शुक्रबार , अषोज ४, २०८१

पत्रकारितामा वाहवाही, राजनीतिमा आएपछि गाली खाँदै रवि लामिछाने

पत्रकारिता छाडेर राजनीतिमा होमिएपछि कतिपयले प्रशंसा गरिरहेका छन् भने कतिपय प्रशंसकहरूले नै गाली गर्न थालेका छन् ।

image

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएपछि विभिन्न खाले टीकाटिप्पणीहरू आइरहेका छन् । ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रमबाट चर्चा बटुलेका लामिछानेले गत बिहीबार आफू कार्यरत ग्यालेक्सी फोरके टेलिभिजनबाट बिदा लिँदै राजनीतिमा होमिएका घोषणा गरेका थिए । पत्रकारिता छाडेर राजनीतिमा होमिएपछि कतिपयले प्रशंसा गरिरहेका छन् भने कतिपय प्रशंसकहरूले नै गाली गर्न थालेका छन् ।

उनले मङ्गलवार नयाँ दल घोषणा समेत गरिसकेका छन् । उनले राष्ट्रिय गृहमा घोषणा सभा आयोजना गरेका थिए । उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेर मङ्गलवार नै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन समेत दिइसकेका छन् । यद्यपि उनको दलको नाम स्वतन्त्र राख्दा वास्तविक स्वतन्त्रहरूको अपमान हुने भन्दै स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहु, काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह र राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले लामिछानेको दल दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनले घोषणा गरेर दर्ताको प्रक्रियामा लगेको दलको नाम, उनको राजनीतिक भविष्य, विचार लगायत विषयमा विभिन्न राजनीतिक दलका नेताहरूले समेत टीकाटिप्पणीहरू गरिरहेका छन् ।

rabi lamichhane, manoj pandit

‘स्वतन्त्र पार्टी विरुद्ध स्वतन्त्र उम्मेदवारहरू’ भन्दै पण्डितले यी फोटोहरू सामाजिक सञ्जालमा राखेका छन्

जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले व्यक्ति विशेषको क्षणिक लोकप्रियताको आडमा बनेको दल राजनीतिक कुसंस्कारको समाधान हुन नसक्ने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मजबुत सङ्गठन नबनाई, पछि परेका र पारिएका नागरिकको सामूहिक मुद्दामा कठोर र व्यापक मन्थन नगरी कुनै व्यक्ति विशेषको मौसमी ओज र लोकप्रियताका टेकोमा बन्ने ‘दल’ हाम्रो राजनीतिक कुसंस्कारको समाधान हुन सक्दैन ।’

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले भने रविलाई प्रेम पूर्वक शुभकामना दिएका छन् । मिश्र पनि पत्रकारिताबाटै राजनीतिमा होमिएका थिए । उनले पार्टीलाई स्थापित गर्न भने सकेनन् । भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा लज्जास्पद परिणाम आएको भन्दै उनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । मिश्रले पार्टी निर्माणमा आफूले गल्ती गरेको जनाउँदै त्यसबाट पाठ सिक्न रविलाई सुझाएका छन् । उनले ‘तिमी’ सम्बोधन गर्दै भनेका छन्, ‘तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थापित राजनीतिक दलहरूले जनभावनाको कदर गर्न नसक्दा नयाँ व्यक्तिहरू राजनीतिमा आउन थालेको बताएका छन् । उनले योग्य र क्षमतावान व्यक्तिहरू राजनीतिमा आउनु सुखद भएको बताउँदै रवि लामिछानेको राजनीतिक भविष्यको लागि शुभकामना समेत दिएका छन् ।

त्यसैगरी नेकपा एमालेका नेता सूर्य थापाले स्वतन्त्र नामको पार्टी गठन गर्नु नै कानुन विपरित भएको बताएका छन् । उनले स्वतन्त्र उम्मेदवार बन्न पाउनु सार्वभौम अधिकार भएकाले स्वतन्त्रकै नाममा दल दर्ता गर्न नहुने बताएका छन् । नेता थापाले कानुन विपरीत हुन्छ भने निर्वाचन आयोगले दल दर्ता गर्न नहुने धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कानुनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर  स्वतन्त्र पार्टी गठन गरिनु कानुन विपरीत हो । स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन।’

नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले घुमाउरो भाषामा रवि लामिछानेप्रति इङ्गित गर्दै निश्चित पेसा व्यवसायमा सफल हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । उनले रवि लामिछाने पत्रकारितामा सफल भएपछि राजनीतिमा सफल हुन नसक्ने बताएका हुन् । राजनीतिमा सफल हुन निष्ठा र समर्पण आवश्यक रहेको उनले बताएका छन् ।

‘निश्चित व्यवसाय र पेसामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन ।’ महासचिव पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ ।’

सम्बन्धित समाचार