Photo by: Himal Darpan
नशा र मदिरा सायद पर्याय नै हुनुपर्छ । मदिराको नशामा लठ्निहरूले अनुभव गर्ने विषयलाई आजसम्म उति सारो प्रेम गर्न सकिनँ । तर एउटा नशा भने मेरो रगतमा नभएर मस्तिष्कमा भरिएको छ, त्यो हो अक्षरहरूसँगको अतिशय प्रेमाशक्ति । यति प्रेमाशक्तिले मलाई संसार बुझाएको छ । मान्छे र मान्छेभित्रको मानवता पढाएको छ । दिलका गहिरा गर्तहरूमा गुढस्थ रहस्यहरूको ऐखम काट्न र त्यसको अन्तःस्थ गर्भगृहमा बाँकटे हान्न र मर्महरूसँग सङ्क्रमित बन्न सघाएको छ । यस्तो लाग्छ कि अक्षरहरू छन् र म छु ।
उस्तै उस्तै हुन्, मेरो अक्षर प्रेम र मैले मान्छेहरूमा देख्ने मदिरा प्रेम वा सत्ता पिपासुहरूमा उम्लिरहने सत्ताप्रेम । मसँग भने न सत्तास्वाद छ, न वासनात्मक लिप्सा । धन्न प्रकृतिले बाँच्ने एक सर्को मायाको तिर्खा पोखिदिएको छ अक्षहरूसँग, जो मेरालागि जादुको पेण्डुराको भाँडो हो । जहाँबाट जे चाह्यो त्यो निक्लिरहन्छ । मदिरा त्यो हो, जो मेरो अनुभूतिभन्दा निकै पर छ । वास्तवमा गाँजा, भाङ, मदिरा जे सेवन गरिन्छ, मादकताकै लागि गरिन्छ । सत्ता आजको युगको अर्को नशा हो, जसको नशा संसारका जुन कुनै मदभन्दा कम छँदै छैन ।
हरिवंश राय बच्चनको एउटा कविता म केही दशकदेखि हर नेपाली सङ्गोष्ठीहरूमा व्यक्त अव्यक्त अनुभूति गरिरहेको छु ।
यम आएका साकी बनकर साथ लिए काली हाला ।
पी न होस मे फिर आएगा सुरा विसुध यह मतवाला ।
यह अन्तिम बेहोसी अन्तिम साकी अन्तिम प्याला ।।
पथिक प्यार से पिना इसको फिर नमिलेगा मधुशाला ।।
(मधुशाला)
एक मदिरावाज, जसले हर सभा-समारोह र गोष्ठी-सङ्गोष्ठीहरूको अन्तिम लक्ष्य ऊ विचार बाहक भएर आएको सोच्दैन । मधुशाला आएको सम्झन्छ । आयोजनको अन्तिम लक्ष्य नै ‘सुरापान’ हो । उच्च ओहोदाधारीदेखि भारवाहकसम्म नै मदिराको तालमा बैठकहरू आयोजना गरिन्छ र निर्णयहरू त्यसैको उन्मादमा हुनेगर्छ । त्यसैले आजकल विशेष महत्त्वशाली बैठकहरू तारे होटेलका नीला बल्बहरूका झिलिमिलीसँगै आरम्भ हुन्छन् र अन्त्य पनि । न मङ्गलाचरण, न पूर्णता स्तुति । सधैँ आलोकाँचो, सधैँ कचपल्टिलो । हाम्रा राजनैतिक समयरेखा पनि एक मदिरावाजले सोचेजस्तै र हरिवंश राय बच्चनको काव्याभिप्राय जस्तै छ । पाए अहिल्यै सिनित्त पिइदिऊँ- सत्ताको अमृत, भोलि के थाहा पाइन्छ कि पाइँदैन ? के थाहा भोलि उज्यालो हुन्छ कि हुँदैन ? के थाहा अर्को दिन आफ्ना लागि उदाउँछ कि उदाउँदैन ? त्यसैले पनि हाम्रा राजनीति सधैँ मदिरामय, सधैँ गन्धा र सधैँ निकासविहीन लागिरहेको छ ।
सर अर्नेष्ट बेमले भनेका थिए कि विपत्ति खोज्ने, सर्वत्र त्यसलाई पाउने समस्याहरूको गलत उपचार गर्ने र अनुपयुक्त चिकित्सकीय उपचार गर्ने कलाकारिता नै राजनीति हो । नेपालको राजनीतिलाई हामीले पर्यवेक्षणीय नजर लगाउने हो भने यो अनौठो परिदृश्य आँखै अगाडि नाचिरहेको छ । भीमसेन थापाकालीन समयदेखि परहस्त नियन्त्रकको मदारी नाच पढिरहेका र हेरिरहेका हामी नेपालीको नियति आज ओलीराज हुँदै देउवाराजसम्म यथावत् छ ।
असमयमा र अकारण भीमसेन थापाले मृत्युवरण गरे वा गराइयो । इतिहासले भनेका अनेक तर्कहरूको अझै प्रमाणीकरण हुन बाँकी छ । त्यसपछिका शक्तिका उदय र अस्तका लागि अज्ञात आशीर्वादका उतारचढावहरू चलिरहे । राणाहरू अङ्ग्रेजको बलियो आडका कारण टिकिरहे, उता राणपूर्व उनीहरूका प्रतिद्वन्द्वी फ्रान्सेली धुरीसँग आड खोजेकै कारण भीमसेन थापालाई दुर्नियति गराए ।
जर्ज अर्वेलले भनेका थिए कि राजनीति गर्नेहरूलाई असत्य सत्य लाग्न थाल्दछ, उसले हत्या स्वाभाविक र सम्मानित देख्न थाल्दछ । त्यस्तै देखे पश्चिमाहरूले र, गरे भीमसेन थापाको- हत्या । उसो त राणाहरूले गरेका सुब्बा कृष्णलाल अधिकारीदेखि दशरथ, गङ्गालाल, धर्मभक्त, शुक्रराज लगायत अनेक नागरिकहरूको कत्लेआम मात्र नभएर प्रजातन्त्रकालमा मित्रमणी आचार्यसम्मका हिंसामा सबैले सम्मानित काम भनेर ठम्याएकै छन् । पञ्चायतकलामा दुर्गानन्द झादेखि राम लक्ष्मणसम्म र रत्न वान्तवादेखि सरोज कोइरालासम्मका अस्वाभाविक मृत्यु शृङ्खलामा जसजसका सहभागिता छ, उसउसले आफ्नो गलत सिद्धान्तलाई सही, असत्य यात्रालाई सत्य र हिंसाजन्य परिघटनालाई सामान्य दर्जा दिइरहे, दिइरहे ।
आज संसद्को कत्लेआम गर्ने ओली र सत्ताको समय थप्ने प्रचण्ड देउवाहरूको कुत्सित मनोविज्ञानमा एकै तर्क र दम छ, सत्ताको आयुसँग तर मार्ने दुराशा र पुनरोदयको दुःस्वप्न जसका लागि प्रचलित कानुनहरूको हत्या, अपव्याख्या र हास्यास्पद तकौषधिमा मदमस्त छन्– सत्ता मदहोसी मनुवाहरू ।
२०४६ सालको आन्दोलन र त्यसका पक्ष विपक्षमा तर्क र बाहुबल प्रयोग भएका थिए । व्यक्ति हत्याका शृङ्खला पनि उस्तै उत्तिकै सलबलाए । भन्नेहरूले त भनेकै थिए कि पञ्चायतको अन्त्य सबै समस्याहरूको समाधान हो तर, राज्यले गर्ने हत्या र सङ्गठित संस्थाहरूले (एक किसिमको राज्य)गर्ने हत्याका उस्तै रहिरहे । प्रजातन्त्रका सेना प्रहरीले बोक्ने गोलीले पनि नागरिकको ज्यान उस्तै गरेर लिँदो रहेछ, जसरी राणा वा पञ्चायतका प्रहरीले बोक्ने गोलीले ज्यान लिनसक्थ्यो । कृष्ण सेन इच्छुकको ज्यान सुरक्षा गर्नुपर्ने प्रजातान्त्रिक राज्यले जसरी ज्यान लियो र भोलि राज्य चलाउँछु भन्नेहरूले (आज चलाइरहेका छन् र चलाउन रुवाबासी गरिरहेका छन्) मुक्तिनाथ अधिकारी तथा पं.नारायणप्रसाद पोख्रेलहरूको अकारण ज्यान लिएर हत्याको उस्तै उस्तै उत्सव न मनाएका थिए ।
जर्ज अर्वेलले भनेको सत्य यहाँनेर पुष्टि भएकै छ । राजनीतिमा केही मूर्खहरूले अर्को मूर्खलाई सधैँ एक्ल्याइरहन सक्छ र अर्को प्रतिभाशाली छ भने त्यसलाई खेदो खनिरहन्छ भन्ने पनि कतै पढेको थिएँ, यहाँनेर मूर्खहरूको संयोजनको जोड घटाउको छताछुल्ल पटाक्षेपलाई भनिरहनै पर्दैन । कहिले महन्तहरूको उत्सर्जन पनि प्रिय हुन्छ र कहिले असल विचार पनि घिन लाग्छ महोदयहरूलाई ।
देशमा मृत्यु आतङ्कको त्रासदीय वितण्डा चलिरहँदा हामीले सत्तामा निदाइरहेका निरोहरूलाई देख्यौँ,स त्तारुढ हुन खुट्टा उचालिरहेका केही थान निरोहरूका बहुवचन पनि देख्यौँ । कथाले भन्छ कि रोमको सहरमा मूर्ख राजा निरो थियो र उसले प्राचीन सहर जलिरहेको कथा सुनेको थियो । पुरै सहर जलिरहेको दारुण दृश्य कथाकारले उसलाई सुनाएको थियो । कथाले उसलाई यति प्रभाव पारेको थियो कि ऊ त्यो कहालीलाग्दो दृश्य हेर्न आतुर भयो । मूर्खतापूर्ण उत्साहको चरम उन्मादमा पुगेपछि उसले पुरै सहर आगो लगाउने आदेश गरेको थियो र आगाका लप्काहरू उसलाई फूलजस्ता लागेका थिए । आम नागरिकका चित्कारहरू उसलाई सङ्गीतमय भएका थिए । त्यसैको आनन्दमा निरोले आफ्नो मन परेको बाँसुरी झिकेर बजाउन थाल्यो र एक्लै कौसीमा निस्केर नाच्न थाल्यो । जतिबेला नागरिकहरू दारुण चित्कार गरेर छट्पटिएका थिए, त्यतिबेला निरो सङ्गीतमा निमग्न थियो यस्तो लाग्थ्यो कि उसमा एक किसिमको सत्ता उन्मादको उत्सवमा थियो । सहर खरानी भइरहँदा ऊ पागलपनको पराकाष्ठामा थियो ।
कथाले भन्छ कि निरोको अन्त्य कारुणिक थियो । आगो मुटु कमाउने सिरेटोका लागि वरदान हो तर, त्यही आगो एकैपटक शरीर तताउन छालामै लगाउनु भनेको आत्महत्या हो । निरोलाई पनि अन्त्यमा त्यसै भयो । जब आगो सहर निलेर खरानी बनाउँदै दरबारमा प्रवेश गरेको थियो । निरो झसङ्ग ब्युँझिएर त्यही आगोमा हाम्फालेर आत्महत्या गरेको थियो ।
अब नेपाली राजनीतिमा त्यो परिघटना बिम्बपरक नै मानौँ कि अहिले देशमा आगो लागेको छ । देशभर मृत्युको डढेलो लागिरहेको छ । रोमका जनता सरह नेपाली आम नागरिक मृत्युरुपी डढेलोमा परेर चित्कार गरिरहेका छन् । निरो सिंहदरबारमा बसेर सत्ताको बाँसुरी धुन फेरेर बजाइरहेको छ । निरोका बहुवचनहरू सत्ताको तर मार्न खुट्टा उचालेर विदेशी इशारामा नाचिरहेका छन् । आगो जलिरहेको छ । थाहा छैन यो ज्वालामा कुन कुन निरोहरूले आत्महत्या गरेका हुनेछन् । आत्महत्या निर्वाचन निमोठेर पनि हुन्छ, आत्महत्या विचारको सर्वनाश गरेर पनि हुन्छ र हुन्छ आफ्नालाई सर्वात्मा हिरो र अर्कालाई किरा देखेर पनि हुन्छ । ठिक यस्तै यस्तै भइरहेछ गणतन्त्रको ताण्डवमा । सत्ताको मधुशालामा रम्ने/रमाउनेहरू सधैँ मदहोस् बन्ने रहेछन् । होस गुमेकै आधारमा कहिले अल्पायुमै संसद्को अन्त्यको घोषणा हुन्छ र हुन्छ कहिले आयु लम्ब्याउने तानाबानाहरू । फरक यत्ति हो दुवै मदारीहरू हुन् । चटक बोकेर हिँडिरहन्छन् सडक सडक र डमरु अर्कै कोठाबाट बजिरहन्छ, डिमडिमडिम.. । सडकमा तमासा चलिरहन्छ । मदारी मधुशालाको मदहोसमा छ । बाँदर छमछम नाचिरहेकै छ, छमछमछम.. ।
देशको ठूलो मधुशाला बन्छ, सिंहदरबार । वास्तवमै त्यहाँ पुगेका स्यालहरू सिंहझैँ सत्ताकै मदले लट्ठ भइदिन्छन् । तिनका घोषित/अघोषित वचन, व्यवहार र निर्णयले नै प्राचीन निरोहरू बिर्साइदिन्छ । सत्ताको नशामा चुर चुर भएर समयको आँधीमा आगो लगाइदिन्छन् र निस्कन्छ कहिले २००७, कहिले २००३६, कहिले २०४६ र २०६२ का अग्निकाण्डहरू । अनि देखिन्छ तमाम देश-परदेश नै भट्टीपसल र कुर्ची बनिदिन्छ- नशा । आम नागरिकको भइदिन्छ दुर्दशा र दशक दशकमा मदारीहरू नशामद अग्नि लप्कामा जल्न बाध्य छौँ हामी ।
र, अन्त्यमा जीवनको अन्तिम समाधि मृत्यु र आगो नै हो । आगो अहिलेका सब सामाजिक, राजनैतिक फेहरिस्तहरू नयाँ आगोको धुवाँ पुत्पुताउनकै लागि भइरहेको सम्झिरहेको छु ।
हिन्दी कवि दुष्यन्त कुमारको एक कविता:
सिर्फ हङ्गमा खडा करना मेरा मक्सद नही
सारे कोशिस है कि ये सुरत बदलनी चाहिए
मेरे सीनेमे नही तो तेरे सीनेमे सही
हो कहीं भि आग, आग जलनी चाहिए ।।