बुधबार , कार्तिक २८, २०८१

राजनीतिक प्रदूषणलाई ‘सामान्यीकरण’ नगरौँ

सामाजिक सञ्जालसँग, विपक्षीसँग र आलोचकहरूसँग लुगलुग काँप्ने जनप्रतिनिधिहरूको कठालो समात्ने युवाहरू दुई लिटर तेल र दुई छाक मासुमा रल्लिँदा सत्तामा बढ्दो राजनीतिक प्रदूषण सार्वभौमिक र सर्वकालिक हुन् पुगेको छ ।

image

‘देख्छौ- जन्मनु, मर्नु, रुनु, बुढिनु,
वैराग्य उब्जन्न क्यै
के होला नि बरी कसो गरि कहाँ
के भोग्नु पर्ला नि है ? 

चङ्गा चित्त छँदै, उमेर रहँदै
पैसा छँदै हातैमा
व्याधिले नछुँदै र आयु रहँदै
बर्गत छँदै गाथमा
आफ्नो श्री हुने, पछि सुख हुने
धन्दा छिनी हाल है
आगलागी घरमा भएपछि
कुवा खन्दा हुने छैन है ।’

चुनावी रसरङ्ग र मतको जोडघटाउ, गुणनभागका असरल्ल अनुष्ठानको सकसलाग्दो स्थितिमा विजय लुइँटेल भाइको यो भिडियो स्ट्याटस देखियो । भाइलाई फोन गरेर बुझेँ, इलामस्थित सूर्योदया नगरपालिकाका ८४ वर्षीय डालिमकान्त तिम्सिना सारङ्गी रेट्दै यो श्लोक भट्याइरहेका रहेछन् । 

मनमनै प्रश्न गरेँ, ‘८४ वर्षीय वृद्ध काया घर आगलागी भएपश्चात् कुवा खनेर केही हुँदैन किन भनिरहेका होलान् ?’
जवाफ स्पष्ट थियो, ‘सूर्योदयको बखत जस्तो चहकिलो मुस्कान’ चिप्लाउन नपाएकै कारण देशका वृद्ध कायाहरू यस्ता श्लोकहरू गुनगुनाइरहेका छन् । नेपालको ‘राजनीतिक प्रदूषण’लाई बढारी फ्याँक्ने युवाहरूको पाखुरा (जोस)मा अमुक पार्टीको चिन्ह अङ्कित ट्याटू, झन्डा र दिशाहीन सिद्धान्तको रगत उम्लिएको देख्दा हरेक डालिमकान्तहरूको मन यसैगरी पोल्दो हो ।

***

वृद्ध कायाहरूलाई ‘अस्ताउँदो क्षितिज’ भन्दिएर हामी (युवा) ले आफू सँगसँगै सो पुस्ताको पनि हरहमेसा अपमान गरिरहेका छौँ । अझ, प्रवासमा रहेका नागरिक अर्थात् डायस्पोराको योगदानलाई अपमान गरिरहेका छौँ । बालबालिका र अशक्त/अपाङ्गहरूको बहुआयमिकतालाई अपमान गरिरहेका छौँ । स्थानीय निकायमा महिला र दलित सहभागिता  एवम् सशक्तीकरणलाई लात मारिरहेका छौँ । भूपीले भनेझैँ ‘असन पसेर नून-चामलका बोरा र तेलको टीनलाई डस्ने, सेलाइनको नाली भएर थुप्रै बिरामीलाई डस्ने, बाल-बालिकाको दूधका डब्बालाई डस्ने, विद्यालय पसेर देशको भविष्यलाई डस्ने, हाकिमको कलमको निभ भएर असंख्य कर्मचारीलाई डस्ने विषालु सर्पहरू’ लाई दूध चढाई आरोग्य देवता घोषित गरिरहेका छौँ । 

अध्ययन र आधारबिना औपचारिकता पूरा गर्न बनाइएको कृतिम घोषणापत्रमा विश्वस्त हुन् पुग्दा शिक्षा, लैङ्गिकमैत्री यौन तथा प्रजनन स्वास्थ्य, मातृत्व शिक्षा र शिशु स्याहार, घरेलु श्रम, कृषि र उत्पादनशीलता, पर्यटन र संस्कृतिलाई बन्धक राखी सामाजिक विकृति र विभेदलाई सङ्गठित गर्नेतर्फ अग्रसर हुन् पुगेका छौँ । पाँच वर्ष स्थानीय तह चलाइसकेका जनप्रतिनिधिहरूलाई स्वमूल्यांकन गरि आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा, नयाँ जनप्रतिनिधीको  पृष्ठभूमि,  क्षमता, आर्थिक विकासप्रतिको दुरदृष्टि र योग्यताको मापदण्ड माग्नुपर्नेमा, नेतृत्व छान्न र सोच्नतर्फ किन्चित नलागी ‘एकछापे’ भई आफ्नै नाकमा हिलो छ्यापिसकेका छौँ ।

हामीले कसको अपमान गरिरहेका छैनौँ ? मताधिकारको प्रयोगमा हामीले देखाएको असावधानीको हामीसँग किञ्चित लज्जाबोध छैन । यसैले त छाती फुलाएर अमुक पार्टीको छापलाई निधारमा बाँधी गर्वसाथ भनिरहेका छौँ, 

१.‘देखिस् क्यारे एमाले, जनताले भोट कहाँ हाले ?’
२. ‘क बाट काँग्रेस, ख खरायो, एमालेको घमन्ड कता हरायो ?’
३. ‘अमराइली के भन्छन् फलानो जा भन्छ, हटीयाली के भन्छन् फलानो आ भन्छ’
४. ‘चोरी औला ठाडो गर्नेलाई माजी औलाको सदुपयोग गर्न पाइने भयो’
५.’सागर बसन्ते किस्ने, कोइ नडरा के, तेरो दाइ फलानोले जित्नी पक्का भइसक्या छ नि त’
६. ‘हिजो गर्थिस् किचकिच, देखिस् आज कसको जित ?’
७.राइफल छाउनीमा, फलानो ठाउँमा फलानो पार्टीको ढुक्क छ फलानो आउनीमा’
८. ‘आदित्यादी..’

***

नेपालको चालु खाताको स्थिति, भुक्तानी सन्तुलनमा दबाब र मुद्रास्फीतिको उकासिँदो ग्राफले पनि स्थानीय चुनावको तामझामलाई रोक्न सकेन, यो आफैँमा अर्को उदेकलाग्दो कुरा हो । आर्थिक सङ्कटलाई पूर्णतः बेवास्ता गर्दै ‘मासुभात’ खाइ खसालिएको भोटले नेपालीहरूको आत्मसम्मानलाई कसप्रकार कुल्चियो भन्ने कुरा एक हप्ते बसाइको क्रममा मैले आफ्नो पालिका (ज्वालामूखी)मै देखेँ ।

वडाध्यक्ष लड्नका लागि २५ लाख खर्च गरिनु र अमुक पार्टीका गाउँपालिका अध्यक्ष दाबेदारले हरेक वडामा १५-२० लाख बाँड्नुले भ्रष्टाचारलाई नीतिगत गरिएको सुपष्ट हुन् आउँछ । २२५४ जनमत खसेको एउटा वडाको एउटा वडाध्यक्षले २५ लाख रुपैयाँ कार्यकर्ता परिचालन, घरदैलो कार्यक्रम र प्रचारप्रसारमा खर्चिनुको पछाडि कुन वित्तीय शीर्षकको हात छ ? चुनाव नजिकिएसँगै सरकारमा रहेका दलहरू कर कार्यालय, भन्सार, मालपोत लगायत विभिन्न नियामक निकायमा सरुवा, बढुवा, नियुक्ति मार्फत आफ्ना बफादारलाई नियुक्ति गर्न किन मरिमेट्छन् भन्ने व्यक्तिगत प्रश्नको जवाफ यतिखेर मसँग छ । सत्ता निकट व्यवसायीलाई लाइसेन्स (अनुमतिपत्र) बाँडेर पोस्ने अभ्यासकै बलमा यो वित्तीय शीर्षकले शङ्कास्पद रकम सोहोरेर लाभ कमाइरहेको छ । स्पष्ट छ, चुनावी मैदानमा होमिएका जनप्रतिनिधिमाथि पैसा खन्याउनु भनेको पाँच वर्षसम्म लगानीको सुनिश्चितता मात्रै होइन, भइपरी आउने हरेक व्याधि-विपददेखि जोगिनु पनि हो । नेता र व्यापारी दुवैले आ-आफ्ना सीमा बिर्सिसकेका छन्, जसले अन्ततः लोकतन्त्रलाई ‘कुखुरा’ बनाइ शौचालयछेउ कान समाई उभ्याइरहेको छ । 

***

चुनावको प्रारम्भिक नतिजामा काठमाडौँमा बालेन शाह, धनगढीमा गोपाल हमालको उदयलाई पर सार्ने हो भने हामीले जनमतको साख जोगाउन कसरत गरेकै छैनौँ । स्वतन्त्र उम्मेदवारी दिने युवाको लहर र सीमित कार्यकर्ताहरूको पार्टीप्रतिको वितृष्णाले माइतीघरमा टाउको फुटाइमाग्ने युवा वैचारिककी (अङ्कमा पनि) लाई उछिन्न नसक्नु यस कुराको प्रमाण हो । ‘दलहरूले गर्दैनन्, नेता सबै फटाहाहरू हुन्, भ्रष्टाचार मात्रै गर्छन् भन्ने न्यारेटिभ’को वस्तुगत विश्लेषण मात्रै भयो, मनोगत विश्लेषण हुन सकेन । भइदिएको भए निर्वाचनको प्रारम्भिक नतिजामै विकास गर्दा जनताका विभिन्न संस्कृतिको सम्मान गर्ने स्वच्छ छवि भएका व्यक्तिहरू चुनिन्थे, पार्टीगत ‘ठेकेदार निकट दूषित व्यक्तिहरू’ होइनन् । हामी अझ पनि अमुक पार्टी र परम्परागत वैचारिककीको पेवा, मितेनी छोरो या भाकलको बोको बनिरहेको यस नतिजाले देखाइरहेको छ ।

सामाजिक सञ्जालसँग, विपक्षीसँग र आलोचकहरूसँग लुगलुग काँप्ने जनप्रतिनिधिहरूको कठालो समात्ने युवाहरू दुई लिटर तेल (खाने, कुद्ने दुवै) र दुई छाक मासुमा रल्लिँदा सत्तामा बढ्दो राजनीतिक प्रदूषण सार्वभौमिक र सर्वकालिक हुन् पुगेको छ । हरेक दिन कोठा, घरआँगन र आफ्नो शरीरको सरसफाइ गर्ने हामीले राजनीतिक प्रदूषणको सामू निर्लज्ज भई मुन्टो निहुराइ मास्क लगाई हिँडेको निकै भयो । मास्क खोलेर ठाडो मुन्टो लगाई हामीले सोधेकै छैनौँ, ‘ए सत्ता, तेरो मास्क खोइ ? अब पनि मुख देखाइरहन लाज लाग्दैन ?’ 

तर, अहँ यो प्रश्न सुनिएको छैन । बदलामा, जितको एकोहोरो कोकोहोला र हारको धम्कीपूर्ण आक्रोशले देश गुञ्जायमान हुन पुगेको छ । राजनीतिक प्रदूषणको सिद्धान्तलाई ‘सामान्यीकरण’ गरि स्थानीय सरकारहरूले धमाधम ‘राजनैतिक मिथक’हरू निर्माण गरिरहेका छन् । मिथक निर्माणका खातिर अनेकन् अकडम-बकडम र तिकडमहरू देखिए । 

कतै सुनिन्छ, ‘फलानो वडाध्यक्षले २५ लाख खर्च गरे ।’
कतै देखिन्छ, ‘दुई खसी लडाएर ५०/५० कार्यकर्ताहरूले १०/१० वटा बियर निलेर भर्खरै ढ्याऊ गरे ।’
कतै भोगिन्छ, ‘नाकै मुनिको हिलोलाई कुल्चिएर फलानो मेयरले पिच बाटोको आश्वासन बाँड्न भ्याए ।’ 

यी सामान्य राजनीतिक दृश्यहरू भए, यस सूचीलाई जति तन्काए पनि हुन्छ । तर, धेरै परसम्म तन्काउन नमिल्ने दृश्यहरू यस्ता छन्;

१. काठमाडौं/पोखरा/चितवन/हेटौडा जस्ता ठुला सहरबाट भोट हाल्न अमुक पार्टीका गाडीमा सित्तैमा आइपुगेका तर, फर्कँदा डबल/तेब्बर भाडा बुझाएर लुरुलुरु फर्किरहेका सहरिया मतदाताहरू ।
२. भोट हालेको तीन दिनपछि उत्रिएको रक्सीको ह्याङले पेट खराब भएपश्चात् तिनै नेतागणहरूले ‘दे दनादन’ गाली फलाकिरहेका कथित वैचारिक मतदाताहरू ।
३. लगातार पानी परेकै कारण लरक्कै बढेका मकैका बोटहरूलाई एकै रातको हावाहुरीले लडाए सरह सोत्तर भएका गाउँले मतदाताहरू ।
४. एउटा चिन्हमा भोट हाल्न जाँदा नातिले अर्कै चिन्हमा भोट हाल्दिएर मन दुखे पनि गिजा देखाइरहेका वृद्ध मतदाताहरू।
५. ‘तोते स्वरमा अमुक पार्टी जिन्दाबाद र अमुक पार्टी मुर्दावाद गरिरहेका नाबालिग मतदाताहरू (?) ।
६. नामावलीमा नाम नभएका, कोरोनापश्चात् विदेश छाडेर घर आइपुगेका तर,गाउँका समकालीन टोले गुन्डा/डनहरूसँग अत्ताल्लिरहेका मतदाताहरू ।
७. वडाध्यक्षको १५ वटा बाइकमा चढेर मतदान केन्द्रसम्म आइपुगेका १५/१५ मतदाताहरू ।
८. गाउँपालिका अध्यक्षले अघिल्लो राति दिएको १० हजार सम्झेर हात नलरबराई अमुक छापमा भोट खसालेका मतदाताहरू ।
८. आदित्यादी..। 

यसप्रकार, राजनीतिशास्त्रको इतिहासलाई सफासुघ्घर बनाउने सवालमा यसपटकको स्थानीय निर्वाचनमा पनि हामी विफल भइसकेको स्पष्ट देखिन्छ । विकास र समृद्धिको फुस्रो आश्वासनमाथि हामीले पुनः एकपटक स्वस्तिक छाप लगाइदिई सकेका छौँ । हाम्रै स्वस्तिक छापको अङ्कगणितमार्फत आ-आफ्ना काँधमा चढाई अमुक पार्टीका अमुक चिन्ह मुन्तिर उनीहरूको अनुहारमा अबिर दली ‘शैनशाह’ शोषित गरिरहेका या गरिसकेका छौँ । 

यसबाट के स्पष्ट हुन्छ भन्दा, यतिखेर मतपेटिकामा घोसेमुन्टो लगाइरहेका काँग्रेस, एमाले, माओवादी, राजावादी राप्रपा, मधेसकेन्द्रित दल, पहिचान पक्षधर आदिवासी जनजाति समूह र साना कम्युनिस्ट समूहहरू ‘मुतमाथिको ओभानो’ बन्न छुट दिइसकेका छौ । वातावरणीय प्रदूषण ‘प्राकृतिक नियम’ भएसरह घुसखोरी, भ्रष्ट्राचार, दमन पनि ‘राजनीतितर्फको प्राकृतिक नियम’ भएको जताउन निर्वाचन आयोगमा खर्च विवरण नबुझाउने, मतदातालाई प्रभावित पार्ने, कृत्रिम घोषणापत्रसहित विकासको कर्मकाण्डी मोडल अगाडि सार्ने, स्थानीय तहमा भिजेको र मन पराइएको भन्दा बाहिरबाट टिपेर ल्याइएको (पैसा भएको) ‘टुरिस्ट जनप्रतिनिधि हरू’लाई भ्रष्टाचार संस्थागत गर्न अनुमति प्रदान गरिसकेका/रहेका छौँ ।

कथित विकासवादी मोडेलकै कारण तराइ या विदेश भासिएका (गाउँ लत्ताएका) बहुसंख्यक मतदाताहरूले वडाध्यक्षको आशिर्वाद लिई गाउँमै रहिबसेका स्थानीय मतदाताको भविष्यमाथि साँचो खेलवाड गरेका छैनन् । भोट हाल्नकै लागि एक दिन गाउँ आइपुगेका ((पैसा भएका) टुरिस्ट मतदाताहरूको लगानी सुनिश्चित गर्नतर्फ जनप्रतिनिधिहरू अग्रसर भएको देखिनु पछिल्लो चुनावको कहालीलाग्दो दृश्य हो । एक दिनको कुलकुलायनको पूजा गर्न एक दिन गाउँको घर आइपुगेको टुरिस्ट मतदाताले कुन धरातलमा टेकेर घर लडिसकेको आँगनमा बाटो पुर्याइदिनुपर्यो भनिरहेको छ ? १० वर्षदेखि नखनिएको/नजोतिएको खेतका लागि ट्रयाक्टरको माग गरिरहेको छ ? पैसाकै बलमा वडाध्यक्षलाई किन्न तम्सिएको ऊ र बेचिन तयार बसेको वडाध्यक्ष, कुन लोकतान्त्रिक प्रणालीका बीउ हुन् ? यो प्रश्नले मेरो गाउँ बसाइलाई डसीरह्यो । त्यो भन्दा बढ्ता, यसपटक कूलपूजाका लागि दहि पनि धादिङवेशीबाट किनेर मैदी उक्लन पर्दा मेरो पाखुरा गल्यो । के अब मेरो गाउँले दहिदेखिया अदुवासम्म सदरमुकामदेखि किन्न अग्रसर गराउने जनप्रतिनिधिलाई आफ्नो भाग्य विधाता चुन्नु पर्ने भएको हो ?.. अनिगिन्ती प्रश्नलाई यहि टुंगाउदै  एउटा कविता पढौँ र विट मार्‍यौँ,

बिपी कोइराला ‘नखिचिएको तस्बीर सुन्दर’ नाम कवितामार्फत भन्छन्,

नदेखेको सपना सुन्दरतम
पर्सिको पूर्णिमा चहकिलो
नदेखेको स्वर्ग झिलिमिली
उठाउँछु बाहु काँतर म
नभएको स्वर्गमा
नभएको देउताकन
अन्धो नयनबाट
नचुहुने आँसु
चुहाउँछु म । 

म अर्थात् ‘जनता’ । जनता अर्थात् ‘आजको उज्यालो पर्सी रातिको चहकिलो पूर्णिमाको लागि बन्धकमा राखेका पृथ्वीगर्भाहरू ।’  

गफगाफैमा रल्लिएका हामीहरूले, रक्सी र मासुमा अरल्लिएका हाम्राहरूले र स्वर्गको मिठो निन्द्रामा सपनामग्न आफ्नाहरूले नेपालको राजनीतिले गुमाइसकेको कल्पनाशीलता र सृजनशीलता पुनः स्थापित गर्न ‘अबेला’ गरिसकेका छौँ । यथास्थितिवादले तहसनहस पारेको सामाजिक चेतनालाई उकास्न ढिलो भइसकेको छ ।

अन्त्यमा, चुनाव सकिएको हो, कार्यकाल होइन । खबरदारी गर्दै चुनावी प्रणालीबारे बहस जारी राखौँ । ऐस-ओ-आरमकै दिल्लगीबाजहरूमार्फत राजतन्त्रवादीकै विभिन्‍न संस्करणहरूलाई मुन्टो उठाउन नदिऔँ । खानेपानी, जंगल, खोला, जमिन, अस्पताल, शिक्षालयलाई पार्टी (व्यक्ति)को कब्जादेखि छुटायौँ । जंगलमा हलो काट्न जानु पर्यो भने पार्टीको नेताको घरमा गुहार माग्न जानु पर्ने थितिलाई फेरौँ । 

अस्तु !

 

सम्बन्धित समाचार