बालबालिका देखि युवासम्म आकर्षित हुने यस ट्रयाकमा साइकलका अलावा स्केट बोर्ड समेत कुदाइरहेका खेल प्रेमीलाई देख्न सकिन्छ ।
काठमाडौं । ललितपुर महानगरपालिकाको कुपण्डोलमा देशकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा आउने भएको छ । बागमती नदीको किनार(बागमती कोरिडोर)मा निर्माण भइरहेको उक्त पम्प ट्र्याकमा स्विस कम्पनी भेलो सोलुसन र ललितपुर महानगरपालिकाको सहयोग रहेको छ ।
घुमाउरो र उतारचढावसहितको ट्र्याक करिब १७० मिटर लामो रहेको छ । ‘पम्प फर पिस’ भन्ने नारासहित भेलो सोलुसनले विश्वभरि सर्वसाधारणका लागि यस्तो पम्प ट्रयाक बनाउने गरेको छ । भेलो सोलुसनसँग नेपाल बाईसाइकल क्लब, हिमालयन सिङ्गल ट्रयाक आदि संस्थाले सहकार्य गरेर उक्त ‘पम्प ट्र्याक’ सञ्चालनमा ल्याउन लागेको हो ।
ललितपुर नगरपालिका(वडा नम्बर १)ले उपलब्ध गराएको जग्गामा निर्माण भइरहेको पम्प ट्रयाकका लागि माउन्ट बाइकसँग सम्बन्धित व्यक्तिहरूले श्रमदान गरेका छन् । बालबालिका देखि युवासम्म आकर्षित हुने यस ट्रयाकमा साइकलका अलावा स्केट बोर्ड समेत कुदाइरहेका खेल प्रेमीलाई देख्न सकिन्छ ।
मनोरञ्जनका साथै तालिमका लागि पनि यस ठाउँलाई उपयोग गर्न सकिने नेपाल बाईसाइकल क्लबसँग सम्बन्धित अजय राणाले बताए । यसको व्यवस्थापनको जिम्मेवारी भने वडा नम्बर १ र साइक्लिङ समुदायले लिनेछन् ।
यसले खेल प्रेमी आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सक्ने सम्भावना रहेको छ । उपत्यकामा नि:शुल्क खेल खेल्ने स्थानहरू नरहेकाले पनि यसले विशेष महत्व राख्नेछ । केही मात्रामा भए पनि यसले कुपण्डोलको पर्यटनमा सहयोग पुर्याउने विश्वास अजयले लिएका छन् ।
नेपालकै पहिलो यस आसफोल्ड पम्प ट्रयाकबाट खेल प्रेमीले लाभ लिन सक्नेछन् । आधिकारिक रूपमा पम्प ट्रयाक खुलीसकेको छैन तर निर्माणाधीन ट्रयाकमा बिहानबाटै भिडभाड हुने गरेको छ । जसबाट यसले खेल प्रेमीहरूलाई आकर्षित गरिरहेको बुझ्न सकिन्छ । यससँग सम्बन्धित सुरक्षा आदिका नीति नियमहरू पनि बन्ने क्रममा रहेका छन् ।
मान्छेहरू उत्साहित रूपमा सो स्थानमा आएर खेल्ने तथा खेल हेर्ने गरेका छन् । करिब १० हजार स्क्वाएर फिटमा बनेको ट्रयाकको निर्माण कार्य सकिनासाथ एक विशेष कार्यक्रम राखी उद्घाटन गरिनेछ । उद्घाटन समारोहपछि औपचारिक रूपमा यो सर्वसाधारणको प्रयोग लागि खुल्नेछ ।
भविष्यमा यहाँ अन्तरास्ट्रिय प्रतियोगिता समेत आयोजना हुनसक्ने सम्भावना रहेको छ । भेलो सोलुसनका संस्थापक क्लाउडियो कालुओरी रहेका छन् ।
तस्विरहरू :