नेपालमा प्रजातन्त्र आउनुपूर्व सामाजिक रुपमा पुस्तकालय स्थापना गर्नु अपराध मानिन्थ्यो, अहिले तीनै पुस्तक संरक्षण एवम् सार्वजनिक पुस्ताकालयप्रति चासो व्यक्त गर्नु जोखिमपूर्ण मानिएको प्रतीत हुँदै छ ।
पछिल्लो दिन नेपाली समाजको ऐतिहासिक अध्ययन गर्न उपयोगी थलो केशर पुस्तकालय पुगेँ । प्रायोजित रुपमा नेपालको इतिहास, संस्कृति मेटाउने काम जोडरफ्तारले यहाँ पनि चलिरहेको रहेछ । नेपाली समाजको सही अध्ययन विभिन्न ऐतिहासिक र पुरातात्त्विक सामाग्रीमार्फत सम्भव हुने हुँदा समाज विकासको निर्धारक सामाग्रीमाथि हेलाहितो बढाइएको हुँदो हो । संस्कृति निर्माण निकै लामो श्रम प्रक्रियाबाट गुज्रने हुँदा निकै छोटो समयमा यसलाई सक्न राजनीतिक विचारधारात्मक द्वेषहरू प्रतिबिम्बन हुँदै जानु खेदजनक छ । शिक्षण मन्त्रालयले आफ्ना अत्यन्त व्यक्तिगत र अनावश्यक कागजात बाहिर घाममा सुकाउन निकालिएको भनेर, जुन प्रकार उसले घरबुना एवम् फुर्माइसी जवाफ दिएको छ, त्यसलाई पत्याएर बस्नु ठुलो गल्ती हुनेछ । शिक्षा मन्त्रालयको यस जवाफमा अतिरिक्त राजनीतिक विचारधारा प्रतिबिम्बित भएको पाइन्छ ।
किताब गुन्द्रुक बनाउन सुकाइएको रायोको साग हो र घाममा सुकाउन ? दिनुपरेपछि अलि गतिलो जवाफ दिनु नि । किताब पढिरहने एउटा भाई भन्थ्यो, “पुस्तक पढ्नेहरूसँग जति ह्यूमर सेन्स कोहीसँग हुँदैन ।” हो रहेछ ! एलएचएस बराबर आरएचएस प्रुभ्ड ब्रो । थ्यांक्स !
प्रश्न, उसले यो ५/७ दिनमा बाहिर निकालेर चिल्लीबिल्ली पारेका ऐतिहासिक एवम् शैक्षिक महत्त्व बोकेको कागजात, फाइल, पुस्तक एवम् टेपहरूको मात्रै होइन । मूल प्रश्न- देशको जेठो सरकारी पुस्तकालय ‘पुस्तक, पुस्तक व्यवस्थापन, पठन संस्कृति वृद्धिविकासका खातिर कतिको उत्तरदायी र जिम्मेवार छ भन्ने हो ।” सो यहाँ देख्न नपाइनाका विभिन्न कारण छन्, जो क्रमशः खुल्दै जानेछन् नै ।
केसर पुस्तकालय परिसर (३४ रोपनी) भूस्वामित्वको हिसाबले धनी छ, अझ यो ठाउँ व्यापारिक कार्यतालिकाको ‘मिनटाइम’ पनि हो । यसकारण यहाँ धेरैको धेरैथरि आँखा पनि स्वाभाविक पनि छ । केशर पुस्तकालय र स्वप्न बगैँचा एकीकृत गरेर विकास समिति गठन गर्ने शिक्षा मन्त्रालयको प्रयास निरन्तर देखिन्छ । केशर महल क्षेत्रको चल–अचल सम्पत्ति व्यक्तिसरह उपभोग गर्न पाउने अधिकारसहित व्यापारिक प्रयोजनको स्वार्थ राखेर एकीकृत विकास समिति गठन प्रयासको विरोधमा मन्त्रालयको पुस्तकालय समन्वय शाखा (केशर पुस्तकालय प्रमुख दशरथ मिश्र रहँदा) ले यसअघि नै बताइसकेको कुरा हो । एकीकृत विकास समिति गठनबारे अध्ययन गर्न गठित समितिले पुस्तकालय सहितको भवन व्यापारिक प्रयोजनमा समेत उपयोग गर्न सकिने अवधारणा अगाडि बढाइरहेकै छ । पुनर्निर्माणको बहानामा पुस्तकालयलाई केशर महलबाट अन्तै सार्ने तयारी पनि गरिएकै थियो । पुस्तकालयको उत्तरमा बन्दै गरेको होटेल सञ्चालकले व्यापारिक प्रयोजनका लागि सो क्षेत्र भाडामा लिने प्रयास पनि गरिरहेकै छन्। यी विभिन्न कारण केसर महलको पछिल्लो गतिविधिमाथि प्रश्न उठाउनु वाञ्छनीय हुन् आएको हो ।
ऊ त्यो ऐतिहासिक सम्पदास्थल हो, जहाँ युनेस्कोले सूचीकृत गरेका सुश्रुतसंहितालगायतका झन्डै ६० हजार पुस्तक छन् । सयौँ जीवजन्तुका आखेटोपहार सङ्ग्रहित छन् ।
अलिकता भनौँ,
केशर महल क्षेत्रको सम्पूर्ण सम्पत्ति केसर पुस्तकालयको नाममा थियो, ०५६ सालमा स्वप्न बगैँचालाई पर्यटकीय गन्तव्य बनाउने भन्दै स्वप्न बगैँचा विकास समितिमा लगियो । विकास ऐन, २०१३ अनुसार स्वप्न बगैँचा विकास समिति (गठन) आदेश–२०५६ बमोजिम गठन भएको समितिले बगैँचा चलाइरहेको छ। जसको अध्यक्षमा शिक्षासचिव हुने व्यवस्था छ। सदस्यहरूमा मन्त्रालयका प्रशासन शाखा प्रमुख, पर्यटन बोर्डको प्रतिनिधि, केशर शमशेरकै छोरा आदि रहने गर्दै आइरहेका छन् । साथै, आठ रोपनी चर्चेको स्वप्न बगैँचाको पर्यटन प्रवर्द्धन गर्ने र त्यसको आम्दानीको केही अंश केसर पुस्तकालयको विकासमा खर्च गर्ने पनि भनिएको छ। भन्नु परोइन, पुस्तकालय मन्त्रालयले नै चलाउँछ। स्वप्न बगैँचा विकास समितिको २०७७ माघको बैठकले केशर महललाई सङ्ग्रहालय बनाउने र केसर पुस्तकालयलाई अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय बनाउने एजेन्डा प्रस्ताव गर्यो । अध्ययन गर्न भनी चार सदस्यीय कार्यदल बन्यो । तयार पारिएको अध्ययन प्रतिवेदनको खाकामा केशर महलभित्र रहेका सबै संरचना, पुस्तकालय र स्वप्न बगैँचा विकास समितिमातहत ल्याउने उल्लेख पर्यो । मस्यौदा प्रतिवेदनमा पुरानो स्वप्न बगैँचा विकास समिति (गठन) आदेश,२०५६ खारेज गरेर नयाँ ‘केशर पुस्तकालय एवं स्वप्न बगैँचा, एकीकृत विकास समिति (गठन) आदेश,२०७७’ लागू गर्ने उल्लेख समेत छ । विकास समितिमार्फत नै केसर पुस्तकालय सञ्चालन गर्ने योजना प्रस्ताव गरिएको छ, तर समितिका सदस्यमध्ये एक केसर पुस्तकालयका पूर्व प्रमुख दशरथ मिश्रको विरोधपश्चात् यस काममा ढिलासुस्ती देखियो । सुन्न पाइन्छ, “राष्ट्रिय पुनः निर्माण प्राधिकरणले यसको पुनर्बलीकरण (रेट्रोफिटिङ) सक्नुअगाडि पुनः वार्मअप चल्ने छ । यसका लागि यियस्तै बहाना झिकेर किताब मिल्काउनु नै उपयुक्त तरिका हो ।”
यो केशरको हकमा मात्रै नभएर देशभरकै सरकार मातहत रहेका, समुदाय मातहत रहेका एवम् संस्था मातहत रहेका पुस्तकालयहरू देख्न पाइन्छ । यसका लागि प्रमाण, दसी एवम् तथ्याङ्क जुटाउने कसरत गर्नुपर्दैन, स्वविवेक, स्वमहसुस नै प्रमाण हो । आफू वरपरको वस्तुस्थिति नियालिहेरेमा छर्लङ्ग भइजान्छ नै ।
१. ०७२ को भूकम्पपश्चात् देशभरकै पुस्तकालयका जीर्ण भवनहरू भग्नावशेषमा परिणत भए । जसले पुस्तकालय पुस्तकहरूलाई स्थानान्तरण गराउन, निजीकरण गर्न सघाउ पुर्यायो । कतै भए पनि, धेरैतिर स्थानीय अवरोधपश्चात् रोकियो । तर, यो कटु यथार्थता हो कि- पछिल्लो दशकमा पुस्तकहरूले निकै घामपानी र ओस सहेका छन् र लेउजस्तो च्यापच्याप लाग्ने, कसैले छादेको खाना जस्तो छुन घिनलाग्ने एवम् गन्हाउने अवस्थामा पुगेका छन् । पुस्तकप्रेमी र पुस्तकालयका शुभचिन्तकहरू महत्त्वपूर्ण ऐतिहासिक कागजात तथा पुस्तकहरू कवाडीमा पुर्याइदा पनि चुप बस्नु सही कुरा हुँदै होइन । ‘पुस्तक र पुस्तकालय बचाऊ’ भनी शैक्षिक, सामाजिक एवम् साहित्यिक संस्थाहरूले विज्ञप्ति निकालुन्, हस्ताक्षर सङ्कलन गरि दबाबमूलक कार्यक्रम तयार गरुन् एवम् आफ्नो हदबाट हुन् सक्ने सम्मको संरक्षणका गतिविधिहरू अवलम्बन गरुन् । तपाईँ-हाम्रो स्वतःस्फूर्त संलग्नता र सहभागिताको आवश्यकता महसुस नै जम्माजम्मीमा यो आलेखको निचोड हो ।
२. भुईँचालोको सम्बन्धमा अर्को कुरा पनि बताउनुपर्नेछ- यसले संग्रालय, अभिलेखालय, पुरातात्त्विक धरोहरको आङ मात्रै फुस्काइदिएन; मल्लकालीन एवम् राणाकालीन (केही लिछ्विकालीन अवशेष-मूर्ति लगायत) सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, बौद्धिक खजानाहरू जोगाउनै पर्ने बाध्यात्मक बाध्यता सिर्जना गरिदियो । तर, दुःखसाथ भन्नुपर्छ- सरकार मातहतको पुनर्निर्माण प्राधिकरणको कुनियतका कारण भूकम्पले गरेको क्षतिभन्दा बेसी क्षति (चोरिनिकासी, असली-नक्कली साटासाट, नियतवश ढिलासुस्ती र विदेश पठाउने) काम भयो, भइरहेको छ । जातिगत पहिचान एवम् चोक-चोकमा घिरौँला आकारका द्वन्द्वकालीन सहिदका सालिक उभ्याइदा जोगाउनै पर्ने तमाम चिजहरू असरल्ल एवम् अवशेषमा परिणत भए । कोरोनाको समयमा अझ बेसी यो कामले सफलता हात पार्यो । ‘संविधान घोषणा, प्रतिगमन, नागरिकता विधेयक, पर्यटन दशक एवम् आर्थिक सुधारका अनगीनत बहानाहरू अघि सार्ने काम हुँदा यतातर्फ जनता सचेत हुन् पाएनन् र जनविरोध एवम् जनचासोको अभावमा भूकम्पले पुर्याएको क्षति कमाइखाने भाँडो बन्यो । एउटा भन्छ, “पछिल्लो दशकमा जति देश खोक्रो माओवादीले पनि पारेका थिएनन् ।” एउटालाई भन्नुछ, “सही भन्दैछस्, कसरी खोक्राउन सकिन्छ भनी उदाहरण पेश गर्ने चाहिँ यिनीहरू पनि हुन् । ०४६ अघि र पछिको काँग्रेस पनि यहाँ अछुतो छैन । यो मूलाले मलाई सम्झिएन भनेर मन सानो गर्ला फेरि !” तर, यसो हुँदा पनि पुस्तकप्रेमी र पुस्तकालयका शुभचिन्तकहरूबाट चिन्ता/चासो व्यक्तिएन । छैन त काइदाको कुरा ?
३. खैर, हामी हाम्रै कुरामा आऊ । भूकम्पको बहानाबाजीको चेपमा परेको मूल पात्र पुस्तक र पुस्तकालय पनि हो । मूल पात्रको पात्रको रुपाकृती, भावभङ्गीमा र परिवेशको अनावश्यक डिटेलिङ/अतिशय वर्णन नगरीकन भन्दा पुस्तकालयहरू टहरामा पुगेका छन्, पुस्तकहरू निजीकरण, चोरिनिकासी एवम् जानाजान कवाडीको भाउमा बिक्दै छन् । मेरो महसुस भन्दछ- पछिल्लो दशकमा निकै विद्यालय र पुस्तकालयका पुस्तकहरू लापता भएका छन् । बुक्स वेयर गोन म्यान् !
नेट एवम् पछिल्ला डिजिटल संस्करणको केही दोष होला, तर त्यो भन्दा बेसी नेपालको राष्ट्रिय पहिचान सकुन्चित तुल्याउने कामहरू नियतवश, प्रणालीगत एवम् योजनाबद्ध ढङ्गले भइरहेको प्रतीत हुन्छ । प्रमाणस्वरूप, तपाई कुनै पनि लाइब्रेरीको ढोका उघार्नुस्, लाइब्रेरीका कर्मचारीको व्योहोरा, व्यवस्थापन पक्ष, किताबको हालत र भवनको मनितो अनुहारसँग जोग्गिदै पुस्तकहरूले भनिहाल्छन्- ‘ब्रो यार, ग्यास्ट्रिक छ । चिया त नखाऊ तर कान छ भने सुन- तँलाई खाडी लखेट्न मेरो जिब्रो थुतिँदै छ ।”
४. अर्को यो पाटो पनि छ- सरसरती नेपालको पुस्तकालयको इतिहास नियाल्दा भेटिन्छ, पुस्तकालय रहेका जग्गा र भवनहरू व्यापारिक मार्ग वा सामाजिक ओहोरदोहोरको केन्द्रमा अवस्थित छन् । साथै, पन्च एवम् राणाहरूको तमाम बदमासी र कटुताबिच पनि उनीहरू ‘नेपालको पहिचान, सांस्कृति-ऐतिहासिक-पुरातात्त्विक विरासतमा गर्व गर्ने भएकाले पुस्तक र पुस्तकालयप्रति उनीहरूबाट किञ्चित उदारभाव प्रकट भएको पाइन्छ, जसको प्रतिफल नेपालका प्रायशः पुस्तकालयहरूको भूस्वामित्व मनग्य छ । सार्वजनिक स्थलहरूमा व्यवसायीक वर्गको हालीमुहाली बढाउन लागिपरेका कथित राष्ट्रिय पार्टीधीसहरूका कारण सार्वजनिक पुस्तकालयहरूमा पछिल्लो समय जोखिम बढ्दो छ । नेपाल पुस्तकालयको हकमा ओली सरकारको रवाफ एउटा उदाहरण हुँदै हो । निकै छिटो पुस्ताकालयरुपी खण्डहर (कर्कलो) बाट पुस्तकहरू शीत सरह तुप्लुक तुप्लुक सताधिसहरूको जुत्तामा खस्नेछन् र किचिनेछन् । अनुरोध यत्ति हो- खस्नुपूर्वै जोगाऊ । पुस्तकले यी अधिकतम टलकदार जुत्ता चुम्ने दिन नआओस् ।
५. र, यो पहिलो अनुभव होइन । केशरको पछिल्लो वास्तविकता मेरो २०/२५ औँ ‘पुस्तकालय मेमोवर’ हो, यसकारण पनि यस आलेखमा तथ्याङ्क या कथित बाइटधारीहरूको स्वर गुञ्जायमान नहुने सम्भावना बढ्तै छ । बढ्तै के छँदै छैन भन्दा हुन्छ ।
गुठी संस्थानको भद्रकाली शाखामा रहेको पुस्तकालयकै अनुभव यसप्रकार छ;
भदौको कुनै दिन भद्रकाली अवस्थित गुठी कार्यालय (९ शाखामध्ये एक) को निजी पुस्तकालय छिरेको थिएँ । यो बिल्कुल संयोग थियो, मैधी (पृथ्वीनारायणको व्रतबन्ध स्थल)को सम्बन्धमा गुठीको जग्गा कति थियो भनेर बुझ्न पुगेको थिएँ, पुस्तकालय पनि छ भन्ने छिरेसी थाहा पाएँ । निकै कसरत गरि स्वअध्ययन एवम् पुस्तकालयको हालत बाहिर नलैजाने सर्तमा भित्र छिर्न पाएँ । छिर्नुअघि मोबाइल, झोला खोसियो । संस्थागत लाइब्रेरी हो, उसको नियम मान्नुमै भलाई छ सोचेर अह्राएबमोजिम गरेँ । छिर्न अझ पाइएन, छिर्नुपूर्व आफ्नो सक्कली परिचय र पढ्न चाहेको पुस्तक पहिल्यै भन्नुपर्ने भयो । लाइब्रेरी छ भन्ने त भर्खर थाहा पाएथेँ, पुस्तक कुन-कुन छन् के थाहा पाउनु ?
‘इतिहास, संस्कृति र पुरातात्त्विक महत्त्वका जुनै पुस्तक भए पनि हुन्छ । २/३ घण्टा बस्छु ।”
“चाडै निस्कनुहोला । फटाफट गर्नु ।” म जिल खाएँ, ट्वाइलेट गर्या हो र यार ? लाइब्रेरी छिर्न खोजेको हो । तर, जवाफी दोहोरीमा उत्रिनु थिएन
यसपश्चात् एउटा रजिस्ट्रार आइपुग्यो, जहाँ पुस्तकको सूची नभई पूर्व कर्मचारीको नाम थियो । किताबको नाम होला भनेको ‘राम, श्याम, सीता, गीता, सरिता’ देखियो । हाँसेँ । यसा तो होता हि रहेता है । यो मेरो लागि नयाँ थिएन । ५/७ वर्षपछि कोही पुस्तकालय छिर्छु भन्दै थियो, कर्मचारी नयाँ हुँदा हुन्, फाइल तल परेको हुँदो हो- संस्थानका कर्मचारी दिदीकै माया लाग्यो उल्टो । अर्को १० मिनेट लगाएर पुस्तकको सूची भएको फाइल आइपुग्यो ।
जसै भित्र छिरेँ, अँध्यारो-कालो कुनै गुफा प्रतीत भयो । कहाँ बस्ने पत्तो चलेन किनभने कमसेकम यो कोठा ६ महिनापछि खोलिएको थियो । ६ महिनामा कति धुलो जम्छन्, सोच्न सकिन्छ । अर्को कुरा लाइब्रेरीमा रहेका टेबल कुर्सीलाई टेकोको आवश्यकता थियो । टेकोकै अडिएको भवनमा टेबुल-कुर्सीलाई टेको ? त्यो पनि नाथे लाइब्रेरीको ? को तातोस् ?.. ढोका खोलिदिने दिदी (नाम जान्दिनँ) र म भएर सफाई गर्यौँ । उहाँले दराज खोलिदिनुभयो, आफूलाई चाहिएका पुस्तक निकालेँ र पढ्न बसेँ ।
एक घन्टाजति पछि उर्दी आयो, “पुस्तक लिएर आउनुस्, बाहिरै बसेर पढ्नुस् ।” उनीहरूलाई मप्रति शङ्का लागेको हुँदो हो तर जीर्ण भवनको बहाना अघि सारेँ । मलाई त्यहाँ बसेर पढ्दा जुन महसुस भएको थियो, त्यो पछि कहिल्यै कतै भएको छैन । ४० साल भन्दा अघिका अर्थात् मभन्दा १०/१५ वर्ष जेठा पुस्तकहरूसँग बस्नु भनेको अतीत विचरण गर्नु जस्तो भएको थियो । त्यो मखमल क्षण नियतवश खोसियो ।
‘हाम्रा धार्मिक चाडपर्व (चेतोनाथ शर्मा आचार्य, १७० ट्याग नम्बर), हाम्रो देश-दर्शन (योगी नरहरिनाथ, २४४ ट्याग नम्बर), श्रीतलेजु र दिगुतलेजु (कुलचन्द्र कोइराला, ट्याग नम्बर ३०१), वेदान्त-दिग्दर्शन (स्वामी नरेश्वरानन्द, ट्याग नम्बर २०८), इन्द्रजात्रा (कोइराला, ट्याग नम्बर २०८), महासामन्त (एस.पी. आसा, ट्याग नम्बर १२८०), भिखारीको पहिलो संस्करण (देवकोटा, ट्याग नम्बर १२६७), नेपाली राष्ट्रिय मुद्रा (सत्यमोहन जोशी, ट्याग नम्बर १६०) आदि निकालेँ । ट्याग नम्बर उल्लेख गर्नुको कारण चाहिँ अर्को वर्षमा यी नम्बरकै नवीनतम पुस्तक देखिन सक्ने डर हो, किनभने मेरो ब्रह्म भन्छ – ‘यस्ता पुस्तक नेपालमा पाइनु/देखिनु/पढिनु राष्टहित विपरीत छ । यिनलाई फ्री भिसा-फ्री टिकट दिएर देश निकाला गरिहाल्नुपर्छ ।” गुठी संस्थानको भद्रकाली शाखा प्रमुखसँग पछिल्लो समय मितव्ययिता भएकाले जिस्किँदै सोध्छु, “हिजो अस्ति कोहि आए ?” उहाँ मजाक गर्नुहुन्छ, “हामी आएका थियौँ । आज तपाईँ आउनुभएको छ ।”
यो दुःखको कुरा छ कि, यहाँ हप्ता-दश दिनमा एक-दुई जना पनि पुग्दैनन् । यहाँ लाइब्रेरी छ भनेर निकै हल्ला पनि गरेको हू, तर हामीलाई यस्ता पुस्तक पढ्न टाइम नै छैन । ‘एक्लो’को समीक्षामा रमाइबस्न जति मजा यो धुलैधुलोले भरिएको भूकम्पले भग्नावशेष बनाइदिएको भवनमा उक्लिन कहाँ ? पाठकहरूमा प्रेसर र दमको रोगको बढेको त म पनि बुझ्दछु । ओके सरि ।
यति लामो गलफती गर्नुको कारण हो- पुस्तकप्रतिको प्रेम पुस्तक व्यवसायीसँग बाहेक अन्यत्र देख्न मुस्किल पर्यो । पुस्तक व्यवसायी पनि पैसाको प्रेम छन् तर माथिल्लो वाक्य प्रयोग गर्दा अलि मिठो सुनिन्छ । टिकटकजति पुस्तक मिठो नहुनाले नै यसो भएको हो, यसलाई यत्ति भनेर टुङ्ग्याइदिन मिल्छ ।
६. नेपाल-भारत लाइब्रेरीको हकमा अझ नमिठो अनुभव छ, भारतीय दूतावासले आफ्ना राजगुरु ब्रिटिशका किताब असरल्ल राखेको छ । यहाँ छिर्नु भनेको भारतको विरासत जान्नु हो । धार्मिक एवम् सांस्कृतिक सम्बन्धमा भारतका सन्दर्भहरू नेपालका लागि उपयोगी देखिएकाले १५ प्रतिशत जति किताब कामका छन् । बाँकी ब्रिटिश उपनिवेश र भारतीय अतिरिक्त गलफतीका छन् । संस्थाको किताब हुनाले यता धेरै बोल्नु भएन । ऊ आफ्नो बुक र्याकमा आफ्ना मनपसन्द किताब राख्न पाउँछ । धन्न, बढीमा १/२ सय नेपाली लेखक र नेपाल सन्दर्भमा किताब राख्दिएको छ । ‘कता कताको कथा (राममणि रिसाल), राष्ट्रिय मूर्तिकला एक अध्ययन (मदनमोहन मिश्र), नेपालको शिल्प सम्पदा (यादी रत्न बज्राचार्य), मेचीदेखि महाकालीका भोल्यूमहरू, हनुमानढोका राजदरबार (गौतमवज्र बज्राचार्य), संशोधन मण्डलका केही पुस्तकहरू, तराई नेपालका लोककला, पञ्चायत दर्पण, श्रद्धाका केन्द्र श्री ५ वीरेन्द्र, जयदेव (सुनितिकुमार चटर्जी)’ आदित्यादी देखेँ-पढेको हू । व्यक्तिगत इन्ट्रेस्टका कारण मात्रै यी पुस्तकहरूसँग ठोक्किएको होइन, नेपाली पुस्तकहरू यस्तै-यस्तै र यिनै-यिनै मात्रै छन् । अझ, पछिल्ला सर्वाधिक विक्री लिस्ट चुमेका पुस्तकहरू पनि देखिन्छन् । यसप्रकार यहाँ नेपाली पुस्तक संग्रहण एवम् नेपाली लेखकको मानमर्दन गर्ने काम भएको छ । माथि नै भनियो, दूतावास नेपालीलाई भारत पढाउन चाहन्छ । चाहन्छ त चाहन्छ, कसको के लाग्छ ?
७. पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय, एकेडेमी, संग्रालय, विद्यालय एवम् साहित्यिक सङ्घसंस्थाका हाकिम कक्षहरूमा जाँदा अत्यन्त फितला र पातला गुणवत्ता भएका पुस्तक देख्न पाइन्छ । मेरो अनुभव भन्छ, पुस्तकालयहरू १०-४ को समय पालन गर्दैनन् । धादिङमा एकफेर पर्यो, “सर ११ बजे खोल्छु । २ बजे बिहेमा जानुछ । हजुर आउनुहुन्छ भने मात्रै घरदेखि निस्किन्छु ।” मैले भनिदिएँ, “पुस्तकालय खोल्नु भन्दा बिहे गजब हो नि सर । वरबधुलाई ‘पढिलेखी ज्ञानी हुने आशीर्वाद दिन नभुल्नुस् ।” उनले जसप्रकार खुसी हुँदै ‘हस्’ भने मलाई लाग्छ- बिहे मण्डपमा नैतिक शिक्षाका राम्रै पाठ दन्काएर आए होलान् ।
८. लखर लखर लखर्किने आदतवश जनकपुर, मकवानपुर, चितवन, नुवाकोट, रौतहट, झापा, रोल्पा, पाल्पा, नेपालगन्जतिर पुग्दा पनि मैले कापी-कलम बेच्ने स्टेशनरीबाहेक पुस्तकालय देखिनँ । तत् तत् जिल्लावासी साथीहरू भन्छन्, “छन् त छन्, मै नगएको धेरै भयो ।” अनि स्टेशनरी पसलेहरू भन्छन्, “सर, फलानो प्रेमकथाको बुक चाहिँ गइराछन् । तपाईँले पनि त्यस्तै लेख्नुपर्यो ।” ‘हुन्छ’ भन्दिएर फुत्किभाग्नु अर्को नियमित आकस्मिकता भएको छ । यस्तै फितला पुस्तक मात्रै पढ्ने या पढाइने प्रणाली किन विकसित गरिँदै छ ? कसले गर्दैछ ? प्रश्नहरू बाँकी छन् ।
९. काठमाडौँकै हकमा कुरा गर्दा, मार्क्स-लेनिन-माओ-ओशो का पुस्तकहरू ढोकाछेउमै राखिएको पाइन्छ । किराना दोकानेहरू चकलेट देखाएर खुद्रा फिर्ता नगर्ने सुर कसेजस्तो प्राइभेट एवम् पुराना पुस्तक पसलेहरू मार्क्स-लेनिन-माओ-ओशोको खुद्रा डीलिङ गरिराछन् । नेपालको राष्ट्रिय पहिचान उजिलाउने एवम् कृटिकल्ली सोच्न सिकाउने अलि गहकिला र कम मोल भएका किताब कुनातिर थन्क्याई जात-समूह-संस्थाका म्याप, म्यागेजिन,ब्रोसर-पर्चा बेच्ने हदमा पुस्तक पसलहरू किन उत्रिएका होलान् ? कहिलेकसो हाई गर्न मन लाग्दा मुख बाउँदै सोच्ने गर्छु । अन्य पुस्तकालय र पुस्तक पसल पनि पठन संस्कारयोग्य छैनन् । सल्लाहकार समिति नै बनाए सरह सबैतिर एकैचोटी यो रिक्तता महसुस किन गराइँदै छ ? नेपाल राष्ट्र बैङ्क पुस्तकालय (सन् १९५७), केन्द्रीय कानून पुस्तकालय (सन् १९९३), काठमाडौँ भ्याली सार्वजनिक पुस्तकालय (वि.सं. २०६२), शैक्षिक पुस्तकालयको रुपमा त्रि.वि. पुस्तकालय (वि.सं. २०१६) सबैसबै योगी नरहरिनाथ, धनवज्र बज्राचार्य, भिक्षु अमृतानन्द, नयराज पन्त, अम्बिकाप्रसाद उपाध्याय, जनकलाल शर्मा, मदनमणि दीक्षित, ज्ञानमणि नेपाल, राममणि आदी, हर्क गुरुङ, केशरबहादुर के.सी, रेवतीरमण खनाल, बालचन्द्र शर्मा, धनप्रसाद घले, इमानसिंह चेम्जोङ आदिलाई किन दरकिनार गर्दैछन् ?
१०. यता, साझा, राष्ट्रिय अभिलेखालय, मदन पुरस्कार जस्ता नामाचिन संस्थाका गोदाममा सडिरहेका पुस्तकहरूले हामीलाई तत्कालीन राजनीति, नीति-नियमावाली, जनसमुदायको आक्रोश र चिन्ता, त्यसको सम्बोधन या भनौँ पञ्चायत वा महेन्द्रकालीन सत्ताको नालीबेली हामीलाई बताउने गर्दछ । ती सत्ताबारे प्रश्न गर्न, कृटीकल्ली सोच्न-छलफल गर्न सघाउ पुर्याउछ तर, ती पुस्तकहरू बिरालोले आची लुकाएसरह लुकाइँदै छ । पुनर्मुद्रण भएर नआउनु, प्रदर्शनीमा नराखिनु, कुनाकाप्चामा पारिनुको सोझो अर्थ के हो भनेर सोच्ने बेला पनि भएको छ । एउटा भन्थ्यो, “यसरी किताब लुकाउँदै या नष्ट पारिँदै लगियो भने अर्को दशकपछि नेपाली संस्कृति, इतिहास र राज्यसत्ताका बारेमा मनलाग्दी व्याख्या-विश्लेषण गर्न या सुगा रटाइ गराउन पाइन्छ । शिरोमणिमै फनफनी गरिरहेको नेपाली इतिहास एउटा उदाहरण हुँदै हो । शिरोमणिले कमसेकम दरबारीया स्वार्थ राखे तर, यो पछिल्लो कामले सबै नास्न खोज्दैछ ।” एउटाले लामै भनेछ । अँ, ऊ अतिशय भावुकताको वशमा थियो । उसलाई नरोक्ने हो भने ऊ यो पनि भन्दै छ, “ऐतिहासिक दस्ताबेज, मुद्रा, पुरानो हातहतियारहरू सङ्ग्रह गर्ने क्रियाकलापहरूमा जसप्रकार देशभर नै उदासीनता छाइरहेको छ, यो सुखद लक्षण होइन ।”
बुँदाहरू सकिएकाले अनुच्छेदमा उत्रियौँ ।
ब्रोसर, लिफलेट, डिक्सनरी, इन्साईकोपिडिया, सेलिब्रेटीका बायोग्राफी र माओवादी जनआन्दोलनबारे तातो न भुत्लोको गन्थनसंग्रह लगायतलाई ‘माधवी’ आकार दिइरहेका प्रकाशक गृहहरूको यतिबेलाको चुप्पी पनि काइदाकै लागेको छ । साझाका पुराना पुस्तकलाई सुटुक्क आफ्नो बनाउने धन्दामा पल्किएका पुस्तक व्यवसायीहरूलाई साँच्चैमा सार्वजनिक पुस्तकालयहरूको यो अवस्थादेखि खुसी छन् जस्तो देखिन्छ । अर्कोतर्फ, ‘घरघरमा पुस्तक र टोलटोलमा पुस्तकालय’ भन्ने नयाँ कमाइखाने नाराबाजीमा यद्यपि ‘निशानछाप’ लागिरहेकै हुँदा शिक्षा मन्त्रालय लगायत जिम्मेवार भइखान पनि परेन । जताततै हाइसन्चो छ । क्या मज्जा । क्या मोज । चियर्स । झड्याम्म । म:म: । पाएसम्म र भेटिएसम्म पुराना दस्ताबेज आफ्नो बनाउने कसरत अर्को दुर्भाग्य हो । जब पुस्तकमा व्यक्तिवाद देखिन्छ, यसले सामूहिकता मास्छ पुस्तकालयकर्मी र पुस्तकालयका शुभचिन्तकहरूको सङ्ख्या ‘निजी संग्रहण’मा व्यस्त रहँदा कसलाई भन्नू ?
मानव सभ्यता विकास भएसँगैका पुराना कुराहरूलाई सङ्ग्रहित गरेर राख्ने चलनमध्येको मानवले विकसित गरेको प्रिय बानी हो- पुस्तक लेखन, पठन र त्यसपछि भविष्यका लागि संग्रहण । जो नेपालको हकमा ओझेलमा पर्दै छ । अर्कोतर्फ, बोरामा रहेका पुस्तकको हालत के होला भन्दा पनि बोरा नै सुरक्षित छ कि छैन भन्ने प्रश्न पनि छ । कुनै पनि लाइब्रेरीले आफूकहाँ भएको पुस्तकहरूको साँचो सङ्ख्या उल्लेख गरेजस्तो लाग्दैन । अमेरिका-युरोप पुगेका साथीहरू बताउँछन्, “मूर्ति मात्रै होइन, नेपाली पुस्तक यहाँका सार्वजनिक लाइब्रेरी/संग्रहालहरूमा देखेको छु ।”
मूर्तिको चोरी सन्दर्भमा पनि केही बोलौँ,
२००८ श्रावण ४ मा ‘देवताको मूर्ति चोरी’शीर्षकमा गोरखापत्र छापिएको समाचार यस सम्बन्धको पहिलो समाचार हुनुपर्छ । द राइजिङ नेपालमा ‘गोइङ, गोइङ, गोन’ शीर्षकको चर्चित लेख लेखेका जर्मन अनुसन्धानकर्ता मि. जोरगेनका अनुसार संसारलाई नेपालको ढोका खोलेको (२००७ पछि) चालिस वर्षभित्रमा नै नेपाली कलाकारहरूले करिब २ हजार वर्ष लगाएर तयार गरेको कलाको भण्डारका करिब ५० प्रतिशत सम्पत्ति गुमाइसकेको छ । लैनसिंह वाङ्देल ‘स्टोलन इमेजेज अफ नेपाल’ले करिब १९९ चोरिएका मूर्तिहरू र २९ वटा चोरिने प्रयास गरिएका मूर्तिहरू चित्र प्रकाशित गरेर यो सङ्ख्या अझ बढी हुन् सङ्केत गरेकै हुन् । नेपालले सन् १९६६-६७ मा नेपाली कलाको उच्च स्तरीय प्रदर्शनी सर्वप्रथम फ्रान्स, जर्मनी र अन्य युरोपी राष्ट्र एवम् अमेरिकामा गरेपछि मूर्ति चोरीको अनुपात अझ बढेको जिकिर डा. साफल्य अमात्यले गरेका छन् । नेपाली कलाकृतिहरू विदेशी पर्यटक, कलासंग्रहकर्ता र कलापारखी विद्वानहरूको ‘लाभमुखी’ आचार विहारका कारण बिदेसिएका हुन् । १०० वर्षभन्दा कम आयूका सामान बेच्न अधिकार पाएका क्युरियो पसलमार्फत पनि यी काम हुन् गए । पुरातत्त्व विभाग अलि फुर्सद निकालेर निगरानी गरेमा हाल पनि क्युरियो जाँचपासमार्फत कलाकृतिको बेचबिखन, ओसारपसार, निकासी यथावत् चलिरहेकै देख्न पाइन्छ । त्रिभुवन विमानस्थल, भन्सार विभाग, टुरिस्ट लोभ्याउने होटेल, लाज र ट्राभल एजेन्सी सबैसबै यसै क्रममा खुलेआम लागिरहेको प्रस्टै छ । मूर्ति चोरी हुनुको अर्को कारण पुरातत्त्व विभागमा ०३० आसपास सम्म कला-इतिहासकार र पुरातत्त्वविद्को सङ्ख्या न्यून थियो या अतालिमप्राप्त थिए । हाल यो अझ बढेको छ । राजनीतिक नियुक्तिका कारण यिनीहरूमार्फत किर्तेको जोखिम पछिल्ला दिनमा बढेको बढ्यै छ । मूर्ति चोरीका ठुला चोर नसमातिनु र ‘भरिया’हरू समातिनु अर्को रमाइलो प्रसङ्ग हुँदै हो । मूर्ति चोरी समयमै नथापाइनु अर्को सरुवा रोग हुँदै हो । आफ्ना निकै ऐतिहासिक-पुरातात्त्विक सामग्री मुगल-ब्रिटिश मार्फत गुमाएको छिमेकी देश पनि नेपालको सांस्कृतिक सम्पदाको चोरी निकासी रोक्न उत्ति इच्छुक देखिएको पाइँदैन । जम्माजम्मी चिन्ताको विषय कहाँ हो भन्दा पुस्तकालयको हकमा पनि यस्तै व्यक्ति एवम् क्रियाकलाप बढ्दै छ ।
अन्त्यमा, पुस्तकालयकर्मीहरु एकजुट भई विसं २०१० सालमा स्थापित गरेका पुस्तकालय संघ होस्, “सबैका लागि पुस्तकालय” भन्ने पुस्तकालय दिवस होस्- सबैसबै समुचित पुस्ताकालय व्यवस्थापन र पठन संस्कृति वृद्धिविकासका लागि काँचो ठहरिएका छन् । हरेक स्थानीय तहले पुस्तकालय निर्माणका लागि अनिवार्य बजेट छुट्याउने, विद्यालयमा पुस्तकालयकर्मीको छुट्टै दरबन्दी सिर्जना गर्ने, अन्य देशको पुस्तकालय विकास अध्ययन गर्ने, सार्वजनिक पुस्तकालयको महत्त्व, गुणवत्ता र संख्या बढाउने जस्ता कामहरू यिनीहरूको नित्य चियागफ भई आइरहेकै छ । विद्यालयका लाइब्रेरीमा थुपारिएका पुस्तकहरूको पाठ्य गुणस्तरता छैन । धन्न विद्यार्थीले पुस्तकालयको निबन्ध लेख्दिरहेका छन्, अन्यथा पुस्तकालय र विद्यार्थीबीच दूर-दूरको समबन्ध छैन । नेपालमा प्रजातन्त्र आउनुपूर्व सामाजिक रुपमा पुस्तकालय स्थापना गर्नु अपराध मानिन्थ्यो, अहिले तीनै पुस्तक संरक्षण एवम् सार्वजनिक पुस्ताकालयप्रति चासो व्यक्त गर्नु जोखिमपूर्ण मानिएको प्रतीत हुँदै छ । ‘एक विद्यालय एक पुस्तकालय’को सरकारी नीति ‘छुचुन्द्रोसरह’ ठुस्स गनाएको छ । नेपालको संविधानले प्रदत्त गरेका मौलिक शिक्षा सम्बन्धी हकमा कसैलाई वञ्चित नगरिने प्रत्याभूति छ तर, यहाँ जानाजान त्यो काम हुँदै छ । यो मानव अधिकार हननसँग पनि सम्बन्धित विषय हो । तर, यहाँ मानव नै छैनन्, यसैले बाल !
स्रोत-सन्दर्भ :
नेपालमा पुस्तकालयको अवस्था: गोविन्द चौलागाईं, समृद्ध समाज
राज्यसत्ता र नेपाली संस्कृति : डा. साफल्य अमात्य
नेपाली समाज र संस्कृति : एक संक्षिप्त अध्ययन : किरण
विरन्चिनारायण : जीतबहादुर मान्धर
इतिहासको निर्णायक धक्का: यादव देवकोटा, कान्तिपुर
केसरमहलमा स्वार्थ समूहको नजरः व्यापारीकरण गर्न लागिएको आशंका: नागरिक दैनिक
शेष घलेको व्यापारिक स्वार्थले सङ्कटमा केशर पुस्तकालय: उकेरा
ब्यानरमा प्रयोग गरिएको फोटो ‘अनलाइनखबर’ले खिचेको हो- सम्पादक ।