हरेक घरपरिवारमा जति सदस्य छन्, त्यती नै राँका बालेर आ-आफ्नो छतमा तथा आँगनमा आफू र आफ्नो घरमा रहेको फोहोर लैजाउ, रोगव्याधी सबै जाओस् भन्ने कामना अनुसारका स्वरहरू गुन्जिने गर्दछन् ।
डोल्पा । साउन एक गते अर्थात साउने संक्रान्ति । नेपालभर संक्रान्ति मनाउने भेग विशेष आआफ्नै चलन रहेको छ । प्रायः ठाउँमा लुताे पखाल्ने, राेगव्याधी बगाउने, स्नान गर्ने, मिठाे मसिनो खाने चलन छ ।
कर्नाली भेगमा पनि लुताे पखाल्ने चलन त छ तर, अन्यत्रभन्दा एउटा चलन भने भिन्न छ । साउने संक्रातिमा कर्नाली भेगतिर बेलुकीपख सबै आआफ्नो छतमा जम्मा भएर राकाँ हाल्ने (मसाल बाल्ने) चलन छ । राकाँ हालेपछि एकले अर्कोलाई गाली गर्ने चलन रहेको छ । राँका ननिभुन्जेल छतमा (ठाडाे) बसेर एउटा बाडा (बस्तीले) अर्को बाडाकालाई कमी कमजाेरी औंल्याए गाली गर्ने चलन छ । गाली दुबैतिरबाट गरिन्छ तर, संक्रान्तिमा गाली गर्दा कसैले पनि व्यक्तिगत रुपमा लिँदैनन् ।
हरेक घरपरिवारमा जति सदस्य छन्, त्यती नै राँका बालेर आ-आफ्नो छतमा तथा आँगनमा आफू र आफ्नो घरमा रहेको फोहोर लैजाउ, रोगव्याधी सबै जाओस् भन्ने कामना अनुसारका स्वरहरू गुन्जिने गर्दछन् । हुम्ली नागरिकले खस संस्कृतिको साउने संक्रान्ति मनाउने यस चलन ऐतिहासिक महत्त्व बोकेको सांस्कृतिक पर्वसमेत हो । यसरी राँको बाल्नुको मुख्यतया तीन वटा कारणहरू रहेको संस्कृति सम्बन्धिका जानकार रामनन्द आचर्य बताउँछन् ।
उनका अनुसार, पहिलो कारण- हनुमानले लंका जलाएको दिनको स्मरण गर्नलाई हो । दोस्रो कारण, लुतो, चिलाउने आदि प्रदुषणजन्य रोगहरूको निवारणको लागि कण्डारकको पूजा गर्न् राँको बाल्ने (राँका हाल्ने) धार्मिक विधिविधान छ, जसले चर्म रोगहरू निको गर्छ भन्ने विश्वास छ । तेस्रो कारण, जुम्ला राज्यका संस्थापक राजा बलिराज दिल्लीमा भएको हिन्दूविरोधी मुसलमानहरूको विद्रोह जितेर आएपछी त्यसैको खुसियालीमा दिपावली स्वरूप राँका हाल्ने गरिएको जनश्रुति छ ।
राँको घरको छतमा हालिसकेपछी खोला पारिका गाउँलेहरूलाई गाली गर्दै लुतो फाल्ने गरिन्छ । यसरी साउने संक्रान्तिको दिन गरिने गालीका शब्दहरू अपाच्य र सुन्न नमिल्ने, भद्दा, व्यक्ति केन्द्रित नभई खोलापारीका समग्र गाउँले केन्द्रित हुन्छन् । जस्तै, ‘तुतो, पाब्डो, खाइने खड्काउने लैजाउ ए पारिफाल्या ढाग्या, फाटो देरुवा लैजाउ, नौंलो फेरुवा दिजाउ आदि ।’ यस्तो गालीमा नराम्रो दिने र राम्रो ल्याउने कुरा हुन्छन् ।
स्रोत : मिम बहादुर परियार, राजधानी न्यूज
ब्यानर फोटो : डोल्पाको माझफाल, प्रेम बहादुर बोहोरा
थप, यस चाडबारे माधव चौलागाईको टिपोट
तयारीः संक्रान्तिको दिन नदी, दोभान वा त्रिवेणी स्नान गरिन्छ । दिनभर सरसामानको तयारी हुन्छ । छोरीचेली निम्त्याएर खुवाउने (मैतालु भात खान डाक्ने) गरिन्छ। प्रायः मध्यान्हपछि युवतीहरु गाउँ आसपासको चौरतिर भेलाभएर देउडा खेल्छन् र फर्किंदा फूल टिपेर ल्याउँछन् । युवाहरूले काँडैकाँडाको लौरो (प्रायः ढँटेलोको) ल्याउँछन् । घरमा हुनेहरूले सरसफाई गर्छन् । घरका कुनाकाप्चातिरबाट टिपेको थोरै फोहर, केही उपिंया, उडुस्, जुम्रा जे भेटिन्छ टालोमा पोको पारेर दुईटा काँडे लौरामा बाँध्छन् । लुतो फाल्ने वनस्पति पनि टिपेर ल्याईन्छ, विशेषगरी झारपात गाउँअनुसार पाईने जस्तो ‘गुईय्पाती झार !’
साँझपख गाउँलेहरू एक ठाउँमा जम्मा भएर कुखुरो, राँगो, सुँगुर वा बनेल (गाउँ अनुसार फरक हुनसक्छ) लाई पानी छम्केर आफ्नो गाउँको प्रदक्षिणा गर्छन् । गाउँ घुमिसकेपछि त्यो मन्छाएको पंक्षी वा जन्तुलाई फुकालेर लखेट्दै दोबाटोमा चुट्छन् र त्यो काँडैकाँडाको लठ्ठी त्यतै मिल्काउन्छन् (विसर्जन) गर्छन् । यसरी साउने संक्रान्तिमा मन्साउने पंक्षि वा जन्तु जुटाउने मान्छेले मोलस्वरुप घरघरबाट एक मानो अन्न संकलन गर्छ ।
त्यसपछि गाउँले सबैजनाले अआफ्नो घरको थाडा (छत) माथि डान्डिल (छत वरिपरिको पातलो ढुंगा) मा फूल (भदुरी वा कुनै पनि मौसमी फूल) पाती ओच्छ्याएर त्यसमाथि सल्लाको झरो (दियालोको काठ) बाल्छन् । त्यसलाई राँका हाल्ने भनिन्छ। यसरी बाल्ने झरोलाई डोरीले बाँधेर मदानीजस्तो अर्थात मसाल बनाईन्छ । घरलगायत मष्टोको थान र अन्य मन्दिरको आँगनमा पनि यसैगरी राँका हालिन्छ । थान मन्दिरमा राँका बलेपछि मात्र मानिसहरुले आआफ्नो घरमा राँका बाल्छन् ।
राँका बलेपछि शंख, घण्ट, थाल, भाँडाकुँडा ठट्याउँदै घरका सबै सदस्यले आआफ्नो टाउकोमा राँको घुमाउँदै एकले अर्को गाउँले (प्रायः खोला वारीपारीको गाउँ जहाँ बल्ने राँको एकअर्काले देख्न सक्छन् )लाई गाली गर्छन् । गालीमा रोगब्याधि, पशुबस्तु, अन्नपात, फलफूलसँगसम्बन्धित प्रसंगहरू जोडिएको हुन्छ ।
केही उदाहरणः
आऱ्याऽ कोऱ्याऽ लुतो पाउडो, खईन्याऽ खड्कुन्याऽ चिलाउन्याऽ बिझ्याउन्याऽ सप्पै लैजाउ एऽऽऽ फलानो गाउँल्याउ!!!
नाटी गाई लैजाउ, दुहुनी गाई दिइजाउऽऽ!!
काँचो फल लैजाउ, पाको फल दिईजाउऽऽ! फाटो फेरुवा लैजाउ, नौलो फेरुवा दिईजाउऽऽ!!
दाल्द लैजाउ, स्हः पाडीजाउऽऽ आदि ।
गालि र भाकामा गाउँ र भेकअनुसारको विशेषता र स-सानो भेद भेटिने नै भयो ।
राँका हालेर लुतो फालिसकेपछि बलेको राँको लगेर दोबाटोमा विसर्जन गर्छन् । कतिपय ठाउँमा दुबै गाउँका मानिसहरुको त्यहिं भेट हुन्छ र एकापसमा गाली गर्दै राँको फाल्छन् । यतिबेला गरिने गालीलाई मनोमालिन्य नराखि रोचक र हार्दिकतापूर्ण तबरले लिन्छन् । काँडैकाँडाको दोस्रो लौरो घरको दलिनतिर कोचेर राख्छन् । यसदिन साँझ भात खाँदैनन् । प्रायजसो खीर, टाट्या (पुरी) वा सेलरोटी बनाउँछन् । राँका निभिसकेपछि घरबाहिर जानुहुन्न भन्ने चलन छ । आजको राती भुतको जन्मदिन हो र उनीहरूले पनि जन्मोत्सव मनाईरहेका हुन्छन् भन्ने विश्वास पनि छ । भुतको आवाज मानिसले नसुनियोस् भनेर राँको बाल्ने, शंखघण्ट, थाल ठट्याएर होहल्ला गरिन्छ। त्यसैले राँको निभि सकेपछि घरबाहिर जान हुन्न भनेको हो रे !