बुधबार , मंग्सिर ५, २०८१

खुङ्खार खलनायक ‘रामी रेड्डी’को गुमनाम मृत्यु

image

८० देखि ९०को दशकमा बलिउड चलचित्रमा हिरो, हिरोइनभन्दा धेरै चलचित्रमा देखिने खतरनाक र खुङ्खार खलनायकमा ध्यान दिइने गरिन्थ्यो । चलचित्रमा यस्ता खलनायकलाई रोजिन्थ्यो, जसले वास्तविक जीवनमा पनि मान्छेहरूको होस् उडाउन सकुन् र उनीहरूको मनमा डर उत्पन्न गर्न सकुन् । तपाई पनि त्यो दशकका भयङ्कर खलनायक मध्ये धेरैलाई चिन्नु हुन्छ होला । जस्तै गब्बर, मोग्याम्बो, साकाल र बिल्ला लगायतका धरै खलनायक थिए, जो आजपनि लोकप्रिय छन्, तर यी सबैभन्दा दर्शकको मनमा धेरै डर उत्पन्न गराउनेमा एक कलाकार ‘रामी रेड्डी’को नाम सबैभन्दा माथि आउँछ ।

उनले धेरै चलचित्रमा यस्तो खलनायकको भूमिका निभाएका छन्, जुन आजपनि दर्शकको मस्तिष्कमा कतै न कतै अस्तित्वमा रहेको छ । रामी रेड्डीको पात्रलाई कहिल्यै पनि कुनै अर्को चलचित्रका खलनायकसँग जोड्न सकिँदैन, किनकि उनको अभिनयमा त्यो झलक देख्न सकिन्थ्यो, जुन मान्छेहरूको मस्तिष्कमा उनीप्रतिको डर बसाउन काफी हुन्थ्यो । उनको इन्ट्रीसँगै सुनिने ब्याकग्राउण्ड म्युजिकले उनको इन्ट्रीलाई अझै डरलाग्दो बनाउँथ्यो । रामीले कहिले कर्नल चिकारा बनेर मान्छेलाई तर्साए भने कहिले अन्ना बनेर हिरोको होस् उडाए ।

आज म उनको बारेमा केही खास कुरा बताउन गइरहेको छु । रामी रेड्डीको जन्म भारतको आन्ध्र प्रदेशको चित्तुर जिल्लास्थित गाउँ वाल्मिकीपुरममा भएको थियो । उनको वास्तविक नाम गंगासानी रामी रेड्डी हो । रामी रेड्डीले हैदरावादमा आफ्नो पढाई पुरा गरे, तर तपाईँलाई यो सुनेर अचम्म लाग्न सक्छ कि उनी सुरुवातदेखि नै पत्रकार थिए र उनीसँग पत्रकारिताको डिग्री पनि थियो । रामीलाई अभिनय गर्न रुचि लाग्थ्यो । उनले आफ्नो भाग्य पहिले तेलुगु चलचित्रमा जाँचे । उनको चलचित्र र पात्र निकै चर्चित भए, त्यसपछि रामीले हिन्दी चलचित्रमा काम गर्न सुरु गरे ।

रामी रेड्डीलाई पहिले हिन्दी चलचित्रमा साधारण भूमिका दिइन्थ्यो, जसलाई कसैले ध्यान दिँदैन थिए । केही समयपछि उनले चलचित्रमा खलनायकको भूमिका पाउन थाले, जसलाई उनले न्यायपूर्वक निभाए र खलनायकको भूमिकामा रेड्डीले चलचित्र उद्योगमा तहल्का पिटे । यति मात्र होइन रामी रेड्डीको बारेमा बताउने गरिन्छ कि चलचित्रमा उनी खलनायकको भूमिकामा देखिए तापनि वास्तविक जीवनमा उनी निकै सफा हृदय भएका साधारण व्यक्ति थिए । तर उनको खुंङ्खार खलनायकको भूमिकाको असर यस्तो थियो कि मान्छे वास्तविक जीवनमा उनीसँग डराउने गर्थे । रेड्डीले आफ्नो करियरमा करिब २५० चलचित्रमा काम गरे ।

रामी रेड्डीको चलचित्रको करियर राम्रैसँग चलिरहेको थियो र उनलाई कामको कुनै कमी थिएन, तर उनको जिन्दगीमा दुःखको पहाड त्यतीबेला खस्यो जब उनी एक गम्भीर बिरामीको शिकार भए । भनिन्छ रेड्डीलाई कलेजोसँग सम्बन्धित एक भयङ्कर रोग लागेको थियो । जसका कारण उनी धेरै बिरामी हुन थालेका थिए । रामी वर्षौँपछि जब कुनै एक कार्यक्रममा गए, त्यतिबेला मान्छेहरूले उनलाई चिन्न सकेनन् । रोगका कारण उनको शरीरमा हड्डी मात्र देखिन थालेको थियो । रोगसँग लड्दा-लड्दै सन् २०११मा रामी रेड्डीले संसारबाट बिदा लिए । सबैभन्दा दुःखको कुरा यो हो कि रामीको अन्तिम समयमा उनलाई भेट्न चलचित्र उद्योगका कोही पनि गएनन् ।

सम्बन्धित समाचार