित दन्त चिकित्सक भ्रमणको समय तालिका) ले RCT प्रक्रियाको आवश्यकता कम गर्न सक्छ। खेल सम्बन्धी चोटपटक लाग्ने आघातलाई मुख गार्ड लगाएर कम गर्न सकिन्छ ।
(डा.सोनी भुजेल) हाल थाँक्रे गाउँपालिका-६,महादेववेशी धादिङमा अवस्थित Times Care Hospital मा डेन्टल सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।