बिहिबार , मंग्सिर ६, २०८१

गाउँमा थन्किएको प्रतिभाशाली राजुमान, क्यारिकेचर र अभिनयले पार्छन् चकित (भिडियाे)

"मैले अहिलेसम्म आफ्नो कला देखाउन कुनै पनि स्टेज पाएको छैन । तर, अवसर पायो भने म जस्तोसुकै अभिनय र क्यारिकेचर गर्नसक्छु ।" उत्साहित हुँदै राजुमान भन्छन्, "एक न एक दिन अवश्य अवसर पाउनेमा म विश्वस्त छु ।"

image

हुन त सबै मानिससँग केही न केही प्रतिभा हुन्छ, त्यसलाई चिन्न सक्नुपर्छ भन्छन् । सर्वप्रथम आफूसँग भएको कला, प्रतिभा वा फरक क्षमतालाई आफूले चिन्नुपर्छ । तर, त्यतिले मात्रै पुग्दैन, तिनलाई अरू समक्ष पुर्‍याउनुपर्ने हुन्छ । अरूलाई सुनाउनुपर्ने हुन्छ, देखाउनुपर्ने हुन्छ, बुझाउनुपर्ने हुन्छ र प्रमाणित गरेर देखाउनुपर्ने हुन्छ । यदि यसो गर्न सकिएन र भएन भने कहिलेकाहीँ ती कला वा प्रतिभा अङ्कुराउन पाउँदैन र त्यसै खेर जान्छ ।

उनलाई आफ्नो घरपरिवार, छरछिमेक, केही आफन्त र आफ्ना विद्यालयका साथीहरूबाहेक कसैले चिन्दैनन् । हुन त एउटा सामान्य गाउँमा जन्मेहुर्केका र त्यहीँ बाँचिरहेका कलिलाे केटालाई चिन्ने यतिले नै हाे । तर, सबैमाझ चिनिन चाहन्छन्, राजुमान । किनकि, उनीसँग सबैमाझ चिनिनसक्ने कला छ, प्रतिभा छ, अनि लगनशीलता र इच्छाशक्ति पनि छ । उनीसँग दर्जनौँ व्यक्तिहरूको दुरुस्त क्यारिकेचर गर्न सक्ने कला र गला छ । उनलाई थाहा छैन आफूसँग भएको कला कहाँ कसलाई देखाउने, कसलाई सुनाउने ? तर, एउटा कुरा चाहिँ थाहा छ, “भविष्यमा एउटा हास्य कलाकार बन्नेछु ।”

धादिङको गजुरी गाउँपालिका-४, गैरीगाउँका राजुमान तामाङको एउटै सपना छ, एउटा हास्य कलाकार बन्ने । आफ्नो सपना पछ्याउँदै क्यारिकेचर र अभिनय अभ्यास गर्दै आएका पनि छन् । अहिले उनी ५० जनाभन्दा बढी कलाकार, नेता तथा चर्चित व्यक्तिहरूको दुरुस्त क्यारिकेचर गर्न सक्छन् । शारीरिक हाउभाउ पनि गर्छन् । वास्तविक पात्रझैँ सुन्ने गरी बोल्न सक्छन् । हाल प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल, चर्चित पत्रकार ऋषि धमला, केदार घिमिरे (माग्ने बुढा), वील्सन विक्रम राइ (तक्मे बुढा), अर्जुन घिमिरे (पाँडे) लगायत थुप्रै चर्चित व्यक्तिहरूकाे दुरुस्त क्यारिकेचर गर्छन् ।

आफूले कुन उमेर र कहिलेदेखि हास्यकलाको अभ्यास सुरु गर्‍यो भन्ने यकिन थाहा उनलाई छैन । “सायद मेरो जन्मजात कला हुनसक्छ । मैले अलि-अलि थाहा पाउँदादेखि नै आफूले देखेका सुनेका व्यक्तिहरूको स्वर र हाउभाउ कपि गर्ने प्रयास गर्थेँ । पछि झनै रुचि बढ्दै गयो ।” राजुमान भन्छन्, “तर, ठ्याक्कै यही मितिबाट सुरु भयाे भन्ने चाहीँ थाहा छैन ।”

सुरुमा आफूले केदार घिमिरे (माग्ने बुढा)को क्यारिकेचर गरेको उनलाई सम्झना छ । पछि अन्य चर्चित नेता तथा कलाकारहरूको पनि नक्कल गर्न थालेपछि आफूभित्र क्यारिकेचर गर्न सक्ने कला रहेछ भन्ने महसुस भएको उनी सुनाउँछन् । घरपरिवार, छरछिमेक र विद्यालयका साथीहरूको “तिमीसँग हँसाउने कला रहेछ, पछि हास्य कलाकार बन्नेछौ” भन्ने खालका प्रतिक्रियाले पनि आफूभित्र कला रहेको र कलाकार बन्नसक्छु भन्नेमा थप विश्वस्त हुन मलजल पुगेको बताउँछन्, राजुमान ।

उमेरले दुई दशक टेक्दै गरेका राजुमानले आफ्नो कलाकारितामा निखारता ल्याउन स्वाध्ययन र स्वाभ्यास गर्दै आएका छन् । अभिनय वा क्यारिकेचर सिक्न उनले हालसम्म कुनै पनि खालका तालिम, प्रशिक्षण तथा कक्षाहरू लिएका छैनन्, अवसर पनि पाएका छैनन् । आफैँले प्रयास गर्दै आएका छन् । आफ्नै मेहनत, लगनशीलता र इच्छाशक्तिले कलामा निखारता थप्दै गएका छन् ।

हालसम्म आफूसँग भएको कला देखाउन कतै पनि अवसर नपाएका राजुमान अवसर आएमा जस्तोसुकै क्यारिकेचर र अभिनय गर्न सक्ने दाबी गर्छन् । “मैले अहिलेसम्म आफ्नो कला देखाउन कुनै पनि स्टेज पाएको छैन । तर, अवसर पायो भने म जस्तोसुकै अभिनय र क्यारिकेचर गर्नसक्छु ।” उत्साहित हुँदै राजुमान भन्छन्, “एक न एक दिन अवश्य अवसर पाउनेमा म विश्वस्त छु ।”

भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेका राजुमान गाउँमै बसोबास गर्दै आएका छन् । कहिलेकाहीँ गाउँको विद्यालयमा हुने कार्यक्रमहरूमा नाटकहरू देखाउने, सिक्ने र सिकाउने बाहेक अरू गतिविधि उनले गर्न पाएका छैनन् । ठुला स्टेज पाएका छैनन् । गाउँमा इन्टरनेटको पहुँच छैन । विद्युत् पनि छैन । कहिलेकाहीँ बजार झरेर इन्टरनेट प्रयोग गर्छन् । कलाकारहरूलाई हेर्छन् । उनीहरूको कला, भिडियो सामग्रीहरू डाउनलोड गरेर गाउँमा लान्छन् । अनि अभ्यास गर्छन् उनी । अहिलेको विकसित सञ्चार तथा सूचना प्रविधिको युगमा पनि सञ्चारबाट समेत वञ्चित रहनुपर्ने बाध्यता र कठिनाइबीच पनि कलाकारिताप्रति उनको लगन उस्तै छ ।

आफूसँग भएको कला यतिकै गाउँमै थन्किने हो कि भन्ने चिन्ता छ, उनलाई । सहर पसेर आफ्नो कला र गलालाई दुनियाँसामु पुर्‍याउने उत्कट चाहना बोकेर गाउँमा बसिरहेका छन्, राजुमान ।

“उम्रने विरुवा पत्थर फाेडेरै उम्रन्छ” भन्छन्, सायद यस्तै  विरुवा हुन्, राजुमान । जाे पत्थर फाेडेरै भएपनि उम्रने प्रयासमा छन् ।

भिडियो

सम्बन्धित समाचार